Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
राष्ट्रिय सहकारी बैंक निर्वाचन २०८३

परितोषका प्रतिबद्धताः  सुशासन र पारदर्शिता

परितोषका प्रतिबद्धताः  सुशासन र पारदर्शिता

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक पद (बागमती प्रदेश) का उम्मेदबार अभियन्ता डा. परितोष पौड्यालले सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी प्रतिबद्धता र एजेण्डा बनाउनुभएको छ । सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता स्खलित भएको संगिन आरोप लागिरहँदा डा.पौड्याल यी दुई आत्मालाई पुनजागृत गर्ने अठोट व्यक्त गर्नुभएको छ ।

‘हामीले समुदाय स्तरमा जति नै राम्रो गरेपनि, ’झण्डै तीन दशक सहकारी क्षेत्रमा योगदान गर्नु भएका डा.पौड्यालले धिप्री डटकमसँग भन्नुभयो, ‘केही ठूला सहकारीमा आएको विचलनका कारण समग्र क्षेत्रकै साखमा प्रश्नहरु उठिरहेको समयमा मेरो ध्यान भनेको सुशासन र पारदर्शिता नै हो । मुलुककै सहकारी अभियानको एक मात्र बैंकमा सुशासन र पारदर्शिता कायम गर्न सकियो भने त्यो विषय सबैतिर प्रवाहित हुने निश्चित छ ।’

जेठ ९ गते निर्वाचन लक्षित गरेर पौड्यालले आफ्ना ९ बुँदे प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ । ‘९ गते ९ प्रतिबद्धता’ नाम दिइएको उक्त वाचापत्रको बुँदा नं ३ मा पारदर्शिता र सुशासनको विषय समावेश गरिएको छ ।

नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको सघन नियामकीय दायराभित्र बस्नुपर्ने भएकाले पनि सुशासन र पारदर्शिता अपरिहार्य भएको उहाँले जिकिर गर्नुभयो । बैंकको सञ्चालक समिति अनुकरणीय बनाउने जिम्मा आफूले लिएको दाबी गर्दै उहाँले भोलिका दिनमा यसका वित्तीय कारोबार, बोर्ड गभनेन्स र व्यवस्थापकीय पाटाहरुलाई सदस्यमैत्री, उत्तरदायी र जवाफदेही बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बैंकको भावी अध्यक्षका समेत प्रत्याशी डा.पौड्यालले भन्नुभयो, ‘सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर हामीले सहकारी बैंकलाई वित्तीय समावेशीकरण, वित्तीय स्थायित्व र वित्तीय पहुँच विस्तारमा अग्रणी बनाउने गरी काम गर्नेछौं । देशभरका सदस्य संघ संस्थाहरुको चाहना पनि यही छ । त्यसैलाई प्रतिविम्बित हुने गरी हामी काम गर्छौं ।’ उहाँले आफ्ना एजेण्डाहरु नै निर्वाचन जित्ने अस्त्र भएको बताउँदै विगतका अनुभवहरुलाई कार्यसम्पादनमा खर्चने बताउनुभयो ।

उहाँले आफ्ना ९ एजेण्डाको बलमा सहकारी अभियानको एकमत्र बैंकमार्फत ‘समृद नेपाल सुखी नेपालीको’ सपना साकार पार्न सुस्पष्ट योगदान गर्न सकिने सम्भावना पनि औंल्याउनुभयो । उहाँले आफ्नो चुनावी प्रतिबद्धतामा ‘सशक्त सहकारी, विश्वसनीय बैंक, समृद्ध नेपाल’ को परिकल्पना परिलक्षित गर्नुभएको छ । सहकारी मैत्री नीति निर्माणमा सघन बहसपैरवीदेखि युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान, डिजिटल रुपान्तरण जस्ता विषय अटाएका छन् । यसैगरी, बैंकको वित्तीय स्वास्थ्यमा उल्लेख्य सुधार, शिक्षा, तालिममार्फत प्रारम्भिक संस्थाहरुको क्षमता अभिवृद्धि तथा सशक्तिकरण आदि विषय पनि पौड्यालको प्रतिबद्धताभित्र अटाएका छन् ।

मतदानको मिति नजिकिदै गर्दा कतिपय विषयहरु अतिरञ्जना गरिएको, आफूप्रति लाञ्छना लगाइएको भन्दै उहाँले मिडिया ट्रायल भन्दा पनि वास्तविकताको धरातलमा बसेर मतदाताहरुलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न डा.पौड्यालले आग्रह पनि गर्नुभयो । हिजोका कमजोरीहरुबाट मैले पाठ सिकेको छु,’ उहाँले भन्नुभयो, ‘हिजोका योगदानहरुबाट थप उर्जा हासिल गरेको छु र त्यही नविन जोशका साथ सहकारी अभियानको भविष्य उज्ज्वल बनाउने गरी काम गर्नेछु ।’

सहकारी बैंकको चुनावी सरगर्मीले सहकारी क्षेत्र यतिबेला तातेको छ । मुलुकको सहकारी क्षेत्रको एकमात्र बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन अन्तर्गत एक मात्र पदका लागि दुई प्रभावशाली उम्मेदवार यतिबेला चुनावी दंगलमा भिड्न तम्तयार छन् । 

बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल कि रामशरण शर्मा घिमिरे भन्ने दुई विकल्पमा बहसहरु बाक्लिएका छन् । आउँदो शनिबार मतदान कार्यक्रम रहेकाले आज र भोलि यी बहसहरु अझ गहिरिने छन् र बाक्लिने देखिन्छन् । दुबैजनाले आफूले जित्ने स्पष्ट आधारहरु रहेको दाबी गर्दै आउनुभएको छ ।

यस्ता छन् परितोष पौड्यालका ९ बुँदे प्रतिबद्धता

1.सहकारी मैत्री नीति, ऐन, नियमावली संशोधन तथा स्थिरताका लागि पहल गर्ने
2.वित्तीय स्थायित्व तथा सुदृढीकरण
3.पारदर्शिता तथा सुशासन
4.युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान
5.सहकारी बैंकिङको डिजिटल रुपान्तरण
6.सदस्य संघ संस्था केन्द्रित प्रभावकारी बैंकिङ सेवा तथा शिक्षा, तालिम, क्षमता विकासका कार्यक्रम संचालन गर्ने
7.समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने
8.कर्मचारीहरुको सशक्तीकरण तथा वृत्तिविकासको प्रत्याभूति गर्ने
9.स्वनियमनको मर्म आत्मासाथ गर्दै एकद्वार नियामक निकायमा जोड दिने

701645117_28001941226063172_1772073307663279866_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार