कटुञ्जे, भक्तपुर । तिहार नजिकिदै गर्दा फूलका कथाहरु खोज्न हिजो मध्यान्हतिर भक्तपुरको गुन्डु जादै थिए । बाटोमा मेराआँखा वरुणपुर कृषि सहकारी मार्टको साइनबोर्डमा परे । साइनबोर्ड आकर्षक थियो । त्यसैले, स्कुटर रोकेँ । वास्तवमा सहकारीको आकर्षक साइनबोर्डले आँखा लोभिएको थियो । जे भनेपनि ‘फर्स्ट इम्प्रेशन इज द लाष्ट इम्प्रेशन’ भनिन्छ । म त्यो ‘फर्स्ट इम्प्रेशन’ साँच्चिकै ‘राइट इम्प्रेशन’ पनि होस् भन्ने चाहन्थेँ । पहिलो प्रभाव दिगो प्रभाव बन्छ कि बन्दैन, खोजी गर्ने निधोमा पुगेँ ।
साइनबोर्ड राखिएको घर र त्यसको पहिलो तल्लामा रहेको मार्ट परबाटै हेर्दा पनि त्यत्तिकै आकर्षक देखियो । अब मनमा ‘मल्टिपल’ जिज्ञासाहरु उठे । स्टोरीहरु खोज्दै जाने क्रममा सहकारी पनि अधिक खोजीको विषय बन्ने भएकाले उक्त सहकारीबारे पनि जान्ने बुझ्ने इच्छासहित मनशान्तिका लागि स्कुटर पार्क गरेर उतैतिर लम्किएँ ।
एउटा कृषि सहकारीले कटुञ्जेको मुल बाटोमा पसौ पसौ लाग्ने गरी मार्ट सञ्चालन गरेपछि खासमा म तानिएको थिएँ । नपसी रहन सकिनँ । सहकारी भनेपछि पैसाको किनबेच मात्र गर्ने हुन् भन्ने अप्लज्ञान (खासगरी शहरतिर) व्याप्त भएको समयमा कृषि सहकारीले के कस्तो काम गर्दो रहेछ भन्ने बुझ्ने अनि बुझाउने कोशिसमा लागेँ ।
मार्टमा एक जना बहिनी भेटिनुभयो । मेम्बर सर्भिस वा फ्रन्ट डेस्कमा कार्यरत । बहिनीबाट संक्षिप्त जानकारी लिएँ । अनि, उहाँकै सल्लाहमा नजिक रहेको कृषि सहकारीको कार्यालय पुगेँ । सोधखोज गरेपछि काउन्टरमै बसेर सदस्यहरुलाई सेवा उपलब्ध गराइरहनुभएकी व्यवस्थापक शान्ति कस्ती भुजूसँग चिनजान भयो । हसिलो अनुहारकी धनी उहाँ धिप्री डटकमसँग सहकारीका बारे कुरा गर्न सहमत हुनुभयो ।
सहकारीको स्टोरी
वरुणपुर कृषि सहकारी संस्था लि. ले गएको असोज ४ गतेमात्रै आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको रहेछ । संयोग कस्तो भने, उक्त सहकारीले यो पटक सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न गरी रामचन्द्र गोसाँईलाई लगातार दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पिएको रहेछ । ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति फ्रेस म्यान्डेटका साथ कार्यकालको सुरुवाती चरणमा रहेछ ।
तीन मुख्य काम
संस्थाको ११औं वार्षिक साधारणसभाको प्रतिवेदनमा अध्यक्ष गोसाँई लेख्नुहुन्छ, यस संस्था सञ्चालनका लागि बनेको विनियम २०७१ को परिच्छेद २ को दफा ७ बमोजिम संस्थाले उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणलाई विशेष महत्वका साथ कार्यान्वयन गरेको छ ।’
एउटा कृषि सहकारीको लागि यो विषय महत्वपूर्ण छ । यो विषयले मेरो ध्यान तान्यो र मैले व्यवस्थापक भुजूसँग जिज्ञासा राखेँ । उहाँले प्रत्युत्तरमा भन्नुभयो, ‘हामीले सहकारी मार्टसँगै कुटानी पिसानी मिल तथा २५ मेट्रिक टन क्षमताको शीत भण्डारण केन्द्र पनि सञ्चालन गरेका छौं । जग्गा भाडामा लिई संरचना र मेशिनहरु आफैले निर्माण तथा जोहो गरी चलाइरहेका छौं । यसले सदस्यहरुलाई धान कुटाउने र गुणस्तरीय अनि सहज तथा सर्वशुलभरुपमा चामल प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।’
मार्ट जति मुनाफा मिलबाट नभएपनि यो सदस्यहरुको जीवनसँग अन्योन्याश्रित तवरले जोडिएको छ । उहाँले भन्नुभयो, ‘बिस्तारै मिललाई पनि हामी मेजर उपलब्धि बनाउँछौं । स्थानीय उत्पादनहरुलाई मार्टमा बढी स्थान दिने र त्यसका लागि मिल तथा शीत भण्डारणको प्रभावकारिता बढाउँदै लाने हाम्रो योजना छ ।’
अध्यक्ष गोसाँई पनि आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुहुन्छ, ‘यस संस्थाले सहकारी मार्ट समेत सञ्चालन गरेको छ । मार्ट, मिल र शीत भण्डारण केन्द्र सञ्चालन गर्नुको प्रमुख र पवित्र उद्देश्य सहुलियत दरमा दैनिक उपभोग्य सामानहरु बिक्री वितरण गरी आम उपभोक्ताहरुलाई सेवा दिनु रहेको छ ।’
मार्टमार्फत मिलमै कुटाएको लोकल चामलहरुको अतिरिक्त अन्य स्थानीय उत्पादनहरु तथा अन्य सामाग्रीहरु राम्रोसँग व्यवस्थापन गरेर बिक्री बितरण गर्दै आएको संस्थाले जनाएको छ । मुख्य कुरा सदस्यहरुलाई गुणस्तरीय, ताजा र स्वास्थ्र्यबर्धक सामाग्रीहरु सरल रुपमा सहज तरिकाले सुपथ दरमा उपलब्ध गराउँदै आएको व्यवस्थापक भुजूले दाबी गर्नुभयो ।
संस्थाले स्थानीय अर्थात् भक्तपुर जिल्लामै उत्पादित धान खरीद गरी चामल कुटाएर मिल र मार्टबाट बिक्री वितरण गर्दै आएको छ । सदस्यहरुले लोकल धान र चामलको स्वाद संस्थामार्फत लिन सक्ने प्रबन्ध वरुणपुर कृषि सहकारीले मिलाएको व्यवस्थापक भुजूले जानकारी गराउनुभयो । त्यस्तै, मार्टमा पनि स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिदै आएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय, गुणस्तरीय र सुपथ मूल्यमा सामानहरु पाइने भएकाले विस्तारै सदस्य र गैरसदस्य (सम्भावित सदस्य) हरुको रोजाइ वरुणपुर कृषि सहकारी मार्ट बन्न थालेको उहाँले बताउनुभयो ।
यस्तै, संस्थाले सूर्यविनायक नगरपालिकाको सिफारिशमा कृषि सामाग्री केन्द्र लि. कुलेश्वर र साल्ट ट्रेडिङ कर्पोरेशनसँग सहकार्य गरी गत आर्थिक वर्षमा ४४१ बोरा युरिया, २९३ बोरा डि.ए.पी र ८ बोरा पोटास गरी जम्मा ७४२ बोरा अनुदानको रासायनिक मल बिक्री वितरण गरेको थियो । यो क्रम यो वर्ष पनि जारी रहेको व्यवस्थापकले बताउनुभयो । यसले सदस्यहरुलाई संस्थाप्रति थप विश्वास बढेको भुजूको भनाइ थियो ।
‘गत वर्ष त हामीले मार्टबाट सबै खर्च कटाएर करिब ७ लाख मुनाफा गर्यौ, ’ उहाँले भन्नुभयो, ‘यसले हामीलाई उत्साहित बनाएको छ । संस्थाले यो वर्ष सदस्यहरुलाई ८ प्रतिशत लाभांश समेत उपलब्ध गराएको छ । हामी सही बाटोमा छौं भन्ने हामीलाई लागेको मात्र छैन हाम्रो वित्तीय अवस्थाले पनि बताउँदछ ।’
२०७१ साल असार १८ गते तत्कालीन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालनमा आएको संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सदस्यहरुलाई अधिकतम सेवा प्रदान गरी समुदायमा पृथक छाप छोड्ने उद्देश्य बोकेको व्यवस्थापक भुजूले बताउनुभयो ।
विविध खाले सम्मान कार्यक्रम
संस्थाले हरेक वर्ष बाल बचतकर्ताहरुमध्ये एसईई उत्तीर्णहरुलाई सम्मान, ज्येष्ठ सदस्यहरुलाई मातातिर्थ औंसीको दिन आमाहरुलाई र कुशे औंसीको दिन बुबाहरुलाई उपहार वितरण गदैै आएको छ । यस्तै, एकल महिलाहरुलाई तिर्थयात्रा कार्यक्रम, दीर्घ रोग लागेका शेयर सदस्यहरुलाई राहत वितरण तथा बालबचतकर्ता भाइबहिनीहरुलाई जन्मदिनमा केक उपहार प्रदान गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
व्यवस्थापक भुजूले मलाई मार्ट, मल र शीत भण्डारको अवलोकन गराई विस्तृत जानकारी पनि सहजतापूर्वक उपलब्ध गराउनुभयो । यसले पनि वरुणेश्वर कृषि सहकारीको काम लुकाउनुपर्ने खालको नरहेको प्रष्ट हुन्थ्यो । मार्टमा सचिव र अन्य सञ्चालकहरु पनि भेट भयो । समग्र अवस्थाबारे जान्ने बुझ्ने मौका मिल्यो ।
चुनौतीः उद्देश्यप्रतिको सजगता
संस्थाले सदस्यहरुसँग बचत तथा ऋणको कारोबार गर्दै बचत तथा ऋणका विभिन्न प्रडक्टहरु उपलब्ध गराएको विषयमा मेरो ध्यान केन्द्रित भयो । यसै विषयमा मैले प्रश्न गरेँ, ‘कृषि सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गर्नुपर्छ । यस विषयमा तपाईहरु सचेत हुनुहुन्छ नि होइन ? जवाफमा व्यवस्थापक भुजूले भन्नुभयो, ‘हिजो उद्देश्यबाट केही बिमुख भए पनि अब भने हामीले सदस्यहरुसँग नियमित बचतमात्र संकलन गर्ने योजना तर्जुमा गरेका छौं । हामी कानून विपरित केही गर्दैनौं । हिजो नियमन कडाइ नहुँदा जे गरेपनि अब भने हामी रीतपूर्वक काम गर्छौं ।’ यो संस्थागत स्वीकारोक्ति सम्मानयोग्य थियो ।
यसै सन्दर्भ संस्थाको पछिल्लो वार्षिक प्रतिवेदनमा पनि उल्लेख छ । अध्यक्ष गोसाँई लेख्नुहुन्छ, ‘सदस्यहरुको सेवा संस्थाको मुख्य उत्तरदायित्व सम्झेर सदस्यहरुबाट बचत संकलन गरी ऋण लगानी गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाइरहेका छौं ।’
चुनौतीको कुरा गर्दा व्यवस्थापक भुजू भन्नुहुन्छ, ‘पछिल्लो सयममा संस्थासँग अधिक तरलता छ । लगानीको लागि नयाँ योजनाहरु ल्याउनुपर्ने चुनौती छ । अधिक तरलता एक हिसाबाले संस्थाप्रतिको विश्वासको परिचायक हो । तर, अर्को हिसाबले भन्ने हो भने त्यसको सुरक्षित लगानी र प्रतिस्पर्धी दरमा सदस्यहरुलाई ब्याज उपलब्ध गराउनु चुनौती पनि हो ।’ तर, अब हामी मोडिन्छौं भन्ने व्यवस्थापन प्रमुखको भनाइ भोलिका दिनमा व्यावहारिक रुपमा देख्न पाइन्छ कि पाइदैन त्यसको फलोअप स्टोरी गर्ने निर्णय मैले मनमनै गरेँपनि ।
त्यसलाई साइडनोटका रुपमा लिदै ‘विकासका लागि कृषि सहकारी’ को आफ्नो परिकल्पनालाई साकार पार्न वरुणपुर कृषि सहकारी प्रत्यत्नरत रहेको ठम्याइ यो पंक्तिकारको थियो । अर्को भनेको सहकारी शिक्षालाई व्यापकता दिन नसकिएको व्यवस्थापनको स्वीकारोक्ति । सदस्य सहभागिता न्यून भएको गुनासो व्यवस्थाक भुजूले गर्नुभयो तर पनि सहकारी शिक्षालाई निरन्तरता दिने र व्यवस्थापन तथा सञ्चालक समितिले पनि सहकारीसम्बन्धी आवश्यक तालिमहरु छाता संगठन तथा सहकारीका नियामकीय निकायहरुबाट लिदै जाने योजना संस्थाको रहेको छ ।
महिलामैत्री
करिब १५ सय सदस्य रहेको वरुणपुर कृषि सहकारीमा महिला पुरुष सदस्यहरुमा करिब १ सयको मात्र फरक छ । कर्मचारीमा पनि महिलाहरु नै बढी हुन । ११ जनामा ८ जना महिला कर्मचारी । अर्को भनेको २०७५ सालमा लेखा सहायकबाट सेवा प्रवेश गर्नुभएकी भुजू अहिले व्यवस्थापक हुनुहुन्छ । ४ वर्ष भयो उहाँ व्यवस्थापकमा पदोन्नति हुनुभएको । यो महिलाहरुको लागि महत्वपूर्ण उपलब्धि हो । अनि, पुरुषहरुको लागि पनि गतिलो उत्तर हो । महिलाहरुले के गर्न सक्छन् र ? भन्ने प्रश्न पुरुषहरुले गर्नुभन्दा अघि बारम्बार सोच्ने र धरातलीय यथार्थ विश्लेषण गर्ने उदाहरण पनि हो भुजूको सफलता ।
समुदाय केन्द्रित
वरुणपुर संस्थामा सबै समुदायका जिम्मेवार र स्थायी बासिन्दाहरु नै संलग्न हुनुहुन्छ सञ्चालक समितिदेखि व्यवस्थापनसम्म । यसले गर्दा पनि अधिकांश सदस्यहरु जो स्थानीय बासिन्दाहरु नै हुनुहुन्छ, उहाँहरुलाई पनि अविश्वास गर्ने अवस्था सृजना भएको छैन । केही अपवाद त हुन्छ नै खासगरी पछिल्लो समय सहकारीहरु समस्यामा परेका, बचत अपचलन गरी सञ्चालकहरु भागेको जस्ता समाचारहरु आएसँगै आशंकाहरु नभएका होइनन् तर तिनलाई कामले गलत सावित गर्न आफूहरु लागि परेको व्यवस्थापक भुजूले बताउनुभयो । सूर्यविनायक नगरपालिकाभर कार्यक्षेत्र रहेको सहकारीले सबै भूगोललाई समेट्न नसकेपनि जति समेटेको छ त्यो साँच्चिकै सदस्यहरु समेटेको व्यवस्थापकले बताउनुभयो । केवल बचतकर्ता नभई संस्थाप्रति उत्तरदायी र जिम्मेवार सदस्यहरु रहेको उहाँको भनाइ थियो । संस्थाले कृषि उपसमिति, महिला उपसमिति, संस्था विकास तथा विस्तार उपसमिति लगायत विङ्जहरु बनाएर सञ्चालकहरुलाई जिम्मेवार र संस्थाको विकासमा लाग्न प्रेरित गर्दै आएको छ ।
अन्त्यमा,
सहकारीमार्फत सदस्यहरुको हितका लागि ठूलो महत्वाकांक्षा नराखी काम गर्दा सफलता मिल्दै जान्छ । सानो सफलताबाट उत्साही भइ थप सचेतबन्दै र सम्हालिदै अघि बढ्ने हो भने समुदायमा छाप छोड्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै गरेको वरुणपुर सहकारीको स्टोरी अन्य सहकारीहरुका लागि पनि प्रेरणादायी बन्ने विश्वासका साथ सबैसँग बिदा भएर म गुन्डुतिरका मखमली र सयपत्री फूलहरुको सुवास खोज्न लागेँ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com