Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विपिन जोशीको पुरानो भिडियो सार्वजनिक,जीवितै रहेको परिवारको विश्वास

विपिन जोशीको पुरानो भिडियो सार्वजनिक,जीवितै रहेको परिवारको विश्वास

काठमाडौं । हमासको आक्रमणमा परी बन्धक बनाएका नेपाली युवा विपिन जोशीको एउटा पुरानो भिडियो सार्वजनिक भएको छ । दुई वर्षअघिदेखि बन्धक बनाइएका जोशीको अवस्था हालसम्म अज्ञात रहेको समयमा पुरानै भएपनि उनको भिडियो सार्वजनिक भएसँगै सकारात्मक आशाहरु पलाएका छन् । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका जोशीको एउटा पुरानो भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ त्यो सार्वजनिक गरेका हुन् । 

बुधबार साँझ सार्वजनिक ३३ सेकेन्डको भिडियोमा विपिनले आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको भन्दै संक्षिप्त परिचय दिएका छन् । गाढा नीलो कपडामा देखिएका उनको शरिरमा कुनै चोटपटक नलागेको वा घाउहरु नभएको देखिन्छ । उक्त भिडियो उनी बन्धक बनाइए लगत्तै खिचिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच, जोशी परिवारले उक्त भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।

अध्ययनको सिलसिलामा सुदूरपश्चिम विश्वविद्यालयको (लर्न एन्ड अर्न) कार्यक्रम अन्तर्गत इजरायल पुगेका कञ्चनपुरका विपिनसहित अन्य नेपाली विद्यार्थी २०८० असोज २० मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।   हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको थिएन । 

विपिनको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी हाल अमेरिकामा छन् । उनीहरु असोज ९ मा त्यहाँ गएका हुन् । उनीहरू इजरायल नै नै पुगेर विपिनको रिहाइका लागि पहल गर्न त्यहाँको सरकारलाई आग्रह गरेर फर्केपछि अमेरिका गएका हुन्। अमेरिकामा उनीहरुले विपिनको अवस्था सार्वजनिक गराउने पहल गरिरहेका छन् ।  

विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।

सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भए ।

विपिनलाई भने हमासले अपहरण गरी गाजामा लगेका थिए । एक समयमा उनलाई अलशिफा अस्पतालमा राखिएको थियो । सो अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक भएको थियो । त्यसयता विपिनको अत्तोपत्तो थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको पछिल्लो शान्ति योजना अनुसार हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार