Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'बागमतीको सहकारीले गल्ती गर्दा कञ्चनपुरका सहकारीहरुले सजाय भोग्नु परेको छ'

'बागमतीको सहकारीले गल्ती गर्दा कञ्चनपुरका सहकारीहरुले सजाय भोग्नु परेको छ'

काठमाडौं । सहकारी क्षेत्रमा विद्यमान समस्याहरु समाधान गर्दै यसप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । सोमबार महेन्द्रनगर स्थित उदयदेव बहुउदेश्यीय सहकारी संस्थामा आयोजित सहकारी क्षेत्रको समसामयिक अवस्था चुनौती र आगामी कार्यदिशा सम्बन्धी छ्लफलमा सहकारीकर्मीहरुले सहकारीमा देखिएका समस्या समाधानसँगै यसप्रतिको गुम्दो जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी मैत्री ऐन निमार्णका लागि महासंघले सरकारसँग निरन्तर समन्वयमा गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारलाई सहकारीमैत्री ऐन ल्याउन आग्रह गरिएको बताउनुभयो ।“सहकारी पछिल्लो अवस्था मजबुत छ यो अभियानमा ५६ प्रतिशत महिला जोडिएका छन्, ' उहाँले भन्नुभयो,“३० वटा सहकारी मात्रै संकटग्रस्त सहकारी घोषणा गरिएको हो त्यसको प्रभाव अरु सहकारीमा समेत परेको छ ।”

उहाँले संवेदनशील भएर काम गर्नुपर्ने समय आएको उल्लेख गर्दै सहकारीका राम्रा कुराको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । 'एकद्धारबाट निमयन हुनुपर्छ प्राधिकरण ऐन पनि आउने तयारीमा छ,' कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, 'सहकारीका ४६ वटा ऐन अन्तरसम्बन्धीत रहेका छन ती ऐन समेत तीन खम्बे अर्थनीति अनुसार हुनुपर्छ ।] उहाँले समस्याग्रस्त सहकारीका पीडितले बचत रकम फिर्ता पाउनुपर्ने बताउनुभयो । 

'राज्य कोषबाट नभएर ती सहकारीको चल अचल सम्पत्ति बिक्री गरी गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ, ' उहाँले भन्नुभयो,'राजनितिक संक्रमणका बेला गलत नियत भएका व्यक्तिले सहकारी खोलेर बदनाम गरेका हुन् ।'

कार्यक्रममा उदयदेब बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सहकारीसम्बन्धी कानून निर्माणको प्रक्रियामा अभियानको प्रत्यक्ष संलग्नता र सहभागिता आवश्यक भएकोमा जोड दिनुभयो । सहकारी मैत्री ऐन ल्याउन महासंघको हस्तक्षेपकारी भूमिकामा उहाँले जोड दिनुभयो । यसैगरी, सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रचार पनि आवश्यक भएको उहाँको भनाइ थियो । उहाँले आ–आफ्नो ठाउँबाट सहकारीले गरेका राम्रा कामहरु बाहिर ल्याउन कुनै संकोच मान्न नहुने बताउनुभयो । 

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्दले राज्यका एक दर्जन निकायबाट सहकारीको नियमनका लागि फरक फरक निर्देशन आउने गरेको बताउनुभयो । “राज्यका निकायबाट फरक फरक निर्देशनहरु आउने गरेका छन, हामीले कसलाई मान्ने कसलाई नमान्ने अन्योल छ ।” उहाँले भन्नुभयो–“अहिले थप राष्ट्रबैंकले समेत नियमन गर्ने कुरा आएको छ ।” उहाँले सरकारले बदमासी गरेको सहकारीको नियमन गर्नुपर्नेमा सबै सहकारीलाई एउटैमा राखेर नियमन गर्न खोजेको आरोप लगाउनुभयो । 

कोअपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरका अध्यक्ष सुनिल सेठीले सहकारीका विद्यमान समस्याहरुबारे महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको ध्यानाकर्षण गराउनुभएको थियो । 'सहकारीहरुले दुई दुई पटक कर तिरिराखेको अवस्था छ, ' अध्यक्ष सेठीले प्रश्न गर्नुभयो, 'सहकारीमा देखिएका अहिलेका विभिन्न समस्यामा महासंघको भूमिका के हो ?'

  कञ्चनपुर बहुउदेश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह भाटले एउटा सहकारीको गल्तीका कारण सबै सहकारीले सजाय भोग्नुपरेको बताउँदै महासंघले अभिभावकीय भूमिका आवश्यक भएकोमा जोड दिनुभयो । 'बागमतीको सहकारीले गल्ती गर्दा कञ्चनपुरका सहकारीहरुले सजाय भोग्नु परेको छ। ' उहाँले भन्नुभयो, 'महासंघको भूमिका के हो? महासंघले के गरिरहेको छ ?'

कार्यक्रममा सहकारी क्षेत्रको समसामयिक अवस्था, चुनौती तथा आगामी कार्यदिशाका विषयमा सहभागी वक्ताले सहकारी संस्थालाई थप व्यवस्थित र गुम्दै गएको विश्वास पुनःस्थापित हुनुपर्ने धारणा राख्नुभएको थियो । सहकारीप्रति सदस्यको विश्वास कायम गर्न सुशासन, वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरुको जोड थियो । यसैगरी, सहकारी अभियानलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा सहभागीले जोड दिएका थिए । 

भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुरका विभिन्न सहकारी संस्थाका अध्यक्ष एंव व्यवस्थापकहरुको उपस्थिति थियो ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार