काठमाडौं । महेश संस्कृत गुरुकुलमद्वारा सञ्चालित घर-घरमा गुरुकुलीय शिक्षा कार्यक्रम अन्तर्गत महर्षि वसिष्ठ सदनले आयोजना गरेको ‘अनलाइन ज्योतिष प्रशिक्षण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरी २९ जना आज दीक्षित हुनुभएको छ ।
आज जाउलाखेलस्थित सत्सङ्गभवनमा शास्त्रीय रुपमा कार्यक्रम आयोजना गरी दीक्षितहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । २०८१ पुस ११ गतेदेखि चैत १८ गतेसम्म सञ्चालित ३ महिने (७५ क्रेडिट आवरको) अभौतिक कक्षामा ५ महिलासमेत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमका सभाध्यक्ष देवघाटस्थित महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी श्री १००८ रमणानन्द गिरि तथा प्रमुख अतिथि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीसहित सहभागी अन्य विशिष्ट अतिथिहरुले सहभागीहरुलाई प्रमाणपत्र सहित सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्ष स्वामी श्री १००८ रमणानन्द गिरिले आधुनिक वा मुलधारको भनिने वर्तमान शिक्षा पद्धतिले धेरै माथिल्लो स्तरको हाम्रो सभ्यताको संरक्षण गर्न नसक्ने ठानेर नै ब्रम्हलीन सद्गुरुदेवले गुरुकुलीय पद्धति स्थापना गर्नुभएको बताउँदै त्यही गुरुकुलीय पद्धतिमै अनलाइनबाटै भएपनि ज्योतिष प्रशिक्षण भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । यद्यपि, हामीहरुले गर्नुपर्ने काम धेरै भएको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालको भविष्य हामीले जोगाउनुपर्नेछ । भविष्य भनेको नयाँ पुस्ताबाट जोगिने हो । त्यो नयाँ पुस्तालाई हाम्रो आफ्नो सभ्यताको शिक्षादीक्षामा जोड्नुपर्नेछ । त्यतिमात्र नपुगेर विश्वलाई नै हामीले जोगाउनुपर्नेछ ।’ उहाँले हाम्रो अस्तित्व र विरासतको रक्षाका साथै ब्रम्हाण्डको रक्षाका लागि पनि हामीले हाम्रो सभ्यतालाई जसरी हुन्छ जोगाउनुपर्ने आवश्यकतामा बिशेष जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग धेरै कुरा छ जसलाई महत्व दिएर हामीले जान्नुबुझ्नुपर्ने छ । तर, दुर्भाग्यको कुरा मुलधारको शिक्षा भनेर नेपालमा जे जस्तो शिक्षा नीति अवलम्बन गरिरहेका छौं, त्यसले हाम्रो यो लाखौं वर्षको इतिहासप्रति यथावत रुपमा न्याय गरिरहेको छैन । नेपाल त प्रकृतिले पत्याएको, देवताले पत्याएको, मानिसहरु बस्नुभन्दा अघि देवताहरु बसेर तपस्या गरेर सिद्धक्षेत्र बनाएको ठाउँ हो । यो दिव्य शिवक्षेत्र हो ।’
स्वामी रमणानन्द गिरिले अनादिकालदेखिको सभ्यता भएको हाम्रो भूमिमा आधुनिक कालमा आएका सबै कुराहरु हाम्रो प्राचीन विरासतलाई सम्मान र श्रद्धा गरेर, हाम्रो जराको भित्रको पर्यावरणको महत्वलाई बुझेर चलुन् भनी कामना गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले ज्योतिष दिव्यज्ञान भएको बताउनुभयो । उहाँले वैदिक सनातन परम्परामा जन्मदेखि मृत्युपर्यन्त महत्वपूर्ण कार्यहरु गर्न ज्योतिष आवश्यक भएको उल्लेख गर्दै यो नभई नुहने विषय भएपनि ओझेलमा परेको भन्दै अध्ययन अनुसन्धानलाई जारी राख्न दीक्षितहरुलाई आग्रह गर्नुभयो ।
यो व्यावहारिक र बैज्ञानिक भएको बताउँदै प्राध्यापक अधिकारीले भन्नुभयो, ‘यो शास्त्रसँगै साधनामा पनि भर पर्ने ज्ञान हो, यसलाई केवल पैसामा मात्रै बिक्री गर्ने काम नगरी समाज सेवाका लागि उपयोग गर्नुहोस् । सस्तो लोकप्रियताका लागि ज्ञानभन्दा बाहिर गएर नबोल्नुहोला, नबहकिनुहोला । आफनो ज्ञानलाई सामाजिक सेवामा अर्पण गर्नुहोला ।’
यस्तै, विशिष्ट अतिथिहरु प्राध्यापक रामहरि दाहाल, ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेल, भरमणि रिसाल लगायतले अध्ययन गरेर मात्र बोल्ने, नजान्ने कुरा सिकेर, शास्त्र पढेर सोधेर मात्र बोल्ने बानी विकास गर्न दीक्षितहरुलाई सुझाउनुभयो । उहाँहरुले भन्नुभयो, ‘सामाजिक सञ्जालमा भाइरल हुन होइन शास्त्रहरुको आधार लिएर आधिकारिक विषयहरु मात्रै बोल्नुहोला । प्राप्त गरेको ज्ञानको प्रतिष्ठा जोगाइराख्ने तपाईंहरुको कर्तव्य पनि हो ।’
कार्यक्रममा दीक्षितहरुमध्येबाट प्रकाश पौडेल र लक्ष्मी घिमिरले आधारभूत भन्दा माथिल्लो स्तरको ज्योतिष प्रशिक्षण कार्यक्रममा सहभागी भई दीक्षित हुन पाएकोमा आयोजक तथा प्रमुख प्रशिक्षकप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । वेदको नेत्र ज्योतिषशास्त्र बारे अभौतिक भएपनि अत्यन्त उपलब्धिमूलक प्रशिक्षण भएको उहाँहरुले बताउनुभयो । शास्त्रीय मान्यतालाई आधार मानी प्रशिक्षणको आधारमा अभ्यास गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभयो । यसैगरी, उहाँहरुले संस्कृत वाङ्मयको प्रवर्धन तथा गुरुकुलीय शिक्षा पद्धतिको संरक्षण एवम् उत्थानका निम्ति महेश संस्कृतम गुरुकुलम्को प्रयास स्तुत्य भएको चर्चा गर्नुभएको थियो ।
घरघरमा गुरुकुलीय शिक्षा कार्यक्रमका संयोजक एवम् गुरुकुल प्रवर्धन समाजका अध्यक्ष आचार्य कपिलदेव सुवेदी संयोजक रहनुभएको कार्यक्रमको सञ्चालन अनलाइन ज्योतिष प्रशिक्षणका मुख्य प्रशिक्षक वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा.पुरुषोत्तम भट्टराईले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com