Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चन्द्रागिरि साकोसलाई एशियाको नमुना संस्था बनाएपछि छोड्छु

चन्द्रागिरि साकोसलाई एशियाको नमुना संस्था बनाएपछि छोड्छु

काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ थानकोट मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा २०७५ साल बैशाख ९ गते नियुक्त हुनुभएका कृष्ण कुमार श्रेष्ठले ३ दिनअघि मात्रै उक्त साकोसमा ७ वर्ष सेवा अवधि पूरा गर्नुभएको छ । सहकारी क्षेत्रमा सुपरिचित नाम कृष्णकुमार श्रेष्ठसँग २०५६ सालदेखि यस क्षेत्रको व्यवस्थापकीय भूमिकामा प्रत्यक्ष जोडिएर अविच्छिन्न काम गरेको लामो र त्यत्तिकै सफल अनुभव छ । चन्द्रागिरिमा सातौं वर्ष सेवा अवधि पूरा गरेको सन्दर्भ जोडेर धिप्री डटकमले उहाँसँग खासगरी चन्द्रागिरि साकोससँगै व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न विषयका ७ बुँदामा केन्द्रीत रही ईमेल वार्ता गरेको छ । प्रस्तुत छ उक्त रोचक वार्ताको सम्पादित अंशः

चन्द्रागिरि साकोससँग आवद्ध हुने निर्णय किन र कसरी गर्नुभयो ? 
साँच्चै भन्नुपर्दा, चुनौतीहरुसंग खेल्ने मेरो रहर थियो । कम्फर्ट जोनमा बसेर ग्रोथ हुँदैन भन्ने लाग्थ्यो । चन्द्रागिरिमा मैले म्यानेज गर्न सक्ने केही चुनौतीहरु देखेँ । समुदायमा प्रत्यक्ष भिजेर काम गर्ने रस बसेको थियो । त्यसैले त्यो भन्दा माथि र अन्य क्षेत्रमा रुचि भएन । चन्द्रागिरिका अध्यक्ष र सञ्चालकहरुको इमानदारीले पनि आकर्षित गर्यो । त्यसैले काठमाण्डौंबाट सहकारीको राम्रो मेसेज दिने अठोटको साथ आवद्ध भएँ ।

काभ्रेको सामुदायिक पछि जनसचेतनमा काम गर्दै गर्दा त्यहाँ लिएको लक्ष्य पुरा भएको अनुभूति हुँदै थियो । त्यसैले अब अर्को क्षेत्रमा पो काम गर्नुपर्ला की भन्ने सोचिरहेको थिएँ । धेरै ठाउँबाट प्रस्तावहरु आइरहेको थियो । अध्यक्ष शिवशंकर मानन्धरसँग सम्पर्क भयो । उहाँले सञ्चालक समिति र लेखा समितिसँग भेट गराउनु भयो । त्यसपछि सबै छोडेर चन्द्रागिरिमा आवद्ध भएँ ।

चन्द्रागिरि साकोसँगको ७ वर्षले सिकाएका ७ महत्वपूर्ण कुरा ?
सदस्य र समुदायसँग बलियो सम्बन्ध भयो भने समस्याहरु आउँदा पनि समाधान गर्न कठिन नहुने रहेछ ।
सदस्यहरुलाई लाभांश भन्दा पनि सहकारी सेवा र समाधानहरुद्वारा खुशी बनाउन सकिँदो रहेछ ।
शहरी क्षेत्र भएतापनि सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप संस्था सञ्चालन गरी सदस्यहरुको मन जित्न सकिँदो रहेछ ।
शहरी गरिबी न्यून गर्न सहकारीको भूमिका अहम् हुन्छ ।
सजिलो समयमा त सबैले सेवा दिँदा रहेछन्, कठिन समयमा जसले सेवा दिन सक्यो त्यसैलाई समुदायले सम्झने रहेछ ।
सदस्यहरुको वित्तीय तथा अन्य आवश्यकता पुरा गर्न सहकारीको व्यालेन्स सिटको आकारले पनि अर्थ राख्दो रहेछ ।
सहकारी सेवाहरुमा डिजिटल रुपान्तरण अबको अपरिहार्य आवश्यकताको रुपमा रहेको छ ।

व्यवस्थापन प्रमुखका रुपमा यो पछिल्लो ७ वर्षमा व्यक्तिगत रुपमा आएका ७ परिवर्तनहरु ?
नेतृत्व क्षमताको थप विकास भएको अनुभुति भएको छ ।
पुनः एकपल्ट देशभरिको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको पहिचान दोह¥याउने अवसर प्राप्त भएको छ ।
डिजिटल र प्रविधि मैत्री सोचको विकास भएको महसूस भएको छ ।
सामाजिक उत्तरदायित्व प्रति बढी संवेदनशील भएको महसूस गरेको छु ।
चुनौतीलाई अवसरमा बदल्ने सोचको विकास भएको अनुभव भएको छ ।
स्वमूल्याङ्कन र सुधारको अभ्यास गर्ने बानी विकास भएको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा थप चिनिने अवसर प्राप्त भएको छ ।

सहकारीका ७ सिद्धान्तको परिपालनामा चन्द्रागिरि साकोसका प्रतिबद्ध प्रयासहरु ?
वित्तीय समावेशीकरणमा महिला र युवाहरुलाई प्राथमिकतामा राखिएको छ । चन्द्रागिरि साकोसको युवा सदस्य एशियाली ऋण महासंघको आकुनेलको सदस्य समेत हुन सफल हुनुभएको छ । नेतृत्वमा महिला र युवाको सुनिश्चताको व्यवस्था गरिएको छ ।
संस्था सञ्चालन गर्न सही र योग्य सदस्यहरु सञ्चालक भएर आउन सकुन भनेर फिट एण्ट प्रपर अवधारणा अवलम्बन गरिएको छ ।
सदस्यहरुलाई उचित वित्तीय लाभ वितरणका साथै सुखी र समृद्ध बनाउने लक्ष्य लिई अघि बढिएको छ ।
आन्तरिक लेखापरिक्षण प्रणाली, स्वनियमन, योजना, कार्यक्रम तथा बजेट प्रणाली र निर्णय प्रकृयाको सुनिश्चितता गरिएको छ ।
संस्थाका सदस्य, सञ्चालक र कर्मचारीहरुलाई सशक्तिकरणको लागि नियमित तालिम, अभिमुखीकरण र वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
पोखरा रोयल साकोस र विन्धवासिनी साकोस जस्ता प्रतिष्ठित सहकारी संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरिएको छ ।
चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति, सामूहिक ब्रतबन्ध, आहतमा राहत, सरसफाई तथा बृक्षारोपण, रक्तदान तथा स्वास्थ्य शिविरहरु सञ्चालन, प्लाष्टिक झोला मुक्त अभियान आदि जस्ता समुदायिक कार्यक्रमहरु सञ्चालन गरिएका छन् । 

२०८२ सालमा व्यक्तिगत जीवनसँग सम्बन्धित आफूले गर्नैपर्ने कामहरु छान्नुपर्दा प्राथमिकताको पहिलो ७ नम्बरभित्र कुन कुन काम पर्दछन् ? 
आफु र परिवारको लागि एउटा सानो झुपडीको व्यवस्था गर्ने ।
छोरीको स्टार्ट अप व्यवसायमा आवश्यक सहयोग गर्ने ।
कन्टेन्ट राइटिङ र प्रेरणामुलक श्रब्य दृष्य सामग्रीहरु निर्माण गर्ने ।
एक वर्ष एक उल्लेखनीय कामको सुरुवात गर्ने । ५०० जना भन्दा बढी व्यक्तिहरुलाई प्रेरित गर्ने काममा सहजीकरण गर्ने ।
परिवार तथा प्रियजनहरुसँग क्वालिटी टाईम बिताउन कार्यक्रमहरु बनाउने ।
देश भित्र तथा बाहिरका केही रमणीय स्थानहरुको भ्रमण गर्ने ।
आत्मचिन्तन, मानसिक शान्तिको लागि समय व्यवस्थापन गर्ने ।

२०८२ सालमा चन्द्रागिरि साकोसले गर्नुपर्ने कामहरुमध्ये ७ प्राथमिक कामहरु ?
कर्जा जोखिम न्यूनिकरण गर्ने 
नियामकीय अनुपालनलाई प्राथमिकता राख्ने
साना बचत र साना ऋणहरुलाई थप प्राथमिकता दिने योजनाहरु निर्माण 
गर्ने । 
सदस्यहरुको सन्तुष्टि स्तर अभिबृद्धि गर्ने 
सहकारी नियमन प्राधिकरणमा आवद्ध हुने 
Cyber Resilience Framework तयार पारी कार्यान्वयन गर्ने 
एक सदस्य एक विरुवा कार्यक्रम सञ्चालन गर्ने 

सहकारीको सिईओमा नभइ नहुने गुण वा सीप र ज्ञान गरी ७ मुख्य चीजहरु के के हुन् जस्तो लाग्छ ?
सहकारीको सिद्धान्त र मूल्य प्रति गहिरो बुझाइ ।
वित्तीय तथा प्रविधि व्यवस्थापनको ज्ञान र सीप ।
काम गर्न सक्ने क्षमता र मान्छे रिझाउन सक्ने सीप ।
सामान्य मान्छेसँग मिलेर काम गर्ने चाहना ।
सिमान्तकृत, न्यून आय र पिछडिएका मान्छेलाई माया गर्ने बानी ।
नीति, नियम, कानून तथा गुणस्तरीय सेवाको लागि सम्झौता नगरी काम गर्ने साहस ।
इमानदारी, उच्च नैतिकता र पारदर्शिता प्रति प्रतिवद्ध तथा लोभ लालचबाट टाढा रहने ।  

एक सफल सिईओ एक सफल पारिवारिक सदस्य बन्न नभइ नहुने ७ मुख्य गुणहरु के हुन् जस्तो लाग्छ ?
समयको सन्तुलित व्यवस्थापन गर्ने कला ।
अरुको कुरा सुन्ने धैर्यता ।
सहानुभूति र समानुभूति सहितको हृदय ।
काममा रमाउने बानी ।
उदाहरणीय काम गरेर देखाउने अभ्यास ।
परिवार प्रतिको जिम्मेवारी बोध ।
कमी कमजोरीलाई स्विकार गर्न सक्ने खुबी ।

चन्द्रागिरि साकोससँग व्यवस्थापन प्रमुखको रुपम अब कति समय काम गर्छु भन्ने केही योजना बनाउनुभएको छ ?
चन्द्रागिरि साकोसलाई एशियाको नमुना संस्था बनाएपछि छोड्ने विचार गरेको छु ।

सहकारीमा व्यवस्थापन प्रमुखको रुपमा अझै कति वर्ष काम गर्छु भन्ने केही समयसीमा निर्धारण गर्नुभएको छ ?
सहकारी संघ संस्था गरी अब १ दशक व्यवस्थापन प्रमुखको रुपमा काम गर्ने सोच छ ।

तपाईको सहकारी प्रवेशको वर्ष कुन थियो ? वा पूरा मिति, कुन सहकारीमा कुन भूमिकाबाट ?
काभ्रे पनौतीको सामुदायिक साकोसमा बचत उत्प्रेरकको रुपमा २०५६ साल आश्विन २० गते प्रवेश गरी पछि प्रमुख कार्यकारी अधिकृत भएको थिए । २०७२ साल भाद्र १४ गते तहाँबाट बिदा भएँ ।

तपाईका निकट र महत्वपूर्ण साथीहरु को हुन् ? 
मेरो सबैभन्दा मिल्ने साथीहरु भनेको मसँग काम गर्ने मेरा सहकर्मीहरु नै हुन । यसका अलावा प्रोफेशनको दौरान भेटिएका अनेकन साथीहरु छन् । विशेष गरी बाल्यकालका साथीहरु जोसँग नाङ्गै भुतुङै भएर खोलामा पौडी खेलिन्थ्यो, जसलाई तँ भनेर सम्बोधन गर्दा आत्मीयता अनुभूति हुन्छ ती साथीहरु  महत्वपूर्ण लाग्छ ।

सहकारीका कर्मचारीहरुले वर्किभर्सरी workiversary लाई कसरी सेलेब्रेट गर्नुपर्छ भन्ने लाग्छ ?
आफ्नो सिकाइ, अनुभव र योगदानको संस्मरण गरेर । अनि, केक वा अन्य कुनै गिफ्ट वा टोकन अफ लभ साझा गरेर ।

अनि उमेरले तपाई अहिले कति बर्ष लाग्नुभयो ?
अहिले म ४० वर्षको भएँ ।

अन्त्यमा केही ?
यो अवसर दिनु भएकोमा धन्यवाद छ । सहकारी केवल वित्तीय सेवा दिने संस्था मात्र हैन यो सदस्यहरुको सपना पुरा गर्ने प्लेटफर्म पनि हो । म जहिले पनि यो यात्रामा पूर्ण समर्पणका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । मलाई सिकाउनु हुने मेरा गुरुहरु, मेन्टर, विश्वास र भरोस गर्नुहुने चन्द्रागिरि साकोसका सञ्चालकज्यूहरु, जिल्ला, प्रदेश र केन्द्रीय तहका छाता संघका नेतृत्व र व्यवस्थापनका उच्च पदस्त व्यक्तिहरु, सम्बन्धित नियामक निकाय र सहयोगी संघ संस्था र व्यक्ति सबैमा म सधै आभार प्रकट गर्न चाहन्छु । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार