ग्लोबल मनी वीक बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने एक विश्वव्यापी अभियान हो । सन् २०१२ देखि सुरु भएको यो अभियान हाल विश्वका १७५ भन्दा बढी देशहरूमा मनाइन्छ । यसको मुख्य उद्देश्य नयाँ पुस्तालाई सानै उमेरदेखि पैसाको महत्व, बचत गर्ने बानी, लगानी र बुद्धिमानीपूर्वक वित्तीय निर्णय लिन सिकाउनु हो ।
यसको संयोजन दुई तहमा हुने गर्दछ । अन्तर्राष्ट्रिय स्तरमा सुरुमा यसलाई चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनल (CYFI) ले सुरुवात गरेको थियो । सन् २०२० देखि यसको नेतृत्व र संयोजन आर्थिक सहयोग र विकास संगठन (OECD) को इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (INFE) ले गर्दै आएको छ । नेपालमा यस अभियानको राष्ट्रिय संयोजक नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले सन् २०१३ देखि नै यसको नेतृत्व गर्दै आएको छ ।
यस अभियानको स्थायी नाराLearn, Save, Earn सिकौँ, बचाऔँ, कमाऔँ हो । प्रत्येक वर्ष फरक फरक विषयमा अभियान सञ्चालन गर्नका लागि सम्बन्धित वर्षको नारा ल्याईन्छ । यस वर्षको नारा Smart Money Talk समझदारी पूर्ण आर्थिक छलफल रहेको छ । मार्च महिनाको १६ देखि २२ अर्थात २०८२, चैत्र २ देखि ८ गते सम्म एक साता, यस वर्ष १४औँ संस्करण चलिरहेको छ ।
विभिन्न विद्यालयहरु संग समन्वय गरेर विद्यार्थीहरूलाई वित्तिय संस्थाहरुको भ्रमण गराउने, बचतको महत्व बुझाउने, डिजिटल बैंकिङबारे जानकारी दिने, वित्तिय जानकारी दिने विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरु गरी यसलाई व्यापक बनाउन नेपाल राष्ट्रिबैंकले सहकारी विभाग लगायतका वित्तिय क्षेत्रलाई आह्वान गरेको छ ।
नानी देखि लागेको बानी भनिन्छ नि । हो नानी देखि लागेका राम्रा तथा नराम्रा बानीहरुले जीवनलाई कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्छ । यसको मतलब अध्ययन, ज्ञान, पछि आर्जन गरिएको विद्याको महत्व छैन भन्न खोजिएको होइन । तर मानव चेतनाको गहिरो प्रभाव, सिकाईको तीब्रता सानो उमेरमा तुलनात्मक रुपमा अधिक हुन्छ । यो विज्ञान सम्बत कुरा हो । चेतनाले रोक्दा पनि बानी परेको कुरा भैरहेको हुन्छ ।
सानै उमेर देखि पैसाको जतन कसरी गर्ने । बचत कसरी गर्ने । खर्च गर्दा कस्ता कुरामा ध्यान दिनु आवश्यक छ । कमाउनु मात्र नभई जमाउनु तथा लगानी गर्नु । लगानीबाट पैसालाई कसरी थप पैसामा रुपान्तरण गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान जीवनमा अपरिहार्य ज्ञान हो ।
यस वर्षको नाराले पैसाको बारेमा खुला छलफल गर्न प्रोत्साहन गरेको छ । युवाहरूले बचत, ऋण, लगानी र सम्भावित ठगीबाट बच्ने उपायहरूका बारेमा बिना हिचकिचाहट कुराकानी गरून् भन्ने यसको मुख्य उद्देश्य हो ।
नेपाल राष्ट्र बैंकको संयोजनमा सहकारी क्षेत्र, विभिन्न बैंक, वित्तीय संस्था, बिमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतका वित्तिय निकायहरुले यो साताभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । वित्तीय चेतना जगाउन देशका विभिन्न स्थानमा पदयात्रा र ¥यालीहरू भइरहेका छन् । डिजिटल साक्षरता, मोबाइल बैंकिङ, किउआर कोडको सुरक्षित प्रयोग र डिजिटल ठगीबाट बच्ने उपायहरूमा जोड दिइएको छ । विशेषगरी बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्ना सदस्य र उनीहरूका छोराछोरीलाई वित्तीय अनुशासन र नियमित बचतको महत्वबारे प्रशिक्षण दिइरहेका छन् । यद्यपी विषयको गहनता अनुसार थप प्रचार प्रसार र जन जनमा पुर्याउन जरुरी छ । ग्रामीण वित्तिय शिक्षामा त सहकारी संस्थाहरुको निर्बिकल्प भूमिका हुने भएकोले पनि यसको महत्व छ । १४ औं संस्करण सम्म आईपुग्दा पनि सबै सरोकारवालामा पुर्याउन नसकिएको भान भने भएको छ ।
मुख्य सन्देशहरू
बचतको बानी: थोरै होस् वा धेरै बचत गर्ने बानी बसाल्ने ।
सही लगानी: पैसालाई निष्क्रिय नराखी काममा लगाउने ।
जिम्मेवारी पूर्वक खर्च: चहाना हो वा आवश्यकता सो पहिचान गरेर मात्र खर्च गर्ने ।
सुरक्षित कारोबार: आफ्नो पिन वा पासवर्ड कसैलाई नदिने र प्रविधि प्रयोग गर्दा सतर्क रहने ।
ग्लोबल मनी वीक केवल संस्थागत कार्यक्रम मात्र होइन । यो व्यक्तिगत स्तरमा आफ्नो र आफ्नो परिवारको वित्तीय स्वास्थ्य सुधार्ने अवसर हो । एक व्यक्तिका रूपमा यस अभियानलाई देहाएका तरिका अपनाई मनाउन सकिन्छ ।
१. वित्तीय स्वास्थ्यको समीक्षा
आम्दानी र खर्चको लेखाजोखा गर्ने ।
बजेट बनाउने अभ्यास गर्ने । पछिल्लो महिनाको खर्च हेरेर आगामी महिनाका लागि कति बचत, कति लगानी कति खर्च गर्ने भन्ने योजना बनाउने ।
ऋण व्यवस्थापन गर्ने । यदि कुनै ऋण छ भने त्यसलाई कसरी छिटो तिर्न सकिन्छ वा ब्याजदर कसरी कम गर्न सकिन्छ भन्ने बारेमा काम गर्ने ।
२. बालबालिका र युवालाई सिकाउने
यस अभियानको मुख्य लक्ष्य नै युवा पुस्ता हो ।
साना नानीबाबुहरूलाई खुत्रुके दिएर बचत गर्ने बानी बसाल्न प्रोत्साहन गर्ने
छोराछोरीको नाममा बाल बचत खाता खोलिदिने र उनीहरूलाई बचत गर्ने प्रक्रिया बुझाइदिने ।
पैसाको कुराकानी गर्ने पारिवारिक जमघट जस्तै खानाको समयमा वा फुर्सदमा पैसा कसरी कमाइन्छ, कसरी सुरक्षित राखिन्छ र अनावश्यक खर्च कसरी कटौती गरिन्छ भन्नेबारे सरल भाषामा छलफल गर्ने ।
३. डिजिटल साक्षरता बढाउने
अहिलेको समयमा सुरक्षित डिजिटल कारोबार महत्वपूर्ण छ ।
सुरक्षा जाँच गर्ने जस्तै ः आफ्नो मोबाइल बैंकिङको पासवर्ड परिवर्तन गर्ने, टु–फ्याक्टर अथेन्टिकेसन राख्ने ।
नयाँ प्रविधि सिक्ने जस्तैः अहिलेसम्म क्युआर कोड, कनेक्ट आइपीएस वा अनलाइन बिल भुक्तानी चलाउनुभएको छैन भने सिक्ने प्रयास गर्ने ।
४. लगानीको सुरुवात गर्ने
बचत मात्र पर्याप्त हुँदैन । पैसालाई बढाउन लगानी आवश्यक छ ।
सेयर बजारको डिम्याट खाता छैन भने खोल्ने वा आईपीओ भर्न सुरु गर्ने ।
आफ्नो र परिवारको स्वास्थ्य वा जीवन बीमाको स्थिति जाँच गर्ने ।
५. अनावश्यक खर्च नगर्ने अठोट गर्ने
साताको एक वा दुई दिन नो स्पेन्ड डे खर्च गर्दिन भन्ने प्रतिज्ञा लिने । जसमा अत्यावश्यक खाना, औषधि बाहेक मनोरञ्जन वा विलासिताका वस्तुमा एक रुपैयाँ पनि खर्च नगर्ने प्रण गर्ने यसले आफ्नो खर्च गर्ने प्रवृत्ति बुझ्न मद्दत गर्छ ।
६. अनलाइन स्रोतहरूको प्रयोग
ग्लोबल मनी वीकको वेबसाइट वा नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पोर्टलमा उपलब्ध शैक्षिक सामग्री, भिडियो हेर्ने अध्ययन गर्ने र क्विजहरूमा भाग लिने ।
७. अनुभव शेयरिङ गर्ने
वित्तीय क्षेत्रमा भोगेका सफलता वा असफलताका कथाहरू आफ्ना साथीभाइमा शेयर गर्ने । एउटा अनुभवले अरूलाई आर्थिक रूपमा सचेत बन्न मद्दत पुग्न सक्छ ।
श्रव्य दृष्य सामग्रीहरु तयार गरी पोष्ट गर्ने ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com