काठमाडौं । २०६७ साल बैशाख ३० गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २५ जना स्थानीयहरु (अधिकांश महिला) प्रत्येकले ५ हजार जम्मा गरेर दर्ता गरेको पशुपतिनाथ अर्चना बचत तथा ऋण सहकारी संस्था लि. पशुपति, जयवागेश्वरीमा सञ्चालनरत छ । काठमाडौं महानगरपालिका वडा नं ७, ८ र ९ कार्यक्षेत्र रहेको साकोसले संस्थागत वृद्धिमा जोड नदिएपनि लगानीका दृष्टिकोणले आफूलाई सुरक्षित राखेको छ । स्थानीय महिलाहरुको खनखाँचो टार्ने र भेटघाट गर्ने थलोको रुपमा रहेको समूहलाई सहकारीको प्रारुप दिइएको थियो । तर, स्थापनाको एक दर्जन बढी वर्ष बितिसक्दा पनि संस्थाले सदस्यता र कारोबार वृद्धिमा भन्दा पनि समूहका सदस्यहरुबीच हार्दिकता र निकटता अक्षुण राख्दै आएको छ ।
अधिकांश महिलाहरु मिलेर सहकारी स्थापना गर्न लागेको भनेपछि तत्कालीन डिभिजन सहकारी कार्यालय प्रमुख केशव बहादुर थापाले तत्कालै सबै कुरा बुझेर, कार्यालय राख्ने स्थान र सदस्यहरुसँग भेटी दर्ता सहजीकरण गरेको संस्थाकी सचिव गोमा सुवेदी र कार्यालय प्रमुख रोजिना डंगोल प्रजापतिले बताउनुभयो । हिजो दिउँसो कार्यालयमै भेटिनुभएकी सचिव र व्यवस्थापक दुबै जनाले भन्नुभयो, 'हामीले सहकारी दर्ता गर्ने भनेपछि केशव सर यही आउनुभयो, स्थान हेर्नुभयो, सबैसँग भेट गर्नुभयो र सबै कुरा बुझेपछि ल तपाईहरु आउनुहोस् दर्ताका लागि भनेर भन्नुभयो ।'
दुबै जनाले भन्नुभयो, 'संस्था सानो छ, तर सुरक्षित छ ।' धेरै स्थानीय महिलाहरुले समूहको रुपमा चलाएको जानकारी गराउँदै ठूलो बनाउने इच्छा नरहेको दुबै जनाले बताउनुभयो । 'अब नयाँ पुस्ताकाहरु सदस्य मिलेर काराबोर र सदस्य संख्या बढाउने भन्छन् भने हो हामी त अब उमेर पनि बढी भइसक्यो, धेरै ठूलो रिस्क नलिने' उहाँहरुले भन्नुभयो ।
पशुपतिनाथ अर्चना साकोस सहकारीको कुनै पनि सञ्जालमा जोडिएको छैन । छ त केवल राष्ट्रिय सहकारी बैंकसँग मात्र । कास्कून र नेफ्स्कून लगायतबाट आवद्ध हुन आग्रह गरेपनि अग्रसरता नदेखाएको सचिव र व्यवस्थापक स्वीकार्नुहुन्छ । समूहको रुपमा तर सफ्टवेयर राखेर करिब ५ कर्मचारीहरु सहभागी भई संस्था सञ्चालन गरेको उहाँहरुले बताउनुभयो । एउटा हल जस्तो कोठामा कार्यालय सञ्चालन गरिएको छ । करिब साढे २ करोडको कुल पुँजी रहेको साकोसमा पुग नपुग डेढ सय सदस्य छन् । सबै स्थानीय भएकाले लगानी र बचतमा समस्या नभएको उहाँहरुले सुनाउनुभयो ।
सचिव र व्यवस्थापकले भन्नुभयो, 'हामी हर्जाना र पेनाल्टी पनि लिदैनौं, धेरै ब्याज पनि लिदैनौं । हामी कारोबारी होइन, सहयोगी मात्र हौं । सदस्यहरुलाई सहयोग गर्ने हाम्रो ध्येय हो । स्थापनाकालका २५ जना हामी सँगै हुनुहुन्छ । कोही पनि छिन्नभिन्न हुनुभएको छैन । यो सबैभन्दा ठूलो विश्वास हो । हामीले शुरुदेखि नै धेरै सदस्य बनाउने भन्दा पनि राम्रा र दिगो सदस्य बनाउने तिर ध्यान दियौं । अहिले त झन् हाम्रो ध्यान सदस्य फैलाउने र कारोबार बढाउने तर्फ छैन । अब पद हस्तान्तरण गरेर नयाँ पुस्ताले चाह्यो भने होला । हामी धेरै ठूलो बनाउने सोचमा छैनौं ।'
संस्थाकी पूर्व अध्यक्ष वडा सदस्य निर्वाचित भएपछि राजीनामा दिनुभयो । हाल चाँदनी राजभण्डारी ९ सदस्यीय सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । सञ्चालक समितिमा १ र लेखा सुपरिवेक्षण समितिमा १ गरी केवल २ जना मात्र पदासीन पुरुष हुनुहुन्छ । सदस्यमा पनि संस्थामा ऋण उपसमिति मात्र रहेको छ जसले विनियम अधिनस्थ ऋण लगानीको विषयहरु हेर्ने गर्दछ । हाल करीब १ करोड रुपैयाँ बढी लगानी रहेको छ । करिब २५ जनामा उक्त ऋण लगानी भएको व्यवस्थापकले जानकारी गराउनुभयो । सामूहिक जमानीमा अधिक र थोरैमात्र धितोमा लगानी गर्दै आएको छ । साकोसले धितोमा १० लाख र सामूहिक जमानीमा २ लाख सम्म लगानी गर्दै आएको छ ।
साकोस हाल १६औं वार्षिक साधारणसभाको तयारीमा रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com