Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
संकटमा सहकारीको साथ

श्री दूरदर्शी महिला कृषि सहकारी: तीजको खर्च बाढीपीडितलाई !

श्री दूरदर्शी महिला कृषि सहकारी: तीजको खर्च बाढीपीडितलाई !

काठमाडौं । बुटवलस्थित श्री दूरदर्शी महिला कृषि सहकारी संस्था लि.ले सहकारिताको ज्वलन्त उदाहरण प्रस्तुत गर्दै यस वर्षको तीज मिलन तथा दरखाने कार्यक्रम स्थगित गरी त्यसका लागि छुटयाएको रकम रसुवाका बाढीपीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । सामाजिक एवम् मानवीय उत्तरदायित्व बहन गर्दै महिला सहकारीले एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष मिना कुमारी कार्कीले बताउनुभयो ।

दुःखमा साथ नै सच्चा तीज हो भन्दै संस्थाले सामूहिक निर्णय गरी तय भइसकेको कार्यक्रम स्थगित गरी उठेको रकम पीडामा परेकाहरुलाई मल्हम लगाउन सहयोग गर्ने निधो गरेको हो ।

संस्थाका तर्फबाट अध्यक्ष कार्कीले धिप्री डटकमलाई सन्देश पठाउँदै लेख्नुभएको छ, 'तीजमा गरिने खर्चलाई जम्मा गरेर हाम्रो श्री दुरदर्शि महिला कृषि  सहकारी सस्थाले पनि रु. १११,१११ एक लाख एघार हजार एक सय एघार रुपैयाँ रसुवा का बाढीपीडितहरुका लागि सहयोग गरेको छ है । समाचर बनाइदिनु होला ताकि अरुले पनि त्यस्तो फजुल खर्चलाई यस्तैमा दिनु राम्रो हो भन्ने बुझ्नेछन्।'

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'हामीले हरेक वर्षझैँ यस वर्ष पनि तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गर्ने सम्बन्धमा सूचना जारी गरिसकेका थियौँ। तर, पछिल्लो समय रसुवा जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति हामी अत्यन्तै दुःखी र मर्माहत भएका छौँ। यस दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै श्री दूरदर्शी महिला कृषि सहकारी संस्था लि. ले यस वर्षको तीज मिलन तथा दरखाने कार्यक्रम नगर्ने निर्णय गरेको छ।

तीज कार्यक्रम आयोजना गर्दा हुने खर्चलाई उत्सवमा खर्च नगरी बाढी तथा पहिरो पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा हातेमालो गर्ने निर्णय गरेका छौँ। साथै, संस्थाको तर्फबाट रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) बाढीपीडितहरूको सहयोगका लागि प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ। यस कठिन घडीमा पीडित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, उहाँहरूको दुःखमा साथ दिनु नै यस वर्षको हाम्रो सच्चा तीज बन्न पुग्यो भन्ने विश्वास लिएका छौँ। दुःखमा साथ, विपदमा हातेमालो-यही हो हाम्रो तीजको सन्देश।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार