Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सगरमाथा आरोहण मार्ग निर्माण सम्पन्न

सगरमाथा आरोहण मार्ग निर्माण सम्पन्न

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा छ जना आइसफल डाक्टरसहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।

‘स्प्रिङ सिजन’ को सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो सातादेखि बाटो निर्माणमा लागेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा, आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा गएको टोलीले निर्माण सम्पन्न गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चकी सूचना अधिकारी याङ्जिडोमा शेर्पाले जानकारी दिनुभयो ।  सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भ‌र्‍याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्छन् । 

चुनौतीपूर्ण मौसम भए पनि १८ घण्टा खटेर टोलीले दुई हजार दुई सय मिटर डोरी राखेपछि २०२५ को सगरमाथा सिजन अब आधिकारिक रूपमा खुलेको समितिले जनाएको छ । खुम्बु आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । 

पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार चार सय मिटर उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठुला हिमखाल्डा छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नु पर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकले आरोहणकै समयमा गर्छन् । 

आधार शिविरमा पदमार्ग निर्माण निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्म अनुसार लामाबाट पूजापाठ गरी बाटो निर्माणको साइत गरिएको थियो । बाटो निर्माणका लागि एक हप्तासम्म आधार शिविरमै आवश्यक तयारी गरिन्छ । हिमाल आरोहण गर्ने बाटो हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । 



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार