Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'संज्ञान विमर्श' मा नाटकका कुरा

'संज्ञान विमर्श' मा नाटकका कुरा

ललितपुर । 'संज्ञान विमर्श' को आठौँ शृङ्खलालाई नेपाली नाटकको विवेचनामा केन्द्रित गरिएको छ । पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृङ्खला 'संज्ञान विमर्श' को यस अङ्कमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटकलाई पूर्वीय तथा पाश्चात्य सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ ।
 
वरिष्ठ समालोचक, साहित्यकार एवम् भाषा वैज्ञानिक प्रा. डा. माधव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस शृङ्खलामा विभागकी उपप्रा. डा. शोभा ढुङ्गानाले 'समको पौराणिक नाटकमा पूर्वीय र पाश्चात्य नाट्य सिद्धान्तको तुलनात्मक अध्ययन' शीर्षकको प्रस्तुति राखिन् ।
 
विभागका उपप्रा.डा. दीपकप्रसाद गौतमको सभाध्यक्षतामा सञ्चालित विमर्श कार्यक्रममा प्रस्तोता ढुङ्गानाले समको 'प्रह्लाद' नाटकलाई दुःखान्त नाटकका रूपमा चिनाइन् । उनले समय सन्दर्भ अनुसार पाश्चात्य नाट्य सिद्धान्तमा परिवर्तित मान्यता भित्रिएको तर पूर्वीय मान्यतामा भने परिवर्तनका सङ्केतहरू प्राप्त हुन नसकेको धारणा अघि सारिन् ।
 
प्रमुख अतिथि पोखरेलले नेपाली समाजमा विमर्शको संस्कृति कमजोर रहेको औँल्याउँदै 'संज्ञान विमर्श' ले यस्तो अभाव पूर्ति गरी विमर्शको संस्कृति स्थापना गर्न सहयोग गर्ने विचार व्यक्त गरे ।
 
उनले विद्वान् कहलिएका आजका नेपाली बौद्धिकलाई 'ओखरले भरिएको हाँडी' को संज्ञा दिए । पोखरेलले ज्ञानको उत्पादनमा निरन्तर क्रियाशील भई अघि नबढे ज्ञान निर्माणको पृष्ठाधार मक्किने मात्र नभई भाँचिएर झर्न पनि सक्ने धारणा प्रस्तुत गरे ।
a1288954-062e-4f60-967e-227b415f4c9a.jpg
'संज्ञान विमर्श'
 
विशिष्ट अतिथिका रूपमा उपस्थित क्याम्पस प्रमुख सहप्रा. डा. रघुवीर विष्टले हरेक आन्दोलनपछि साहित्यले महत्त्वपूर्ण सन्देशसहित सम्भावनाको नयाँ यात्रा प्रारम्भ गर्ने सफलता प्राप्त गरेको धारणा प्रस्तुत गरे । सहायक क्याम्पस प्रमुख डा. रूद्र चर्मकारले सिर्जनशील मनहरूको उत्साहजनक सहभागिताबाट विचारको नवीन मार्ग निर्माण हुने अभिमत प्रस्तुत गरे ।
 
विद्यार्थी कल्याण प्रमुख डा. बालकृष्ण खत्रीले यस प्रकृतिका विमर्श कार्यक्रमले ज्ञान निर्माण तथा ज्ञान प्रसारणका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार राखे ।
 
सभाध्यक्ष डा. दीपकप्रसाद गौतमले समालोचनामा नवीन दृष्टिका साथ समका नाटकको समालोचना अघि बढाउने सफल प्रयत्नका निम्ति डा. ढुङ्गानाको सिर्जनशील क्षमताको प्रशंसा गरे ।
 
कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा.जीवनकुमार श्रेष्ठ, नेपाली विभागका विभागीय प्रमुख सहप्रा.माधव उपाध्याय लम्साल, विभागका प्राध्यापकहरू तथा स्नातकोत्तर तहका नेपाली विषयका छात्रछात्राको उत्साहजनक सहभागिता रहेको थियो ।  
ec88fb1c-1330-41a1-82bb-3642ff40d80f.jpg
'संज्ञान विमर्श'
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार