Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
८ महिनाका आर्थिक सूचक

शोधनान्तर र चालु खाता बचतमा, बाह्य क्षेत्रमा सुधार

शोधनान्तर र चालु खाता बचतमा, बाह्य क्षेत्रमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ८ महिनाका आर्थिक सूचकांक र अवस्था सार्वजनिक गरेको छ। जसअनुसार साउनदेखि पुससम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ।

त्यसैगरी कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ८ करोड पुगेको छ । यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

त्यस्तै चालू खाता ५ खर्ब ५२ अर्ब ८५ करोड र शोधनान्तर रु.६५८ अर्ब ३५ करोड बचतमा रहेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.७ प्रतिशतले र अमेरिकी डलरमा ३१.० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको फागुन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहेको छ।

निर्यात २०.८ प्रतिशतले र आयात १२.५ प्रतिशतले बढेको यो अवधिमा नेपाल सरकारको खर्च ९२६ अर्ब ५९ करोड र राजस्व परिचालन रु.७४७ अर्ब २८ करोड रहेको छ।

विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.६८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २।४७ प्रतिशत रहेको छ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारसँग तीन खर्ब ७७ अर्ब ६१ करोड नगद मौज्दात रहेको छ । यो प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेतको नगद मौज्दात हो ।

गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३७ अर्ब ७८ करोड थियो । यसबीचको आठ महिनामा सरकारको खातामा दुई खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ थपिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार