केही दिनअघिको कुरा हो । नेपालमा सामाजिक सञ्जाल बन्द हुने हल्ला सुनिन थाल्यो । मनमा लाग्यो, यो हल्ला मात्र हो । एक मनले सोच्यो टिकटक बन्द गरिएका कारण 'हुन पनि सक्ला' भन्ने । तर, 'अह होइन' भन्ने अर्को मनले ठान्यो । अहिलेको समयमा यो सम्भव छैन । सूचना प्रविधिले उकालो चढिरहेको समयमा नियमनको दायरामा त हाम्रो नेपाल सरकारले ल्याउला तर वैकल्पिक उपायहरु पहिला देला । सोझै बन्द नगर्ला भन्ने देशमा रहेका आफन्त साथीभाइ तथा हामी प्रवासमा रहेका नेपालीहरुबीच केही दिनअघि सम्म कुराकानी हुन्थ्यो ।
यसैबीच, विभिन्न सामाजिक सञ्जालहरुमा Gen-Z nepo kids को lavish life, वर्षौ पदमा रही रजगज गरिरहेका राजनीतिज्ञहरुको सुशासनको रटानलाई गिज्याइरहने ठूला ठूला भ्रष्टाचार काण्डहरुको पर्दाफास भएका भिडियो र पठन सामाग्रीहरु र माइतीघर मण्डलामा सेप्टेम्बर ८ मा भेला हुने भन्ने सूचना, पोष्टर, ब्यानरहरु छ्यापछ्याप्ती देखिन थालिसकेको थियो। प्रायः सधैँ जसो गफ भइरहने नेपालमा मम्मी बुवाहरुसँग यो हल्ला सुरु भएदेखि नै गफ भइरहेको थिएन। नभन्दै , बन्द भयो । सरकारले सामाजिक सञ्जालका कम्पनीहरुलाई दर्ता हुन ७ दिनको समयावधि दिइसक्दा समेत हुँदैन यो भनेको मात्र हो, तर्साएको मात्र हो भन्ने ठानिरहेका हामी जब साँच्चिकै बन्द भयो तब अचम्मित भयौं । आखिर जे नहुनु थियो, त्यहीं भयो ।
म र श्रीमान हाल उत्तर अमेरिकी मुलुक क्यानाडामा बस्छौं । नेपालबाट कोशौं टाढा । हामी जस्तै संसारका सैयौं मुलुकमा नेपालीहरु बस्नुभएको छ । कोही स्थायी रुपमा कोही अस्थायी रुपमा । बसाईका प्रयोजनहरु अनगिन्ती छन् । तर, विदेशमा रहेका हामीहरु जस्ताको नेपालसँग निरन्तर जोडिने माध्यम भनेको सामाजिक सञ्जालहरु नै हुन् । यो भनिरहन पर्दैन ।
आमाबुबाको अनुहार हेरेर मेसेन्जर तथा ह्वाट्स एपमा कुरा गर्ने देखि दाजुभाई दिदीबहिनी तथा आफन्तहरुसँग मनका कुरा साट्ने । कामका सम्भावनाहरुबारे चर्चा गर्ने । विदेशको अवस्था बताउने र स्वदेशको खबर जान्ने मुख्य माध्यमनै सामजिक सञ्जाल थिए । सहजै जोडिने, अनुहार हेरेर भावभङ्गी बुझेर वार्तालाप गर्न पाउनुजस्तो सौभाग्य केही छैन । तर, जब हामी यो अवसरबाट टाढा भयौं देश त झन् ‘नजिक’ भयो ।
यहाँ जतिबेला पनि नेपाल र नेपालका नातागोता, आफन्त, साथीभाइ, समाज र सामाजिक आर्थिक क्रियाकलापसम्बन्धी चासो ह्वात्तै बढ्यो । अनेकानेक आशंकाहरु मनमा उब्जिए । श्रीमानदेखि यहाँ रहेका साथीभाइहरुसँग खाली नेपालको पछिल्लो अवस्थाबारे तारन्तार कुराकानी भैरहन्थ्यो । परिस्थिति हामी प्रवासीहरुका लागि पनि परिस्थिति प्रतिकूल बन्दै गयो ।

सधैँ फेसबुक मेसेन्जर मै गफ हुने भाइबर नम्बर त एक अर्काले लिइएकै रहेनछ, कतैबाट गफ हुन नै पाएन। साँच्चै नै फोटो हेरेर फोन गर्ने मेरी आमा भाइबर डाउनलोड गर्ने, भीपीएन प्रयोग गरेर फेसबुकमा मा गफिने त सम्भावना नै थिएन। २ दिनपछि भाइले भीपीएन प्रयोग गरेर चल्ने बनाइदिएछ अनि गफ हुन पायो। सामाजिक सञ्जालमा सेप्टेम्बर ८ मा जेनजीहरुको व्यापक भेला हुने कुरा थियो, उता जेनजीहरुको आन्दोलन सुरु हुनै लाग्दा यता क्यानडामा हाम्रो सुत्ने बेला हुँदै थियो ।छट्पटी गर्दै राती सुत्नै असहज भयो ।कतिबेला निदाइएछ पत्तै भएन ।
सेप्टेम्बर ८। बिहान बिउँझिने बित्तिकै आन्दोलन सफल भयो कि भएन, कति भेला भएछन्, साँच्चिकै भेला भएछन् कि हल्ला मात्र गरेका हुन् भनेर मोबाइल चेक गर्दै थिएँ। 'ए, व्यापक भेला भएछन्, माइतीघरदेखि बानेश्वरसम्म' भनेर लाग्यो। समाचार हेर्दै थिएँ, पहिले देखेँ 'सिभिल अस्पतालमा घाइतेहरुलाईउपचारका लागि रगत उपलब्ध गराउन सहयोग गरिदिनुहोला। 'मनमा चिसो पस्यो, ! ला, के भएछ' भन्ने भयो। अर्को समाचारमा देखेँ, 'आन्दोलनमा गोली लागेर २ जनाको मृत्यु' म त निन्द्रामै मोबाइल हेरेको, एकैचोटि छागाबाट खसे जस्तो झल्यास्स भएँ।
जतिजति स्क्रोल गर्दै जान्छु, मृत्यु हुने संख्या ४ पुग्यो, ६ पुग्यो भन्दै १२ जनासम्म भन्ने खबर देखेँ। 'हे भगवान! यस्तो के भयोभनेर मन साह्रै दुःखी भयो। बाँकी समाचार हेर्ने हिम्मत नै आएन, मोबाइल बन्द गरेर सुत्ने कोसिस गरेँ, सकिन। कस्तो रुन मन लाग्यो, त्यो दिनभरि । जति mobile हेर्यो त्यति आँखा रसाउँथ्यो। दिनभरि मन भारी भयो, कस्तो कमजोर र लाचार जस्तो महशूस भयो । अब बिचरा आन्दोलनकारी चुपचाप घरमै बस्छन् कि के गर्छन् भन्ने भयो, 'अब भोलि के चाहिँ हुने होला त नेपालमा' भन्दै त्यो दिन रात बित्यो।
सेप्टेम्बर ९ । बिहान ३ बजेतिर बिउँझिएर 'अब आज के चाहिँ भयो त नेपालमा, आन्दोलनकारीले के गरेछन् ?' भन्दै समाचार हेरेको त मैले नचिताएको नसोचेको काठमाडौं उपत्यकाभरिको धुवाँको मुस्लो, संसद भवन जलाएको भिडियोहरु जतातै देखेँ। म त एकैचोटि जुरुक्क उठेर बाँकी समाचारहरु हेर्न थालेँ। घरमा फोन गरेँ, 'यो सब के हुँदैछ?' भनेर। एक-एक मिनेटको फरकमा फरक-फरक ब्रेकिङ न्यूज आइरहे ।
ग्रुप फोन कलमा थियौं । एक जनाले एउटा समाचार देख्छ, 'सिंहदरबार, सर्वोच्च जलाउन लागे रे!' अर्कोले 'नेताहरु घर-घरमा कुटिए रे!' केपी ओली भाग्यो रे! शेर बहादुर, पत्नि पत्नीले कुटाई खाए रे!' प्रधानमन्त्री को राजीनामा, उपत्यकाबाहिर पनि यो भयो रे त्यो भयो रे,' हाम्रो उदयपुरको पनि नगरपालिका, मेयर, उपमेयरको घर तोडफोड, जलाउने काम भइरहेको छ रे' लगभग आधा-एक घण्टाको फरकमा यो सब भइसकेको थियो नेपालमा। ९ बजे काममा निस्किनुपर्ने म फेरि सुत्नै सकिनँ।
न्यूज र ब्रेकिङ न्यूज हेर्दाहेर्दै अनिद्रा र छटपटीले टाउको दुखेर म काममा जान नसक्ने भएँ । अन्ततः नेपालको आन्दोलन ले मलाई पनि छोयो । काममा जान सकिनँ । मेसेज गरेर खबर गर्ने बाहेक विकल्प थिएन । त्यसै गरेँ र काममा नगइ कोठामै बसेँ । नेपालमा रात परिसकेको थियो । कैदीहरु भागेको कुरा, ऐतिहासिक र सांस्कृतिक महत्वका भवनहरु रातभरि दनदनी बलिरहेको कुरा, धुवाँको मुस्लोले घेरिएको काठमाडौं उपत्यकाआदि खबर भिडियो र तस्बिरहरुमात्रै जताततै आइरह्यो मन मस्तिष्क र आँखामा । यो सब परदेशमा बसेर देखिरहँदा 'हे पशुपतिनाथ ! रक्षा गर्नुहोस् भनेर प्रार्थना गर्न बाहेक केही सकिएन ।
सेप्टेम्बर १० । आजको दिन कस्तो हुने हो अब के हुन्छ नेपालमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, प्रहरी चौकी, प्रशासनिक भवन, उद्योग, कलकारखाना सबै ध्वस्त भइसक्यो, अब के हुने होला देशमा, देश सेनाको हातमा जानेछ कि, नयाँ प्रधानमन्त्री को आउँछ, राजा फर्कने कुरा पनि छ । पुरै छटपटी र अन्योलमा त्यो दिन र रात बित्यो।
सेप्टेम्बर ११ । आजको बिहानदेखि चाहिँ मेरो मोबाइलमा रमाइला हाँस उठ्दा र मन अलिकति भएपनि शीतल बनाउने भिडियोहरु देखिए । कोही डोजर टर्याक्टर चलाइरहेका छन्, कोही पुलिस आर्मीको अभिनय गरिरहेका छन्, मुकुट लगाको, दरबारको अभिनयमा कोही व्यस्त देखिन्छन्, सामान चोरेर भागेका भिडियोहरु भाइरल छन्, हर्क साम्पाङको मिनेट मिनेटको हर्कतहरु आइरहेका छन् । उनको प्रधानमन्त्री बन्छु भन्ने र उनका समर्थकहरुले आर्मी मुख्यालयअगाडि गरेको प्रर्दशनहरु पनि हाँस्दै हेर्न थालेँ । दिनभरि हाँसो लाग्यो।
यस्तैमा अब के होला ? अब चाहिँ के होला ? भन्दा भन्दै अन्ततः देशले पहिलो महिला प्रधानमन्त्रीका रुपमा देशकै पहिलो महिला प्रधानन्यायाधीश भैसक्नुभएकी सुशीला कार्कीलाई प्राप्त गर्यो भन्दा मन शान्त भयो । चैन मनमा छायो । राहत मिल्यो । अन्तरिम सरकार गठन भयो, संविधान बच्यो, अब शान्ति हुन्छ अब मुलुकमा केही हुन्छ भन्ने आशा पलायो ।
नेपालमा पहिलो महिला प्रधानमन्त्री र त्यसमा पनि थोरबहुत मैले जानेबुझेको सुशीला कार्की प्रधानमन्त्री हुनुभयो भन्दा साँच्चिकै गुजबम्प्स नै आयो । हात पाखुरामा काँडा उम्रेझै भयो । र ती काँडा परिवर्तन, समृद्धि र सम्भावनारुपी काँडा थिए ।हिजोसम्म 'बुढाहरुको काम छैन, उनीहरुले विश्राम लिनुपर्छ' भन्ने युवाहरुले सकारात्मक रुपमै एउटी आमालाई मुलुककै अभिभावक मानेर पुजेको देख्दा साँच्चिकै मन प्रफुल्लित भयो ।
अब अपेक्षा गरौं आमाले आफ्ना सन्ततिहरुको रक्षा गर्नुहुन्छ । आफ्ना सन्तानहरुको भलाइको निम्ति निस्वार्थ भावका साथ काम गर्नुहुनेछ । तोकिएको समयमै हाम्रो नेपालमा निर्वाचन भइ ५ वर्षका लागि दिगो र साँच्चिकै नेपालीहरुको सुन्दर भविष्य रच्ने स्थायी सरकार आउनेछ । अनि हामी जस्ता विदेशीएकाहरु पनि ‘होइन, अब त स्वदेशनै फर्कनुपर्छ, मुलुक बनाउन हामीले पनि माटोमै बसेर मिहेनत गर्नुपर्छ !’ भनेर झोलीतुम्बा बोकी फर्कनेछौं । आशा गरौं अब हाम्रो नेपाल पनि बन्छ र त्यो बनाउने हामी सबैले हो । यही सोच्दै भोलि फेरि काममा जानुछ भनी निदाउने तरखर गरेँ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com