काठमाडौं । कास्की जिल्लाको पोखरा ४ गैह्रापाटनस्थित नवीन बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त भएसँगै सदस्य र समुदायको विश्वासमा झनै बढोत्तरी हुने जनाएको छ ।
नवीन साकोसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अपील कोइरालाले धिप्री डटकमसँग आज मध्यान्ह भने, ‘नियामक निकायबाट इजाजत प्राप्त गर्नु भनेको कानूनको परिपालना गर्नु हो । कानूनी र नैतिक दायित्वबोध गर्नु हो । अनि यो विषय वित्तीय स्वास्थ्य र सुरक्षाको प्रत्याभूतिसँग पनि जोडिएको छ । यी कारणले गर्दा पनि नियामकको इजाजतले सदस्य र समुदायको विश्वास थप बढ्नेछ ।’
नवीन साकोसले प्राधिकरणमा दर्ता अभिलेखीकृत भई आज आज (२०८२ पुस १८ गते शुक्रबार) सञ्चालन इजाजतपत्र प्राप्त गरेपछि प्रतिक्रिया व्यक्त गर्दै सिईओ कोइरालाले उक्त विश्वास व्यक्त गरेका हुन् । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम नवीन साकोसले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’प्राप्त गरेको जनाएको छ । नवीन साकोसको इजाजतपत्र नं २०६४–०१५०२ रहेको छ ।
सहकारी सञ्चालनको व्यवस्थापकीय पाटोका अनुभवी एवम् जानकार कोइरालाले भने, 'मुख्य कुरा ट्रस्टको हो । हाम्रो सन्दर्भमा भन्ने हो भने सदस्यको विश्वास समस्या होइन, यद्यपि, के चाहिं पक्का हो भने नियामकबाट पनि सञ्चालन इजाजतपत्र प्राप्त गरेको भनेपछि हाल कायम विश्वास अवश्य बढ्छ । यो भनेको चेरी अन द केक हो ।’ प्राधिकरणको इजाजतपत्रले सदस्यहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने उनले बताए ।
सदस्य विश्वासमा छैन समस्या
कोइरालाले नवीन साकोसलाई सदस्यहरुको विश्वासमा रत्तिभर समस्या नर्हेको दाबी गरे । उनले प्रष्ट पारे, ‘सञ्चालक समितिमा स्थानीय लब्ध प्रतिष्ठितहरुको बाहुल्यतासँगै व्यवस्थापनको बागडोर सम्हालेको मसँगै मेरो टिमलाई हर्ने सदस्यहरुको दृष्टिकोण अत्यन्त सकारात्मक छ । यी व्यक्तिहरु संलग्न सञ्चालक समिति र यस्तो व्यक्तिको अधिनमा व्यवस्थापन भएकाले हामी त निर्धक्क छौं भन्ने कुरा सदस्यहरु सुनाउनुहुन्छ । यसले हामीलाई काम गर्न उर्जा र प्रेरणा मिलेको छ ।’
‘जब सञ्चालक समिति र व्यवस्थापनको ट्युनिङ मिल्छ, काम गर्न पनि आनन्द आउँछ, कोइरालाले भने, ‘नवीन साकोसको हालको कार्यालयको अवस्थिति पोखरामा समस्यामा परेका भनेका सहकारीहरुको अत्यन्त नजिक छ । साँच्चै भन्ने हो भने हामी पोखराको सहकारी समस्याको इपिसेन्टरको पनि मध्यविन्दूमै छौं । तर, पनि हाम्रो लागि सदस्यको विश्वासमा समस्या छैन । उल्टो बचत वृद्धि भएको अवस्था छ । यसको मुख्य कारण भनेको बोर्ड र व्यवस्थापनप्रति सदस्यहरुको विश्वास नै हो ।’
सिष्टममा चल्दा हुँदैन समस्या
२०६४ साल फागुनमा स्थापना भएको नवीन साकोस सदस्य केन्द्रीत र समुदायमा आधारित भएको सिईओ कोइरालाले बतए । संस्था विधि र प्रक्रियामा चलेकाले यहाँ कुनै भनसुन गरेर केही काम गराउन सकिदैन भन्ने सबैलाई परेको उनले सुनाए । कोइरालाले भने, ‘सिष्टममा चलेपछि पनि सदस्यहरुको मन जित्न सकिने रहेछ । कसैको ज्याक लगाएर यहाँ काम हुँदैन भन्ने सबैमा छ । नीति र विधिले कसेपछि वित्तीय रुपमा कमजोर भइदैन । संस्थालाई सही मार्गमा अघि बढाउन सकिन्छ ।’
झण्डै साढे ३ वर्षदेखि नवीन साकोसको व्यवस्थापकीय कमान्ड सम्हालेका कोइरालाले भने, ‘म आएपछि नै ब्यालेन्स सीट करिब १३ करोडले बढेको छ । बचत वृद्धि भएको छ । ऋण लगानी प्रक्रियागत ढंगले मात्र लगानी गरिन्छ । यो कुरा सदस्यहरुले बुझ्नुभएको छ । त्यसैले हामीलाई ठूलो हुने सेवा केन्द्र खोल्ने भन्दा पनि भएका सदस्यहरुलाई अझ सन्तुष्टि प्रदान गर्नु छ ।’ नवीन साकोसको अहिलेको ब्यालेसन्स सीट ३१ करोडको रहेको उनले जानकारी गराए । यस्तै, साकोसले सदस्यहरुलाई ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिहेको कोइरालाले बताए ।
पोखरा महानगरपालिका कार्यक्षेत्र रहेको नवीन साकोसमा हाल सदस्यहरुको ४ करोड ७३ लाख बढी रुपैयाँ शेयर पुँजी छ । बचत २३ करोड बढी रुपैयाँ छ, जगेडा कोषमा १ करोड ११ लाख बढी रुपैयाँ छ र अन्य कोषहरुमा ८२ लाख भन्दा बढी रुपैयाँ रहेको कोइरालाले जानकारी गराए । दिगो र समृद्ध सहकारीको परिकल्पना बोकेको साकोसमा हाल ६ जना कर्मचारी कार्यरत छन् ।
सदस्यहरुसँग नियमित अन्तरक्रिया, सदस्य शिक्षा एवम् विस्तारित मञ्च लगायतका कार्यक्रमहरु वार्षिक योजना अनुरुप गर्दै आएका कारण पनि संस्था र सदस्यहरुबीचको सम्बन्ध बलियो भएको दाबी उनले गरे । यसै सिलसिलामा नवीन साकोसले माघ २४ गते विस्तारित मञ्च एवम् वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको भन्दै सिईओ कोइरालाले भने, ‘वार्षिक योजना अनुरुप नै गर्न लागिएको उक्त कार्यक्रममा पनि करिब दुई सय सदस्यहरु सहभागी हुने विश्वास लिएका छौं । यो भनेको हामी प्रति सदस्यको विश्वास नै हो । विगतका कार्यक्रममा पनि यस्तै सहभागिता हुँदै आएको छ ।’
महिला बाहुल्यता
संस्थाप्रति विश्वासको अर्को उदाहरण भनेको महिला सदस्यहरुको बाहुल्यता भएको सिईओ कोइरालाले सुनाए । ‘हामीसँग आजका मितिमा साढे १७ सय बढी सदस्य हुनुहुन्छ, उनले भने, ‘जसमध्ये ५५ प्रतिशत महिला हुनुहुन्छ । सहकारीमा महिला सदस्यको बाहुल्यता भनेको दिगोपनाको आधार हो ।’
प्राधिकरणलाई सुझाव
सिईओ कोइरालाले नवीन साकोसको हकमा प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न कुनै समस्या नभएको र सहजीकरण राम्रो भएको बताए । केही करेक्शनका विषयमा पनि प्राधिकरणबाट राम्रो रेस्पोन्स भएको उनले बताए । यद्यपि, कोइरालाका केही सुझाव पनि छन् । प्राधिकरणमा अनलाइन अभिलेखीकरण गर्दा एक सय ठूला ऋणको विवरण अपलोड गर्नुपर्ने विषय कारोबारको आयातन सानो भएका संस्थाहरुको हकमा सान्दर्भिक नभएको समेत उनले बताए । कोइरालाले भने, ‘त्यसैगरी, वार्षिक नवीकरण भन्दा पनि प्रत्येक ३ वर्षमा नवीकरण गर्दा सहज हुन्छ । अर्को भनेको शुल्कमा पनि पुनर्विचार आवश्यक छ ।’
उनले कतिपय साना र दुर्गममा सहकारीहरुलाई पुँजी पर्याप्तता अनुपान (क्यापिटल एडिक्वेसी रेसियो र सम्पतिको वेटेज निकाल्ने विषयमा सहजीकरण आवश्यक भएको बताए । ‘धेरै संस्थाहरु यसमा अल्मलिएका छन्, ’कोइरालाले भने, ‘त्यही पुगेर उनीहरु रोकिएका छन् । यो विषयमा प्राधिकरणको ध्यान जानु आवश्यक छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com