जटिल परिस्थितिका बीच म राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बनेको सबैलाई थाहै छ । केबी उप्रेती सरलाई अफ्ठेरो अवस्था परेका कारण सञ्चालक समितिले मलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति गठन भएसँगै एक वर्ष टीम वर्कका साथ हामीले काम गर्यौं ।
सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापन समूहको टिम वर्कले एक वर्ष नपुग्दै (असोज मसान्त) मै नाफामा ल्याउन सफल भयौं । असोजमा हामीले २४ लाख रुपैयाँ नाफा गरेको म जानकारी गराउन चाहन्छु ।
बैंकको पछिल्लो बोर्डप्रति ‘साह्रै लाटो टिम आयो’ भनेर खिसिट्युरी गर्नेहरुको पनि कमी थिएन । केन्द्रीय नेतृत्वमा अरु धेरै साथीहरु बसिरहेको र आकांक्षी रहेको अवस्थामा हामी आउँदा कतिपयले असहयोग पनि गरेको अवस्था हो ।
यद्यपि, वर्तमान सञ्चालक समिति सकारात्मक सोच्ने समूह भएकाले त्यस्ता नकारात्मक कुराहरुलाई ध्यान नदिई काम गर्यौं । नेपाल राष्ट्र बैक गएर हुन्छ कि पत्रपत्रिकामा लेखाएर हुन्छ कि, हामीलाई असहयोग भएकै हो । तर, हामीले उहाँहरुको बारेमा केही पनि भनेनौं । एउटा टिम हामी विरुद्ध लागिरह्यो ।
कतिपय साथीहरुलाई के लाग्थ्यो भने प्रारम्भिक संस्थाको साधारणसभामा भाषण गर्दा बैंक बन्छ भन्ने थियो । त्यो 'कल्चर'लाई हामीले तोडेका छौं । सञ्चालक समितिले आन्तरिक व्यवस्थापनका लागि आगामी कार्यदिशा भनेर व्यवस्थापनलाई २५ बुँदा हस्तान्तरण गरेको छ ।
तीमध्ये पहिलो बुँदामा बैंकको स्वथ्यता जाँच हुनुपर्यो भन्ने राखिएको छ । यहाँ भित्र के छ त ? हामी सञ्चालक भयौं तर पनि भित्रका कुराहरु मिहिन रुपले हेरेनौं । जे आयो त्यही पास गर्यौं । म आइसकेपछि सञ्चालक समितिका सबैले व्यवस्थापनले तयार गरेका प्रस्ताव र प्रतिवेदन पूर्णतः पढ्नुपर्यो, वित्तीय साक्षरता पढ्नुपर्यो भनेर बैंकका पूर्व अध्यक्ष रमेश पोखरेल समेतलाई पढाउने काम गर्यौं
। पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) लगायतका विषयमा समेत हामीले पनि पढ्यौं र रमेश पोखरेल सरलाई समेत पढायौं । त्यसपछि हामीले पोखरेल सरलाई ऋण उठाउन लुम्बिनी सम्म पुर्यायौं । करिब ८ वर्ष अध्यक्ष भएका पोखरेलले आफूलाई त यस्तो प्राविधिक विषयहरु थाहै थिएन समेत भन्नुभयो । यद्यपि, भाषण गर्ने सबै सरहरुले 'दामी डिभिडेन्ड' बाढ्छौं भन्ने मात्र गर्नुहुन्थ्यो ।
मेरो भनाइ के हो भने, कि त प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्छ । होइन भने अन्य व्यक्तिहरु पनि प्रोफेसनल बन्नुपर्छ । यो मान्यता अब स्थापित गरिएको छ । साँच्चै भन्ने हो भने बैंकको पछिल्लो समिति लाटो चाहिं थिएन है । लाटो भनेर हामीलाई खिसिट्युरी गरेको अवस्था थियो ।
म भन्न चाहन्छु, हामी आएपछि बैंकले आन्तरिक व्यवस्थापनमा व्यापक सुधार गरेको छ । सञ्चालक समितिले २५ बुँदे कार्यदिशा निर्माण गरेसँगै सानो सानो ऋण लगानीलाई प्राथमिकतामा राखेका छौं र त्यो अभ्यासमा पनि छ । पहिला पहिला एउटै संस्थालाई ४० करोड रुपैयाँसम्म लगानी गरिएको रहेछ । २५ वटा सम्म यसरी लगानी गरिएको रहेछ । कोशीप्रदेश देखि पश्चिमसम्म ठीक छ तर बागमतीका केही ठाउँमा यस्तो ठूलो लगानी गरेर ५ अर्ब रुपैयाँ जोखिममा पारेको रहेछ ।
हामी त के सञ्चालक नै भएपनि जयजयकार मात्र गर्यौं त्यतिखेर । हेर्दै हेरिएन । भोलिको बैंकको नयाँ नेतृत्वका साथीहरुर्ला थाहा होस् भनेर विगतका गल्ती कमजोरीहरु स्पष्टसँग राखेको हुँ । भावी नेतृत्वले कहाँ कहाँ हेनुपर्छ, ध्यान पुर्याउनुपर्छ भनेर आफूले बेलैमा सचेत गराएको हुँ ।।
२५ वटा संस्था सबैलाई ३५ दिने सूचना र कालो सूचीमा राखेर सम्पत्ति लिलाम गर्न खोज्दा हामीलाई जेलबाट 'तलाई मार्छु' भनेर धम्की आयो । असूली विभाग प्रमुख भरतजी यही हुनुहुन्छ । त्यस्तो अवस्था पनि सहेर बेहोरेर धेरै असुली गर्यौं ।
हामीले दुःख गर्यौ अब आउनेहरुले क्रेडिट पाउँछन् । एक अर्बदेखि २ अर्ब नाफा हुँदैछ । यद्यपि, सञ्चित नोक्सानी ३ अर्ब बढी भएकाले नाफा बाँड्न भने सकिएन । अब आउने समितिले अलिकति बल गर्ने र खट्ने हो भने अवस्था निक्कै राम्रो हुन्छ ।
म अध्यक्ष भएर नयाँ समिति आउँदा बैंकका कर्मचारी र सदस्य संघ संस्थाहरुको आशा भरोसा बढेकै हो । केही हुन्छ कि भन्ने हिसाबले । र, चुनौतीका कुरा गर्दा, राष्ट्र बैंकको निर्देशन नियमित रुपमा पालना गरिराख्नुपर्ने अवस्था छ । सञ्चालक भैसकेपछि ऋण लिन पाइँदैन तर बैंक सञ्चालकहरुकै संस्थाले ऋणको भाखा नघाएका कारण राष्ट्र बैंकले हट भन्यो, तर पछि गाली खाने हामी भयौं । उहाँहरुलाई हामीले हटायौं भन्ने लाग्यो । हामीसँग रिसाउनुभयो । तर अहिले त खुसी भैसक्नुभएको छ किनकि निर्वाचन आउँदैछ नि । हामीले पनि फकाइसक्यौं उहाँहरुलाई । माफी मागेर पनि फकाएको अवस्था छ ।
बैंकका ६८ वटा शाखामध्ये ११ वटा घटाउने (मर्ज गर्ने) प्रक्रिया अघि बढेको छ । खर्च घटाउने मुख्य चुनौती छ । ऋण लगानी बढाउनुपर्ने अवस्था छ । १० हजार संस्थाले १० लाख रुपैयाँका दरले ऋण सुविधा लिदापनि १० अर्ब लगानी हुँदो रहेछ । १० लाख लगानी जोखिममुक्त हुन्छ । त्यति रकम त हप्काएर पनि उठ्छ ।
