Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सहकारी 'फ्रन्टलाइनर'

मेरो सोच, समय, श्रम र समर्पण सबै सहकारी अभियानमै: गणेश बहादुर चन्द

मेरो सोच, समय, श्रम र समर्पण सबै सहकारी अभियानमै: गणेश बहादुर चन्द

काठमाडौं । २०५३ सालबाट सहकारी अभियानसँग जोडिनुभएका गणेश बहादुर चन्द हाल कञ्चनपुरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुनुहुन्छ । संयोगले उहाँ अहिले ५३ वर्षमै यात्रारत हुनुहुन्छ । संस्थाका संस्थापकमध्येका एक उहाँसँग सञ्चालक समितिको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेको अनुभव पनि छ । मलेसियाबाट डिप्लोमा इन कोअपरेटिभ गर्नुभएका चन्दले भारत र बङ्गलादेश, सिंगापुर, फिलिपिन्स र आयरल्यान्डबाट पनि सहकारी सम्बन्धी विशेषज्ञ ज्ञान र तालिम हासिल गर्नुभएको छ । मोफसलमा बसेर मजबुत सहकारीको व्यवस्थापकीय बागडोर सम्हालिरहनुभएका चन्दसँग उहाँको व्यक्तिगत र सहकारी जीवनका विविध आयामबारे धिप्री डटकमले हालै एक रोचक अन्तर्वार्ता गरेको छ । प्रस्तुत छ, उक्त धिप्री संवादको सम्पादित अंश:

सहकारी क्षेत्रमा यहाँको प्रवेश र पृष्ठभूमिबारे केही बताइदिनुहुन्छ कि ?
मेरो सहकारी क्षेत्रसँगको सम्बन्ध २०५५ सालको फागुन–चैत महिनादेखि सुरु भएको हो। यद्यपि, विधिवत् रूपमा भने म २०५६ साल वैशाख २१ गते उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना भएसँगै संस्थामा आबद्ध भएको हुँ।

सहकारी क्षेत्रमा मेरो प्रवेशको पृष्ठभूमि अझ पहिलेको हो। २०५३ सालमा कृषि सामग्री संस्थानमा सहायक लेखा अधिकृत (Assistant Account Officer) को रूपमा कपिलवस्तुको तौलिहवामा करिब तीन वर्ष कार्य गर्ने अवसर प्राप्त गरेको थिएँ। त्यस समयमा सहकारी संस्थाहरूले कृषि सामग्री खरिद गर्नका लागि संस्था दर्ता गर्ने प्रक्रिया नजिकबाट हेर्ने र सहयोग गर्ने अवसर मिल्यो। यही क्रममा मैले सहकारीको विनियम, उद्देश्य र सिद्धान्तहरूको अध्ययन गरेँ।

त्यस अध्ययनबाट मैले सहकारी भनेको निम्न तथा मध्यम वर्गीय समुदायका मानिसहरूले आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरू पूरा गर्न सदस्य स्वामित्व र सदस्य नियन्त्रणमा सञ्चालन गर्ने सबैभन्दा उत्कृष्ट संस्था रहेछ भन्ने बुझ्न सफल भएँ। यही सोचले मेरो जीवनको दिशा परिवर्तन गरिदियो।

go.jpeg
undefined

संस्थागत जिम्मेवारी र नेतृत्व यात्रालाई फर्केर हेर्दा कस्तो पाउनुहुन्छ ?
संस्था दर्ता हुँदा म सञ्चालक समितिको सचिव पदमा निर्वाचित भएको थिएँ। सुरुवाती दिनमा मेरो सोच संस्थामा कर्मचारी भएर काम गर्नेभन्दा पनि सञ्चालकको रूपमा योगदान गर्ने र भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने थियो। तर संस्था स्थापना भएपछि उपयुक्त व्यवस्थापक खोज्ने प्रयास गरियो। त्यस क्रममा नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त एक अनुभवी व्यक्तिलाई संस्थाको व्यवस्थापन सम्हाल्न आग्रह गरिएको थियो, तर उहाँले स्वीकार गर्नुभएन।

त्यसपछि सञ्चालक समितिले अहिलेलाई तपाईंले नै संस्था सम्हालिदिनुहोस्, पछि आवश्यक व्यवस्था गरौंला भन्ने निर्णय गर्‍यो। संस्थाप्रतिको विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै मैले प्रबन्ध सञ्चालकको जिम्मेवारी स्वीकार गरेँ।

त्यसपछि भने मेरो सम्पूर्ण जीवन सहकारी अभियानमै समर्पित भयो। सहकारी क्षेत्रबाट बाहिर जाने वा बीचमै छाड्ने सोच कहिलेकाहीँ आए पनि सहकारीले दिएको उद्देश्य, सदस्यहरूको विश्वास र संस्थाको निरन्तर प्रगतिले मलाई अझ दृढ बनाउँदै लग्यो।

सहकारी ऐन, २०७४ लागू भएपछि सञ्चालक समितिको पदाधिकारीले प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाल्न नमिल्ने कानुनी व्यवस्था आयो। त्यसअनुसार २०७५ साल पुस १ गतेदेखि म संस्थाको प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा कार्यरत छु।

WhatsApp Image 2026-08-07 at 18.50.40 (12).jpeg
undefined

अन्तर्राष्ट्रिय अनुभव, तालिम, गोष्ठी तथा अध्ययन पनि निक्कै छ यहाँको ? पाठकहरुलाई सेयर गरिदिनुहोस् न ।
सहकारी अभियानको विकास र विस्तारका लागि केवल स्थानीय ज्ञान पर्याप्त हुँदैन भन्ने मान्यताका साथ मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न अध्ययन, तालिम, कार्यशाला गोष्ठी (Seminars) तथा सम्मेलनहरूमा सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको छु।

विशेषगरी मलेसियाबाट मैले Diploma in Cooperative अध्ययन गरी सहकारी व्यवस्थापन र आधुनिक सञ्चालन प्रणालीको गहिरो सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गरेँ। यसका साथै भारतमा आयोजित Gender Training of Trainers (TOT) मा सहभागी भई लैङ्गिक समानता, महिला सशक्तीकरण तथा नेतृत्व विकास सम्बन्धी विशेषज्ञता हासिल गरेँ।

बङ्गलादेशमा लघुवित्त (Microfinance) तथा साना किसान तथा ग्रामीण सहकारी सञ्चालनका उत्कृष्ट अभ्यासहरू, सिंगापुरमा आधुनिक वित्तीय प्रविधि (Fintech) र दक्ष सहकारी व्यवस्थापन, फिलिपिन्समा समुदायमा आधारित सहकारी विकास तथा जोखिम व्यवस्थापन र आयरल्यान्ड (Ireland) मा त्यहाँको सुदृढ क्रेडिट युनियन (Credit Union) प्रणाली तथा अन्तर्राष्ट्रिय सहकारी अभ्यासहरूबारे अध्ययन, गोष्ठी र अवलोकन भ्रमणमा सहभागी हुने अवसर प्राप्त गरेँ।

यी विभिन्न देशहरूमा आयोजित अन्तर्राष्ट्रिय तालिम, गोष्ठी तथा सम्मेलनहरूबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई मैले उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको नीति निर्माण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग र सेवा प्रवाहलाई विश्वस्तरीय एवं सदस्यकेन्द्रित बनाउन प्रभावकारी रूपमा प्रयोग गर्दै आएको छु।

WhatsApp Image 2026-08-07 at 18.50.40 (13).jpeg
undefined

लामो अनुभवले सहकारीप्रतिको दृष्टिकोण र अनुभवमा के कस्ता निखार ल्याएको छ ?
मेरो विचारमा सहकारी केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र होइन, यो समुदायको आर्थिक, सामाजिक तथा मानवीय विकास गर्ने सशक्त अभियान हो। सहकारीमार्फत हामीले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्ने, सामाजिक चेतना अभिवृद्धि गर्ने, नेतृत्व विकास गर्ने, सदस्यहरूले उत्पादन गरेका वस्तुहरूको खरिद तथा बजारीकरण गर्ने, श्रमलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा समुदायमा एकले अर्कोलाई सहयोग गर्ने संस्कृतिको विकास गर्ने कार्य गर्दै आएका छौं। यही नै सहकारीको वास्तविक उद्देश्य र पहिचान हो।

काठमाडौंभन्दा बाहिर, विशेषगरी सुदूरपश्चिममा सहकारी सञ्चालन गर्नु मेरा लागि चुनौतीसँगै अवसर पनि थियो। यहाँ समुदायको आर्थिक विकास, सामाजिक रूपान्तरण तथा महिला सशक्तीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ। समुदायले हाम्रो संस्थामाथि छोटो समयमै विश्वास गरेको छ, र त्यसको परिणाम संस्थाको वित्तीय अवस्थाले पनि देखाएको छ। हाम्रो संस्थाको ब्यालेन्स सिट धेरै शहरी संस्थाभन्दा सुदृढ छ। तर मेरो दृष्टिमा सफलताको मापन केवल ब्यालेन्स सिटले मात्र हुँदैनस समुदायमा आएको सकारात्मक परिवर्तन नै सहकारीको सबैभन्दा ठूलो उपलब्धि हो।

आज देशभर सहकारी क्षेत्रको चर्चा हुँदा प्रायः बचत तथा ऋण सहकारी संस्थाहरूको मात्र नाम आउने गरेको छ। तर वास्तवमा बहुउद्देश्यीय सहकारी संस्थाहरूले बचत तथा ऋणसँगै उत्पादन, प्रशोधन, खरिद, बिक्री–वितरण, कृषि विकास, उद्यम प्रवर्द्धन तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिरहेका छन्। यस्ता संस्थाहरूको वित्तीय अवस्था पनि धेरै अवस्थामा सुदृढ रहेको छ। त्यसैले सहकारी क्षेत्रलाई मूल्याङ्कन गर्दा सम्पूर्ण बहुउद्देश्यीय सहकारीको योगदानलाई समान रूपमा हेर्न आवश्यक छ।

gg.jpeg
undefined

उदयदेव सहकारीको संस्थागत वातावरण, समावेशिता र कर्मचारी कल्याणका विषयमा पनि सहकारी अभियानको चासो पाइन्छ । केही बताइदिनुहोस् न ।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल ७० जना कर्मचारी कार्यरत छन्, जसमा ३६ जना पुरुष र ३४ जना महिला कर्मचारी छन्। महिला कर्मचारीहरूले कार्यालयको जिम्मेवारीसँगै घरपरिवार, बालबच्चा तथा अन्य पारिवारिक दायित्व पनि सम्हाल्नुपर्ने भएकाले उनीहरूमाथि केही अतिरिक्त जिम्मेवारी स्वाभाविक रूपमा हुन्छ। त्यसलाई मध्यनजर गर्दै संस्थाले सबै कर्मचारी, विशेषगरी महिला कर्मचारीका लागि पारिवारिक वातावरणमा काम गर्न सक्ने, सम्मानजनक, सुरक्षित र सहयोगी कार्यसंस्कृतिको विकास गरेको छ। २ अर्ब ७१ करोड बढी कुल सम्पत्ति भएको उदयदेव सहकारी संस्थामा हाल २६ हजार २ सय बढी सदस्य छन् भने संस्थागत पुँजी करिब ८ प्रतिशत छ ।

मैले २०५६ सालमै स्नातक Bachelor उत्तीर्ण गरेपछि सहकारी क्षेत्रमा प्रवेश गरेको हुँ। संस्थाको कारोबार बढ्दै जाँदा कर्मचारीहरूको सेवा-सुविधा पनि क्रमशः विस्तार गरियो। आज हाम्रो संस्थाका कर्मचारीहरूले तलबका अतिरिक्त सञ्चयकोष, उपदान, सञ्चित बिदा लगायतका सुविधाहरू जोड्दा करिब १८ महिनाको तलब बराबरको वार्षिक लाभ प्राप्त गर्छन्। पारिश्रमिकको स्तर पनि नेपाल सरकारका धेरै सेवाभन्दा प्रतिस्पर्धी छ। यसले कर्मचारीहरूलाई सम्मानजनक जीवनयापन गर्न, परिवारलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन तथा भविष्यप्रति सुरक्षित महसुस गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ।

हाल सहकारी क्षेत्रमा देखिएको बचत फिर्ता सम्बन्धी आन्दोलनलाई तपाईं कसरी हेर्नुहुन्छ?
हाल बचत फिर्ताको माग गर्दै विभिन्न स्थानमा भइरहेका आन्दोलनले सम्पूर्ण सहकारी अभियानलाई चिन्तित बनाएको छ। विशेषगरी काठमाडौं केन्द्रित केही सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापनले सदस्यहरूको बचत रकम व्यक्तिगत व्यापार, व्यवसाय तथा घरजग्गामा लगानी गरी दुरुपयोग गरेको घटनाका कारण सम्पूर्ण सहकारी क्षेत्र नै बदनाम भएको अवस्था छ। तर केही संस्थाले गरेको गल्तीका आधारमा सबै सहकारी संस्थालाई एउटै दृष्टिकोणले हेर्नु उचित हुँदैन। हामीले सहकारी ऐन, नियम, विनियम तथा संस्थाको नीति(निर्देशनको पूर्ण पालना गर्दै संस्था सञ्चालन गरेका छौं। सदस्यहरूको बचत रकम हिनामिना वा दुरुपयोग गरिएको छैन।

gb.jpeg
undefined

सहकारी क्षेत्र सुधारका लागि के गर्नुपर्छ ?
सहकारी स्वनियमन (Self-Regulation) को सिद्धान्तमा सञ्चालन हुन पाउनुपर्छ। साथै सरकारले प्रभावकारी अनुगमन, निरीक्षण र आवश्यक निर्देशनलाई थप मजबुत बनाउनुपर्छ। सुधारका लागि निम्न पक्षहरू महत्वपूर्ण छन्ः
सहकारी ऐन, नियम र निर्देशनको कडाइका साथ पालना।
सुशासन, पारदर्शिता र उत्तरदायित्वको पूर्ण कार्यान्वयन।
कर तथा अन्य नीतिगत सहुलियत उपलब्ध गराई उत्पादनमुखी सहकारीलाई प्रोत्साहन।
सदस्यले उत्पादन गरेका कृषि तथा अन्य वस्तुको बजारीकरणमा सरकारी सहयोग।
प्रविधिमैत्री सेवा, आन्तरिक नियन्त्रण प्रणाली र नियमित लेखापरीक्षण।
सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई निरन्तर क्षमता अभिवृद्धि तालिम।
बचतकर्ताको विश्वास बढाउने जोखिम व्यवस्थापन तथा वित्तीय अनुशासन।

सफल सहकारी सञ्चालनका लागि मुख्य आधार के हुन् ?
सफल सहकारी सञ्चालनका लागि सञ्चालक समिति, व्यवस्थापन र सदस्य-यी तीनै पक्षको समान जिम्मेवारी हुन्छ। मुख्य आधारहरूः
सहकारी ऐन, नियम, मापदण्ड र निर्देशनको पूर्ण पालना।
व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता।
इमान्दार, सक्षम र व्यावसायिक (Professional) नेतृत्व।
पारदर्शी निर्णय प्रक्रिया र वित्तीय अनुशासन।
आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियमित अनुगमन।
सदस्य शिक्षा, सहभागिता र उत्तरदायित्वको विकास।
दक्ष कर्मचारी, प्रविधिको प्रयोग र गुणस्तरीय सेवा।
उत्पादन, रोजगारी तथा उद्यमशीलतासँग जोडिएको सहकारी प्रणालीको विकास।

भविष्यमा सहकारीको आवश्यकता कस्तो देख्नुहुन्छ ?
सहकारी समुदायका लागि आज पनि आवश्यक छ र भविष्यमा अझ बढी आवश्यक रहनेछ। सहकारीले विशेषगरी निम्न तथा मध्यम आय भएका नागरिकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराएको छ। बैंकिङ पहुँच नपुगेका समुदायसम्म बचत, ऋण तथा अन्य वित्तीय सेवा पुर्‍याउन सहकारीको महत्वपूर्ण योगदान रहेको छ।

सहकारी क्षेत्रबाट तपाईंले के सिक्नुभयो ?
सहकारीले मलाई सबैभन्दा पहिले अनुशासनमा बस्न सिकायो। यसले सहकार्य, आपसी सहयोग, पारदर्शिता, उत्तरदायित्व र सामूहिक निर्णयको संस्कार विकास गरायो। व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकता दिनुपर्छ। सदस्यको विश्वास नै सहकारीको सबैभन्दा ठूलो सम्पत्ति हो। इमान्दारिता र पारदर्शिताले मात्र संस्था दीर्घकालसम्म सफल हुन्छ।

जीवन, परिवार र सहकारीप्रतिको पूर्ण समर्पणका सम्बन्धमा थप स्पष्टता भए सहज हुन्थ्यो कि ?
मेरो उमेर ५३ वर्ष हो र मैले व्यवस्थापन विषयमा स्नातक तहको शिक्षा हासिल गरेको छु। मेरो परिवारमा श्रीमती र दुई छोरी छन्। परिवारबाट मलाई सहकारी संस्था सञ्चालनमा पूर्ण साथ, सहयोग र प्रेरणा प्राप्त भएको छ। यही पारिवारिक सहयोगका कारण मैले आफ्नो सम्पूर्ण समय र ऊर्जा सहकारी अभियानमा समर्पित गर्न सकेको छु।

सहकारी क्षेत्रमा मैले यति धेरै समय बिताएको छु कि धेरै मानिसहरू आश्चर्य व्यक्त गर्छन्। वास्तवमा भन्ने हो भने, म सुत्नका लागि मात्र घर जान्छु। बिहान करिब ८ बजे कार्यालय पुग्छु र बेलुका ७-८ बजेतिर मात्र घर फर्कन्छु। शनिबारको बिदाको दिनसमेत म सहकारीसम्बन्धी तालिम, गोष्ठी, छलफल तथा विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन्छु। सहकारीबाहेकका अन्य कार्यक्रमहरूमा प्रायः सहभागी हुदिनँ, न त कुनै राजनीतिक दलसँग आबद्ध छु। मेरो सम्पूर्ण सोच, समय, श्रम र समर्पण सहकारी अभियानमै केन्द्रित छ।

म पूर्ण रूपमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडप्रति समर्पित छु। संस्थाले मलाई र मेरो परिवारलाई सम्मानपूर्वक जीवनयापन गर्न आवश्यक सेवा–सुविधा उपलब्ध गराएको छ। त्यसैले जति नै आकर्षक अवसर वा सुविधा अन्यत्रबाट प्राप्त भए पनि म उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई कहिल्यै छोड्ने सोच राख्दिनँ। यो संस्था मेरो लागि केवल कार्यस्थल मात्र होइन, मेरो जीवनको उद्देश्य र पहिचान हो।

WhatsApp Image 2026-08-07 at 18.50.40 (6).jpeg
undefined

अब अन्त्यमा, भावी लक्ष्य तथा प्रतिबद्धता जान्ने उत्सुकता हामीमा पनि छ । यहाँको भनाइ ?
संस्थाको संस्थापक भएकाले धेरै सदस्यहरूसँग मेरो प्रत्यक्ष र आत्मीय सम्बन्ध छ। सदस्यहरूको आवश्यकता, समस्या, सम्भावना र अपेक्षाबारे मैले नजिकबाट बुझ्ने अवसर पाएको छु। यही अनुभवले सदस्यकेन्द्रित नेतृत्व गर्न थप प्रेरणा दिएको छ।

मेरो दीर्घकालीन लक्ष्य भनेको सहकारीका सदस्यहरूले एउटै छानामुनि बैंकिङ, कृषि, उत्पादन, शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने आधुनिक, दिगो र बहुआयामिक सहकारी प्रणाली निर्माण गर्नु हो। सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था नभई सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक उन्नतिको आधार बन्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ।

मेरो नेतृत्वमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था सदस्यहरूको विश्वास, पारदर्शिता, सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका आधारमा देशकै उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रूपमा स्थापित होस् भन्ने मेरो जीवनको प्रमुख उद्देश्य हो। यस लक्ष्य प्राप्तिका लागि म तन, मन र समय सम्पूर्ण रूपमा सहकारी अभियानलाई समर्पित गर्दै आएको छु र भविष्यमा पनि यही समर्पणका साथ निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

WhatsApp Image 2026-08-07 at 18.50.40 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार