Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीमा दोहोरो पदः विभाग 'ब्याक' हुँदैन, दृढतापूर्वक कार्यान्वयनमा जान्छ

सहकारीमा दोहोरो पदः विभाग 'ब्याक' हुँदैन, दृढतापूर्वक कार्यान्वयनमा जान्छ

काठमाडौं । सहकारी विभागले सहकारी ऐन कार्यान्वयनको विषयलाई दृढतापूर्वक कार्यान्वयन गराइछाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । खासगरी सहकारीमा दोहोरो तेहेरो सञ्चालकको विषय स्वार्थको द्धन्दसँग प्रत्यक्ष जोडिएको भन्दै उक्त विषयमा ऐन र जारी निर्देशनहरु कार्यान्वयन गराइछाड्ने दृढता विभागले पुनः व्यक्त गरेको छ । 

सहकारीहरुले वार्षिक साधारणसभा सक्ने समयावधि सकिएको र नयाँ रजिष्ट्रारको पनि आगमन भएसँगै अब उक्त विषयलाई विभागले मिहिन ढंगले ‘वाच’ गरिरहेको भन्दै संघ संस्थाका प्रतिवेदनहरु आइसकेपछि को कसले पद छोडे छोडेनन् भन्ने निक्र्यौल गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने विभागको भनाइ छ ।

विभागका नयाँ रजिष्ट्रार सुशील ढकालले धिप्री डटकमसँग भने, ‘दोहोरो तेहेरो पदमा रहेका सहकारी सञ्चालकहरुले बिस्तारै छोड्दै हुनुहुन्छ । साधारणसभा गरेर छोड्नेहरु थुप्रै हुनुहुन्छ । राष्ट्रिय सहकारी बैंकको सन्दर्भमा नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेका कारण पनि त्यहाँ अब दोहोरो पद ओगटिदैन । यसैगरी, नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ तथा तल अन्यत्र भएकाहरुले पनि छोड्दै हुनुहुन्छ । छोड्न पनि पर्यो । उहाँहरुसँग विकल्प नै छैन ।’

रजिष्ट्रार ढकालले भने, ‘यस विषयमा विभागले धेरै निर्देशन जारी गरिसकेको छ । सहकारी ऐन, कानून, निर्देशन र मापदण्डहरुको अक्षरशः पालना गरी दोहोरो तेहेरो सञ्चालक पद छोडेको विषयमा यथाशीघ्र जानकारी गराउन विभाग सबैलाई पुनः आग्रह गर्दछ । ती निर्देशन तथा परिपत्रका विषय कार्यान्वयन भएकोबारे जानकारी गराउन भनिए अनुरुप धेरैले पद छोडेको जानकारी गराउनु पनि भएको छ । अब अरुलाई पनि सोही अनुरुप गर्न आग्रह गर्छौं । अनि यो ताकेता पनि हो ।’

उनले यस विषयमा विभाग दृढतापूर्वक कार्यान्वयनमा जाने बताए । 'नो इफस्, एण्ड्स् नो बट्स' को मुडमा विभाग रहेको रजिष्ट्रार ढकाल तथा उप-रजिष्ट्रार (गुनासो सुन्ने÷सूचना अधिकारी) शशि कुमार लम्सालले बताए ।

उप-रजिष्ट्रार लम्सालले भने, ‘ऐनमा पनि भएको, इन्स्टिच्युशनले पनि ओन गरेको र सदस्यको हितमा पनि भएको विषय भएकाले यस सन्दर्भमा विभाग ब्याक हुने कुरै हुँदैन ।’ उनले थपे, ‘विभागको नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुलाई हामी हेर्छौं । प्रदेश र स्थानीयको हकमा पनि उहाँहरुले परिपत्रहरु जारी गर्नुभएको छ । उहाँहरु पनि सोही अनुरुप कार्यान्वयन गर्ने काममा लाग्नुभएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि यो विषय राखेको छ । यति गरेपछि अब पनि नटेर्ने भन्ने सञ्चालकहरुको संख्या न्यून हुँदै गएको छ र अब बिस्तारै त्यो झनै कम भएर केही समयभित्रै शून्यमा झर्छ भन्नेमा हामी विश्वस्त छौं ।’

उप-रजिष्ट्रार लम्सालले भने, ‘ऐन र निर्देशनमा सुस्पष्ट भएको विषय जो रजिष्ट्रार आए पनि कार्यान्वयन गर्ने त्यहीं हो । दोस्रो विषय रजिष्ट्रार व्यक्ति होइन, संस्था हो । रजिष्ट्रार परिवर्तन हुँदैमा विभागको अडान परिवर्तन हुँदैन । यो बकाइदा स्वार्थको द्धन्दसँग जोडिएको विषय हो । र, सबैभन्दा मुख्य कुरा यो सहकारीका सदस्यहरुको हितमा छ । अब यो भन्दा बढी विभागले भनिरहनुपर्दैन । सहकारीका सञ्चालकहरुले यी विषय प्रष्टसँग बुझ्नुभएको छ भन्नेमा विभाग विश्वस्त छ ।’

नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष रहेका खेम बहादुर पाठकले पनि भर्खरै उक्त जिम्मेवारी छोडेका छन् । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष रहेका कृष्ण गोविन्द लाखाजुले पनि भर्खरैको साधारणसभाबाट अध्यक्ष छोडेका छन् । यी उदाहरण अन्य सहकारीका सञ्चालकहरुका लागि पनि अनुकरणीय भएको विभागले जनाएको छ । सिक्ने सही कुरा हो, कसैले अड्डी कसेर नछोडेको विषय सहकारी सञ्चालकहरुले सिक्न नहुने अभियानकर्मीहरुको भनाइ छ ।

विभाग भन्छ, ‘कार्यान्वयन हुँदै गएको छ । विगतको भन्दा अहिले अवस्था निकै सुधारिएको छ । धेरै जनाले दोहोरो पद छोड्नुभएको छ,' उप-रजिष्ट्रार लम्साल भन्छन्, ‘यो वर्षको वार्षिक साधारण सभाको समय पनि भर्खर सकिएको छ । दोहोरो सञ्चालकको विषयमा पुस मसान्तसम्म हेर्ने विषय पनि अनौपचारिक रुपमै भएपनि आएको थियो । यी समयसीमाहरु अब सकिएका छन् । साधारणसभाका प्रतिवेदनहरु अझै आउने क्रम जारी छ । हाम्रोसँगै प्रदेश र स्थानीय तहहरुमा पनि सहकारीहरुले प्रतिवेदन बुझाउँदैछन् । सबैतिर आएपछि भेरिफाई हुन्छन् । त्यसपछि मात्रै कसले छोड्यो, कसले छोडेन भन्ने निक्र्यौल हुन्छ । नीतिगत रुपमा यो विषय प्रष्टै छ । कार्यान्वयन गर्ने कुरामा तलमाथि हुँदैन । खाली को सञ्चालक दोहोरो तेहेरो पदमा बसिरहेको छ भनेर भेरिफाई गर्न केही समय लाग्छ । फेरि यी विषय तत्तत् संघ संस्थाका साधारणसभाबाट अनुमोदन पनि हुनुपर्छ, स्वायत्तताको विषय पनि छ ।’

विगतमा सहकारी अभियानको तर्फबाट पुस मसान्तसम्मलाई समयसीमा दिन आग्रह गरिएको थियो । नेपाल सहकारी पत्रकार समाजको कार्यक्रममा महासंघकी अध्यक्ष ओमदेवी मल्लले भनेकि थिइन्, पुस मसान्तसम्म कारबाही प्रक्रिया अगाडि नबढाइदिनुहोला मन्त्रीज्यू, माघ १ गतेबाट लागू गरौं ।’

रजिष्ट्रार ढकालले भने, ‘दण्डसजायँ भन्दा पनि सहकार्य र समन्वय महत्वपूर्ण विषय हो । फेरि, सहकारी क्षेत्र नै तरल रहेको अवस्थामा खाली जरिवाना र सजायँ भन्दा पनि छलफल र समन्वयको आधारमा समाधान महत्वपूर्ण हो भन्ने हाम्रो भनाइ हो । सहकारीका सञ्चालकहरुलाई कानूनी र नैतिक दबावले नै दबाईको काम गर्छ भन्ने हामीलाई लाग्छ ।’

उनले थपे, ‘हामी उहाँहरुलाई निचर्न खोजेको होइन, ऐन कानूनको परिपालनामा प्रतिबद्ध बनाउन, सुशासित, मर्यादित, पारदर्शी र इमानदार बनाउन खोजेका मात्र हौं । प्रक्रियामा ढालिसकेका छौं, केही समयअघि देखि पाइपलाइनमा भएको विषय हो, उहाँहरुले पनि क्रमशः छोड्दै हुनुहुन्छ ।’

‘अब कसरी अघि बढ्नुपर्छ भन्नेमा हामी छलफल गर्छौं र मन्त्रालयसँगको सहमतिमा आवश्यक निर्णय लिन्छौं, ’उप-रजिष्ट्रार लम्सालले भने, ‘बार्षिक साधारणसभाको समयावधि सकिएको र रजिष्ट्रार पनि नयाँ आएको सन्दर्भमा ऐन कार्यान्वयनको विषयमा पुनः केही इस्यू गर्नुपर्छ कि त्यो पनि तय गर्छौं ।’

सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो, तेहरो पदको जिम्मेबारी नलिन बारम्बार निर्देशन दिएको छ । विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो । सहकारी ऐन, २०७४ को दफा ४१ (५)  मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न पटक पटक निर्देशन दिदैं आएको अवस्था छ । यस सम्बन्धमा धेरैले कार्यान्वयन गर्दै लगे पनि केहीले अझै अटेर गरेर बसेको अवस्था छ ।

सहकारी विभागको निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, सहकारी संघ संस्थामा सुशासन प्रबर्द्धनको लागि जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड , २०८१ को परिच्छेद ७ को कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन भन्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न नियाकमहरुले सहकारीका दोहोरो तेहेरो पदधारी सञ्चालकहरुको ध्यानाकर्षण गराउँदै आएका छन् ।

निर्देशन_bjemgin (1)_page-0001.jpg
विभागको पछिल्लो निर्देशन

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार