Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जनउत्थान साकोसको लोभलाग्दो सफलता, 'एक्सेस सिल्भर'मा ह्याट्रिक

जनउत्थान साकोसको लोभलाग्दो सफलता, 'एक्सेस सिल्भर'मा ह्याट्रिक

काठमाडौं । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले अन्तर्राष्ट्रिय स्तरको एक्सेस स्तरीकरण कार्यक्रममा लोभलाग्दो सफलता प्राप्त गरेको छ । यो वर्ष अर्थात् सन् २०२६ मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेसँगै लगातार तीन पटक सोही स्तरको ब्राण्ड प्राप्त गरी ह्याट्रिक गर्न सफल भएको हो । त्यसो त, एक्सेस ब्राण्डको जनउत्थान साकोसको सिलसिला सन् २०१८ देखि शुरु भएको हो । यसबाहेक जनउत्थान साकोसले सहकारी सम्बन्धी थुप्रै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको छ ।

एशियाली ऋण महासंघ (अकू) ले ७ अगस्ट २०२६ मा गरेको विस्तृत मूल्यांकनपछि जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्मका लागि ‘एक्सेस सिल्भर’ प्रमाणीकरण प्रदान गरेको हो। एक्सेस, अकूको प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण कार्यक्रम हो ।

702144458_2183565129155378_264140597316051523_n.jpg
undefined

जनउत्थान साकोसलाई उक्त सम्मान आगामी सेप्टेम्बर ११ मा मलेसियाको क्वालालम्पुरमा हुने ‘एसियन क्रेडिट युनियन फोरम २०२६’को उद्घाटन समारोहमा औपचारिक रूपमा प्रदान गरिनेछ।

अकूका अनुसार मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य-ग्राहक केन्द्रितता, आन्तरिक व्यवसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चारवटा प्रमुख पक्ष समेटिएका थिए। जनउत्थान साकोसले वित्तीय पक्षमा ५२ मध्ये ३९,सदस्य-ग्राहक पक्षमा १०८ मध्ये ८३,आन्तरिक व्यवसायिक प्रक्रियामा १०४ मध्ये ७८ तथा सिकाइ र वृद्धिमा ८० मध्ये ६१ अंक प्राप्त गरेको छ। संस्थाले कुल ३४४ मा २६१ (७५.८७प्रतिशत) अंक प्राप्त गरी सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको हो।

अकूले जनउत्थान साकोसलाई सीमान्तकृत समुदाय तथा युवा उद्यमीलाई साना व्यवसाय सञ्चालन र दिगो आर्थिक गतिविधिमा संलग्न हुन सहयोग गर्ने नवीन वित्तीय समाधान प्रदान गर्ने नमुना सहकारीका रूपमा समेत प्रशंसा गरेको छ।

संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउनुपर्ने सुझाव दिँदै अकूले न्यून आय भएका सदस्यलाई लक्षित आर्थिक कार्यक्रम विस्तार तथा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।

एक्सेस, एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० ले सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण कार्यक्रम हो । नेपालमा सन् २००६ देखि अभ्यासमा रहेको यस कार्यक्रममा हाल ८० वटा बचत तथा ऋण सहकारी संस्था सहभागी छन् ।

700956031_2183564715822086_565991510043234207_n.jpg
undefined

यस वर्ष एक्सेसको निर्धारित स्तर पूरा गरेका जनउत्थान साकोससँगै मध्यनेपाल साकोस, नवलपुरले अकू बाट हुने अडिटमा सहभागिता जनाएका थिए । अडिटबाट जनउत्थानले सिल्भर र मध्यनेपालले ब्रोन्ज स्तर हासिल गरेका हुन् । जनउत्थान बचत तथा ऋण सहकारीको कुल सम्पत्ति ४ अर्ब एकासी करोड साठी लाख ७९ हजार ८८३ रुपैयाँ रहेको छ । संस्थामा ४४ हजार चार सय उठाइस सदस्य र उनानव्वे कर्मचारी छन् । संस्थाको शुद्ध संस्थागत पूँजी ८.७४ प्रतिशत रहेको छ भने कुल बचतमा नियमित बचतको हिस्सा ४३.६७ प्रतिशत छ । कुल सदस्यको २५.८८ प्रतिशत अर्थात् ११ हजार ४९६ सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन् ।

ब्यालेन्स्ड स्कोरकार्डमा आधारित गुणस्तर मापनको मानक औजारका रूपमा विकास गरिएको हो । यसमार्फत वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका क्षेत्रमा कुल ८६ वटा सूचकका आधारमा संस्थाको स्तर मापन गरिन्छ ।

कार्यक्रमअन्तर्गत व्यवस्थापकीय कार्यकुशलता, सुशासनका अभ्यास, प्रविधि, सुरक्षा तथा नियामकीय व्यवस्थाको कार्यान्वयनलगायत विभिन्न पक्षमा प्राविधिक जाँच गरिन्छ। यसले सहकारी संस्थाको संस्थागत क्षमता, वित्तीय स्थायित्व र सेवा गुणस्तर सुधारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

702209560_2183564729155418_299650041562029724_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार