Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जब रेलको ढोका अचानक बन्द भयो

जब रेलको ढोका अचानक बन्द भयो

सन् २०२५ जनवरी ३० ।  बुवासँग बाहिर घुम्न गएको थिएँ। हामी दुवै दिनभरि घुमेर निकै थाकेका थियौँ। साँझपख घर फर्कने क्रममा योकोहामाबाट यामाते जाने रेलमा चढ्यौँ। थकाइका कारण बुवा र म सिटमा बसेर यात्रा गर्दै थियौँ। यात्राको क्रममा हामी सामान्य कुराकानी गर्दै घर छिटो पुग्ने सोचमा थियौँ।

रेल चलिरहेको बेला बुवाको मोबाइलको ब्याट्री सकिन लागेको थियो। मोबाइल चार्ज गर्नुपर्ने भएकाले बुवाले अर्को स्टेशनमा झर्ने योजना बनाउनुभयो। त्यसै क्रममा निसिया भन्ने स्टेशन नजिकिँदै गर्दा बुवाले अर्को रेल देख्नुभयो, जुन सिधै छिटो घर पुग्ने थियो। बुवाले “आऊ” भन्दै मलाई लिएर झर्न खोज्नुभयो। तर दुर्भाग्यवश, म झर्ने बेलामा रेलको ढोका अचानक बन्द भयो। बुवा बाहिर झर्नुभयो भने म भने रेलभित्रै एक्लै परेँ।

त्यो क्षण म अत्यन्तै डराएँ। मेरो मनमा अनेक सोच आयो। अपरिचित देश, अपरिचित भाषा र वरिपरि चिनेजानेको कोही पनि नभएको अवस्थामा म निकै आत्तिएँ।के गर्ने, कहाँ जाने भन्ने केही थाहा थिएन।

त्यही बेला एक जना जापानी नागरिकले यो दृश्य देख्नुभयो। उहाँ मेरो नजिक आउनुभयो र इशारामार्फत तथा सरल शब्द प्रयोग गरेर मलाई कहाँ जान लागेको हो भनेर सोध्नुभयो। मैले आफ्नो गन्तव्य र बुवासँग छुट्टिएको कुरा बताएँ। उहाँको नाम माथ्स रहेछ। संयोगवश उहाँ पनि त्यही स्टेशन मा जान लाग्नुभएको रहेछ।

यसैबीच बुवाले मलाई खोज्ने प्रयास गर्दै एक जना नेपालीमार्फत आमालाई फोन गर्न खोज्नुभएको रहेछ। तर कारणवश आमाको फोन उठेन। त्यसपछि बुवाले मलाई नै फोन गर्नुभयो। त्यो फोन मसँग थियो। मैले फोन म्याथस्लाई दिएँ, किनकि मलाई जापानी भाषा थोरै मात्र आउँथ्यो। म्याथ्सले बुवासँग कुरा गर्नुभयो। भाषा समस्या भएकाले हामीले न्ययनभि त्चबलकबितभ को सहयोग लिएर एक–अर्कासँग बुझ्ने प्रयास गर्‍यौँ।

हामी सही स्टेशनमा पुग्यौँ। स्टेशनका कर्मचारीहरूसँग म्याथ्सले मेरो अवस्थाबारे जानकारी दिनुभयो। म त्यही स्टेशनमा बुवाको प्रतीक्षामा बसेँ। केही समयपछि ठीक समयमा बुवा पनि त्यही स्टेशनमा आइपुग्नुभयो। बुवालाई देख्नेबित्तिकै म निकै खुसी भएँ। डर, चिन्ता र तनाव एकैचोटि खुशीका आँसुतर्फ बदलियो। बुवासँग भेट भएपछि मलाई सुरक्षित भएको अनुभूति भयो।

त्यो दिन म्याथ्स मेरा लागि कुनै भगवानसरह बन्नुभयो। उहाँको सहयोग, धैर्यता र मानवताले मलाई ठूलो पाठ सिकायो। अपरिचित भाषा र देशमा पनि मानवता अझै जीवित छ भन्ने कुरा यो घटनाले प्रमाणित गर्‍यो। अन्त्यमा, म र बुवाले म्याथ्सलाई धेरै–धेरै धन्यवाद दियौँ। उहाँको सहयोगले एउटा ठूलो समस्या समाधान भयो र हामी सुरक्षित रूपमा घर फर्कन सफल भयौँ।

यो घटना मेरो जीवनमा सधैँ सम्झनलायक बन्नेछ। यसले मलाई साहस, धैर्य र मानवताप्रति विश्वास गर्न सिकाएको छ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार