Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

हाँसो हराएपछि मैले सहकारीको जागिर छोडेँ

हाँसो हराएपछि मैले सहकारीको जागिर छोडेँ

हो, मैले जागिर छोडेँ । मैले सहकारीको जागिर छोडेँ । त्यही जागिर जुन पाउँदाको दिन म धेरै खुसी भएको थिएँ । साथीहरूसँग सेलिब्रेट गरेको थिएँ । आमाबुवालाई धेरै आशा देखाएको थिएँ । लागेको थियो अब मलाई कुनै प्रकारको आर्थिक समस्या हुने छैन ।

सपना देख्न खुब मन पराउने म थोरै नभएर धेरै देखेको थिए। कति सजिलै लाग्थ्यो अरुले कमाएको जागिर खाएको ओहो  जागिरको पहिलो दिन मज्जाले निदाएको थिएँ। मनमा बेग्लै प्रकारका उमङ्ग, उत्साह, आस अनि भरोसा पनि उत्तिकै थियो। मलाई के थाहा बिस्तारै जिम्मेवारी बढ्दै जाँदा कतिसम्म मानसिक तनाव हुन्छ भन्ने कुरा ।

मैले आफूले सकेको त गरेको थिएँ। को कर्मचारी त्यस्तो होला, जसले आफ्नो संस्थाको लागि मेहनत नगरोस्। अझ जसले उसको परिवारको सदस्यको आवश्यकता पूरा गर्नमा थोरै भएपनि सहयोग गरेको छ कर्मचारीको चाहना आफू जुन संस्थामा काम गरेको हुन्छ त्यहीबाट आफ्नो र संस्थाको प्रगति होस् भन्ने हुन्छ।

आज मैले जुन उत्साहका साथ जागिर सुरु गरेको थिएँ त्यही उत्साहलाई अलिकति पनि नमर्ने गरी जागिर छोडेँ । जुन दिन मनले चाहेको जागिर पाउँदा मज्जाले निदाएको थिए। आज पनिम  त्यही निन्द्रामा निदाउनेछु। जुन दिन जागिर पाउँदा खुसीहरू साथीहरूसँग साटेको थिए आज त्यस्तै खुसीहरू आफैसँग साट्ने र आफूमा भएको कमी कमजोरी सुधार्दै नयाँ जीवन को योजना बनाउने तयारीमा छु।

जब जागिर छोड्ने कुरा मनमा आउँदा पटकपटक बाआमाका मलिन अनुहार नसम्झेको कहाँ हो र मैले । हुन त बाध्यता थिएन कमाएर परिवारमा दिने तर जिम्मेवारी लिन मन परेकोले मैले सकेको सहयोग आफ्नो कमाइबाट दिँदा छुट्टै अनुभव गर्थे।

बिस्तारै खुसीहरू निराशामा परिणत हुँदै थिए। यस्तो लाग्न थालेको थियो कि सारा इच्छाहरु बिस्तारै मर्दैछन् । बढी हाँस्नु र रमाउनुपर्ने म मेरा हाँसोहरू हराउँदै थिए। नरहोस् पनि कसरी ? खुलेर हाँस्दा पनि डराउनुपर्ने चारैतिरबाट सिसिटिभीले घेरिएको म, लाग्थ्यो मैले ठुलै गल्ती गरेको थिए। त्यसैले मलाई यसरी चारैतिरबाट गिरेको होला।बिस्तारै आफू जिउँदै लास जस्तो लाग्न थालेको थियो। न स्वतन्त्र भएर खुसी हुन सक्थेँ।

जब जब कामको महत्व र सो कामबाट भनेको जस्तो परिणाम निस्किँदैन। तब अगाडि जति नै चुनौती आएपनि मान्छे बाध्य हुने रहेछ काम छोड्न। मनमा असोन्तक पैदा भयो चुनौतीसँग लड्न मन लाग्यो। अभावमा आफूलाई कसरी व्यवस्थित गर्न सक्छु र केही नयाँ गर्न मन लाग्यो अनि जागिर छोडेँ ।

सुन्दै थिए वरपरका छिमेकीलाई गाह्रो भयो अरे मैले जागिर छोड्ने कुराले। बिचरा उनीहरुले मेरो अप्ठ्यारो समयमा साथ दिन सकेनन् साथ दिने वचन पनि चुक्यो। उनीहरुलाई पनि धेरै धन्यवाद राम्रो कुरा नभए पनि मेरो कुराले उनीहरूको समय अलिकति बित्यो तर त्यस्ता कुराहरूले मलाई अझ हिम्मत आठ दियो। जब उनीहरूको त्यस्तो प्रतिक्रियाको सामना गर्दा, 

मलाई राम्ररी थाहा थियो। जागिर छोड्दा मेरो आम्दानीको बाटो बन्द हुन्छ। अझ बढी समस्याले सताउँछ सानै उमेरदेखि आफ्ना लागि आफै गर्दै आएको म आशा थिएन कसैले दिन्छ अनि म मेरो जीवन चलाउँछु। त्यो सानो सानो खुसीको परवाह नगरी मैले निर्णय लिए सही गरेँ कि गलत गरेँ

मैले जागिर यसकारण पनि छाडे की यो जागिरको लागि मैले दिनरात मानसिक तनाव दियो । मेरो हाँसो हरायो । काठमाडौंको एउटा मध्य ठाउँमा अवस्थित सहकारीमा करिब ५ वर्ष काम गरेर छोडेँ । नचाहिँदो दवाब सिर्जना गरियो । बजार बढाउन अनावश्यक तनाव दिइयो । सकेको गर्दा पनि धर पाइएन ।  बिहान हतार हतार अफिसका लागि निस्कियो । ९ बजे पुगिसक्नुपर्ने । ओहो जाममा परेर ढिला पुगिन्छ भन्ने चिन्ता । बल्ल बल्ल अफिस पुगिन्छ अनि सुरु हुन्छ कहिले काम भएन, कहिले कुल बचत भएन, कहिले बजार बनाउन सकेन भन्या छ यतिसम्म ठिक थियो, राम्रा काम गर्दा पनि हाकिमको अनुहार मप्रति कहिले उज्यालो भएन। 

मेरो मनमा कति कुराहरू खेलिरहन्थ्यो । एउटा हाकिमको भूमिका निर्वाह गरेपछि आफ्नो अधिनमा भएका कर्मचारीलाई कसरी उत्प्रेरित गराई बढीभन्दा बढी काम लिने र उनीहरुको उत्पादकत्व बढाउने भनेर बुझ्नसक्नुपर्छ  । जब कर्मचारी खुसी हुन्छन् तब अफिस आफ्नो सम्झन्छन् र सोही अनुसार जिम्मेवारी पूरा गर्छन्। जब कर्मचारी खुसी भएको देख्दा मनमनै रिसाएको जस्तो कर्मचारीलाई तलब बढाउनु पर्दा महाभारत, कर्मचारीलाई खुसी र सकारात्मक कसरी बनाउने भन्ने विषयमा छलफल तालिम हुँदैन तब संस्थाले प्रगति कहाँ गर्न सक्छ र ?  आफ्नो मात्र सोच्ने तर अरु कर्मचारीको मेहनत बिना संस्था अघि बढ्न सक्छ र ? संस्थाको वृद्धिका लागि कस्तो योजना ल्याउने भन्ने कुरा नभएर कर्मचारीलाई जति सक्दो पेलाउने गरेर कहाँ हुन्छ ? आफू पाँच मिनेट रिसाउँदा कर्मचारीलाई काम गर्ने वातावरणमा कति असर पर्छ भनेर नसोच्ने हाकिमसँग कसरी काम गर्न सकिन्छ ? अनि, त्यो त्रसित र अशान्त कर्मचारीबाट संस्थाले कहाँ स्मार्ट पर्फमेन्स पाउन सक्छ र ? 

मेरो प्रश्न सम्पूर्ण सहकारीका हाकिमहरुलाई हो जो कर्मचारीलाई काम गर्न साधन मात्र सम्झन्छन् । जुन कर्मचारीले आफ्नो जीवनको अमूल्य समय तिम्रो संस्थामा दियो उ तिम्रो संस्थाबाट असुतुष्ट भएर निस्कन्दा तिमीले फेरि त्यति क्षमता भएको कर्मचारी बनाउन कति समय लाग्ला ? असन्तुष्ट भएर निस्केको कर्मचारीले संस्थाको बारेमा कस्तो प्रकारको सूचना बाहिरी वातावरणमा फैलाउला ? कर्मचारी संस्थाको सम्पत्ति ठानी सोही अनुसार व्यवहार राम्रो भएको भए संस्थाको सदस्य बढाउन महत्वपूर्ण भूमिका निर्वाह हुन्थ्यो कि 

कर्मचारी र संस्थाबीच सुमधुर सम्बन्धको आधारमा मात्रै एउटा सहकारी संस्था बलियो बन्नसक्छ ।  समयअनुसार र नियमअनुसार सेवा सुविधा उपलब्ध गराउँदा मात्र कर्मचारीहरु सन्तुष्ट हुन्छन् जसले उनीहरुलाई उत्प्रेरित गर्दछ । त्यो नभएपछि, मैले जागिर छोडेँ । बढी मानसिक तनावको कारण मैले जागिर छोडेँ । बरु सोचेँ, मेरा आवश्यकताहरु घटाउँछु, जागिरकै कारण समय दिन नसकेको पढाइ राम्ररी पूरा गरेर स्नातक सक्छु । अनि बिस्तारै, नयाँ आम्दानीको बाटो खोज्छु । 

सुमन पुलामी

(सिन्धुली स्थायी घर भएका पुलामीले काठमाडौंको एउटा सहकारीमा करिब ५ वर्ष बजार प्रबन्धकका रुपमा काम गर्दा भोग्नुपरेको मानसिक तनावका कारण दुई महिना अघि जागिर छोडेका थिए । आर्थिक समस्याका बाबजूद हाल उनी आफ्नो अध्ययन पूरा गर्ने र त्यसपछि मात्रै काममा लाग्ने तयारीमा छन् ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार