काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकार उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको बताउनुभएको छ।
बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विपद्को अवस्थामा तत्काल परिचालन गर्न देशभर २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। तीमध्ये नेपाली सेनाका ७ हजार ५२४, नेपाल प्रहरीका १० हजार ५७५ र सशस्त्र प्रहरी बलका ८ हजार ११० जना रहेका छन्। साथै १५३ जना गोताखोर पनि उद्धारका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री गुरुङका अनुसार विपद्का बेला नागरिकलाई तत्काल सहायता उपलब्ध गराउन नेपाल टेलिकमसँगको समन्वयमा ‘१२३४’ टोल–फ्री नम्बर सञ्चालनमा ल्याइएको छ। जोखिममा परेका नागरिकले उक्त नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्ने उहाँले बताउनुभयो।
उहाँले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी दिँदै सडक अवरोध हटाउन तथा एस्काभेटरहरूको अवस्थाबारे जानकारी लिन ‘सेतु एप’ सञ्चालनमा ल्याइएको र विपद्को पूर्वसूचना व्यापक रूपमा प्रवाह गर्न सेल ब्रोडकास्टिङ प्रणाली कार्यान्वयनको तयारी भइरहेको उल्लेख गर्नुभयो।
सरकारले हाल १९७ वटा दमकल, ४६० वटा एम्बुलेन्स, ६१२ वटा उद्धार डुङ्गा, १६३ वटा एस्काभेटर र १३ वटा पोर्टेबल पुल तयारी अवस्थामा राखेको छ। निजी क्षेत्रसँगको सहकार्यमा हेलिकप्टर, र्याफ्टिङ तथा ड्रोन सेवाका लागि समेत आवश्यक समन्वय गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि रु ७ करोड ६२ लाख तथा २८ जिल्लामा उद्धार डुङ्गा खरिदका लागि रु १ करोड ४४ लाख निकासा गरिएको छ। हाल प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन कोषमा गरी रु ७ अर्ब ५६ करोड मौज्दात रहेको छ।
गृहमन्त्री गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुख नियुक्त भएसँगै संस्थागत रिक्तता अन्त्य भएको र केन्द्रदेखि जिल्ला तहसम्मका कमान्ड पोस्ट २४सै घण्टा सक्रिय रहेको बताउनुभयो।
उहाँले विपद् व्यवस्थापन सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई सबै सरोकारवाला निकाय र नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com