पाँच वर्षको अल्पायुमै मैले नेफ्स्कूनबाट ‘ग्रेसफूल एक्जिट’ गरेँ । २०७६ साल साउन १० गते सेवा प्रवेश गरेको म २०८१ फागुन १० गतेबाट नेफ्स्कून बाहिरिएँ । बाहिरिने निर्णय प्रक्रियाभित्र जब पसेँ, प्रश्न र प्रतिक्रियाहरु बाहिरिन थाले ।
त्यो राजीनामा पत्र
नेफ्स्कून बहिर्गमनको निर्णय अप्रत्याशित थियो । २०८१ पुस १२ गते शुक्रबार साँझ करिब सबा ५ मा भएको आमाको देहान्तपछि १५ दिनको आशौच छुट्टीमा थिएँ । १६औं दिन आइतबार अफिस फर्किए लगत्तै प्रोक्यूरमेन्ट अफिसर सुभाष गौतमलाई राजीनामा बुझाएँ । उहाँले बिदा वा अन्य कुनै विषयको पत्र सोच्नुभएछ । अंग्रेजीमा संक्षिप्त लेखिएको पत्रको ‘सब्जेक्ट’ पछिको पहिलो लाइन पढेपछि उहाँ झस्कनु भयो । उसै त अधिर स्वभावको सुभाषजी, मेरो निवेदन पढेपछि उहाँमा कौतुहलता र छट्पटीको ‘ब्यारोमिटर’ ह्वात्तै बढ्यो । ‘किन ? के भयो ? सल्लाह गर्नुभएको हो ?’ इत्यादि सोध्नुभयो । मैले धेरै बोलिनँ । ‘अब पुग्यो’ भनेर बाँकी प्रक्रियाबारे जानकारी लिएँ । निर्मला मिसलाई दर्ताको लागि निवदेन गरेँ । त्यसको केही समयपछि सिईओ सर अफिस आइपुग्नुभएको जानकारी पाएँ ।
‘कसैले केही भन्यो ? केही घटना भयो ? किन सल्लाह नगरी दर्ता गराउनुभयो ? असजिलो भएको भए केही समय बिदा बस्नुस् । कि विदेश जानलाग्नुभयो ?’ कार्यकक्षमा बोलाएर सिईओ सरले प्रश्न गर्नुभयो । बाक्यहरु इकोनोमाइज गर्ने उहाँको बानी । मैले पनि ‘आइडेन्टिकल अप्रोच’ मै ‘अब पुग्यो सर’ भनेँ । मात्र थोरै गफ भयो । केही दिनपछि अध्यक्षज्यूले पनि पर्खन आग्रह गर्नुभयो । अध्यक्षज्यूको कार्यकक्षमै रहनुभएका सिईओ सरले फेरि सम्झाउनुभयो । सिईओ सरले अर्को एक दुई मौका पनि उपलब्ध नगराउनुभएको होइन । तर, मैले सुनिनँ । मनले ठानेपछि बुबाआमाको त नसुन्ने नराम्रो मेरो बानी सुध्रेको थिएन ।
जे होस्, खबर फैलिएसँगै सोधखोज गर्नेको संख्या थपियो । सद्भाव र शुभेच्छा प्राप्त भए । सञ्चालक समितिमा मलाई ‘चिन्ने’ केहीले त्यस्तै भाव राख्नुभयो अनि केहीले औपचारिकता पूरा गर्नुभयो । पारिवारिक परिस्थिति बुझेका केही साथीहरुले ‘हुँदाखाँदाको जागिर किन छोड्न लागेको ? अब के गर्नुहुन्छ ? आम्दानीको स्रोत के ? घरपरिवार कसरी चल्छ ?’ भन्ने भाव मिश्रित सदाशयता व्यक्त गर्नुभयो ।
एकांकी विश्लेषण गर्दा प्रश्नहरु जायज हुन् नै । महिनाको अन्त्यमा तलबको घन्टी बजेकै थियो । कुनै अक्षम्य अपराध गरेको थिइनँ । सञ्चालक समिति र उच्च व्यवस्थापन समूह ‘रञ्जन, नेफ्स्कूनका लागि अन्डर पर्फमर हो’ भन्ने निष्कर्षमा पुगिसकेको थिएन नै भन्ने लाग्छ । विगत ५ वर्षको कार्यसम्पादन मूल्याङ्कनले के कस्तो देखायो थाहा छैन तर प्राप्त पदीय जिम्मेवारी, गराइएका काम र व्यक्तिगत प्रयत्नहरुले निराशाजनक नतिजा निकालेका थिएनन् । अवसरको माग गर्न लाइन बसिनँ, अनावश्यक सुविधा लिइनँ, कतिपय अवस्थामा पाएको पनि छोडेँ । तर, यति हुँदाहुँदै पनि मैले नेफ्स्कून छोडेँ !
के थियो ‘पुस फ्याक्टर’ ?
आशौचको अवस्थामा ‘इमोशनल एजिलीटी’ नगुमाई आमासँग संवादमा रहेँ । समवेदना व्यक्त गर्न आउने शुभेच्छुकहरु हिडेपछिको समय आमासँग सल्लाह गरेँ । आफ्नो ‘करिअर ट्रयाजिक्ट्री रिभिजिट’ गरेँ । आमालाई पनि गराएँ । ‘तलाई भित्री मनले के गर्न इच्छा छ ? के गर्दा तलाई काम गरेको वा समय बिताएको पत्तो हुँदैन । रस केमा बस्छ । स्वाद केबाट मिल्छ । शान्ति र सुख जेकामबाट मिल्छ त्यही गर्’ भन्नुभयो । हिजो सशरीर जुन कुरा भन्नुहुन्थ्यो, आज नहुँदा पनि जेठो छोरालाई आमाले त्यसै भन्नुभयो ।
नित्यजसो १५ दिनको आमाछोरा संवादपछि अचानक मैले ‘म’ लाई प्रश्न गरेँ ‘मेरो जीवनको इकिगाई के हो ?’ साइमन सिनेकको ‘स्टार्ट विद् ह्वाई’ को सारलाई सम्झिएँ । ‘विचार विज्ञान’ को गुह्यसँग घोत्लिएँ । अनि, पार्कर जे पाल्मरको ‘एक्जिस्टेन्सियल क्राइसिस’ सँग सहमत हुँदै म ‘ह्वाई’ को हाइवे खोज्न निस्केँ । ‘स्याचूरेशन’ र ‘स्ट्याग्नेशन’ को अवस्थामा नउक्लदै ‘इनिङ्ज डिक्लेयर’ गर्नुपर्छ भन्ने अठोटमा पुगेँ । अनि एशिया प्रशान्त क्षेत्रकै साकोस अभियानमा अहिले सुपरहिट लिडरशीप गुरु जोन सि.म्याक्सवेलले भनेझैं ‘करिअर टु कलिङ’ तर्फ मोडिएँ । ‘वरी’ को अवस्था ‘सरी’ मा नपुगोस् भनेर निर्णय लिएँ । स्वायत्तता र स्वतन्त्रताको अलि बढी अनुभूतिको आँट गरेँ । ‘करिअर डेप्रिसिएसन’ वा ‘मिड लाइफ क्राइसिस’ को ‘सिम्पटम्स’ अगावै अलग भएँ । जागिर खान ५ वर्ष निक्कै कम भएपनि नेफ्स्कून बुझ्न त्यो समय निक्कै काफी थियो ! तत्वबोधको लागि अन्तर्चक्षु नै उघारिनुपर्दोरहेछ ! कामप्रति मोहभंग भएपछि मैले नेफ्स्कून छोडेँ ।
जागिर छोडेर सुरु गरेको सञ्चारकर्म मेरो ‘न्यू फाउन्ड प्यासन’ होइन । पत्रकारिताको धङ्धङी बोकेर नेफ्स्कून प्रवेश गरेको थिएँ । समयक्रममा जिम्मेवारी फेरियो तर परिचय फेरिएन । केही समय तालिम अधिकृत अनि केही समय कार्यक्रम अधिकृत रहेपनि खासमा म पत्रकार नै रहेँ । पत्रकारिताले पछ्याइरह्यो । त्यसैले, पत्रकारिताको परिचयको स्थायित्वका लागि फेरि ‘जर्नलिजम रिज्यूम’ गरेँ । सहकारी अभियानलाई आफ्नो भूमिकाबाट खबरदारी गर्न फर्किएँ । राम्रा कामको प्रचारप्रचार अनि गल्ती कमजोरीप्रति ‘क्रिटिकल’ हुन ‘कोर्ष करेक्शन’ गरेँ । खासमा मैले नेफ्स्कून छोडेको होइन, जागिर छोडेको हुँ । मैले मेरो ‘स्वत्व’ रोजेको हुँ । अन्तर्मनको यात्राका लागि नयाँ इनिङ्ग्सको थालनीमा निस्केको हुँ ।
मैले अपेक्षाहरु भन्दा अलग काम रोजेँ । आफ्नै ‘भेन्चर’ खोजेँ । प्रश्नहरु गर्ने र स्टोरीहरु ‘सर्च’ गर्ने ‘सेक्टर’मा फर्किएँ । समाजका अनेकन स्टोरीहरुबारे लेख्न, बोल्न र विचार प्रवाह गर्न लागेँ । र यो काम मैले ‘म’ बनेर गर्नुपर्छ भन्ने ठानेर आँट गरेँ । म कामको आधारमा देखिनुपर्छ, संघर्षको आधारमा सुनिनुपर्छ र ‘पर्फमेन्स’ को आधारमा प्रतिस्पर्धी बन्नुपर्छ भन्ने ठानेर छोडेँ । हो, मैले रोजेको बोटो कठिन छ, बोध हुँदाहुँदै ‘अब पनि नहिडे कहिले हिड्ने ?’ भन्ने सोचले लखेटेर छोडेँ । मन लाग्ने काममा सतप्रतिशत समय लगाइन भने जीवनको सार्थकता बाहिरी श्रृङ्गारमा हुँदैन भन्ने धृष्टता र चेष्टाले चिमोटेर छोडेँ । स्वान्त सुखायका लागि नेफ्स्कून छोडेँ । स्वरोजगारीमा सन्निहित संघर्षको स्वाद लिने सोचले छोडेँ । भर्खरै पढिसकेको रायन होलिडेको ‘द अब्स्ट्याकल इज द वे’ को अन्तर्यलाई बोध गरेँ । अभावको ताकत कति र कुन हदसम्म हुन्छ अब परखनुपर्छ भनेर नेफ्स्कूनको जागिरसँग डिभोर्स गरेँ ।
वास्तवमा नेफ्स्कूनबाट बाहिरएर म सहकारी अभियानभित्र पस्न खोजेको हुँ । नेफ्स्कूनसँग झन् नजिक हुन मैले नेफ्स्कून छोडेँ । हिजो नेफ्स्कूनको मात्र कर्मचारी म अब सिङ्गो सहकारी अभियानको समालोचक बनेको छु । मुलुकको सहकारी अभियानमा बाहिर आउनुपर्ने थुप्रै विषय र पात्रहरुलाई परिचित गराउन पत्रकारिताको माध्यमबाट प्रयत्न गर्नेछु । म सहकारी सिक्न, बुझ्न र पत्रकारिताको आँखाबाट यो विराट क्षेत्रलाई परख्न चाहन्छु । आवेग र उत्तेजनाको भेलमा अराजक र अशिष्ट शैलीको कमजोर बाँस बोक्न होइन मर्यादित र संयमित पत्रकारिताको बलियो काठ बोक्न चाहन्छु । प्रशंसा र आलोचना दुबैको अतिरञ्जनाबाट सकेसम्म टाढा रहन कोशिस गर्नेछु । मेरो पत्रकारिताकर्मले सहकारी अभियानमा आलोक छर्न सक्यो भने थोरै भएपनि सफल भएको ठान्नेछु ।
के सिकायो नेफ्स्कूनले ?
‘नेटवर्क–रिच’ नेफ्स्कूनले गोडा पाँचेक वर्ष मलाई सहकारी अभियान सिकायो । साकोस सञ्जालको सामर्थ्य सिकायो । सातै प्रदेश, सत्तहत्तरै जिल्ला अनि सात समुद्र पारिसम्म गाँसिएको नेफ्स्कूनको नेटवर्कमा अब पूर्व नेफ्स्कूनकर्मीको रुपमा भएपनि नेटवर्थमा कन्भर्ट गर्ने ‘प्रिभिलेज’ दिलायो । यो ‘नेटवर्कको डिभिडेन्ड’ अब नेफ्स्कून ‘अलम्नस’ बनेर लिने आधार दिलायो । नेफ्स्कूनले असंख्य राम्रा विषय सिकायो । सबै राम्रैराम्रोको ‘यूटोपियनिजम’ त, न कुनै ‘इन्स्टिच्युशन’ मा भेटिन्छ, न कुनै ‘इन्डिभिजुअल’ मा ।
सैद्धान्तिक, प्राविधिक र व्यावहारिक ज्ञान सिकाउने नेफ्स्कून मुलुकको सहकारी अभियानको जेठो विश्वविद्यालय हो । बचत तथा ऋण सहकारी सञ्चालनको ‘प्रोमिनेन्ट प्ल्याटफर्म’ हो । बचत तथा ऋण सहकारी अभियान र यसका वृहत् विषयवस्तुको विराटता र ‘नो–हाउ’ सँग साक्षात्कार गरायो । अनि यहीबीच, नेफ्स्कूनले मलाई ‘नेफ्स्कून बाहिर पनि सम्भावनाहरु खोज् है’ भन्यो । अनि, ‘माइक्रो’ र ‘म्याक्रो’ तरिकाले उत्प्रेरित गर्यो । सपना र सोचहरुमा पखेटा पलाउने आत्मविश्वास, प्रेरणा र उत्साहको संचार गरायो । हो, नेफ्स्कूनले मलाई शनै शनै नेफ्स्कून छोड्न सिकायो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com