काठमाडौं । मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले एक दशक अघिदेखि काठमाडौं महानगरपालिका-८ पशुपतिनाथ मन्दिर परिसरभित्रको १२ रोपनी क्षेत्रफलमा गोठ बनाएर गाईबाच्छा र साँढे गरी डेढ सय बढी जनावर संरक्षण गर्दै आएको छ । अभियानले २०७१ सालदेखि नै सडकमा अलपत्र पारिएका र दुःख पाएका गाईबाच्छा तथा पशुपतिमा डामेर छोडिने साँढेहरुलाई संरक्षण प्रदान गर्दै आएको छ । कपन, काभ्रेका दुई ठाउँ आदिमा गरी हाल करिब ६ सय जनावरको हेरचाह गरिएको भन्दै तिनको स्थायी संरक्षण चिन्ताको विषय भएको अभियानले जनाएको छ ।
देश विदेशका श्रद्धालु एवम् मनकारी मनहरु, पशुपतिनाथ मन्दिर पुग्ने सहयोगी भक्तालुहरु, केही सामाजिक संघ संस्थाहरुको पटके सहयोगले भरथेक हुँदै आएको अभियानका अध्यक्ष काभ्रेका आर.बी.न्यौपाने (गोपाल) ले धिप्री डटकमलाई जानकारी गराउनुभयो । देश विदेशबाट बेलाबेलामा नगद तथा खानेकुरा, औषधिमूलो आदि सहयोग प्राप्त हुने गरेपनि निरन्तर सहयोग गर्नेहरुको संख्या कम रहेको न्यौपानेले बताउनुभयो ।
‘सहयोग त प्राप्त हुन्छ बेलाबेलामा तर खर्च धेरै छ, ,’ न्यौपानले भन्नुभयो, ‘त्यही भएर हामीले आजीवन सदस्य बनाउने अभियान शुरु गरेका छौं तर अपुग छ । यो अभियानमा आजीवन सदस्य बनेर गौमाताहरुको संरक्षण जस्तो पुण्यको काममा जोडिन न्यौपानेले सबै राष्ट्र र राष्ट्रिय जनावरप्रेमीहरुलाई आग्रह गर्दछु ।’ अभियानमा आजीवन सदस्य बनी सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
आजीवन साधारण सदस्य बन्न ५५ सय रुपैयाँ लाग्ने र सक्नेले दैनिक एक कप चियाको रकम २० रुपैयाँ छुट्याएर मासिक सहयोग गर्ने गरेको भन्दै त्यो पनि कठिन हुनेले दैनिक १० वा ५ रुपैयाँ छुट्याएर सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । कपन तथा काभ्रेमा गौशाला निर्माणका लागि जस्ता लगायत सामाग्री तथा नगद सहयोग पनि आवश्यक भएको भन्दै न्यौपानेले सहयोगको याचना गर्नुभयो ।
उहाँले सुनाउनुभयो, ‘एक लाखको पराल दुई दिनलाई पनि पुग्दैन । अस्ति एउटा गाईलाई उपचार गराउँदा डेढ लाख खर्च भयो । दाताहरुले घाँस, पिठो, नून, आदि ल्याउनुहुन्छ । नत्र त धान्नै मुस्किल छ । भगवानलाई पनि दया लागेर यो काम अहिलेसम्म भैरहेको छ ।’
न्यौपाने भन्नुहुन्छ, ‘यस्ता थुप्रै बेबारिसे र अलपत्र परेका गाईबाच्छाहरु हामीले संरक्षण गर्दै आएका छौं, तिनको संख्या बढ्दै गएकाले कपनमा पनि यसैगरी गोठ निर्माण गरी काम शुरु गरेका छौं तर खर्च धान्न मुस्किल छ । राज्यकोतर्फबाट सहयोग छैन, केही संस्था र व्यक्तिगत चन्दादाताहरुको पटके सहयोगले संरक्षण अभियान प्रभावित हुने भएकाले आजीवन सदस्यता शुरु गर्यौं ।’
उहाँ भन्नुहुन्छ, ‘हामी निरन्तर यिनको सेवा गर्छौं । यिनीहरुलाई बचाऔं ।’ गाईबाच्छा तथा गोठ निर्माणका लागि सरकारले बार्षिक १५ देखि २० करोडको बजेट विनियोजन गर्दै आएपनि आफूहरुले सहयोग प्राप्त नगरेको न्यौपानेले बताउनुभयो । अभियानलाई प्राप्त सहयोग पूर्णतः सदुपयोग भएको दाबी गर्दै सबै हिसाबकिताब राख्ने र समयमै अडिट गराउने गरेको समेत न्यौपानेले जानकारी गराउनुभयो ।
यसरी शुरु भयो अभियान
आफू सानैदेखि हरेक प्राणीलाई माया गर्ने प्रवृत्तिको भएको अभियानका अध्यक्ष काभ्रेका आरबी न्यौपाने (गोपाल) बताउनुहुन्छ । ‘अरु पशुहरुको सेवा गर्ने संस्था तथा व्यक्तिगत प्रयासहरु भएपनि गाईबाच्छा तथा गोरु (नन्दी) संरक्षण कहीकतैबाट भएको नदेखेपछि म यतातिर लागेको हुँ, ’केही दिनअघि उहाँले धिप्री डटकमसँग भन्नुभयो, ‘पशुपति पत्ता लगाउने गाई र उनका सन्तान देखि देवताका पनि देवता शिवको वहान नन्दीको संरक्षण नभएको कारण मैले एक्लै भएपनि प्रयास गरेँ ।’
संस्थागत प्रयास भने १० वर्षअघि शुरु भयो । त्यसअघि न्यौपानेले करिब ९ वर्ष व्यक्तिगत पहलमै सडकका गाईबाच्छा एवम् नन्दी संरक्षणमा काम गर्नुभयो । सडकमा पुगेका गाई–बाच्छालाई सवारीसाधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना भएको देखेर तीनको उद्धारमा आफू लागेको अभियन्ता न्यौपानेले बताउनुभयो । उहाँले सुनाउनुभयो, ‘२०७१ सालमा संस्था दर्ता भयो र पशुपति क्षेत्र परिसरभित्रको करिब १२ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डनको पहलमा प्राप्त भयो ।’ अभियानमार्फत बेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको थियो । तर पछि, कोषले व्यवस्थापन नगरेपछि अभियानले चन्दादाता गाईसेवकको पहलमा सेवा पुर्याउँदै आइरहेको छ ।
गाईबाच्छा संरक्षणप्रति राज्य मात्र होइन धार्मिक संघ संस्थाहरु एवम तिनका पिठाधिश एवम् मठाधिशहरुदेखि सामाजिक संघ संस्था तथा संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधि गर्दै आएका बैंक वित्तीय संस्थाबाट पनि उदासिनता पाएको न्यौपानेले बताउनुभयो । वर्षमा एक दिन गाईको पूजा गर्न टाढाटाढादेखि आउने तर अन्यत्र दिन तिनको वेबास्ता गर्ने परम्परा मानिसहरुमा भएको भन्दै उहाँले कटाक्ष गर्नुभयो । गाईबाच्छा सडकमा अलपत्र छोड्नेदेखि गाईको जग्गा हडप्नेहरु सबैले एकदिन संसार त्याग गर्नुपर्ने भन्दै उहाँले पशुपति क्षेत्र विकास कोषदेखि राज्य संञ्चालकहरु एवम् राजनीतिक दलका शक्तिशाली नेताहरुले समेत आफ्नो अभियानमा असहयोग गरेको बताउनुभयो ।
हराउँदै मानवता
‘मानवता हराउँदै गएको छ,’ न्यौपानेले भन्नुभयो, ‘राष्ट्रिय जनावरको समेत बेवास्ता भयो । पशुपतिनाथदेखि ठूला ठूला धार्मिक स्थलहरु पत्ता लगाउने गौमाताको हेरचाह गर्नुपर्छ, उनीहरुलाई अलपत्र छोड्नुहुँदैन भन्ने चेत हामीमा आएन । यो अत्यन्त दुःख लाग्दो विषय छ ।’
गोपाल वंशमा गाईकै जग्गा पनि गाई संरक्षणका लागि प्रयोग भएको देख्न नसक्नेहरु पनि यहाँ छन् भन्दै न्यौपानेले भन्नुभयो, एअरपोर्टमा गल्फ खेल्न प्रयोग गरिएको जग्गा समेत गाईबाच्छाको चरणभूमि भएको तर त्यसको सट्टामा अर्को जग्गा उपलब्ध नगराइएकोमा रोष प्रकट गर्नुभयो । न्यौपानेले प्रश्न गर्नुभयो, ‘एअरपोर्ट गौचरण हो, गौमाताको लागि भनेर छुट्याएको हो । ल ठीक छ, देशलाई खाँचो भयो एअरपोर्ट बन्यो तर गाईको जग्गाको सोधभर्ना त दिनुपर्दैन ? राष्ट्रिय जनावरले चर्न पाउँनुपर्दैन ?’
न सडकमा, न सदनमा
सडकदेखि सदनसम्म पनि गाईबाच्छा संरक्षणका विषयमा आवाज नउठ्ने गरेको भन्दै न्यौपानेले चिन्ता व्यक्त गर्नुभयो । ‘एकजना सञ्जयजी भन्ने जलस्रोत मन्त्रीको बुबा एकदमै गाईबाच्छा प्रेमी हुनुहुन्थ्यो, ’ न्यौपानेले सुनाउनुभयो, ‘उहाँ यहाँ आइपनि रहनुहुन्थ्यो र उहाँकै आग्रहमा सञ्जयजीले सदनमा एकपटक आवाज उठाउनुभयो । त्यति हो । त्यसबाहेक कहिल्यै सदनमा यिनको आवाज उठेन । गाईलाई बचाउनुपर्छ, राष्ट्रिय जनावर हो । यिनको बिचल्ली पार्नु हुँदैन भनेर कुनै पनि सांसद वा मन्त्रिले भनेनन् ।’
औषधीय गुणयुक्त दूध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग नपाएको अभियानका अध्यक्ष न्यौपाने बताउनुहुन्छ । ‘सडकबाट त उद्धार गर्छु तर व्यवस्थित गोठ बनाउन नसक्दा पानी र हिलोमै राख्नुपर्ने बाध्यता छ । यस्तै खर्च व्यवस्थापन पनि मुस्किल छ ।’ सहयोगी, शुभचिन्तककै दान, दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार त गर्दै आएको उहाँको भनाइ छ । संरक्षणको काममा बेलाबेलामा असहयोग मात्र होइन अदालती प्रक्रियामा समेत जानुपरेको भन्दै न्यौपानेले त्यस्ता घटनाबाट अभियान विचलित नहुने समेत स्पष्ट पार्नुभयो । गाई जिउँदो देवता भएकाले यिनको रेखदेख हाम्रो धार्मिक आस्था र विश्वाससँग पनि जोडिएको न्यौपाने बताउनुहुन्छ ।
गरिबी सोच
राज्य हाँक्नेहरुको सोच गरिब भएका कारण यो समस्या उत्पन्न भएको उहाँको ठहर छ । ‘मेरो जग्गा छ, म दिन्छु , ’उहाँले भन्नुभयो, ‘गोठ बनाइदिनुहोस् भनेर काठमाडौं महानगरपालिका, भक्तपुर महानगरपालिका, थिमि नगरपालिका लगायत ठाउँठाउँमा हात जोड्न जाँदा समेत सहयोग पाइनँ । आश्वासन दिने तर पूरा नगर्ने ।’ उहाँले धर्म गुरुहरुले समेत गाईबाच्छा संरक्षण तथा गौशाला निर्माण जस्तो पवित्र कामप्रति वेबास्ता गरेको बताउनुभयो ।
मासिक डेढ लाख कमाइ
उहाँले सडकका बेबारिसे गाइबाच्छा संरक्षणको अभियानमै लागेर कुनै दायाँबायाँ नगरी असल नियतसाथ मिहेनतपूर्वक काम गर्ने हो भने धेरै नेपालीले मासिक डेढ लाखसम्म कमाउन सक्ने बताउनुभयो । '७ वर्षमा सडकका गाईबाच्छा पालेर यही देशमा प्रतिव्यक्ति मासिक डेढ लाख कमाइ गर्नसक्ने सम्भावना छ, ' उहाँले भन्नुभयो, विदेश जानै पर्दैन तर राज्यले हाम्रा कुरा सुन्नुपर्यो, मनन गर्नुपर्यो, सही नीति निर्माण गरी लागू गर्नुपर्यो त्यो सम्भव छ । काम खोज्न खाडी मुलुक जानैपर्दैन ।' काभ्रेदेखि विभिन्न स्थानमा अभियान अन्तर्गत गाईबाच्छा संरक्षणमा लाग्नुभएका न्यौपानेले त्यसको उपाय र विधि धिप्री डटकमसँगको केही दिनअघिको भिडियो संवादमा सुझाउनुभयो । प्रस्तुत छ उक्त संवादको सम्पादित सामाग्री:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com