Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
विश्व क्रेडिट युनियन सम्मेलन २०२६

ओकूको नयाँ अध्यक्ष जो थोमस चयन; वित्तीय समावेशीकरण र सशक्त बहसपैरवी प्राथमिकतामा

ओकूको नयाँ अध्यक्ष जो थोमस चयन; वित्तीय समावेशीकरण र सशक्त बहसपैरवी प्राथमिकतामा

एजेन्सी । विश्व ऋष परिषद् (ओकू) को नयाँ अध्यक्षमा जो थोमस चयन भएका छन् । अष्ट्रेलियाको सिड्नीमा हालै सम्पन्न विश्व क्रेडिट युनियन सम्मेलन २०२६ ले अमेरिकी क्रेडिट युनियन अगुवा थोमसलाई नयाँ अध्यक्ष चयन गरेको हो । क्रेडिट युनियन अभियानमा ३५ वर्ष बढीको अनुभव बोकेका उनी ओकूको उपाध्यक्ष तथा सचिवको रुपमा कार्यरत थिए । यसैबीच, अध्यक्ष चुनिएपछिको आफ्नो पहिलो सम्बोधनमा उनले बहसपैरवी र वित्तीय समावेशीकरणलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नवनियुक्त अध्यक्ष थोमसले भने, 'हाम्रो मुख्य प्राथमिकता वित्तीय समावेशीकरण, सशक्त बहसपैरवी र विश्वव्यापी सहकारीहरूबीच बलियो सहकार्य रहने छ ।'  विश्व क्रेडिट युनियन सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अमेरिकाको भर्जिनियास्थित एप्पल फेडरल क्रेडिट युनियन का प्रमुख कार्यकारी अधिकृत समेत रहेका थोमसले विश्वभरका नीति निर्माताहरूमाझ सहकारी वित्तीय मोडल र क्रेडिट युनियनहरूको बलियो प्रतिनिधित्व गराउन ओकूले आफ्नो ध्यान केन्द्रित गर्ने बताए । साथै, वित्तीय पहुँच र सेवाबाट  बञ्चित समुदायहरूमा वित्तीय पहुँच विस्तारका लागि काम गर्ने पनि उनले जनाए ।

सम्बोधनका क्रममा अध्यक्ष थोमसले निवर्तमान अध्यक्ष माइक लरेन्सलाई धन्यवाद व्यक्त गरे । विश्वव्यापी क्रेडिट युनियन आन्दोलनका लागि चुनौतीपूर्ण रहेको समयमा लरेन्सले उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै थोमसले उनको प्रशंसा गरे । 'म माइक लरेन्सलाई विगत आठ वर्ष र विशेष गरी ओकू अध्यक्षका रूपमा पछिल्ला दुई वर्षको अथक परिश्रमका लागि धन्यवाद दिन चाहन्छु,' थोमसले भने ।

भविष्यको कार्यदिशा र नीतिगत वकालतको योजनाबारे चर्चा गर्दै थोमसले ओकूको वकालत सम्बन्धी प्रयासहरू क्रेडिट युनियन आन्दोलनलाई मजबुत बनाउन तथा आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई सहयोग गर्ने नीतिहरू प्रवर्द्धन गर्नमा केन्द्रित हुने उल्लेख गरे । 'हामी हाम्रा सदस्यहरू, समुदायहरू र सहकारी मोडलका लागि वकालत गर्ने कार्यमा आफ्नो ध्यान पुनस् केन्द्रित गर्नेछौं, जुन विश्वभरका लाखौं मानिसहरूका लागि आशा र सशक्तीकरणको किरण साबित भएको छ,' थोमसले भने ।

उनले सहकारी वित्तीय मोडलको प्रवर्द्धनमार्फत क्रेडिट युनियनहरूले सार्वजनिक नीतिलाई सकारात्मक प्रभाव पार्न सक्ने अवसर रहेको बताए । वित्तीय समावेशीकरण नै मुख्य केन्द्रथोमसले वित्तीय समावेशीकरण वोकुको बहसपैरवी एजेन्डाको मुटुमा रहने उनले स्पष्ट पारे । उनले भने, 'जब हामी हाम्रा सदस्यहरूलाई माथि उठाउँछौं, हामी समग्र समुदायलाई माथि उठाइरहेका हुन्छौं, जसले साझा समृद्धिको लहर सिर्जना गर्छ।' तथापि, बहसपैरवी कानुन र नियमहरूमा मात्र सीमित नहुने कुरामा उनले जोड दिए । 'बहसपैरवी नीतिहरूको बारेमा मात्र होइन, यो मानिसहरूको बारेमा हो। यो हाम्रा सदस्यहरू-शिक्षक, किसान, उद्यमी र राम्रो जीवनका लागि संघर्ष गरिरहेका परिवारहरूको बारेमा हो। क्रेडिट युनियनहरूले कसरी जीवन परिवर्तन गर्छन् भन्ने कथाहरू हामीले विश्वमाझ प्रस्तुत गरिरहनुपर्छ।'

विश्वव्यापी सहकार्यको आह्वान गर्दै अध्यक्ष थोमसले विश्वभरका क्रेडिट युनियनहरूलाई विचारहरू आदानप्रदान गर्न र एकअर्काबाट सिक्दै सहकार्यलाई थप बलियो बनाउन आह्वान गरे । यो पहल सहकारी आन्दोलनका मूल सिद्धान्तहरू-ऐक्यबद्धता, समानता र आपसी सहयोगको पुनर्पुष्टि पनि भएको उनको भनाइ थियो। सदस्यहरूको सेवामा नवप्रवर्तन र उत्कृष्टताको खोजी जारी राख्न प्रोत्साहित गर्दै थोमसले भने, 'सँगै मिलेर हामी सर्वसाधारणको जीवनमा वित्तीय सहकारीहरूको अद्वितीय भूमिकालाई सुदृढ गर्न सक्छौं। आउनुहोस्, हामी हाम्रा सदस्यहरू र विश्वभरका समुदायहरूको उज्यालो भविष्यका लागि सँगै अघि बढौँ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार