Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

द पोएट आइडल–२०८३’ को उपाधि भगवतीका प्रसान परियारलाई

द पोएट आइडल–२०८३’ को उपाधि भगवतीका प्रसान परियारलाई

बेलबारी । बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जितेका छन् । बेलबारी ३ मा रहेका भगवती माविमा अध्ययनरत छात्र परियारले १० जना प्रतियोगीलाई उछिन्दै उक्त उपाधि हाता पारेका हुन् । 

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा भगवती माविकै छात्रा मनु राई द्वितीय, बेलबारी–४ मा रहेको कसेनी माविकी छात्रा दिनिसा कुलुङ राई तृतीय तथा बेलबारी–१ मा रहेको भानु मेमोरियल स्कुलकी छात्रा कृपा सुवेदीले सान्त्वना पुरस्कार हासिल गरेका थिए । विजयी बाल कविहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

विद्यालय तहमै बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला बताउँछन् । 

कवि तथा रङ्गकर्मी भरत बर्बरिक, कवि अशोक साम्पाङ (विद्रोही कान्छा) र कवि उमा सिजापतीले निर्णायकको भूमिकामा थिए । फाइनल चरणसम्म आइपुग्दा कविता लेखन, वाचन, प्रस्तुति कला तथा समग्र सिर्जनात्मक क्षमताका आधारमा मूल्याङ्कन गरिएको थियो । विभिन्न चरणमा गरिएको अडिसनका आधारमा छानिएका १० जना फाइनलिस्टले फाइनल चरणमा भाग लिएका थिए । 

कार्यक्रममा इरान राई, केशु विरही, रामप्रसाद खरेल, विनोद विवश घिमिरे आदि स्रष्टाले शुभकामना मन्तव्यका साथमा बालबालिकालाई अभिप्रेरणा जगाउने खालका रचनासमेत प्रस्तुत गरेका थिए ।  
प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल प्रतियोगितामा बेलबारीका अग्रज स्रष्टाहरू हर्कमान तामाङ, इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका पूर्व अध्यक्ष तिला लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका पूर्व सदस्य रामप्रसाद खरेल, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजित पराजुली, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, सुन्दरहरैँचा कला साहित्य विकास समितिका सचिव गीताप्रसाद श्रेष्ठ आदि साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा विनोद विवश घिमिरे, शेरबहादुर खपाङ्गी मगर, शेखर थापा मगर, केपी घिमिरे, यज्ञ सुवेदी सुसेली, रूपनारायण श्रेष्ठ, प्रेम गुरुङ, गोविन्द हुक्पा चोङबाङ, विमला सुवेदी तिम्सिनालगायतका स्रष्टा तथा कलाकारहरू उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा बेलबारीमा रहेका विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन भने संस्थाका कोषाध्यक्ष शिव पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार