Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

प्रचारप्रसार अभावमा ओझेलमा परेको बैतडीको सहस्त्रलिङ्ग धाममा मेला आयोजना हुँदै

प्रचारप्रसार अभावमा ओझेलमा परेको बैतडीको सहस्त्रलिङ्ग धाममा मेला आयोजना हुँदै

बैतडी । नपालकै दुर्लभ धार्मिक सम्पदामध्ये एक बैतडीको देवलहाटस्थित सहस्त्रलिङ्ग धाममा साउन २६ गते सोमबार बिहान ९ बजे विशेष रुद्राभिषेक पूजा तथा मेलाको आयोजना हुँदैछ। यति महत्वपूर्ण स्थलमा धार्मिक कार्यक्रम हुन लागेको भए पनि समुचित प्रचारप्रसार अभावमा यो धाम अझै पनि ओझेलमा परेको छ।

स्थानीय बासिन्दाहरूले सहस्त्रलिङ्ग नामले चिन्ने यो शिवलिङ्ग एक अनुपम कलात्मक मूर्ति हो, जुन देवलहरु क्षेत्रको एक ऐतिहासिक कुवाको माथि अवस्थित छ। कलात्मक लिङ्गमाथि सयौं स-साना लिङ्ग आकृतिहरू कुँदिएका छन्, जसले भगवान शिवका १००८ नाम र स्वरूपको प्रतीक प्रस्तुत गर्छ। पौराणिक मान्यताअनुसार पाण्डवहरूले वनवासका समयमा यस लिङ्गमा शिवको आराधना गर्दै यस्ता सहस्त्र आकृतिहरू उत्कीर्ण गरेका थिए।

यो लिङ्ग १.९० मिटर परिधिको पीठमाथि प्रतिस्थापित छ भने लिङ्ग भाग मात्र ५० सेमी र पिठिकादेखि माथिको भाग २६ सेमीको रहेको छ। लिङ्गको माथिल्लो भागमा पन्ध्र वटा तेस्रो रेखामा स(साना लिङ्गहरू क्रमबद्ध रूपमा कुँदिएका छन्। यो कलात्मक संरचना सातवटा प्राचीन देवलहरुमध्ये कुनै एकको हिस्सा भएको अनुमान गरिएको छ। यद्यपि, यसको वास्तविक स्थापना कहिले र कसले गर्‍यो भन्ने विषयमा प्रामाणिक ऐतिहासिक प्रमाण अझै फेला परेको छैन।

आगामी सोमबार आयोजना हुने रुद्राभिषेक पूजाका लागि पीपलको रुख र शिव कुण्ड नजिकको मन्दिर परिसरमा तयारी भइरहेको आयोजक समितिले जनाएको छ। कार्यक्रम भव्य र भक्तिभावले सम्पन्न गरिने अपेक्षा गरिएको छ।

यस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थल भए तापनि सरकारले यसको समुचित संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा चासो नदेखाउँदा सहस्त्रलिङ्ग धाम अझै पनि धेरैको जानकारीबाहिर रहँदै आएको छ।

कार्यक्रममा सम्पूर्ण शिवभक्त तथा श्रद्धालुजनहरूलाई उपस्थितिका लागि आयोजक समितिद्वारा हार्दिक निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार