हुनेखानेका लागि त बैंक छ, उनीहरु आफ्नो पैसा बैंकमा राख्छन् । त्यस्तै परे उनीहरु त आफैं बैंक खोल्छन् । त्यसैले हुने खानेहरुलाई सहकारीको खास आवश्यकता छैन । तरपनि अचेल आर्थिक रुपमा सम्पन्न वर्गहरु सहकारी प्रति आकर्षित देखिन्छन्, यसको खास कारण के हो, पत्ता लाग्न सकेको छैन । कतिपय सहकारीमा त अझ हालीमुहाली र मुख्य नियन्त्रण समेत हुनेखानैकै छ, टाठाबाठाकै हातमा छ सहकारी । यस्तो अवस्थामा तल्लो वर्गको हितमा निर्णय र कार्यक्रम बन्छन् र तिनीहरुले लाभ लिन्छननै भन्न सकिने अवस्था नहुनसक्छ । सहकारी हुनेखानेका लागि भन्दा हुँदाखाने वर्गका लागि बढी आवश्यक हो । त्यसैले नहुनेहरुसँग, गरिब, महिला वा आर्थिक रुपमा विपन्नहरुसँग उठाएको ससानो पैसा बटुलेर त्यसमा मोजमस्ती गर्ने कुबुद्धि कसैले ल्याउनु हुँदैन ।
वास्तवमा सहकारी भनेको त आवश्यकताका आधारमा समान उद्देश्य भएका निश्चित वर्ग, समूह र समुदायमा खोलिनुपर्ने हो तर सो अनुसार भएको पाइँदैन । २५ जना जोकोही मिलेर गए सहकारी जुनसुकै ठाउँमा पनि खोल्ने अनुमति राज्यले दिंदा कतिपयले सहकारीलाई आफ्नो निजी व्यवसायका रुपमा बुझे र सोही अनुसार सञ्चालन गरे । सिमित व्यक्तिहरुको योजनामा सहकारी खोल्ने, आकर्षक ब्याज र सेवा सुविधाको प्रलोभन देखाई अन्धाधुन्द कार्यक्षेत्र भित्र वा बाहिरका सदस्य बटुल्ने, विभिन्न दबाब वा प्रलोभनमा पारी सदस्य बनाउने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, सिमित व्यक्तिका नियन्त्रणमा सहकारी चलाउने गर्न थाले ।
यतिमात्र नभई कतिपयले त बिना धितो ऋण लगानी गर्ने, संस्थाको पैसा आफू अनुकुल चलाउन थाले, सहकारीको पैसा घरजग्गा र निजी व्यवसायमा लगाउन थाले । यसकारण त्यस्ता सहकारीहरुमा समस्या देखियो । यसका पछाडि सदस्य स्वयं पनि जिम्मेवार छन् । किनकि सदस्य स्वयंले संस्थामा आफू सदस्य बन्नु अघि र बनेपछि पनि संस्था कसरी सञ्चालित छ भन्ने कुरामा चासो लिने, हरेक कुरामा आफू सचेत हुने, संस्थाको बारेमा आवश्यक जानकारी राख्ने, नजिकबाट निगरानी राख्ने र गलत भए खबरदारी गर्ने गर्नुपर्थ्यो तर अधिकांशले त्यसो गर्ने गरेको पाइँदैन ।
सहकारीमा सदस्यनै मालिक हुन्छन्, उनीहरुको बचतको सुरक्षा गर्नु, सही रुपमा परिचालन गर्नु र उचत प्रतिफल दिनु सञ्चालक र कर्मचारीको मुख्य दायित्व हुन्छ । सहकारीमा सबै सदस्यको समान हैसियत हुन्छ र सञ्चालक बनेर संस्थालाई उन्नतिको बाटोमा अघि बढाउने अधिकार पनि । त्यसैले सदस्यले सञ्चालकनै बन्नुपर्छ भन्नेपनि छैन, सदस्यकै हैसियतमा रहेर पनि संस्था र सदस्यको सहयोगी बन्न सकिन्छ र बन्नुपर्छ । सचेत सदस्य, इमानदार कर्मचारी र जिम्मेवार सञ्चालक सहकारीको बलियो आधार हो, सबैले बुझ्न, बुझाउन र मनन् गर्न आवश्यक छ ।
सहकारीमा समस्या देखिनुमा राज्य पनि धेरथोर जिम्मेवार छ । कुन ठाउँमा सहकारी आवश्यक हो होइन, दर्ता गर्न आएका व्यक्तिहरु कस्ता हुन्, उनीहरुको उद्देश्य के हो, त्यहाँ पहिल्यै अरु दर्ता भएका छन् छैनन् नहेरी भटाभट दर्ता अनुमति दिनु र दर्ता भएका संस्था कुन रुपमा सञ्चालनमा छन् निगरानी, अनुगमन र नियमन गर्न चासो नलिनुले पनि सहकारी, तिनका सञ्चालक र कर्मचारीलाई आफ्नै राँइदाँइ भयो र आफू अनुकुल चलाउने आँट गरे । पछिल्ला दिनहरुमा सहकारी खुल्ने क्रमको व्यापकतासँगै एउटै घरमा ३/४ वटा सम्म सहकारीका साइनबोर्ड देखिन थाले । कतिले त सहकारी दर्तामात्रै गरेर झोलामा बोकेर हिडे र सहकारी किनबेचसम्म चल्न थाल्यो । यतिसम्म कि, कसैले 'के गर्दै हुनुहुन्छ ? भनेर सोध्यो भने 'मैले एउटा सहकारी खोलेको छु वा सहकारीमा प्रमोटर छु' भन्ने जवाफ सम्म सुनिन्थ्यो कतिपयको ।
सहकारी भनेको कसैको निजी व्यवसाय होइन यसलाई त सामुहिक हितको लागि सबैले मिलेर सञ्चालन गरिनुपर्छ । त्यसैले मुख्य रुपमा आफू सदस्य बन्ने संस्था कस्ता व्यक्तिहरुले चलाइरहेका छन्, संस्थाको अवस्था कस्तो छ, कर्मचारीहरु कस्ता छन्, सञ्चालक चिनेजानेका वा स्थानीय छन् छैनन्, संस्था विद्यमान ऐन कानुन अनुसार चलेको छ छैन, सदस्यहरु सन्तुष्ट छन् छैनन्, संस्थाले सदस्य हितका वा सदस्य सेवाका कार्यहरु गरेको छ छैन राम्ररी बुझेर मात्र सदस्य बन्नुपर्छ ।
सदस्य बनिसकेपछि त आफू झन् सचेत भइ संस्था, यसका गतिविधि तथ साधारणसभा लगायतमा आवश्यक रुपमा सहभागी हुने र जानकारी लिने गर्नुपर्छ । सदस्य स्वयं सचेत नहुँदा र सञ्चालक कर्मचारी इमानदार नभइदिंदा पछिल्लो समयमा आएर कतिपयले सहकारीलाई कमाईखाने भाँडो बनाएका छन् । सहकारी मार्फत व्यवसाय गर्नुपर्नेमा सहकारीलाई नै आफ्नो व्यवसाय बनाएका छन् । त्यसैले हामी सदस्य, सञ्चालक र कर्मचारीहरु सबैनै सचेत, इमानदार र वफादार हुन जरुरी छ ।
सहकारीहरु सहकारीको मूल मर्म नमासिने ढंगबाट सञ्चालित छन् छैनन् सबैले आआफ्नो ठाउँबाट हेर्ने गर्नुपर्छ । संस्थाका हरेक सदस्यले साधारणसभामा भाग लिने, आफ्ना जिज्ञाशा उपर सञ्चालक समितिसमक्ष प्रश्न गर्ने गर्नुपर्छ । निर्वाचनको समयमा सञ्चालक बन्न पाउने अधिकार हरेक सदस्यको हुन्छ सदस्यको त्यो कर्तव्य पनि हो । सदस्यले आफू सदस्य भएपछि बचतमात्र गर्ने, निर्धक्क छाडिदिने, बेला बेलामा संस्थामा आएर अवस्था नबुझ्ने, साधारणसभामा भाग नलिने, संस्थाका कार्यक्रम र गतिविधिहरुमा सहभागी नहुने, आफूले लिएको ऋणको सदुपयोग नगर्ने, समय समयमा किस्ता ब्याज भुक्तान् नगर्ने जस्ता परिपाटीले पनि संस्थामा समस्या सिर्जना भएको हुनसक्छ ।
सहकारीमा सदस्यनै मालिक हुन्छन्, उनीहरुको बचतको सुरक्षा गर्नु, सही रुपमा परिचालन गर्नु र उचत प्रतिफल दिनु सञ्चालक र कर्मचारीको मुख्य दायित्व हुन्छ । सहकारीमा सबै सदस्यको समान हैसियत हुन्छ र सञ्चालक बनेर संस्थालाई उन्नतिको बाटोमा अघि बढाउने अधिकार पनि । त्यसैले सदस्यले सञ्चालकनै बन्नुपर्छ भन्नेपनि छैन, सदस्यकै हैसियतमा रहेर पनि संस्था र सदस्यको सहयोगी बन्न सकिन्छ र बन्नुपर्छ । सचेत सदस्य, इमानदार कर्मचारी र जिम्मेवार सञ्चालक सहकारीको बलियो आधार हो, सबैले बुझ्न, बुझाउन र मनन् गर्न आवश्यक छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com