सञ्चालकका संस्थाहरुले धितो सुरक्षणका रुपैयाँ राखेको जग्गा हेर्न जाँदा डाँडाकाँडा मात्र भएको, बाँदर लड्ने भीरपाखा रहेछ । यस्तो पाराले हुन्छ ? कि सञ्चालकमा बस्नै हुँदैन । जहाँसम्म हाम्रो कुरा छ, हामीले एक रुपैयाँ पनि गलत गरेका छैनौं एउटा काम गलत गरेका छैनौं । व्यवस्थापनले सिफारिश नै नगरेको पाँच छ वटा धितोमा हामी सञ्चालकले सही गरेछौं । व्यवस्थापनका बाठा मानिसहरुले सिफारिशनै गर्नु भएनछ । हामीले भटाभट सही गरेछौं । नेहेरी नपढीकन । केबी सर भनियो सही गरियो । त्यो हिसाबले गर्दा हामीलाई पनि कारबाही हुने अवस्था छ यदि त्यो पैसा उठेन भने । सञ्चालक भैसकेपछि सचेत चाहिं हुनुपर्ने रहेछ भन्ने सिकाइ अब भएको छ । आउने साथीहरुलाई यो विषय मैले जानकारी गराएँ ।
खुसीको अहिले सरकारले पनि बैंकलाई पत्याएको छ । सस्तो ब्याजदरको पैसा ल्याउनु जरुरी छ । विदेशबाट इम्प्याक्ट फण्ड ल्याउनु जरुरी छ र केही कुराहरु सुरुवात भएका छन् । हाम्रो अर्को चुनौती भनेको गुणस्तरीय सदस्य हो । १६ हजार सदस्य भएपनि धेरैको भोट दिने बेलामा मात्रै पत्र आउँछ ।। अरु केही छैन । केवाइएम ६ हजारले मात्र भरेका छन् । १० हजार भन्दा बढी सक्रिय सदस्य छैनन् । ६ हजार नाममात्रका सदस्य छन् । दुःख मात्र हो तिनीहरु । उनीहरुको लागि शाखा खालेको छ । त्यसैले गुणस्तरीय सदस्य अर्को चुनौती हो बैंकको लागि ।
अर्को, ठूलो नभइ सानो सानो ऋण लगानी गर्नुपर्ने हुन्छ । ४० करोड ऋण लिएर घर जग्गामा व्यक्तिको प्राइभेट फर्ममा लगानी भएका छन् । सही ठाउँमा ऋण लगानी भएको छैन । अन्य बैंकबाट त्यसरी ऋण नपाइने हुँदा सजिलोको रुपमा लुपहोल हुने भएकाले यहाँबाट पैसा लगेको देखिन्छ । त्यस्तो सम्पूर्ण रकम दुरुपयोग भएको छ ।
नेपालगञ्जको एउटा संस्थालाई लगानी गरेको १८÷२० करोड रुपैया बिनाधितोको लगानी) को नामोनिसान छैन । पोखराको एउटा संस्थाको पनि आधा मात्र उठ्ने अवस्था छ । एक अर्ब रुपैयाँ राइट अफ गर्नुपर्ने अवस्था छ । पाँच अर्बमा १ अर्ब उठ्दैन । धेरै साथीहरु सबै जेलमा छन् । अस्ति यसो केबी सरलाई भेट्न जेल गएको, १ सय जना भन्दा बढी सहकारीका सञ्चालक साथीहरु त्यहाँ रहेछन् । उहाँ फलानोको अध्यक्ष, उहाँ ढिस्कानोको अध्यक्ष कुन्नि के के भन्दै केबी सरले मलाई चिनाउनुभयो ।
काठमाडौंको अर्को एउटा संस्थालाई गरिएको ४० करोड लगानीको पनि हालत त्यस्तै छ । १ अर्ब २० करोडको सम्पत्ति छ संस्थाको । तर, त्यसबाट उठाउन सकिएको छैन । त्यसका पार्टनरहरु छन् । उनीहरु पनि कमिशन माग्छन् । त्यसैले ठूलो लगानी गर्न नुहने रहेछ । एनआइसी बैंकबाट पनि हामी सिक्नुपर्छ । उनीहरुले कर्पोरेट लगानी हटाएर एसएमइ मोडलमा गएका छन् । उनीहरु ५ करोडसम्मको लगानी ।
बैंकका सन्दर्भमा तरलता बढी छ भनेर हल्ला गरिन्छ । समस्या छ यहाँ । पैसा जति कि मुद्दतिमा छ, कि एच्छिक बचतमा । दीर्घकालीन बचत १ प्रतिशत मात्रै रहेछ । नियमति बचत छँदैछैन । सोही कारण अब दीर्घकालीन बचत (१ हजार रुपैयाँ मात्र भएपनि) लाई जोड दिइएको छ । एक हजारको शेयर किनेर भोट हाल्ने सदस्य बनाएको स्थिति छ । अब २५ हजार अनिवार्य गरिएको छ शेयर । अब बिस्तारै २५ हजारदेखि २५ लाख रुपैयाँसम्म मात्रै शेयर राख्ने र अरु बिस्तारै घटाउँदै जाने गरी बैंक अघि बढेको छ । ५ अर्बलाई कायम राखी जगेडाकोष बढाउने गरी बैंक अघि बढेको छ ।
अब लाभांश होइन सदस्य संस्थाहरुलाई सुविधा दिनुपर्छ भन्ने तर्फ बैंक छ । ब्याजदर न्यून गर्न बेसरेट घटाउनुपर्यो । ५ प्रतिशतमा लगानी गर्न सक्नुपर्यो । बैंक पुनर्लगानी गर्ने संस्था भएकोले बेस रेट घटाउनुपर्छ ।
यी यावत कारणले गर्दा म भन्छु कुरा बुझ्ने साथी बैंकको सञ्चालक समितिमा आउनुपर्यो । मेरो कुरा त्यही हो । चण्डीजी, डम्बरजीसहित हाम्रो जुम्लाको साथी सबै रहर गरी रहनुभएको छ । सबैलाई मेरो अनुरोध आउनुहोस् तपाईहरु । बिग्रेको केही छैन । अब कसरी राम्रो बनाउने भन्नेमा लागौं । धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेको छ । व्यवस्थापन टिमले पनि धेरै राम्रो काम गरेको छ पछिल्लो पटक । अर्को साल २ अर्ब नाफा हुन्छ, होइन त भरत सर । ३ अर्ब नै पुग्यो भने त लाभांश बाँड्न पनि पुग्ला ।
प्रारम्भिक संस्थाहरुले २५ लाख रुपैयाँ भन्दा बढीको ऋण उठाउँनै सक्तैनन । राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई पनि भनिसके २५ लाख भन्दा बढीको लगानी गर्न नसक्ने वातावरण नगर्नु । बैंकहरुले गर्छन् । हामी त गरिब तथा विपन्न वर्गमा काम गर्ने भन्छौं । एउटैलाई ४० करोड लगानी गरेको छ । ५, १० करोड लगानी गरेको छ । प्रारम्भिक संस्थाहरु डुब्नुको एउटा कारण ठूलो लगानीबाट हो । ऋण भनेको हप्काउँदा उठ्ने खालको हुनुपर्छ । धितो नै भएपनि ।
साधारणसभा आज सम्पन्न गरेका छौं । अब पुस १२ गतेको निर्वाचनमार्फत राम्रो नेतृत्व ल्याउने काममा सबैको सक्रिय सहभागिताको अपेक्षा र विश्वास गर्दछु । सल्लाहकारहरुलाई पनि त्यही आग्रह गर्छु । किनकि यहाँ अलि त्यस्तैत्यस्तै नै हुन्छ । त्यसलाई चाहिं अलि मिलाएर राम्रो टिम बनाउन यहाँहरुले भूमिका खेल्नुपर्छ ।
सहकारी बैंकलाई कसैको क्लब नबनाऔं । काम गर्ने साथीहरु जुनसुकै वा जताको भएपनि राम्रो हिसाबले आऔं । सौहार्दपूर्ण हिसाबले आऔं । यो मात्र होइन, नेफ्स्कून महासंघ आदि जहाँ जहाँ हुन्छ काम गर्ने प्रोफेशनल सबै क्षेत्रको साथीहरु आउँदा बेटर हुन्छ । यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ।
(राष्ट्रिय सहकारी बैंक लिमिटेडको आज शनिबार सम्पन्न २२औं वार्षिक साधारण सभामा अध्यक्ष गिरीले व्यक्त गरेको धारणाको सम्पादित अंश । मङ्सिर ६ गते सातै प्रदेशमा आयोजित एकाइ साधारण सभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने केन्द्रीय सभा सम्पन्न भएसँगै बैंकको २२औं वार्षिक साधारण सभाको औपचारिक समापन आज भएको छ ।)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com