काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरभित्र सुमार्गी भवन समीप साउन महिनामा हिमवत्खण्ड नेपाल महात्म्य एवम् शिव महापुराण विश्व कल्याण ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको छ । त्यही यज्ञस्थलको एक कुनामा छ–धार्मिक पुस्तक प्रदर्शनी तथा बिक्री स्टल । विगत केही दिनदेखि बिहानीको केही समय त्यहाँ रहँदा नै झल्को मिलेको थियो–धार्मिक पुस्तक प्रदर्शनीमा मानिसहरुको रुचि बढ्दै गएको ।
हुनत अवसर र स्थान पनि मिलेर होला, पुस्तकको बिक्री उत्साहजनकै रहेको पाइएको छ । आज शनिबार बिहानको मौका पारेर पुस्तक प्रदर्शनी र यसमा संलग्न उद्धवकुमार घिमिरे तथा पत्नी हीरादेवी नेपालबारे केही जानकारी लिने अवसर घिप्री डटकमले जसोतसो मिलाएको थियो ।
'साउन १ गतेबाट शुरु भएको यो पुस्तक प्रदर्शनी साउन ३१ गतेसम्म चल्छ । बिहान ८ बजेदेखि स्टल खुला हुन्छ, राती करिब ८ बजेसम्म नै खुल्छ, ’हिरादेवी नेपालले जानकारी गराउनुभयो । सोध्दै जाँदा थाहा भयो, त्यो केवल सामान्य पुस्तक प्रदर्शनी होइन रहेछ, त्यहाँ करिब १ सय लेखककका नामचलेका पुस्तकहरु एकै ठाउँमा उपलब्ध हुने अवसर पनि रहेछ । सोही कारण पुस्तकहरुबारे जिज्ञासा राख्ने, किन्ने र अन्य जानकारी लिनेहरुको संख्या पनि उत्तिकै थियो ।
हनुमान चालिसा, श्रीमत्भगवत गीता, भागवत पुराणसँग भजनका पुस्तकहरु अहिले प्रदर्शनीमा बढी बिक्री भएका पुस्तक हुन् । केही पुस्तकहरु भारतीय तीर्थालुहरुले पनि खरिद गरेको बताउँदै हीरादेवी नेपालले भन्नुभयो, ‘हामीसँग हिन्दीका पुस्तक कम भएकाले नेपालीहरु नै हाम्रा मुख्य क्रेता हुन् ।’ प्रदर्शनीसँगै हरेक दिन पुस्तक विमोचन पनि गरिदै आएको छ भने पुस्तक उपहारको पनि व्यवस्था मिलाइएको छ । १ सय भन्दा बढी लेखकको कृति एकै ठाउँमा सस्तो मुल्यमा पाउँदा ग्राहकहरु पनि खुसी देखिन्थे । अन्य समयभन्दा केही सहुलियत दरमा पुस्तकहरु उपलब्ध गराइएकोले पनि मानिसहरु किन्न लालयित भएको घिमिरे दम्पतीको ठम्याइ छ ।
युवाहरुलाई पनि धार्मिक पुस्तकतर्फ बिस्तारै रुचि बढ्दै गएको घिमिरे दम्पतीको भनाइ छ । हुन पनि आज बिहानको संक्षिप्त बसाइमा पनि युवाहरुले पुस्तक किन्ने र हेर्ने गरेको पाइयो । व्यापारको कुरा गर्दा उहाँहरु दुबै जना पैसा र कमाइ भन्दा पनि धार्मिक पुस्तकहरुको एक किसिमले प्रचार प्रसार गर्न पाउँदा आनन्दानुभूति गर्नुहुन्छ । सनातन हिन्दु धर्म संस्कृति र परम्पराको जर्गेनामा समेत लाग्नुभएका घिमिरे दम्पती धार्मिक एवम् सामाजिक अभियन्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।
‘जीविकोपार्जन हुन्छ, व्यवहार चलेको छ, उत्पात कमाइ हुँदैन र त्यसको त्यति ठूलो आश पनि हामीहरुलाई छैन,’ उहाँहरु सुनाउनुहुन्छ । विगतमा पनि विभिन्न धार्मिक अनुष्ठानहरुमा पुस्तक प्रदर्शनी गरिसक्नुभएका घिमिरे दम्पती यो क्षेत्रका अनुभवी हुनुहुन्छ । ‘गतवर्ष साउनमा पनि पशुपतिनाथमा र माघमा चितवन (देवघाट) मा यस्तै प्रदर्शनी गर्यौं, ‘हिरादेवीले भन्नुभयो, ‘पोहोर माघमा पनि एक महिनै देवघाटै बसेर पुस्तक प्रदर्शनी गर्यौं ।’
उषा अध्ययन गृह तथा उषा एजुकेशन हाउस नयाँ बानेश्वरमार्फत सम्पूर्ण धार्मिक पुस्तकहरु खुद्रा तथा थोक मुल्यमा उपलब्ध गराउँदै आएको घिमिरे दम्पतीले जानकारी गराउनुभयो । ‘विश्व विराट ज्ञान आश्रमको शास्त्र अध्ययन अनुसन्धानद्वारा भक्तजनहरुप्रति समर्पित काम हो यो,’ उहाँहरुले भन्नुभयो ।
घिमिरे दम्पती लामो समयदेखि यस क्षेत्रमा होमिनुभएको हो । उद्धवकुमार घिमिरे सुनाउनुहुन्छ, ‘२०५१ सालबाट शुरु भएको यो यात्रा अनवरत अविच्छिन्न चलिरहेको छ ।’ २०५४ सालदेखि भने उहाँहरुले आफ्नै प्रकाशन गृह सञ्चालनमा ल्याउनुभएको हो । धार्मिक क्षेत्रको प्रकाशन तथा बिक्री वितरणमा लागेको पनि १५ वर्ष पुगिसकेको उहाँले बताउनुभयो । पुस्तक लेखनदेखि सम्पादन, मुद्रण, प्रदर्शनी, बिक्री वितरण लगायत यावत कामहरु घिमिरे दम्पतीको अगुवाईमा हुँदै आएको छ ।
उक्त प्रकाशन गृहमार्फत अठारै पुराणदेखि विभिन्न धार्मिक पुस्तक तथा ग्रन्थहरु प्रकाशन भैसकेको छ । यस्तै, एक करोड गीतादानको अभियानमा पनि घिमिरे परिवार समर्पित छ । उद्धवकुमार घिमिरे भन्नुहुन्छ, ‘हाम्रो आफ्नै प्रकाशन करिब ५ सयजति भयो होला ।’ शुरुमा सबै खाले पुस्तक प्रकाशन तथा बिक्री गर्दै आउनुभएका घिमिरेले आफ्नो रुचिलाई व्यवसायसँग मिलाउँदै धार्मिक पुस्तकमा आफूलाई केन्द्रीत गर्दै आउनुभएको छ ।
अनि, पत्नी हीरादेवीको सहयोग केवल बिक्री वितरणमा मात्र होइन, पछिल्ला समयका अधिकांश पुस्तकहरुको कम्प्युटर टाइपिङ उहाँले नै गर्दै आउनुभएको छ । कार्यालयको काममा पनि उहाँको सहयोग र खटाइ उत्तिकै छ । यस्तै सुपुत्रले पनि काममा हात उनुभएको छ भने सुपुत्री त झनै धार्मिक प्रवचनमा पनि पोख्त हुनुहुन्छ । अनि, सबै कुरा बुझेपछि धिप्री डटकमलाई लाग्यो, 'आहा कस्तो धार्मिक परिवार !'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com