काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले दुई सञ्चालकलाई निलम्बन गरेको छ । संघको आज बसेको सञ्चालक समितिको भर्चुअल बैठकले सुर्खेत घटनामा संलग्न वीरबहादुर रावत भोटे र चेक बाउन्समा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका देवकुमार श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
सहकारी सम्बन्धी कुनै पनि कानुनी व्यवस्थाले कालोसूचीमा परेको व्यक्तिलाई सञ्चालक पदमा बहाल रहन दिँदैन । कर्जा सूचना केन्द्रको कालोसूची विवरणमा श्रेष्ठको नाम २००६८४ नम्बरमा छ । श्रेष्ठले प्रतिनिधित्व गरेको संस्था मुनाल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ हो । केन्द्रले श्रेष्ठलाई २९ मंसिरदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।
'यस विषयमा सहकारी विभाग, मन्त्रालयदेखि प्राधिकरणसम्म पनि रिपोर्टिङ पुगेको भन्दै सोही विषयलाई ध्यानमा राखी र विद्यमान सहकारी कानून र मापदण्डको पालनाका खातिर हामीले यो निर्णय गरेका हौं, 'नेफ्स्कूनका एक सञ्चालकले जानकारी गराए ।
यसैगरी, बोर्डले गत पुस १८ गते शुक्रबार संघको सुर्खेत सदस्य सेवा कार्यालयका कर्मचारीहरुमाथि भएको भौतिक आक्रमणको घटनाको छानविन गर्न उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा सञ्चालक नवराज अर्याल र संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सम्मिलित अध्ययन कार्यदल गठन गरेको छ । समितिलाई आगामी बोर्ड बैठकमा घटनाको सत्यतथ्य विवरण सहितको प्रतिवेदन पेश गर्न भनिएको ती सञ्चालकले जानकारी गराए ।
उपाध्यक्ष शान्ति अधिकारीले भनिन्, 'बिस्तृत छानविनको लागि कार्यदल गठन भएको छ। खाली भिडियोमा देखिएको उहाँका शैली र व्यवहारलाई आधार मानेर हामीले प्रारम्भिक निर्णय गर्यौं । यसबारेमा स्थलगत अध्ययन प्रतिवेदनले निष्कर्ष निकाल्छ ।' त्यसका लागि केही समय लाग्ने उनले जानकारी गराइन् । उनले भनिन्, ‘सहीलाई सही गलतलाई गलत भन्नुपर्छ । यो नेफ्स्कूनको साखसँग जोडिएको विषय पनि हो ।’
यसैगरी, नेफ्स्कून कर्मचारीहरुले उठाएका अधिकांश मागहरु सम्बोधन भएको भन्दै उनीहरु पनि काममा फर्केको संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले जानकारी गराए । अन्य केही मागका सम्बन्धमा पदाधिकारी तहले गृहकार्य गर्ने भनिएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी काममा फर्किएको उनले जानकारी गराए ।
नेफ्स्कून उपाध्यक्ष अधिकारीले भनिन्, 'समस्यामााथि समस्या सिर्जना गर्नु हुँदैन । संघका कर्मचारीहरुलाई मर्यादित र सुरक्षित रुपमा काम गर्ने वातावरण तयार गर्न नेफ्स्कूनले कुनै कसर बाँकी राख्दैन । बोर्डले सिईओलाई त्यही निर्देशन दिएको छ ।' साथै उनले संघका कुनै पनि कार्यालयहरुमा सञ्चालकहरुबाट यस प्रकारका कुनै समस्या भएमा सिईओलाई जानकारी गराउन पनि आग्रह गरिन् ।
अब सुर्खेत सदस्य सेवा कार्यालयलाई पुरानै लयमा फर्काउन के कसरी कर्मचारी व्यवस्थापन गर्ने भन्ने विषय सिईओको क्षेत्राधिकार भित्रको कुरा भएको भन्दै उपाध्यक्ष अधिकारीले भनिन्, ‘त्यो विषय त सिईओले व्यवस्थापन गर्ने हो । हामीले त्यसमा इन्टरफेयर गर्दैनौं । उहाँले व्यवस्थापन गर्नुहुन्छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com