Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारीप्रेमी एक युवाको स्टोरी

मध्य नेपाल साकोसमा सात वर्षः सपना, संघर्ष र सफलता

मध्य नेपाल साकोसमा सात वर्षः सपना, संघर्ष र सफलता

आज भदौ १ गते । ७ वर्ष अघि आजकै दिन म नवप्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (हाल मध्य नेपाल साकोस) सँग आवद्ध भएको थिएँ । करियरको खोजीमा भौतारिरहँदा नवप्रगति साकोसको ढोका घच्घच्याउन पुगेँ । र, यसरी शुरु भएको हालको मध्य नेपाल साकोससँगको मेरो सम्बन्ध आजकै मितिबाट आठौं वर्ष प्रवेश गरेको छ । यो केवल समयको गणना होइन, मेरो जीवन कथा हो । यो कथासँग एउटा नेपाली युवाको सपना, संघर्ष र सफलताको सप्तरंग मिसिएको छ । यो सहकारी संस्था मेरो लागि कर्मथलो मात्र होइन, एउटा परिवार र समर्पणको पवित्रस्थल पनि हो । 

फ्ल्यासब्याक
२०७५ साल भदौ १ गते । एमबीएस अध्ययनरत थिएँ । ‘करियर’ का बहुविकल्पबारे सोच्दै थिएँ। साथीहरू सरकारी जागिर, बैंक वा विदेशको सपनामा रमाइरहेका थिए। कतिपयले “सहकारी ? त्यहाँ त भविष्य छैन” भनेर हाँसोमा उडाए । मजाक झैं पनि गरे । यथार्थमा त्यो उनीहरुको मात्रै दोष  थिएन । सहकारी पर्यावरणको परिस्थिति पनि त्यस्तै थियो । यद्यपि, मेरो अन्तर्मनको गहिराइमा एउटा आवाज गुञ्जिरहेको थियो “सहकारी भनेको सानो संस्था होइन, यो त समाज परिवर्तनको संवाहक हो।”

त्यसबेला मध्य नेपाल साकोसमा केवल ३ हजार सदस्य हुनुहुन्थ्यो । सदस्य थोरै भएपछि पुँजी र प्रविधिको पनि सिमितता नै थियो । त्यसमाथि केही साथीहरुको मनमा झै सहकारीलाई लिएर समाजमा नकारात्मक धारणा बलियो थियो । ‘सहकारी धेरै टिक्दैन, सीमित दायरामा मात्र हुन्छ’ भन्ने सोच व्याप्त थियो। तर मैले देखेको परिदृश्य फरक थियो, यहाँ साझा सपना, सामूहिक प्रयास र विश्वासको पूँजी थियो । 

मेरो प्रारम्भिक यात्रा नवप्रगति बचत तथा ऋण सहकारी संस्था लि. को एउटा कोठाबाट ठूलो उद्देश्यतर्फ लम्कदै थियो। संस्था सानो थियो तर मेरो रुचि ठूलो र गहिरो थियो । सुरुवातमा मैले संस्थाको संरचना, नियमावली, बचत र ऋण प्रणाली बुझ्दै, सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै काम सुरु गरेँ। संस्थाको सेवा प्रवाह थप प्रभावकारी बनाउन पहल गरेँ। मैले संस्थाको नीति निर्माण, सेवाकेन्द्र निरीक्षण, सदस्य प्रशिक्षण र सेवाहरूको गुणस्तर सुधारमा सक्रिय भूमिका निभाएँ। सदस्यहरूसँग नियमित संवाद गरी समस्याहरू सुनेँ र समाधानमा सहयोगी बनेँ । खासमा मैले सहकारिता पद्धति अवलम्बन गरेँ । सहकारितालाई संस्थागत र व्यक्तिगत जीवन पद्धति बनाएँ । यसले मलाई नेतृत्व, व्यवस्थापन र वित्तीय सक्षमता विकास गर्न ठूलो अवसर दियो। संस्थाले मलाई सदस्य सेवामा अझ सकृय र जिम्मेवार बनायो।

भनिन्छ नि सत्कर्म कहिल्यै खेर जाँदैन । मेरो हकमा पनि त्यही  भयो । तर, यहाँ भन्नैपर्छ,सहकारीमा राजनीतिक चलखेल निकै हुन्छ भन्ने सुनेका कारण मलाई पदीय जिम्मेवारी प्रदान गर्ने सवालमा के हुन्छ होला भन्ने विचार मनमा खेलिरहन्थ्यो। म सहकारी संस्थामा जोडिनु पूर्व नै कुनै पनि राजनीतिक दलमा आवद्ध नभएका कारण मलाई संस्थाले उच्च पदमा जिम्मेवारी दिने बेला यो विषयले कतै तगारो त सिर्जना त गर्ने होइन भन्ने नलाग्या होइन । एक मनले ‘यो मान्छे हाम्रो कुनैपनि दलसँग आवद्ध होइन’ भन्ने भावनाले सञ्चालकबाट मैले यो जिम्मेवारी नपाउने हो कि भन्ने आशंका गरेको थियो भने अर्काे मनले ‘हामी सञ्चालक समितिका सबै पदाधिकारीहरु संस्थाभित्र राजनीतिक हावी गराउनु हुदैन भन्ने विषयमा स्पष्ट छौं, प्रोफेशनल कर्मचारीलाई जिम्मेवारी दिने विषयमा यस्तो कुरामा अलमलिनु हुदैन’ भनेर समिति स्पष्ट थियो भनिरहेको थियो । र, आखिर त्यही भयो जुन हुनुपर्ने थियो । साच्चै नै मेरो मिहेनत र लगनशीलता संस्थाको सञ्चालक समिति र सदस्यहरुले अनुभूत गर्नुभयो ।फलतः मैले संस्थाको दिगोपना सोचेँ, संस्थाले पनि मेरो दिगोपना सोच्यो । 


शुरुवाती सिकाइहरु
मध्य नेपाल साकोसमा मैले व्यवसाय विभाग प्रमुखको रूपमा काम शुरुवात गरेँ । त्यसबखत सदस्यहरुमा न्यून वित्तीय सचेतना, सीमित बचत तथा सीमित ऋण कारोबार थियो भने संस्थाको पनि सीमित पहुँच थियो । त्यस्तो बेला मैले सहकारीको मेरुदण्ड मानिने बचत र ऋण सेवा प्रत्यक्ष रूपमा सम्हाल्ने अवसर पाएँ। यस विभागमा काम गर्दा मैले बुझेँ की यो केवल रकमको कारोबार होइन, सदस्यको सपना, संघर्ष र भविष्यसँग जोडिएको जिम्मेवारी हो। सदस्य हाम्रो संस्थाका मालिक मात्र होइनन्, हाम्रा प्रेरणा हुन्। उनीहरूको आवश्यकता बुझ्ने, बचतलाई सुरक्षित राख्ने र ऋणमार्फत सपना साकार गर्ने जिम्मेवारी नै सहकारीको आत्मा हो। त्यही बुझाइले जिम्मेवारीमा परिकक्वता थप्यो ।

कर्मचारीहरुबीच साझा बुझाइ बन्यो भने त्यो बुझाइ सञ्चालक समितिसँग पनि एकाकार भयो जसले गर्दा हामीले अग्लो सपना देख्न थाल्यौं र त्यसलाई पूरा गर्ने सामूहिक अठोट लियौं । सदस्यलाई मात्र सेवाग्राहीको रूपमा होइन, मालिकको रूपमा हेर्ने संस्कार हामीले विकास गर्यौं। आज त्यही संस्कारले मलाई सिकाएको छ की सदस्यको सपना सुन्नु नै साँचो सहकारी सेवा हो, ऋण दिनु पैसा दिनु मात्र होइन, सदस्यलाई भविष्यलाई मार्गनिर्देशित गर्नु हो । बचत बढाउनु मात्र वृद्धि होइन, आत्मविश्वास बढाउनु हो । 

यी सबै कुरालाई मध्यनजर गरेर हाल हाम्रा परिमार्जित उत्पादनहरुः बचत योजना (युवा बचत, समृद्धि बचत, आवधिक बचत) देखि (कृषि ऋण, व्यवसाय ऋण, उद्यमशिलता ऋण र समूह ऋणसम्म) हरेक सेवा सदस्यहरुप्रति लक्षित छन्। यी सबै सफलता संगैँ चुनौतिहरू पनि थिए। केही वर्ष अघि आर्थिक मन्दी र बजार अस्थिरताका कारण सदस्यहरूको बचत र ऋण तिर्ने क्षमता कम भयो । केही सेवा केन्द्रहरूमा व्यवस्थापन समस्या देखा परे। तर हामीले पारदर्शिता, नियमित अनुगमन र सदस्यहरूसँग सम्बन्ध सुदृढ बनाएर यी समस्या समाधान गर्ने प्रयास ग¥र्यौं। सहकारी मूल्य, सदस्यको विश्वास र कर्मचारीहरूको प्रतिबद्धताले हामीलाई निरन्तर अगाडि बढायो।

सफलताका लागि समर्पणभाव
सहकारीको सफलताको केन्द्रमा कर्मचारीको समर्पणभाव रहन्छ । हामी सेवा प्रदायक मात्र होइनौं, सदस्यको जीवनमा आशा भर्ने अभियन्ता हौं। सदस्यसँगको पहिलो भेटदेखि अन्तिम समाधानसम्म, हाम्रो इमानदारी र पेशागत दक्षताले नै संस्थागत छवि निर्धारण गर्छ। मैले हरेक दिन महसुस गरेको छु की एक प्रतिबद्ध कर्मचारीले सयौं सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। सदस्यको खुशी, सेवाको गुणस्तर र संस्थाको प्रतिष्ठा लगायतका विषयहरु कर्मचारीको समर्पण र इमानदारीमा निर्भर पर्दछ । हामी सहकारीका कर्मचारी केवल प्राविधिक कामदार होइनौं, संस्थाको अनुहार र आवाज हौं ।

युवा सहभागिता
हाल ३१ वर्षे युवा म, सहकारीलाई विशुद्ध पेशा मात्र नभइ राष्ट्र निर्माणको गतिलो माध्यमका रूपमा देख्छु। सहकारीमा युवा संलग्नताले प्रविधि, सोच र ऊर्जामा नवीनता भर्छ । यदि हामी युवाले सहकारीलाई उत्पादनमूलक लगानी, रोजगारी सिर्जना र उद्यमशीलताको प्लेटफर्मका रूपमा प्रयोग ग¥यौं भने विद्यमान आर्थिक असमानता न्यून गर्दै मुलकलाई दिगो विकासको बाटोमा अघि बढाउन सक्छौं।

सहकारी केवल वित्तीय कारोबारको केन्द्र होइन, यो त सामाजिक अभियान पनि हो। स्वास्थ्य शिविर, वित्तीय साक्षरता, उद्यमशीलता तालिम र हरित विकास परियोजनाजस्ता कार्यक्रमले हाम्रो समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाएका छन्। हामी डिजिटल सेवाको विस्तार, युवा–महिला उद्यमशीलता प्रवद्र्धन, सामाजिक सुरक्षा कार्यक्रममा अग्रसर छौं। सदस्यको आर्थिक सुरक्षा र सामाजिक सम्मान हाम्रो मूल उद्देश्य हो। यो दृष्टिलाई पूरा गर्न सदस्यको विश्वास, कर्मचारीको समर्पण, र व्यवस्थापनको दूरदृष्टिको एकताबद्ध प्रयास आवश्यक छ । अनि, आवश्यक छ हामी जस्ता धेरै युवाहरु (युवा सदस्य, युवा सञ्चालकहरु, युवा कर्मचारीहरु) को उर्जा र उत्साह ।

हिजो ‘शंका’ आज ‘स्याबासी’
हिजो अरूले कम आँकलन गरेको सहकारीले आज मलाई स्थायी र सबल पहिचान दिएको छ । मैले महसुस गरेँ “म जागिर मात्र खाँदै छैन, समाजमा योगदान गर्दैछु। गर्वका साथ भन्न सक्छु, हिजो मैले सहकारी रोज्दा अरूले शंका गरे, आज त्यही सहकारीमार्फत स्याबासी पाएको छु । हिजोका सबैको विश्वास आर्जन गरेको छु । त्यो विश्वास हजारौं सदस्यको मुस्कानमा बदलिएको छ। उनीहरुको जीवन रुपान्तरणमा प्रतिविम्बित भएको छ । हिजो मेरा परिवार, आफन्तजन, साथीभाइ र शुभचिन्तकहरुमा शंका थियो भने आज सबैबाट स्याबासी पाएको छु । अविच्छिन्निताको यात्रामा परिश्रम मिसाएसँगै दुई तह प्रमोशन पाएर आज साकोसको सेकेन्ड म्यान बनेको छु । २६ हजार सदस्यको विश्वास पाएको छु । अनि, यो सहकारी यात्राले मलाई व्यक्तिगत र व्यावसायिक रूपमा सशक्त बनाएको छ भने सहकारी संस्थाले पनि आफ्नो योगदानबाट समुदायमा अमिट छाप छोडेको छ ।

भविष्य पनि सहकारी
यो आठ वर्षसम्म आइपुग्दाको सहकारी यात्रा साह्रै अर्थपूर्ण र प्रेरणादायक बनेको छ । गर्व र जिम्मेवारीको स्रोत बनेको छ । मैले देखेको छु की सहकारी केवल वित्तीय संस्था मात्र होइन, समाज परिवर्तनको सशक्त संवाहक हो। यो संस्था मेरो लागि केवल एउटा काम गर्ने ठाउँ मात्र नभई मेरो सपना र प्रयास सार्थक हुँदै गरेको थलो पनि हो । सहकारीमार्फत सफलताको प्रतिबिम्ब पनि हो। भविष्यमा पनि म मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको सफलताका लागि आफ्नो सम्पूर्ण ज्ञान, ऊर्जा र समर्पण अर्पण गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यो संस्था सदस्य, कर्मचारी र सबै सरोकारवालाहरूको साझा प्रयासको उपज हो, जसले हाम्रो समुदायलाई आर्थिक रूपमा सशक्त बनाउँदै सामाजिक समृद्धितर्फ अग्रसर गराएको छ। संस्था हाम्रो साझा घर हो, जहाँ सदस्य मालिक हुन्, कर्मचारी अभियन्ता, र सञ्चालकद्धारा निर्माण नीतिगत व्यवस्था र उद्देश्य नै समाजको समृद्धि हो। हाम्रो हातेमालोले मात्र सदस्यको प्रगति र राष्ट्रको विकास सम्भव छ।

Umapati 7th anniversary.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार