Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'सहकारीहरुलाई उत्पादन र बजारीकरणमा जोड्नुको विकल्प छैन'

'सहकारीहरुलाई उत्पादन र बजारीकरणमा जोड्नुको विकल्प छैन'

काठमाडौं । सहकारीहरुलाई उत्पादन र बजारीकरणसँग जोड्नुपर्ने आजको टड्कारो आवश्यकता भएको यस क्षेत्रका जानिफकारहरुले बताएका छन् । सहकारीहरु केबल बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमात्र नभई सदस्यहरुलाई आत्मनिर्भर बन्न उनीहरुलाई उत्पादनशील क्षेत्रमा काम गर्न उत्प्रेरित गर्ने निकाय समेत भएको भन्दै अबको जोड उद्यमीहरु उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा उनीहरुको रहेको छ । सहकारीहरुले उत्पादनशील क्षेत्रमा ध्यान केन्द्रित गरी सदस्यहरुको सामाजिक, आर्थिक उन्नयनमा लाग्दा यस क्षेत्रको साख पनि अभिवृद्धि हुने निष्कर्ष उनीहरुको रहेको छ । सोही दिशामा जिल्ला सहकारी संघ ललितपुरको नवनिर्वाचित सञ्चालक समितिले योजनाबद्ध ढंगले काम गर्ने विश्वास अध्यक्ष जगतलाल महर्जनले दिलाउनुभयो । 

ललितपुर महानगरपालिकासँगको वित्तीय साझेदारीमा जिल्ला सहकारी संघ ललितपुरले आज आयोजना गरेको ‘सहकारीलाई उत्पादनसँग जोड्ने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम’ मा उहाँले भन्नुभयो, ‘सहकारीहरुको साखमा आएको विचलन चिर्न पनि उत्पादनमा जानुपर्ने बाध्यता हामीलाई छ ।’

अध्यक्ष महर्जनले भन्नुभयो, ‘सहकारी भन्ने बित्तिकै बचत ऋणको कारोबार गर्ने र त्यसो गर्दा मात्र उनीहरु दिगो हुन्छन्, अब्बल र सुशासनयुक्त हुन्छ अनि देशको समृद्धि सम्भव छ भन्ने बहसलाई हामीले चिर्न खोजेका छौं । सहकारी अध्यादेशले पनि अब उत्पादनमूलक कार्यहरुसँग नजोडि सहकारीहरु अघि बढ्न नसक्ने अवस्था आएको छ । अब सहकारीहरुलाई उत्पादनसँग जोड्नैपर्छ ।’

अध्यक्ष महर्जनले उत्पादनसँगै अर्को मुख्य चुनौती भनेको बजारीकरण पनि भएको बताउनुभयो । सहकारीका सदस्यका उत्पादनहरुलाई बजारमा स्थापित गराउने विषय चुनौतीपूर्ण भएको भन्दै त्यस दिशामा जिल्ला सहकारी संघले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘सहकारीका सदस्य महिला दिदीबहिनीहरुले गरेको उत्पादनले बजार नपाएको अवस्था छ, अध्यक्ष महर्जनले भन्नुभयो, ‘त्यस विषयमा हामीलाई गुनासाहरु पनि प्राप्त भएका छन्, त्यसैले उत्पादनसँगै बजारीकरणमा हाम्रो जोड हुनेछ । त्यसका लागि राज्यसँग बहसपैरवीको प्रयास गर्नेछौं ।’

उहाँले जिल्ला सहकारी संघले प्रत्येक शुक्रबार र शनिबार आफ्नो कार्यालय परिसरमा अर्गानिक वस्तुहरुको बजार सञ्चालन गर्दै आएको बताउँदै नयाँ सञ्चालक समितिले त्यसलाई बिस्तार गर्ने लक्ष्य लिएको पनि जानकारी गराउनुभयो । उत्पादनसँग जोडेर उद्यमी बनाउने अभियानमा तीनै तहका सरकारदेखि सबैको चासो आवश्यक भएको बताउँदै जिल्ला सहकारी संघले आफ्नो बूताले भ्याएसम्म गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

_DSC6079_11zon (1).jpg
undefined

कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग शाखा प्रमुख चन्द्रलाल डंगोलले नाम जे भएपनि काम सबै सहकारीले बचत तथा ऋणको गर्दै आएको भन्दै उत्पादनमा जान सुझाउनुभयो । संस्था दर्ता गर्दाको उद्देश्यबाट विमुख भई सहकारीहरु बचत ऋणको कारोबारमा मात्र लागेको भन्दै डंगोलले सदस्यको सामाजिक आर्थिक उन्नतिका लागि सहकारीहरु उत्पादनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बचत तथा ऋण सहकारीहरुको काम बचत तथा ऋणको मात्र होइन सदस्यहरुलाई सीप सिकाएर उद्यमशील बनाउनपर्यो नि । त्यसो गर्यो भने तपाईंहरुको ऋण पनि बिक्छ ।’

सहकारीको उद्देश्य आफूले नाफा आर्जन गर्नु नभई सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउनुभए पनि अधिकांश सहकारीहरुले त्यस्तो सकारात्मक रुपान्तरण गरेको उदाहरण र तथ्याङ्कहरु नभेटेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारीहरुले विनियममा राखेको उद्देश्य नै पूरा गर्दैनन् । कतिपयले बचत ऋणको कारोबार नगर्ने भनेर विनियममा राखेपनि गरिरहेका छन् र सबैले सदस्यहरुको जीवन रुपान्तरण गर्ने भने पनि त्यसो नगरी नाफा केन्द्रित भएका छन् । त्यसैगरी सदस्य केन्द्रित भने पनि केही सञ्चालकहरु केन्द्रित मात्र भएको पाइएको छ ।’

महानगरपालिकामा विगतमा सहकारी शाखाको समेत जिम्मेवारी सम्हाल्नुभएका डंगोलले भन्नुभयो, ‘तपाईंहरुको संस्थाले कति सदस्यलाई व्यवसायी र उद्यमी बनाउनुभयो भनेर कतै आएको छैन । अधिकांश रिपोर्टहरु कपीपेष्ट हुन्छन् । बहुउद्देश्यीय सहकारीहरुलाई उद्यमशीलताका काम गर भनेर बजेट पनि राखियो, वेबसाइटमा सूचना पनि राख्यौं कसैले हेर्दै हेरेन पोहोर पनि बजेट उपयोग भएन यसपालि पनि दोहोर्याएर सूचना राख्दा पनि बहुउद्देश्यीय सहकारीहरु धेरै आएनन् । बोलाएर कार्यक्रम गर भन्नुपर्ने अवस्था छ ।’ महानगरपालिकासँग लागत साझेदारीमा काम गर्न आउ भनेर बोलाउँदा पनि सहकारीहरु नआएको गुनासो डंगोलले गर्नुभयो ।

_DSC6044_11zon.jpg
undefined

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईंले सहकारीहरु उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने समयको माग रहेको बताउनुभयो । सहकारीका सदस्यहरुले संस्थामा आवद्ध भैसकेपछि जीवन परिवर्तन भएको वा उद्यमशीलतातर्फ लागेको र त्यसमा सहकारीको योगदान रहेको अनुभूति गर्नुपर्ने बताउनुभयो ।

बचत तथा ऋणको काम गर्ने सहकारीहरुले पनि आफ्ना सदस्यहरुलाई उद्यमी तथा व्यवसायी बन्न आवश्यक पुँजी, प्रविधि र सीप उपलब्ध गराउनुका साथै बजारीकरणमा पनि सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । ‘बजारीकरणका लागि जिल्ला सहकारी संघले हप्तामा दुई दिनमात्र होइन साताभरि नै फरक फरक उत्पादनहरुको बजारीकरण गरी व्यवस्थित प्रवर्धनमा भूमिका खेल्नुपर्ने हुन्छ । त्यसका लागि नयाँ सञ्चालक समितिलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।’

उहाँले ललितपुर महानगरपालिका जिल्लाभरका सहकारीहरुको लागि विगतको डिभिजन सहकारी कार्यालय जस्तै अभिभावक भएको भन्दै महानगरले सहकारीहरुको विकास र प्रवर्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । अध्यक्ष बजगाईंले जिल्ला सहकारी संघमा जगतलाल महर्जनको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएसँगै क्रियाशीलता देखिएको पनि बताउनुभयो ।

_DSC6056_11zon.jpg
undefined

जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले सहकारी भन्ने बित्तिकै बचत तथा ऋणको कारोबार गर्ने संस्था भन्ने भाष्य अब चिर्नुपर्ने बताउनुभयो । ‘बहुउद्देश्यीय, कृषि, उपभोक्ता लगायत सबै सहकारीलाई त्यही आरोप लाग्ने गरेको छ, उहाँले भन्नुभयो, ‘हामी सजिलो तिरमात्रै हिड्यौं, त्यो हामी सबैको कमजोरी रह्यो ।’ उहाँले सहकारीको हिजोको मान्यतालाई चिर्दै उत्पादन, बजारीकरण र व्यावसायीकरणतर्फ अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । 

महर्जनले पनि जिल्ला सहकारी संघको पछिल्लो सक्रियताको प्रशंसा गर्दै चुनौतीहरुसँग भाग्ने होइन सामना गर्ने र तिनलाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने सुझाव राख्नुभयो ।

_DSC6042_11zon.jpg
undefined
_DSC6026_11zon.jpg
undefined

जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिल वीर बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघकी उपाध्यक्ष शशि खड्काले आजको कार्यक्रमले सहकारीहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

_DSC6018_11zon.jpg
undefined

कार्यक्रमको दोस्रो सत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरु राजन केसी र धर्मेन्द्रराज शाक्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।

_DSC6064_11zon.jpg

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार