काठमाडौं । नयाँ नेपाली वर्षारम्भ हुँदै गर्दा सबैको मनमा स्वाभाविक जिज्ञासा हन्छ–आउँदो वर्ष मुलुक र मुलुकबासीहरुका लागि कस्तो होला । त्यही जिज्ञासा शान्त गर्ने प्रयास धार्मिक सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) ले गरेको छ । समाजले २०८२ सालको अन्तिम दिन आज काठमाडौंमा कार्यक्रम गरी ज्योतिष शास्त्रीय चक्षुबाट विज्ञहरुद्वारा नयाँ वर्षको भविष्यवाणी गराएको छ ।
कार्यक्रममा सहभागी ज्योतिषी, वास्तुविद् एवम् संहिताशास्त्रीहरुले नयाँ वर्ष २०८३ नेपालसँगै विश्व परिवेशका लागि मध्यम खालको मात्र रहेको बताउँदै थुप्रै आरोहअवरोहको सामना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय शक्ति राष्ट्रहरुबीचको राजनीतिक खिचातानीले जन्माएको द्धन्द र त्यसले वैश्विक वित्तीय इकोसिष्टममा पारेको असरको वाछिटा यो वर्ष नेपालमा पनि पर्ने भएकाले सतर्क रहनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने बताउनुभयो । त्यसको प्रभाव स्वरुप नेपालमा पनि त्यस्तै आरोहअवरोह आउने उहाँले बताउनुभयो । ‘युरोप र अरबका शैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी शैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ, ’गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरुबीचको अहमका कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उहाँले सचेत तुल्याउनुभयो । त्यसले गर्दा सुरक्षा खर्च वृद्धि हुने सम्भावना उहाँले औंल्याउनुभयो । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उहाँले बताउनुभयो । ‘सरकारहरुका हठका कारण धेरै मुलुकमा राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावना छ, ’ गौतमले भन्नुभयो, ‘यस्तै, विभिन्न मुलकका सरकारका तहहरुबीच समन्वय अभाव रहनेछ ।’ महिला हिसांका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतरा उहाँले व्यक्त गर्नुभयो ।
यी सबका बाबजूद उहाँले तर्क गर्नुभयो-आगामी वर्ष अशुभ भन्दा शुभ ग्रह बढी देखिएका छन् । गौतमले भन्नुभयो, ‘आगामी वर्ष ८ शुभ ग्रह परेका छन् भने सूर्य र मंगल गरी दुई मात्र अशुभ ग्रह छन् ।’ मंगल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।’
त्यस्तै, विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उहाँले गर्नुभयो । यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत रहने र मुल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याउनुभयो । ‘बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ, ’उहाँले भन्नुभयो, नेपालको सन्दर्भमा केन्द्रीत रहेर भन्नुपर्दा आगामी मंसिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भएपनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको उहाँले बताउनुभयो । सोही कारण स्थानीय, प्रदेश र केन्द्र सरकारबीच विवाद हुने देखिन्छ, ’गौतमले भन्नुभयो, ‘मंसिरपछि राहु तृतीय नवम् केतुले सत्ता सञ्चालनमा समस्या आउने देखिन्छ । त्यस्तै, सरकारको कुटनीतिक सक्षमतामा पनि कमी आउने देखिन्छ । यस्तै, ढिलासुस्ती वृद्धि हुनसक्छ । सामाजिक सद्भाव कमी हुने देखिन्छ ।’
मुलुकको आर्थिक क्षेत्रको कुरा गर्दा आगामी असारसम्म प्रतिकूल रहनेछ जसका कारण वैदेशिक ऋण बढ्ने उहाँको भनाइ थियो । ‘चौथो राहुले मंसिरसम्म पुनर्निमाण खर्च बढ्ने देखिन्छ, ’उहाँले भन्नुभयो, ‘दशौं केतु भएकाले सहज राज्य सञ्चालनमा सरकारलाई असहज हुने देखिन्छ ।’ शिक्षा, रोजगारी र उपचारका लागि विदेशीनेहरुको संख्या तुलनात्मक रुपमा बढ्ने उहाँले बताउनुभयो ।
त्यस्तै, संहिताशास्त्री अर्जुन प्रसाद बास्तोलाले २०८३ सालमा पनि दारुण कालनै चलिरहने भएकाले सतर्क रहनुपर्ने सुझाउनुभयो । ‘यो वर्ष दुई दुई वटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन ।’ विश्वमा युद्धका सम्भावनाहरु पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।’ उहाँले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहहरुले प्रष्ट गरेको बताउनुभयो ।
पृथ्वीनारायण शाहले भनेझैं नेपाल दुई ढुंगाबीचको तरुल हो । तरुल यस्तो कमजोर हो कि क्याच्च पार्ने बित्तिकै चोट लागिहाल्छ । असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएकोमा अब भने त्यो नाश हुने अवस्थामा रहेको उहाँको भनाइ थियो ।
उहाँले पनि आगामी वर्ष धार्मिक भावनाहरु झनै ह्रास हुने टिप्पणी गर्नुभयो । ‘धर्मको नाममा व्यापार गर्नेहरुको दोकान बन्द हुनेछ, ’उहाँले भन्नुभयो, ‘ठूला ठूला भागवत लगाउने करोडौं कमाउनेहरु सबैको पसल बन्द हुनेवाला छ । किनकि अशान्ति र अस्थिरता हुने भएकाले मानिसहरुको ध्यान धार्मिक गतिविधिहरु सञ्चालन गर्नेतर्फ धेरै जाने छैन ।’
त्यस्तै, ज्योतिषी सुधा भट्टराईले मंगल सेनापति भएकाले अशान्ति, झगडा, विवादको सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । सँगै यसले परिवर्तनको संकेत पनि गरेको उहाँले बताउनुभयो । मेशिनरी क्षेत्रहरु मंगलले ह्याण्डल गर्ने भएकाले औद्योगिक क्षेत्रमा केही विकास हुनसक्छ । मंगलकै कारण आगामी वर्ष भौतिक उन्नति सँगसँगै उद्योगधन्दाहरुको विकास हुन्छ भने शनि मिन राशिमा भएकाले राम्रा चिजहरुमा देशले पक्कै कोल्टो फेर्दैछ । नयाँ कुराहरु अवश्य दिदैंछ । त्यो भनेको केही पुराना चिजहरु पनि संशोधन र सुधार हुँदै अघि बढ्नेछन् । शनिले विगतमा भएका त्रुटिहरुलाई नयाँ रुपमा प्रस्तुत हुने बाटो दिन्छ ।’ उहाँले पनि बृहस्पतिका कारण धार्मिक क्षेत्रमा केही अफ्ठ्याराहरु सामना गर्नुपर्ने अवस्थाप्रति सचेत तुल्याउनुभयो । ‘असारपछि वृहस्पति उच्च स्थानमा जाने भएकाले त्यसपछि मात्रै सुधार हुन्छ’ भट्टराईले भन्नुभयो ।
ज्योतिषविद् एवम् वास्तुशास्त्री शिव प्रसाद पोखरेलले विश्व परिवेशलाई नियाल्दा आगामी वर्ष विशेष सर्तकता अपनाउनुपर्ने समय भएको भविष्यवाणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शम्वतसरको फलमा पनि अन्तिम तिर परेकाले अधम फलदायकको अवस्थामा हामी छौं । राजनीतिक दृष्ट्रिले पनि विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकहरुबीच मनमुटाव आउनसक्छ । यसले नागरिकहरुबीच असन्तुष्टि पैदा गर्न सक्छ । ’ कृषि उत्पादनमा आर्थिक भार उत्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि प्राकृतिक र मानव सिर्जित विपत्तिहरु आउनेतर्फ सचेत तुल्याउनुभयो । वातावरण अशान्त रहने सम्भावना रहन्छ, ’उहाँले भन्नुभयो, ‘अवसरको खोजीमा बसाईसराई रोकिने छैन, । शास्त्रसम्मत् दृग पञ्चाङ्ग अनुसार मिथुन लग्न हुने भएकाले त्यहाँ बृहस्पति बसेकाले समग्रमा त्यति नराम्रो नभएपनि सर्तक र सजग रहनुपर्ने उहाँले बताउनुभयो । ग्रहहरुको उदय र अस्तले पनि ठूलो प्रभाव पार्ने भन्दै पोखरेलेले २०८२ बैशाखदेखि आगामी जेठ १८ गतेसम्म बृहस्पति र शनि, मिथुन र मीनमा परस्पर केन्द्रमा रहने र चैत १९ गतेदेखि बैशाख २८ गतेसम्म शनि र मंगल एउटै राशी मीनमा भ्रमण गरिरहने हुँदा अनेकन संघर्षका घटना हुनेतर्फ सचेत तुल्याउनुभयो । वास्तुशास्त्री समेत रहनुभएा पोखरेलले हाल भए गरेका कामहरु र हाम्रा सरकारी संरचनाहरुको वास्तु नमिलेको भनी टिप्पणी गर्नुभयो ।
आजको कार्यक्रम सञ्चालन समेत गर्नुभएका रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा आध्यात्मिक पत्रकारहरुको छाता संगठनले आगामी दिनमा अन्तरक्रियात्मक कार्यक्रमहरुका साथै क्षमता विकासका अन्य क्रियाकलापहरुलाई समेत अघि बढाउँदै लाने जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com