आश्रमको परिदृश्य
गत वर्ष माघको अन्तिम हप्तातिर म उत्तरकाशी स्थित जोगडगाउंको मेरो गुरु (परशुरामजीमहाराज) को आस्रममा साधनाको लागि गएको थिँए । माघ महिनाको अन्तिमतिरको जाडो अलि तिखो नै थियो । आश्रमको वातावरण ज्यादै शान्त र स्वच्छ थियो । गाउँबाट ज्यादै टाढा पनि हैन, मात्र विस मिनेट हिडें पुग्ने । तर त्यो विस मिनेट पनि ठाडो उकालो जुन बाटो सिधै माथि जगंलतिर जान्छ जहाँ एक सुन्दर आश्रम अवस्थित छ । यति सुनसान ठाउँमा सबै सुविधा सम्पन्न आश्रम जहाँ दुईवाटा लामा टहरा प्रकारका भवन छन् । यही दुई भवनमानै ठूलो प्रार्थना हल अवस्थित छ । यो हलमा यस आश्रम बनाउने दुई गुरुहरुको ठूलो फोटो, पूज गर्ने सामाग्री र हवन गर्ने सानो कुण्ड छ । बाकीँ भागमा आश्रममा वस्न आउनेको लागि खाट सहितको विछौउना छ । यसको सगैंको कोठामा भान्छा घर छ र यसको भित्र एक साधकको बस्ने सानो कोठा छ । अर्को तर्फको भवनमा दुई कोठा छन् जस मध्य एक कोठामा गुरुदेव स्वयं वस्नुहुन्छ भने अर्को कोठामा आश्रामको भण्डारा गरिएको छ । यसमा जोडिएको दुई साना कोठाहरु आश्राममा भण्डारा लागेको बेलामा भान्छाको रुपमा प्रयोग भएको छ । दुईवटा ट्रवाईलेट वाथरुम छन् भने लुगा धुनको लागि लुगा धुने मेशिन पनि छ । यसरी हेर्दा, सम्पन्न छ यो आश्रम ।
वरिपरि जग्गा झन्नै छ रोपनि जतिको गोलाकार जाग्गा छ । अमला, हर्व बर्व, आँप, पिपल, रुद्राक्ष जस्ता अति पवित्र बोट विरुवाहरु आश्रम वरिपरि छन् । साग सब्जीको लागि बारी बनाईएका साना साना प्लटहरु छन् । माथि वनको खोल्साबाट ल्याईएको पानि ज्यादै चिसो र मिठो छ । पानि हरपल नै उपलब्ध छ । धेरै ध्यानी, ज्ञानीहरुले यस स्थलमा सय वर्ष भन्दा बढि तपस्या गरेको स्थल भएर पनि होला, वातावरण ज्यादै शान्त र ऊर्जामय छ । लाग्छ स्वर्गको एक टुक्रा जस्तै । मैलै पनि आफूलाई ध्यानस्थ पाएँ यस ठाउँलाई ।
घटना विस्तार
माघको कठाग्रिंदो जाडो । हावा पनि चिसो नै चलिरहे छ । सूर्य चम्केको छ तर राप कम छ । लाग्छ सूर्य अलि टाढा गए जस्तो । घाम प्यारो छ । वनको विचमा रहेको एक आश्रम जहाँ ब्रह्मनिष्ठ गुरु, उनका साधकले आगमापायो को नित्य गिता पाठ गरे पनि यो प्राकृतिक ठण्डाले सताईरहेको छ ।
आज एक्कासि पानि पर्यो । हिजो राति त जुन र तारा आकाशमा राम्रै देखिएको थियो । बादल कतै थिएनन् । पानिको एक्कासि वर्षाले चिसो त बढायो नै अझ हिउँनै पर्ने पो हि कि जस्तो भयो । बैरागि, ब्रह्मनिष्ठ गुरुलाई जाडोको आभास बढि भए छ क्यारे माथि देखि तलसम्म छोप्ने ठूला कालो भाङ्ग्रो लगाउनुभयो । टाउकोमा माकल टोपि र भाङ्ग्रोको नै टोपि लगाएर भन्नुभयो गोठमा गाईलाई जाडो भयो होला तातो तातो कुँडो बनाएर खुवाउनु पर्यो । हुन पनि भर्खर ब्याएको थियो आश्रमको गाई । यसको सानो बाछि पनि थियो ।
आफूले पनि लुगा माथि लुगा थुपारेर आगेनोमा आगो फुक्न थालेँ । कुडोँ बनाएर तातो तातो खुवाउनु पर्यो भन्ठानेँ । फेरी गुरुको आदेश पनि त भयो । सोचँे, मान्छे पनि त चिसो भयो भने, तातो चिया पिएर आफूलाई भित्रबाटनै न्यानोपन महशुस गर्छ । लाग्यो, गाईको लागि म तातो तातो चिया बनाउँदै छु । जाडोमा आगो ताप्दै म कुँडो पकाउन थालेँ ।
गुरुदेव लामो कालो भाङ्ग्रोमा बाहिर भित्र गर्दै हुनुहुन्थ्यो । उहाँलाई हतार लाग्छ । कुनै काम गर्न थालेपछि कहिले सकेला जस्तो गर्नुहुन्छ । उहाँको बानि हो यो । गुरुदेवलाई गाईको चिसोपन महशुस भएको पनि हुन सक्छ । भनिन्छ ब्रह्मप्राप्तिहरु सिद्द पुरुष हुन्छन् । अरुको दुखसुख महशुस गर्न सक्छन् । गुरुदेवले मलाई सोध्नुभयो कुँडो अझ पाकेन । अव मलाई लाग्यो गुरुदेवलाई गाईको जाडो सर्यो जस्तो छ, त्यति बाक्लो कपडामा पनि उनलाई जाडो भएको महशुस गरे । सिद्द पुरुषहरुले अरुको दुखसुख लिन्छन भनेको यहि होला जस्तो लाग्यो । आफू भने सिद्द परिएन । आगोको तातोमा मलाई कुनै जाडो थिएन । कुँडो उम्लनु भन्दा मलाई त आगो नै प्यारो थियो ।
उम्लेको कुँडोको कालो डिक्चे बोकेर गुरुदेव आफै गोठतिर लाग्नुभयो । म पनि तातो अगेनो छोडेर, गुरुको पछि पछि गोठतिर लागें । गाईले हामी आएको भित्रबाटनै थाहापाएर, हामीले ढोका पनि नखोलि बाँऽऽ गरि हल्का तरिकाले संकेत गर्यो । गुरुदेवले पनि बाहिरबाटनै पख पख भनि भन्दै गोठको ढोका खोल्नुभयो । मलाई लाग्यो यी दुई गाई र गुरुको वीच अदृश्य सम्वन्ध भएको जस्तो महशुुस गरें । विना देख भेट नै उनीहरु सम्वाद गरिरहेछन् । अनुभव साटिरहेछन् । अहो कस्तो मित्रता, यी भिन्दा भिन्दै दुई प्रकृतिवीच ।
भनिन्छ पशुरहरु बोल्न मात्र सक्दैनन् तर मान्छे भन्दा कम बुद्धिमानि हुदैंनन् । मलाई पनि त्यस्तै लाग्छ । प्रकृतिले दिएको सिमिततामा नै उनीहरु सन्टुष्टि भएको पाईन्छ । उनीहरुनै यो सृस्टिमा सबैभन्दा रमेको र खुशि भएको देखिन्छन् । न पशुहरु भोलिको लागि चिन्ता गर्छन् न त उनीहरु संग्रह गर्ने ईच्छा नै राख्छन् । र यहि भएर होला उनीहरु निस्फ्रिक्रि र आनन्दमा रमेको जस्तो देखिन्छन् । तर मानव जहिले पनि कामना र संग्रहमा रुमलिरहेको देखिन्छ । पीर र चिन्तामा डुबेको देखिन्छ । गाईलाई कुँडो खान्देर हामी गोठ बाहिर आउन खोज्दा, गुरुलाई अझ गाईको जाडोले छोडेन छ क्यारे फेरि भन्न थाल्नुभयो यसलाई बोरा आडाईदियौं । हामी दुबै मिलेर गाईको माथिल्लो भागमा बोराले ढाकिदियौं । गुरुको मुहारमा बल्ल सन्तुष्टिको रेखा देखियो । मलाई भने आफैले सिरक ओढेको जस्तो लाग्यो । गाईको न्यानोपनले मलाई पनि न्यानो गरायो भित्रबाटनै ।
बाहिर चिसो थियो । बाहिर हिउँ पर्ने सकेंत प्रष्टै देखिन्थ्यो । आश्रम वरिपरिको रुखहरु चिसोले गाढा हरियो भएको थियो । रुखका बोक्रहरु चिसो पानिले ढाडिएर मोटो र बाक्लो भएको थियो । सधैं कराउने लामपुच्छ्र्रे चरा, कोईली, मुनाल, निलकण्ठ चिसोको कारण कतै देखिएको थिएन न त उनीहरुको आवाज सुनिएको थियो । उनीहरुको कोकिल बोलि पनि चिसोले जमेको हुनसक्थ्यो । तर पानिको तप् तप्को आवाज एउटा पातबाट अर्को पातमा खसेको प्रष्ट सुनिन्थ्यो । जङ्गल सुनसान थियो । ठिङ्ग उभिएका रुखहरु आश्रमको साक्षि थिए ।
गुरु आफ्नो कोठा भित्र जानुभयो । मलाई लाग्यो बल्ल अव गुरुलाई सन्तोष भयो होला । गाई पनि न्यानो भयो अनि गुरुलाई पनि न्यानो लाग्यो होला । मलाई भने भित्र जान मन लागेन । त्यो सन्नटा र एकान्तमा जङ्गलतिर एकोहोरो हेरिरहे । प्रकृतिलाई महशुस गर्न खोजे । प्रत्येक रुखसगं भावना साट्न खोजे । तर यतिकैमा वन भित्रको सन्नाटाबाट मुखमा डोरी बाँधिएको, एउटा सिङ्ग भाचिएको र अर्को सानो गरी बाङ्गिएको रातो गाई, जाडोले रौंहरु ठाडो पार्दे कुनै आश्रयको खोजिमा भड्के जस्तो गर्दै म तिर आयो । र मलाई हेरिरह्यो ।
हामी दुईको हेराहेर भयो । मानौ कयौं पहिले देखि नै बिछोडिएर एक्कासी भेटे जस्तै । तर एकछिनमै उसले मलाई गालि गरे जस्तै लाग्यो अनि यस्तै धेरै भावनाहरु तरङ्गित भएंंं... हामी दुई धेरै नजिक भएर पनि धेरै टाढा जस्तै थियौं । म आश्रमको कम्पाउण्ड भित्र थिँए र त्यो रातो रगंको गाई बाहिर थियो । तारवारले घेरेको यस आश्रमको कम्पाउण्ड बाहिर जान, पुरै अर्को तर्फको गेट बाहिरबाट घुमेर जानुपथ्र्यो । मलाई गाईले हान्ने पो हो कि भन्ने पनि डर लाग्यो । फेरि मुखमा डोरी बाधेको गाईले हान्छ भन्ने चलन पनि छ । कसैको गाई होला जान्छ भन्ने पनि लाग्यो । मान्छे बाठो हुन्छ र धेरै तर्क वितर्क गर्छ । मेरो त्यस गाई प्रति मनोवाद चलाए राम्रो नराम्रोको । तर त्यस गाईले निस्चल भावले मलाई एकोहोरो हेरिरहेको थियो । मलाई प्रष्ट लाग्यो उसकोमा म प्रति कुनै शकां थिएन । वास्तवमा भन्दा उ मायालाग्दो थियो । मैले नजिककोे पानिले भिजेको रुखको चिसो स्याउला भाँचेर उसतिर फालिदिए । उसले मेरो प्रथम भेटको सौगात स्विकार गर्दै चपाउन थाल्यो । अनि मलाई लाग्यो गाई भोको र थकित छ ।
मैले गुरुलाई त्यस गाईको बारे बताएँ । गुरु तुरुन्तै बाहिर निस्कनुभयो र त्यस गाई भएको ठाउँमा पुग्नुभयो । गुरुहरु भनेको नै सेवापरक हुन्छन् । उनीहरु आफ्नो भन्दा अरुको नै कल्याण चाहन्छन् । म पनि पछि पछि लागेँ । मलाई अब त्यस गाईले हान्लाकि भन्ने डर थिएन । किनकि साथमा गुरु हुनुहुन्थ्यो ।
हामी जाने बित्तिकै त्यस गाईले हामीलाई हान्नको लागि नाक र मुखबाट एकै फेरि सास फेरे जस्तो गरी टाउको निहुराएर आउन खोज्यो । मलाई अचम्म लाग्यो । अगिसम्मको मायालाग्दो गाई, एक्कसी किन हामीसगं रिसायो । गुरुले थाहापाईहाल्नुभयो गाईको बारेमा कि यो गाईलाई कुनै कारणले यसको घरबाट पिटेर निकालेकोले यो मान्छसगं डराएको छ । उसले आफ्नो रक्षाको लागि यस्तो गरेको हो भन्नुभयो । मैले पनि गुरुले भने जस्तै बुझे । गुरुले फेरी नजिक जादां उस्तै उदण्ड व्यबहार देखायो । यो चिसोमा अव उसलाई हाम्रो गोठ भित्र ल्याउने अवस्था थिएन । हामीले उसको लागि तुरुन्त एउटा सानो छाप्रो बनायौ, त्यही आश्रममा बस्ने एक साधकको सहयोगमा । हामी पनि चिसोले कठ्याङ्गिसकेको थियौं । बेलुका पनि भईसकेको थियो । हामी सबै फर्कियौं ।
मलाई असजिलो भयो । राति त्यस गाईले मलाई हेरेको याद आयो । उसले पक्कै न्यानो आश्रय खोजेको जस्तो लागेको थियो । तर फेरी उसको स्वभाव पनि त अर्कै थियो । मैले बुझ्न सकिन । तर भोलि केहि टुङ्गो लाग्ला भन्ने आशामा, त्यो रात काटे ।
भोलिपल्ट विहानै त्यस गाईलाई हेर्न गए । हामीले बनाएको छाप्रोमा उ राति बसेको थिएन । रातिको पानिले निथु्रक्कै भिजेर, जाडोले कठाग्रिंएको थियो । मलाई झन अचम्म लाग्यो । त्यही बेलामा गाउँको एक जना मान्छे आएर पो थाहा लाग्यो कि, त्यस गाईले दुध नदिएको कारणले उसलाई पिटेर निकालिएको रैछ । आफू बस्दै आएको घरबाट नै निकालिएको त्यो गाईले अरुलाई विश्वस गर्न नसक्नु स्वभाविक लाग्यो मलाई । उ वास्तवमा मान्छे देखेर भाग्थ्यो । उसको मानसिक अवस्था विग्रेको पनि हुन सक्थ्यो, मैले यस्तै शकां गरे ।
लामो सास फेर्दै, आकासतिर हेरे । मलाई खल्लो लाग्यो यो स्वार्थी संसार देखि । त्यस गाईबाट सेवा नपाउने वित्तिकै उसलाई घर विहिन बनाईएको रैछ । उसलाई यतना दिई घर कहिले आउन मन नलाग्ने गरी उसलाई भड्काईएको रैछ । यस्तैमा, श्रीमद्भगवतको एउटा प्रशंगको उपदेश सम्झे जहां पैसा कमाउन नसकि, बुढा भएर केहि गर्न नसक्दा आफ्नै परिवारजनबाट छिरछिर, धुरधुर र हेलाको पात्रो बन्नुपर्दछ र परिवारजनबाट नै कहिले मर्ला भन्ने भावको अपमानमा जीवनको अन्तिम दिनहरु विताउनु पर्छ भन्ने पढेको थिँए ।
मानवमा त यस्तो व्यबहार हुन्छ भने पशुलाई त सहजै यस्तो ब्यवहार गर्न सक्छन् भन्ने अन्दाजा गरे । शास्त्रको सारलाई सम्झदै, चित्त बुझाउन खोजे ।
तर अहिले पनि त्यो गाई जङ्गलमा कहि जाने ठाउँ नपाएर आश्रमको छेवैमा बसेको छ । मान्छेबाट डराए पनि उसलाई मान्छेको नै साहारा खोजेको जस्तो लाग्छ । हामीले उसलाइ घाँस र पानि दिन्छौ तार हाम्रो कम्पाउण्ड भित्रबाट । उ खुशी हुन्छ । नजिक जादां भने अझ पनि ऊ डराउँछ ।
तर यो जाडोमा उ बाहिर छ । यही आश्रमको गाई भने आश्रमको कम्पाउण्ड भित्र तातो कुडों, घासं, न्यानो बस्ने ठाउँ र हामी सबैको मायामा खेल्छ, खान्छ र उफ्रन्छ । म यी दुबै गाईलाई हेर्छु । नजिक छन् । सगैं जस्तै बसेका छन् । तर ठूलो भिन्नता छ । एउटाको मन मान्छेसगं टुटेको छ तर अर्कोको मन मान्छेसगं जोडिएको छ ।
म अझ गहिरेर सोच्छु, त्यो गाई मान्छे भैदिएको भए उसलाई पनि बैराग आउँथ्यो होला । ईश्वर साधना गरेर मुक्त हुन्थ्यो होला । यतिकैमा फेरी त्यो गाई मलाई हेरिरहेको हुन्छ, म भने फेरि चिसो स्याउला भाच्न अगाडि बढ्छु ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com