Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सबैको देश सबै मिलेरै बनाउने हो

सबैको देश सबै मिलेरै बनाउने हो

हामी नेपालभित्र छौं, हामी नेपाली हौं र नेपालमा लोकतान्त्रिक व्यवस्था छ । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । मतमा अगाडि हुनु र पछाडि पर्नु लोकतान्त्रिक विधिसम्मत् हो । निर्वाचन उम्मेदवारका लागि जनताबाट परिक्षण हुने एउटा अवसर पनि हो । यो त एउटा प्रकृया मात्र हो त्यसैले एकपटकको अंकगणितमा अगाडि आउनु र पछाडि पर्नु जीवनमै अगाडि र पछाडि पर्नु होइन । यसमा निर्वाचितहरुले धेरै पुलकित हुन र पराजय भोग्नेहरुले विचलित र अनियन्त्रित हुन आवश्यक छैन । आखिर हामी नेपाली हौं, हाम्रो देश नेपाल हो, देशमा राम्रो हुँदा सबैलाई राम्रो हो । चुनाबमा उठ्ने नागरिकको अधिकार हो अनि भोट कसलाई हाल्ने पनि नागरिककै अधिकार । त्यसैले मत बढी पाएकै भरमा र कम पाएकै भरमा कसैका अधिकार, आस्था र दर्शनमाथि खिल्ली उडाउनु हुँदैन । हिजोका दिनसम्म देशनै निर्वाचनमा होमिइरहेको सन्दर्भमा  जसले जेजे गरेपनि जेजस्तो भएपनि, हामी छिमेकी, गाउँले, नगर, जिल्लाबासी हौं, हामी सबै नेपाली हौं । हामी एकअर्कामा सहयोग, सद्भाव र सहकार्य हुन आवश्यक छ । 

निर्वाचनमा हार्नेलाई सबै जनताले अस्वीकार गरेको होइन, जित्नेलाई सबै जनताले स्वीकार गरेको पनि होइन त्यसैले बदलाको भावले होइन बदलिएर राम्रोको लागि साथसाथ अगाडि बढौं । 

Gemini_Generated_Image_amarhvamarhvamar_11zon_11zon.webp
एआई इमेज

चुनाबी प्रतिस्पर्धामा जम्मा दुईमत आएछ भनेपनि त्यसलाई स्वीकार गर्नुपर्छ, जनमतको सम्मान गर्नुपर्छ । मतदान गर्नु जनताको संवैधानिक अधिकार हो, दिनु, नदिनु, कसलाई दिनु व्यक्ति स्वयंको अधिकार इच्छाको कुरा हो, यसलाई सम्मान गर्नुपर्छ । निर्वाचित हुनेलाई चुनौति र जिम्मेवारी धेरै हुन्छन्, जनभावना अनुसार काम गर्नुपर्ने दायित्त्व हुन्छ । किनकि ''प्राप्त पद कुनै उपहार होइन, फुलको हार पनि होइन बरु जिम्मेवारीको भार हो !'' राम्रो गर्न नसके पद बारबार पनि होइन एक्कैबार हो!

विजय हुँदाको अधिकतम जस नेता र कार्यकर्तालाई दिने पराजित भए आफ्नैले असहयोग गरे, अन्तरघात गरे वा जनताले धोका दिए भन्ने भाष्य निर्माण गर्छन् कतिले र तत्काल वा क्रमैसंग विष बमन पनि गर्छन्, तर त्यो सरासर गलत हो । अबका दिनमा कसैबाट त्यस्तो नहोस् । जे-जसरी भएपनि अरुको रुचीमा आफू पर्न नसकेको, आफूमा केही कमी कमजोरी रहेको सत्यलाई स्वीकारेर सुधारको बाटोमा अघि बढनु चाहिँ उचित हो ।

तर जुनसकै अवस्थामा नि फेरि पनि जनतालाई भेडा नभनियोस् ! न जनता भेडा हुन् न सधैं सबै जनता भेडा हुन् । जनतालाई गाली गर्ने छुट् कसैलाई छैन । विजयीलाई गाली गर्नु पनि जनमतलाई गाली गर्नु हो र जनमतलाई गाली गर्नु जनतालाई गाली गर्नु हो, जनतालाई गाली गर्ने गल्ती कसैले गर्नु हुँदैन । त्यस्तै, पराजितलाई लज्जित बनाउनु, होच्याउनु, खिसीट्युरी गर्नु, गाली गर्नुपनि जनमतलाई अपमान गर्नु हो र जनमतको अपमान गर्नु भेनेको जनताको अपमान गर्नु हो, नेपाल र नेपालीको अपमान गर्नु हो । नेपालको उन्नतिका लागि सबै नेपालीको उत्तिकै साथ, सहयोग र सहकार्य आवश्यक हुन्छ, त्यसैले अबका दिनमा हामी सबैको प्रयास त्यतातिर चाहिँ हुन जरुरी छ । किनकि देश हामी सबैको हो, बनाउने हामी सबै मिलेरनै हो ।

प्रकाश भुर्तेल

(भुर्तेल सहकारी, साहित्य लगायत समसामयिक विषयमा निरन्तर कलम चलाउनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार