Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
नेपाल रुस कुटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ

सांस्कृतिक विविधताको सम्मान र संरक्षण नेपाल–रुस दुबैको विशेषता: अनास्तासिया खोक्लोभा

सांस्कृतिक विविधताको सम्मान र संरक्षण नेपाल–रुस दुबैको विशेषता: अनास्तासिया खोक्लोभा

काठमाडौं । नेपालस्थित रुसी हाउसकी निर्देशक अनास्तासिया खोक्लोभाले नेपाल र रुस दुवै मुलुकमा रहेको सांस्कृतिक विविधता यी दुईबीचको समान चारित्रिक विशेषता भएको बताउनुभएको छ । भाषा र भूगोलले टाढा भएपनि नेपाल र रुसमा पाइने सांस्कृतिक विविधताको कारण दुईबीच निकटताको सम्बन्ध रहेको उहाँले बताउनुभयो । उहाँले दुई मुलुकबीच असमानता भन्दा बढी समानताहरु रहेको पनि चर्चा गर्नुभयो । सांस्कृतिक विविधताकाबीच बलियो राष्ट्रिय एकता दुबै मुलुकको विशेषता भएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘हामी दुई मुलुकमा रहेको यही सांस्कृतिक विविधता भित्रको गहिरो राष्ट्रिय एकता धेरैका लागि अभिरुचिकर लाग्दछ ।’ उहाँले भन्नुभयो, ‘सुन्दा अचम्म लाग्न सक्छ तर नेपाल र रुसबीचको महत्वपूर्ण समानता भनेको सांस्कृतिक विविधता हो ।’ त्यसैकारण रुसमा अध्ययन वा अन्य कामको सिलसिलामा जाने नेपालीहरुले पनि सांस्कृतिक विविधताको स्वाद लिन पाउने उहाँले बताउनुभयो । त्यो नेपाललाई नजिकबाट बुझ्ने रुसीहरुको हकमा पनि लागु हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले नेपालले जसरी नै रुसले पनि आफ्नो मुलुकको सांस्कृतिक विविधताको शान्तिपूर्ण संरक्षण गरेको दाबी गर्नुभयो । ८० बढी फेडेरल युनिटहरु भएको रुसले तिनमा रहेका विभिन्न संस्कृति, भाषा र परम्पराको यथोचित संरक्षण गर्दै आएको भन्दै उहाँले नेपालमा पनि नेवारी, मधेशी, गुरुङ, तामाङ लगायतकाहरुको भाषिक, सांस्कृति र जातिय विविधताको प्रवर्धन हुँदै आएकोमा प्रशंसा गर्नुभयो । रुस पनि बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको खोक्लोभाले बताउनुभयो । आफ्नो पहिचानलाई नमेटी राष्ट्रियताको भावनाले एक हुनु दुबै मुलुकको विशेषता भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले संस्कृतिले दुई मुलुकलाई जोड्ने काम गरेको बताउनुभयो । 

DSC01413_11zon.jpg
undefined

नेपाल र रुसबीच सन् १९५७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो अंग्रेजी वर्ष उक्त सम्बन्ध स्थापनाको ७०औं वर्ष गाँठ पनि हो । सोही अवसर पारेर करिब डेढ वर्षअघि रुसी हाउसको निर्देशकका रुपमा जिम्मेवारी सम्हाल्नुभएकी खोक्लोभाले आज अर्ली अफिस आवरमा धिप्री डटकमसँग लामो संवाद गर्दै भन्नुभयो, ‘यो वर्ष हामी दुई मुलुकको लागि झनै विशेष छ । यो वर्ष हामीले हाम्रा सम्बन्धहरुमा नयाँ आयामहरु थप्दै थप प्रगाढ कसरी बनाउने भनेर गहन विमर्श गर्ने र सोही अनुरुप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने समय पनि हो ।’

दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धको सेतुका रुपमा रुसी हाउसले विविध कार्यक्रमहरु गर्दै आएको र भविष्यमा युवाहरुको इच्छा र चाहनाको सम्बोधनमा विशेष जोड दिने जानकारी गराउनुभयो । उहाँको जोड थियो, ‘ हामीले बालबाकिा र  युवाहरु लक्षित कार्यक्रमहरुमा पनि विशेष जोड दिएका छौं । हाम्रो मान्यता छ हामीले जे गरिरहेका छौं त्यो युवाहरुको आवश्यकता बन्नुपर्छ ।’ केवल रुसी मात्र नभई विश्वका अन्य मुलुकका संस्कृति, भाषा, ,सम्पदा, साहित्य आदि बारे रुचि राख्नेहरुलाई पनि हामी हार्दिकतापूर्वक स्वागत छौं रुसमा र यहाँ रुसी हाउसमा पनि ।’ 

यी सात दशकमा धेरै विषयमा धेरै काम भएका छन्, ’ खोक्लोभाले भन्नुभयो, ‘सन् १९६० को दशकमा तत्कालीन सोभियत संघले आफ्नो मुलुकमा इन्जिनियरिङ, चिकित्सा, निर्माण आदि क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने थुप्रै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति सुविधा उपलब्ध गराएको थियो । त्यसले नेपालको शिक्षासँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसरहरु सिर्जना गर्ने काममा भूमिका खेलेको थियो ।

रुसमा उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थीहरूको आकर्षण राम्रो रहेको उहाँले जानकारी गराउनुभयो । छात्रवृत्तिका लागि छनौट भएकाहरुले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा प्रतिष्ठित रुसी विश्वविद्यालयहरूमा चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायत विविध विधामा अध्ययन गर्न पाउनेछन्। रुस सरकारका यी छात्रवृत्ति सुविधाले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय तथा पूर्णरूपमा निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

DSC01409_11zon.jpg
undefined


रुस सरकारले सन् १९६० देखि नेपाली विद्यार्थीहरूका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्रि सुविधा मार्फत धेरै लाभान्वित भएको बताउँदै खोक्लोभाले भन्नुभयो, ‘हाल करिब ५ हजार बढी नेपालीहरु अलम्नाई (रुसी विश्वविद्यालयहरुमा अध्ययन गरेका नेपालीहरु) भएको हाम्रो तथ्याङ्क छ । तर, कति त बितिसक्नुभयो, कति धेरै पहिलेनै छात्रवृत्ति पाउनुभएको थियो जसको रेकर्ड हामीसँग छैन तर पनि सोभियत तथा रुसी विश्वविद्यालयबाट छात्रवृत्ति पाउने नेपालहरुमध्ये अहिले करिब ५ हजार हाराहारीमा नेपालमा हुनुहुन्छ ।’ यसैगरी स्टेट स्कलरशिप कोटामा पनि नेपालीहरुलाई रुसमा अध्ययन अवसर रहेको भन्दै ६० बढीको संख्यामा नेपाली विद्यार्थीहरु यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो ।

उहाँले मित्रकुञ्जका रुपमा उक्त संख्या संगठित रहेको भन्दै यसैमार्फत पनि दुई मुलुकको सम्बन्ध सुमधुर बनाउने दिशामा महत्वपूर्ण कामहरु हुँदै आएको बताउनुभयो । मित्रकुञ्जसँगको रुसी हाउसको सम्बन्ध र सहकार्य आगामी दिनमा झांगिदै जाने भन्दै खोस्लोभाले आधुनिकता र समयको माग सम्बोधनको खाँचो भनेको रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र रुसको सम्बन्धलाई थप प्रगाढता दिने काममा रुसी हाउस लागिपरेका छौं । त्यसको लागि नेपालस्थित रुसी दुतावासको सहयोगी निकायको रुपमा हामीले भाषा, शिक्षा, भाषा, साहित्य, कला, संस्कृति, इतिहास, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रलाई माध्यम बनाएका छौं । यिनकै माध्यमबाट हाम्रो सम्बन्ध र सहकार्यले नयाँ उचाइ हासिल गरेको छ ।’

हाल रुसको एक विश्वविद्यालयमा औपचारिक रुपमा नेपाली भाषा पढाइ हुन थालेको जानकारी गराउँदै अब भने रुसीहरुलाई पनि सोझै नेपाली भाषा अध्ययन गर्ने र भाषामा माध्यमबाट यहाँको संस्कृति, साहित्य, दर्शन, इतिहास आदिबारे जानकारी लिने अवसर प्राप्त हुने पनि उहाँले बताउनुभयो । यसअघि, नेपाली भाषा सिक्न चाहने रुसीहरुले हिन्दी भाषा सिकेर मात्रै नेपाली सिक्ने गरेको उहाँले बताउनुभयो । दुबै भाषा देवनागिरी लिपिमा रहेको र रुसमा भारतीय संघ संस्थाहरु थुप्रै रहेको अनि हिन्दी लोकप्रिय पनि भएको भन्दै त्यसकै कारण पहिला हिन्दी  सिकेर नेपाली सिक्ने गरेकोमा अब भने सिधैं नेपाली सिक्न सक्ने उहाँले बताउनुभयो । 

रुसी भाषा सिक्न कठिन भएको स्वीकार्दै खोक्लोभाले बौद्धिक र प्राज्ञिक व्यक्तिहरुका लागि भने यो भाषा विशेष अभिरुचिको हुने दाबी गर्नुभयो । ‘रुसी भाषाका लेखन प्रणालीहरु, उच्चारणसँगै नेपाली भाषामा नरहेका विविध पक्षहरु यसमा छन्, त्यसैले यो सहज छैन, तर नेपालीहरु क्षमतावान छन् । फेरि, यहाँ हामीसँग एकदमै विशेषज्ञ रुसी भाषा प्रशिक्षकहरु हुनुहुन्छ जसका माध्यमबाट नेपालीहरुले पनि यो भाषाको ज्ञान लिइरहनुभएको छ ।’

यस्तै, रुसी भाषामा दक्षता हासिल गर्ने नेपालीहरुलाई यहाँ रोजगारीको सम्भावना रहेको खोक्लोभाले बताउनुभयो । ‘हामीलाई रुसी भाषा प्रशिक्षकहरुको एकदमै खाँचो छ, ’ उहाँले भन्नुभयो, ‘रुसी भाषामा दक्षता हासिल गर्ने हो भने रोजगारीको राम्रो अवसर प्राप्त गर्न सकिन्छ ।’ खोक्लोभाले भन्नुभयो, ‘हामीलाई रुसी भाषा प्रशिक्षकहरुको एकदमै खाँचो छ । हामीकहाँ मात्र नभई पर्यटन क्षेत्रमा पनि रुसी भाषामा दख्खल राख्नेहरुका लागि धेरै अवसर छ । नेपाल रुस सहकार्यका परियोजनाहरु पनि थुप्रै छन् जहाँ सम्भावनाहरु जन्मन्छन् ।’

एक अर्को प्रसङ्गमा खोक्लोभाले नेपालमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट म्याण्डेट पाएर गठनको तयारीमा रहेको नयाँ सरकारसँग मिलेर दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ बनाउन रुसी हाउस इच्छुक रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ सरकारसँग काम गर्न हामी इच्छुक छौं । नेपालको राजनीतिक परिस्थितिका कारण दुई मुलुकबीचका सांस्कृतिक सम्बन्धहरु अल्पअवधिका लागि केही ओझेलमा परेको हो कि भन्ने जस्तो भान भएपनि अब नयाँ सरकार र सरकारी निकायसँग मिलेर काम गर्न रुसी हाउस इन्छुक भएको भन्दै उहाँले आशावादी टोन प्रस्तुत गर्नुभयो । 

विभिन्न मन्त्रालय र अन्य सरकारी सरोकारवालाहरुसँग रुसी हाउसको सामान्य औपचारिक सम्बन्ध भएपनि उच्च तहमा भने यसलाई अघि बढाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘यद्यपि, मित्र कुञ्ज लगायत हामीसँग गोल्डन एसेट्स (स्वर्ण सम्पत्ति) हरु छन् जो नेपालीहरुले रुसमा बसेर अध्ययन गरेका छन् । हाम्रो भाषा, संस्कृति, सभ्यता, साहित्य, शिक्षा आदि विषयमा प्रत्यक्ष जानकारी हासिल गरेका छन् । उहाँहरुको अग्रणी भूमिका हुन्छ दुई मुलुकबीच सम्बन्ध सेतु बन्ने । उहाँहरुबाट हाम्रो अपेक्षा धेरै छ । अर्को भनेको समयको पदचाप, आधुनिकताको आवश्यकता र प्रविधिको सर्वसुलभतासँगै हामीले दुई मुलुकबीचको सम्बन्धको दायरा फराकिलो बनाउन नवयुवाहरुको अपेक्षाको यथोचित सम्बोधन गर्नुपर्ने हुन्छ । हामीले जे गरिरहेका छौं, त्यो युवाहरुको आवश्यकता बन्नुपर्छ ।’

नेपालस्थित रुसी दूतावासको सांस्कृतिक निकाय रुसी हाउसले खासमा सांस्कृतिक दुतावासका रुपमा काम गर्दै र ख्याति आर्जन गर्दै आएको छ । रुसी हाउसले दुई मुलुकबीच भाषा, साहित्य, संस्कृति कला, विज्ञान प्रविधि आदिका क्षेत्रमा नेपालस्थित सरकारकी तथा गैरसरकारी निकायहरु एवम् संघ संस्थाहरुसँग मिलेर काम गर्दै आएको छ । रुसी दुतावासकै एउटा विभाग वा खण्ड भएपनि हामी आम नेपालीहरुका लागि बढी सहज, खुला र उपलब्ध छौं, ’ खोस्लोभाले भन्नुभयो, ‘हाम्रो पुस्तकालय, सिनेमा हल, भाषा कक्षाहरु आम नेपालीहरुका लागि पूर्णत खुला र पहुँचयोग्य छन् ।

भाषा प्रशिक्षणका माध्यमबाट रुसी कला, साहित्य, संस्कृति, विज्ञान, इतिहास आदिबारे नेपालीहरुलाई जानकारी उपलब्ध गराउने उद्देश्यका साथ यसले नेपालीहरुका लागि रुसी भाषाका कक्षाहरु निरन्तर सञ्चालन गर्दै आएको छ ।

सन् १९७९ देखि विभिन्न नामले नेपालमा रहेको रहेको उक्त निकाय सन् १९९३ देखि रुसी हाउसको रुपमा कमलपोखरीमा अवस्थित छ जहाँ सुविधासम्पन्न पुस्तकालयदेखि कला र सांस्कृतिक कार्यक्रमहरुका लागि हलसमेत उपलब्ध रहेको उहाँले बताउनुभयो ।

नेपालको शैक्षिक एवम् प्राज्ञिक वर्गमा रुसी हाउस र यसले सञ्चालन गर्ने गतिविधिहरुका बारेमा पर्याप्त जानकारी रहेको बताउँदै खोक्लोभाले पछिल्लो समयमा नेपाली युवा र बालबालिकाहरुमा पनि रुसी भाषा, संस्कृति र कलाप्रति अभिरुचि बढ्दै गएको चर्चा गर्नुभयो । 

DSC01410_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार