Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
पेशाले दिएको प्रसन्नता

पुरेत्याइँ कामबाट प्रसन्न न्यौपाने:-खुसी छु, छोराहरुको मेलो पनि यही छ

पुरेत्याइँ कामबाट प्रसन्न न्यौपाने:-खुसी छु, छोराहरुको मेलो पनि यही छ

काठमाडौं । दोलखाको कालिञ्चोक, लामिडाँडाका माधव न्यौपानेले जानेको अनि रोजेको काम हो जजमानी । ६५ वर्षीय न्यौपानेले अक्षर चिनेदेखिनै संस्कृत र कर्मकाण्ड सिक्नुभयो । कुशे औंसीको व्यस्तताकाबीच आज मध्यान्नतिर गोकर्णेश्वर मन्दिर बाहिर भेटिनुभएका न्यौपानेले धिप्री डटकमलाई सुनाउनुभयो, 'बुबाका जजमान धेरै थिए । ४ बर्षमा अक्षर चिनियो ६ वर्षदेखि त बुबाको पछि लागेर कर्म गर्न हिडियोँ । बुबाले विधि सिकाउनुभयो । अनि त काम सुरु गरिहालेँ । जानेको त्यही थियो । काठमाडौं आएपछि पनि शुरुमा यहाँ बस्ने दोलखाकै चिनेजानेकाहरुबाट काम थालेँ पछि बढ्दै गए ।' 

काठमाडौंको रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेपछि न्यौपानेले गाउँ फर्किएर शिक्षण पनि गर्नुभयो । यो २०३७ सालको कुरा हो । १ सय ८५ रुपैयाँ थियो तलब । त्यसपछि बढेर ३ सय ३० अनि फेरि बढेर ५ सय ४० भयो । तर पनि न्यौपानेलाई लाग्यो अरुहरुले धेरै कमाउँछन् । यतिले पुगेन भनेर जजमानी तिर लाग्नुभयो । ४ वर्ष खाएर जागिर छोड्नुभयो । खेतीपाती प्रशस्त भएपनि त्यताभन्दा जजमानी पेशामा उहाँ रमाउन थाल्नुभयो । पछि स्थायी रुपले काठमाडौं आएपछि पनि बाबुबाजेबाट सिकेजानको त्यही काम उहाँको कमाइ खाने मेलो बन्यो ।

DSC03712_11zon.jpg
मेलो सकिएपछि बाटो लाग्दै न्यौपाने

'कामले काम सिकाउँछ । मैले संस्कृत धेरै पढेको होइन तर विधि जानेँ र पछि सिक्दै गएँ,'न्यौपानेले भन्नुभयो, ' एसएलसी भन्दा पर औपचारिक शिक्षा लिइनँ । म पण्डित होइन पुरेत हुँ । सप्ताह बस्ने बाहेक अन्य काम गर्छु । तिथी श्राद्ध, विवाह व्रतबन्ध मुख्य गराउँछु ।' हाल उहाँका करिब १ सय घर यजमान छन् । 

उहाँ भन्नुहुन्छ, 'काम पर्दा बिहान बेलुका भनिन्न तर नपर्दा पनि त्यस्तो चिन्ता छैन ।' विगतमा जजमान नहुँदा पशुपतिमा पनि बेलामौका जानुहुन्थ्यो काम खोज्न तर हिजोआज भने छोडेको उहाँले बताउनुभयो । आज बिहान ४ बजे गोकर्ण आएको अहिले करिब १२ बज्यो । न्यौपानेले भन्नुभयो, 'अब आजलाई पुग्यो । ४ हजार नगद र यो भारी जम्मा भयो पुगिहाल्यो ।' 

न्यौपाने हाल चुच्चेपाटीमा पत्नी र कान्छी छोरीसँग बस्नुहुन्छ । यही काम र पुर्ख्यौली केही आडले साढे ३ तले घर बनाउनुभयो । २ छोरा हुनुहुन्छ । उहाँहरु पनि बाबुकै पेशामा हुनुहुन्छ । ५ ७ मिनेटको दुरीमा दुबैको आफ्नै घर र बन्दोबस्त छ । २ छोरीको विवाहदान भइसक्यो । 'आउनेजाने सबै हुन्छ तर बुढाबुढी अलग्गै बस्छौं, 'उहाँ भन्नुहुन्छ । घरभाडा करिब २५ हजार जति आउँछ, पुरेतकाम गरेर सरदर १५/२० हजार हुन्छ । 

जेठो छोराले माष्टर बन्ने भनेर बीएड परेपनि जागिर भनेजस्तो नमिलेपछि जजमानी काममै लाग्नुभयो । कान्छो छोराले भने पहिल्यैदेखि संस्कृत पढेर जजमानी काम अगालीसक्नुभएको थियो । कान्छो छोराले संस्कृतमा शास्त्री पुरा गर्नुभएको छ । 

न्यौपाने भन्नुहुन्छ, 'यो कामबाट म खुसी छु । अनि छोराहरु पनि यही काममा छन् । उहिले बाबुबाजेले पनि यही काम अगाल्नुभयो ।'

DSC03700_11zon.jpg
आजको मेलो सकिएको भन्दै जम्मा भएको भारी देखाउँदै न्यौपाने

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार