काठमाडौं । नेपाली साहित्यमा सम्भवतः पहिलोपटक आमा र छोराका दुई छुट्टाछुट्टै कृति एकसाथ लोकार्पण गरिएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा डा.अम्बिका अर्यालको कवितासङ्ग्रह 'बेचैन अभिलाषा' तथा उहाँका १० वर्षीय छोरा अजब अनन्तको बालसंस्मरण 'माई लिटल विन्डो' (My Little Window) एकसाथ सार्वजनिकीकरण गरिएको हो ।
आमा छोरा दुबैका कृति आ–आफ्नै हिसाबले बैशिष्ट्य र उम्दा भएको समीक्षकीय धारणा थियो । नेपाली साहित्यमा आमा र छोराको कृति एकै साथ विमोचन भएको सम्भवतः यो नै पहिलो भएको भन्दै समीक्षक र वक्ताहरुले आजको कार्यक्रम ऐतिहासिक, प्रेरणादायी र उदाहरणीय भएको दाबी गर्नुभएको थियो ।
अनुभव, उमेर, चेत, र योगदानका हिसाबले डा. अर्यालको कृति नेपाली समाजको चित्र र चरित्र चित्रण गर्न सफल भएको समीक्षकहरुको भनाइ थियो भने साहित्यमा नवप्रवेशी अजब अनन्तको शिल्प र शैली पनि उत्तिकै अब्बल भएको विचार प्रमुख अतिथिको थियो । अजब अनन्तको साहित्य प्रवेश अरुका लागि प्रेरणा हुने समीक्षकले बताउनुभएको थियो ।
प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले अजब अनन्तले आफ्नो उत्कृष्ट संस्मरणहरुलाई पठनीय र रोचक ढंगले पुस्तकाकार दिएको भन्दै खुलेरै प्रशंसा गर्नुभयो । उहाँले कम उमेरमै पनि सबै महत्वपूर्ण घटनाक्रमहरुलाई आकर्षक र सजीव ढंगले कम गल्तीबिनै पुस्कतमा प्रस्तुत गरिएको भन्दै यसले अरु बालबालिकाहरुलाई प्रेरणा दिने दाबी गर्नुभयो । सबैले संस्म्रण आफ्ना नानीबाबूहरुलाई पढ्न लगाउनुपर्ने समेत भट्टराईले सुझाउनुभयो ।
उहाँले बालकको प्रतिभाको उच्च प्रशंसा गर्दै भन्नुभयो, ‘यस्तो विलक्षण बालक देखेको मैले आजै हो । उ गिफ्टेड चाइल्ड, अझ भन्ने हो भने चाइल्ड प्रडिजी हो ।’ पुस्तक पढ्नाले अन्य नानीबाबुहरुलाई पनि साहित्यमा लाग्ने हौसला मिल्ने विश्वास डा.भट्टराइले व्यक्त गर्नुभयो । यस्तै विचार समीक्षक सुधा शर्मा तथा अजब अनन्तका शिक्षकहरु मदर क्यासल स्कुलका प्राचार्य भावना सुवेदी र ट्रुङरम इन्टरनेसनल एकेडेमीका पूर्वप्राचार्य लैला लामा शेर्पाको पनि थियो ।
कार्यक्रममा डा. अर्यालको कवितासङ्ग्रहको समीक्षा गर्दै डा.हेम भण्डारीले भन्नुभयो, ‘उहाँका कविताहरु प्रतिरोधी चेतनाले समृद्ध छन् । उच्च प्रतिरोधी चेतनाले ओतप्रोत व्यक्तित्व र कृतित्व पाइन्छ जुन उहाँको काव्य चिन्तनको प्रवृत्ति पनि हो । प्रतिरोधी संकथन निर्माण कवि अर्यालको कविता कृतिको शक्ति भएको छ ।उहाँले यो कविता कृतिमार्फत नेपाली सामाजको समीक्षा गर्नुभएको छ । आफ्नो धरातलमा उभेर समाजमा सचेतनाको पाठ उहाँले पढाइरहनुभएको छ ।’
नेपाली समाजमा नारीको अवस्था र उनीहरुले भोगिरहेका प्रताडनाहरुदेखि तिनका कारणसमेत खोतल्ने काम कविताहरुले गरेको भण्डारीले उल्लेख गर्नुभयो । पितृसत्तात्मक प्रवृत्तिप्रति कविताहरुमा कटाक्ष रहेको भन्दै भण्डारीले सामाजिक शासन व्यवस्था र त्यसभित्रको अलिखित कानूनहरुको दबदबा, कुरीति, राजनीति र राजनीतिक नेतृत्व, भ्रष्टाचार, हिंसा, वैदेशिक रोजगारीका पीडा, साहित्य आदि यावत् विषयहरु कविताहरुमा अटाएको बताउनुभयो ।
कविले जीवन र जगतलाई सुक्ष्म निरीक्षण तथा मुल्याङ्कन गर्ने पृथक दृष्टिकोण निर्माण गर्नुभएको भण्डारीको ठम्याइ थियो । उहाँले भन्नुभयो, ‘कविताको मौलिक ध्वनि निर्माण गर्नुभएको छ । उहाँको कविताको पृथक टोन भनेको निबन्धात्मक शैली हो । वैचारिक कविताको सङग्रह बनेको छ यो । समाजका विविध उत्पादनहरु कृतिमा भेटिने मात्र होइन, अन्याय, अत्याचार, भ्रष्टाचार, महिला हिंसा, विभेद, विरुद्धमा प्रतिरोधी आवाज कवितामार्फत ध्वनित भएको छ । राजनीति र नेतृत्वदेखि पितृसत्तात्मक सोच र प्रवृत्ति विरुद्ध अर्यालले शसक्त आवाज उठाउनुभएको छ ।’ जीवन दर्शनको अभिव्यक्ति, समकालीन नेपाली समाजको चित्रण कविता कृतिले गरेको भन्दै कवितामा राष्ट्रप्रेमको ध्वनि गुञ्जायमान भएको पनि भण्डारीले बताउनुभयो ।
कृतिको सीमाको विषय चर्चा गर्दै समीक्षक भण्डारीले काव्यको व्याकरणमा कविले चुनौती दिएको बताउनुभयो । भण्डारीले प्रश्न गर्नुभयो, ‘कतै अर्यालको समालोचना व्यक्तित्वले कवि व्यक्तित्वलाई छायाँमा पारेको त होइन ?’
उहाँले कविता सिकाउने र सर्जक उत्पादन गर्ने जिम्मेवार भूमिकामा अर्याल रहनुभएका कारण पनि व्याकरणमाथि धावा बोलेर काव्य सिर्जना गर्दा भोलि समाजले त्यस सम्बन्धमा गर्ने प्रश्नहरुको उत्तर दिनुपर्ने अवस्था आउनेतर्फ सचेत तुल्याउनुभयो ।
वैचारिक हिसाबले उम्दा कृति प्रकाशन भएको भण्डारीले दाबी गर्नुभयो । यद्यपि, कविताको लालित्य खोज्ने पाठकहरुका लागि व्याकरणमाथि धावा बोल्दा पाठकहरुले प्रश्न गर्ने ठाउँ रहने उहाँले उल्लेख गर्नुभयो ।
समीक्षक भण्डारीले समाज सुधार र प्रतिरोधी चेतनाको ध्वनिका लागि आफूले कविता लेखेको भनेर कवि स्वयंले पुस्तकको शुरुमै स्वीकारेका कारण भने केही छुट दिने ठाउँ भने रहेको धारणा व्यक्त गर्नुभयो ।
कृतिको अर्को सीमाको विषयमा भण्डारीले भन्नुभयो, ‘अतिशय भावुक र अतिशय विद्रोहले कविता दुर्घटित समेत बन्न सक्छ । कवितालाई जोगाउन भावनाको सन्तुलन आवश्यक छ ।’
कवि अर्यालले भण्डारीको भनाइलाई अस्विकार गर्नुभएन । समालोचक भएकाले लेख्न कठिन हुने विषयलाई उहाँले स्वीकार गर्नुभयो । डा. अर्यालले घर परिवारमै साहित्यिक माहोल रहेको प्रसङ्गहरु उप्काउँदै त्यसकै प्रभाव आफू र सन्तानमा परेको सुनाउनुभयो । साथै उहाँले आफ्नो भन्दा पनि नेपाली साहित्यमा प्रवेश गर्दै गरेको छोरा अजब अनन्तलाई हौसला दिन उपस्थित साहित्यानुरागीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । यो माहोलमा आफूले पहिलो किताब विमोचन गरेँ भनेर छोराले जिवनभर नबिर्सने आमा अर्यालले बताउनुभयो ।
त्यस्तै, समालोचक शर्माले यस कृतिमा नारी अस्तित्व, संस्कृति, प्रणय, राजनीति, चिन्तन, प्रकृति, कोरोनालगायतका विविध विषयका कविता रहेको विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरी, लेखक अजब अनन्तले दराजमा आमाबुबाका प्रकाशित कृतिहरु देख्दा त्यहाँ आफ्नो पनि कृति भए हुन्थ्यो भन्ने लाग्ने गरेको सुनाउँदै उहाँहरुकै प्रेरणा र हौसलाबाट संस्मरण लेखन सम्भव भएको बताउनुभयो । साथै पाठकहरुले पढेर प्रतिक्रिया दिदाँ भविष्यमा अन्य किताब प्रकाशनको पनि उर्जा मिल्ने बताउनुभयो । आमाले प्रेरणा र पथप्रदर्शनको विषयमा बुबाआमालाई धन्यवाद दिइरहँदा मञ्चमा रहनुभएकी आमाको आँखा रसाएको स्पष्ट देखिन्थ्यो । डा. अर्यालको समग्रमा यो पन्ध्रौँ कृति भए पनि कवितासङ्ग्रह भने पहिलो हो ।
कवितासङ्ग्रह बेचैन अभिलाषामा ११ वटा खण्डमा ८८ वटा कविता समावेश छ भने माई लिटल विन्डोमा ३० वटा शीर्षकमा संस्मरणहरु अटाइएको छ ।
सङ्गम बुक्स पब्लिकेसनले प्रकाशित गरेको बेचैन अभिलाषाको मूल्य ३५० रुपैयाँ राखिएको छ । यस्तै, पेज टर्नर प्रकाशक रहेको माई लिटल विन्डोको मूल्य ३२५ रुपैयाँ राखिएको छ । यद्यपि, आज लोकापर्णको दिन प्रति कृति २ सय रुपैयाँका दरले छुटमा उपलब्ध गराइएको थियो । आजको लोकापर्ण कार्यक्रम ज्ञानचक्षु साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानको परिकल्पना
विशेषतः समालोचनाको क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ एमफिल अध्ययनरत छात्राहरुको समूह मिलेर प्रतिष्ठान स्थापना गरिएको डा. अर्यालले कार्यक्रममा स्मरण गर्नुभयो । साहित्यका अन्य विधामा नारी हस्ताक्षरहरु प्रशस्तै भएपनि समालोचनाको क्षेत्रमा महिला उपस्थिति जबर्जस्त बनाउन कोरोना महामारी पूर्व प्रतिष्ठान स्थापना गरिएको उहाँले चर्चा गर्नुभयो । लगत्तै महामारीको समय भर्चुअल साहित्यिक कार्यक्रमहरु गरिएको भन्दै समालोचनाको सङ्ग्रह निकाल्ने तयारीबारे पनि अवगत गराउनुभयो । डा.शान्तिमाया गिरी अध्यक्ष रहेको प्रतिष्ठान ९ सदस्यीय छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com