Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारी लघु कथा

सहकारी लघु कथा

दृष्य १ः

सहकारी संस्था भर्खरै खुलेको थियो । उहाँ सदस्य आउनुभयो ।

“सर, एउटा दुहुनो किन्नुपर्यो, केटाकेटीलाई एकमुठी दुध खुवाउन पाउँथे, यसो नुनतेल पनि चल्थ्यो ।” संस्थाबाट १० हजार रुपैयाँ ऋण लिनुभयो र १ थान गाई घर लग्नुभयो ।

 

दृष्य २ः

उहाँ सदस्य फेरी आउनुभयो ।

“सर, साहुबाट चलाएको ऋणले घरखेत नै जाला जस्तो भयो ।” संस्थाबाट ३ लाख ऋण लिनुभयो, घरखेत निखन्नुभयो ।

 

दृष्य ३ः

उहाँ सदस्य फेरी आउनुभयो ।

“सर, बच्चाहरुलाई राम्रो पढाउँ भनेर बोर्डिङ्ग स्कुलमा हालेको, भोलिसम्म फि नतिरे परीक्षामै बस्न नदिने रे ।” संस्थाबाट ऋण लिनुभयो, छोराछोरी बोर्डिङ्ग स्कुलमा पढाउने धोको पुरा गर्नुभयो ।

 

दृष्य ४ः

केही समयको अन्तरालपछि फेरी उहाँ सदस्य आउनुभयो ।

“सर, गाउँका सबै दाजुभाईले राजमार्ग नजिक घरघडेरी जोडेँ । संस्थाले विश्वास गरेर अलिअलि ऋण लगानी गरिदिए एउटा घडेरी किन्न हुन्थ्यो ।” संस्थाबाट ९ लाख रुपैयाँ लिनुभयो र ६ आना घडेरी जोड्नुभयो ।

 

दृष्य ५ः

३/४ वर्षपछि फेरी उही सदस्य आउनुभयो ।

“सर, घडेरी किन्दाको ऋण पनि तिरिसकियो, अब दुखजिलो गरी एउटा सानो छाप्रो हाल्न आँटेको ।” संस्थाबाट २५ लाख रुपैयाँ लिनुभयो, नयाँ घर बनाएर सर्नुभयो ।

 

दृष्य ६ः

केही वर्षपछि फेरी उहाँ छोरालाई साथमा लिएर आउनुभयो ।

“सर, यो मेरो जेठो छोरा, काठमाडौं विश्वविद्यालयमा ईन्जिनियरिङ्ग पढ्छु भन्छ ।” संस्थाबाट ऋण लिनुभयो, छोरालाई ईन्जिनियर बनाउनु भयो ।

 

दृष्य ७ः

केही वर्ष पछि फेरी उहाँ अर्को छोरालाई साथमा लिएर आउनुभयो ।

“सर, यसले पनि बिएस्सी सकायो, बाँकी पढाई यतै आएर पूरा गर्नु भनेर दाजुले विदेश बोलाएको छ ।” संस्थाबाट ऋण लिनुभयो, कान्छोलाई पनि अमेरिका उडाउनु भयो ।

 

दृष्य ८ (अलिक पृथक छ है)

आजैका दिन अहिले भर्खरैको समयः

सहकारीमा सदस्यता त्याग गरी भएभरको पैसा बोकी उहाँ बैंकतिर जाँदै हुनुहुन्छ ।

किनकी,

अब उहाँलाई सहकारीको विश्वास रहेन रे, विदेशबाट छोराहरुले “दुःख गरेर कमाएको पैसा डुब्छ, भएको पैसा झिकेर बैंकमा राख्नु” भने अरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार