काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहकारी अभियानबारे असल सन्देश प्रवाह गर्न महिला सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ । यही असार ६ र ७ गते ललितपुरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन-२०२६ बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले भन्नुभयो, ‘नेपालको सहकारी अभियानको सम्बन्धमा विश्व समुदायलाई गुड मेसेज दिन सम्मेलन आयोजना गर्न लागेका हौं ।’
नेपालको सहकारी अभियानमा महिलाहरुको सहभागिताको चर्चा गर्दै पोखरेलले भन्नुभयो, ‘सहकारी अभियानको राम्रो र लामो इतिहास बोकेका मुलुकमा समेत हाम्रो जस्तो मुलुकको महिला सहभागिता देखिदैंन । हाम्रै छिमेकी मुलुकमा पनि यस्तो छैन । यही उपलब्धि पस्कन पनि सम्मलेन आयोजना गरिएको हो ।’ सहकारी अभियानमा महिला सहभागिता ५६ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
‘यसैगरी, सबै सहकारी गलत नै हुन भन्ने भाष्य चिर्न पनि यो सम्मेलन सहयोगी हुने विश्वास लिएका छौं,’कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सम्मेलनमा महिला सहकारीकर्मीहरुको असल अभ्यासबारे अन्तर्राष्ट्रिय सहभागीहरुलाई उजागर गर्नेछौं ।’ सम्मेलन असल अभ्यास आदानप्रदान र सिकाइको सार्थक हुने विश्वास महासंघले लिएको छ ।
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनले सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास महासंघले लिएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठाउनेछ। नेपालमा ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिला सदस्य आबद्ध रहेको तथा कृषि क्षेत्रमा ग्रामीण महिलाको उल्लेख्य सहभागिता रहेको तथ्यलाई सम्मेलनले थप उजागर गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको भन्दै सोचेभन्दा बढी सहभागिता रहने महासंघले जनाएको छ । २ सय महिला सहकारीकर्मीहरु सहभागी हुने अपेक्षा गरिएपनि ५० जना जति थपिने भएका छन् । सम्मेलनले काठमाडौं घोषणापत्र २०२६ जारी गर्नेछ । सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारी अभियन्ता, नीति निर्माता, सरकारी प्रतिनिधि, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ। कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनासम्बन्धी विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ। साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमण पनि समावेश गरिएको छ।
सम्मेलनले अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ को उद्देश्यलाई सार्थक बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने विश्वास लिइएको छ । सम्मेलनमा सहभागिता जनाउने भारत, भुटान, थाइल्याण्ड, श्रीलंका लगायतका मुलुकबाट महिला सहकारी अभियन्ता तथा विद्धानहरुले आफ्नो मुलुकको कन्ट्री पेपर प्रस्तुत गर्ने कार्यवाहक अध्यक्ष पोखरेलले बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, साना किसान विकास लघुवित्त, एफओए नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहनेछन्। कृषि विकास बैंक, नेपाल बैंक लगायतको आर्थिक सहयोग रहनेछ ।
पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्षहरु खेमबहादुर पाठक र इन्दिरा पन्त, सञ्चालक सुमन नेपाल तथा महाप्रबन्धक डा.बाबुकाजी थापा सहभागी हुनुहुन्थ्यो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com