Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सडकमा सहकारीपीडित

सहकारीले भन्यो–त्यो समाचार ‘फेक’ हो

सहकारीले भन्यो–त्यो समाचार ‘फेक’ हो

काठमाडौं । 'त्यो शुक्रबारको दिन थियो, म बेनी न्यूरोडस्थित सहकारीको कार्यालयमा एक्लै गएर ९ लाख रुपैयाँ जम्मा गरेँ । भोलिपल्ट शनिबार बिदाको दिन भयो । त्यसैले पर्सिपल्ट आइतबार ६ लाख थपेँ, ’आज बिहीबार दिउँसो बुद्धनगरमा भेटिएकी ती महिलाले धिप्री डटकमलाई सुनाइन्, ‘अन्यत्र बैंकमा जम्मा गरेको रकम आफन्तले निक्कै कर गरेपछि निकालेर सहकारीमा राखेँ । एकैपटक ननिकाली दुई पटक गरेर १५ लाख सहकारीलाई बुझाएँ । त्यसको दुई दिनपछि मंगलबार सहकारीले पैसा फिर्ता दिन नसकेर समस्यामा पर्यो भन्ने समाचार आयो ।’

उस्तै उमेरकी एक साथीले नाम नबताउने सर्तमा मिडियालाई व्यथा सुनाउन आग्रह गरेपछि उनी हामीसँग खुल्न राजी भइन् । मास्कले मुख छोपेकी ती महिला धिप्रीसँग बिस्तारै खुलिन् । नाम र तस्बिर प्रकाशित नगर्ने सर्तमा उनी अनकनाउँदै आफ्नो कुरा सुनाउन तयार भइन्, ‘सहकारी समस्यामा पर्यो भन्ने समाचारले त मेरो सासै रोक्किएला झैं भयो । सम्हालिएँ । भोलिपल्ट बुधबार हतारहतार गरेर सहकारी पुगेँ । सोधखोज गर्दा त्यो समाचार फेक हो भन्यो । त्यस्तो केही होइन भन्यो । आश्वस्त हुन खोजेँ तर विश्वस्त भइनँ ।’

तर, त्यसको केही दिनपछि नै सहकारी बन्द भयो । जब सहकारी बन्द भयो उनको दुःखको दिन शुरु भयो ।

गुल्मी घर भएकी उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए । घरमा थाहा नदिइकन माइत नजिकको सहकारीमा छोराहरुको सुरक्षित भविष्यको सपना बुन्दै श्रीमानले विदेशमा कमाएर पठाएको पैसा सहकारीलाई सुम्पिइन् । उनले भनिन्, ‘तर, ३ दिनको बीचमा १५ लाख डुब्यो ।’ 

१६ प्रतिशत ब्याजदर पाउने शर्तमा उनले एक वर्षका लागि मुद्धतिमा १५ लाख रुपैयाँ राखेकी थिइन् । त्यसयता अहिलेसम्म एक रुपैयाँ पनि प्राप्त नगरेको उनले सुनाइन्, ‘न ब्याज, न साँबा ।’ सहकारी समस्यामा परेपछि पीडितहरु संगठित भए । उनी पनि त्यो संगठनमा जोडिन बाध्य भइन । त्यसयता बचत फिर्ताको अभियानका सिलसिलामा दुई पटक काठमाडौं आइसकिन उनी । ‘हामी त समूह समूह भएर आएका छौं, ’उनीसँगैकी साथीले सुनाइन्, ‘पालैपालो ।’

पहिलो पटक आउँदा उनी ४ दिन काठमाडौं बसिन् । उनका दुई छोरा छन् । एघार बाह्र बर्षका । छोराहरु पनि बाबुआमाको पीडा बुझ्छन् ।  दिदीहरुको कोठामा छोराहरु छोडेर यो दोस्रो पटक काठमाडौं आएकी हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाईमा भैरहेको विरोध प्रर्दनमा भाग लिन ।

आज ती महिला हामीलाई भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को कुरा सुनाउँदै थिइन्, जसले देशका विभिन्न स्थानमा मार्टहरु सञ्चालन गरेको थियो । जसलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साल भदौं २५ गते समस्याग्रस्त सहकारी घोषित गरेको थियो । उनले त्यही शिवशिखरको बेनीस्थित शाखामा करिब ३ वर्षअघि १५ लाख बुझाएकी थिइन् । 

शिवशिखर सहकारीका ३२ हजार ६१३ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपियाँ अपचलन भएको छ । उक्त सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मा जेलमा छन् ।  देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि ती महिलाजस्तै हजारौं बचतकर्ताहरू विचल्लीमा परेका हुन् ।

मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउद्देश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो। २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिवशिखरले बेनीस्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको थियो । अहिले भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । 

सुरुवातमा सदस्यहरुलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर आर्थिक कारोवार बन्द गरेको थियो।  विगतमा निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो।

पैसाकै कारण पारिवारिक सकस र बिग्रहको साँधसम्म पुगेकी उनले दुःख साटिन्, ‘बैंक भन्दा थोरै बढी आउछ र त्यसमाथि आफन्तले बेस्सरी कर गरेपछि लौनत भनेर राखेकी हुँ । विदेशमा रहेका श्रीमानसँग पनि सरसल्लाह गरेँ । आखिर त्यो पैसा त उनैले विदेशमा दुःख गरेर पठाएको रकम थियो । आफन्तको विश्वास कसरी नगर्नु ?’ 

त्यही पैसाको कारण बारम्बार घरमा झगडा भैरहने उनले सुनाइन् । तर, उनले श्रीमानलाई सम्झाउने गरेको बताइन् । ‘मान्छे मरेर त जान्छ, अंगभंग भएर दीर्घरोग त लाग्छ, हाम्रो त पैसा न डुबेको हो त्यो पनि उठ्नसक्छ भनेर सम्हाल्ने गरेकी छु, ’उनले भनिन् ।

सहकारी समस्यामा परेपछि विदेशबाट फर्केका श्रीमान चिन्तामा परे । र, अहिलेसम्म उनले कुनै ठेगानको काम गर्न सकेका छैनन । भन्छिन्, 'सहकारीका बारेमा जान्दै नबुझ्दै पैसा राख्यौं । केही लोभ पनि भयो । तरपनि, हामीले अपराध गरेका छैनौं । पसिना बगाएर कमाएको पैसा एक दिन त कसो फिर्ता नआउँला !’

( तस्बिर: एआई)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार