काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित जिल्लाहरुबाट विवरण र तथ्याङ्क संकलनको काम भैरहेको भन्दै एक सातासम्ममा यथार्य तस्बिर प्रकाशमा आउने जनाएको छ । राष्ट्रिय संकटको वर्तमान घडीमा जिम्मेवारीपूर्वक आफ्ना सबै संयन्त्रहरु परिचालित गरी सहयोग, समन्वय र सहजीकरणमा लागिपरेको दाबी महासंघको छ ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले धिप्री डटकमसँग भन्नुभयो, ‘महासंघले बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि भरमग्दुर प्रयास गरेको छ । सरकारका नियकायसँग पनि हामी नियमित सम्पर्कमा छौं । स्थानीय संघ, विषयगत संघका साथीहरुसँग समन्वय भैरहेको छ ।’
उहाँले भन्नुभयो, ‘बाढी प्रभावित ५ जिल्ला (रसुवा, धादिङ, नुवाकोट, चितवन र काभ्रेपलान्चोक) का जिल्ला सहकारी संघहरुलाई आज पत्राचार गरेर विवरण माग गरेका छौं । अहिले ध्यान इमर्जेन्सीका विषयमा भएकाले एक सातासम्ममा सबै जानकारी आइसक्ने विश्वास लिएका छौं ।’
प्रारम्भिक जानकारी अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटमा गरी सहकारीका ५ जना सदस्यको मृत्यु भएको तथा ५० जना हराइरहेको महासंघका महाप्रबन्धक बाबुकाजी थापाले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
‘अहिले प्रभावित जिल्लाहरुका सहकारी अभियानकर्मीहरुको ध्यान उद्दार, खोजी र राहत लगायत अत्यावश्यक विषयमै केन्द्रित भएकाले विवरण संकलन सेकेन्डरी विषय भएको छ, महाप्रबन्धक थापाले भन्नुभयो, ‘तैपनि स्थानीय अभियानकर्मीहरुले ५ जना सदस्यको मृत्यु तथा ५० जना बेपत्ता भएको जानकारी गराउनुभएको छ । यसैगरी, नुवाकोटका ११ वटा सहकारीका कार्यालयहरु पूर्ण रुपमा क्षति भएको त्यहाँका जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभएको छ । धादिङमा पनि केही असर पुगेको छ । चितवनमा समस्या छैन । सबै ठाउँबाट पूर्ण विवरण आउन भने केही समय लाग्नेछ ।’
महाप्रबन्धक थापाका अनुसार महासंघले प्रभावित जिल्लामा भएको मानवीय क्षति, घाइतेहरुको अवस्था र विवरण, कार्यालयहरुमा भौतिक क्षति र सहकारी सदस्यहरुको व्यवसायमा भएको क्षतिलाई केन्द्रीत गरी विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘हताहतीको संख्या, बेपत्ताहरुको संख्या बढ्ने देखिन्छ । त्यस्तै, सदस्यहरुका व्यापार व्यवसायहरु पनि निक्कै प्रभावित भएका छन् । महासंघले ५ जिल्ला संघलाई पत्राचार गरी विवरण मागेका छौं । अवस्था संवेदनशील र गम्भीर छ ।’
आर्थिक सहयोगको विवरण संकलन गरिदैं
महासंघले राष्ट्रिय विपत्तिको घडीमा सहकारीको सिद्धान्त र मर्मलाई ध्यानमा राख्दै मानवीय आधारमा सकेको सहयोग गर्न अपिल गर्दै भदौ १० गते नै अपिल जारी गरेको थियो । सोही आधारमा देशभरबाट सहकारीका प्रारम्भिक संस्थादेखि सबै तहका संघ संस्थाहरुले मूलतः आर्थिक सहयोग गरेका छन् ।
महाप्रबन्धक थापाले भन्नुभयो, ‘यसका लागि महासंघमार्फत सहयोग रकम संकलन गरेर प्रधानमन्त्री वा विभागीय मन्त्रीलाई एकमुष्ट रकम र विवरणसहित हस्तान्तरण गर्नेकि भन्ने छलफल पनि भएको थियो तर सरकारले त्यसो नगर्न र सोझैं प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आग्रह गरेसँगै सबैले आफ्नै तवरबाट गरेकाले अहिले भने तिनको डाटाबेस तयारको काम शुरु गरेका छौं ।’
सहकारी अभियानबाट राहत कोषमा हालसम्म कति योगदान भयो भन्ने विवरण संकलनको काम महासंघले थालेपनि सहयोगी सहकारीहरुले साथ सहयोग नगरेको गुनासो महाप्रबन्धक थापाले बताउनुभयो । ‘हामीले भदौ २२ गते नै रिलिज जारी जारी गरेर सहयोग गरेको विवरण र प्रमाणको कपी उपलब्ध गराउन आग्रह गरेपनि आजका मितिसम्म एउटा पनि सहकारीबाट इमेल वा अन्य कुनै माध्यमबाट आएको छैन, ’ महाप्रबन्धक थापाले गुनासो गर्नुभयो, ‘मैले व्यक्तिगत तवरबाटै विभिन्न सञ्चारमाध्यममा आएका विवरणहरु संकलन गर्न थालेको छु । अब त्यो डाटाबेस तयारको काम अघि बढाएर केही समयमै सबै विवरण सार्वजनिक गर्नेछौं ।’
महासंघ कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सबै सहकारीहरुबाट गरिएको रकम तथा जिन्सी सहयोगको सम्पूर्ण विवरण संकलन गरेर डाटाबेस तयार पारी एकमुष्ट रुपमा हामी प्रधानमन्त्री वा तालुकदार मन्त्रीलाई औपचारिक रुपमा जानकारी गराउँदछौं । यसले सहकारी अभियानको सहयोगको पनि मूल्य स्थापित हुनेछ ।’
सञ्चार असहजता तथा अभियानकर्मीहरुबाटै समन्वय अभावले गर्दा हालसम्म पनि यकिन विवरण प्राप्त गर्न कठिनाइ भएकाले महासंघले संस्थागत प्रयास अघि बढाउँदै पत्राचार गरेको र स्थानीय सहकारीकर्मीहरुसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो । महासंघकै अपिललाई आधार मानेर विषयगत केन्द्रीय संघहरु, प्रदेश तथा जिल्ला संघहरुले पनि आफू मातहतका संघ संस्थाहरुलाई सहयोगमा जुट्न आग्रह गरिसकेका छन् । सोही अनुरुप योगदान भएका समाचारहरु प्रकाशनमा आइरहेका पनि छन् ।
अन्तर्राष्ट्रिय निकायहरुसँग पनि समन्वय
महासंघले नेपाललाई परेको यो महासंकटमा साथ दिन सहकारीका अन्तर्राष्ट्रिय निकायहरु पनि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) सँग कुरा भएको छ, उहाँहरुले रसुवा बाढीको विपत्तिप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के कसरी सहयोगमा जोडिन सकिन्छ भनेर वास्तविक अवस्थाको चित्रण चाहनुभएको छ । त्यसैको प्रयास हामी गर्दैछौं । त्यसैगरी, भारतको इफ्कोको अध्यक्षले मलाई फोन गरी गहिरो सहानुभूति प्रकट गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै, नेफ्स्कूनमार्फत विश्व ऋण महासंघ (ओकू), एशियाली ऋण महासंघ (अकू) लगायतसँग पनि कुरा भएको छ । ओकूले त नेपालको विपत्तिमा सहयोग गर्न रिकभरी फन्ड नै स्थापना गरिसकेको अवस्था छ ।’
भावनासँगै क्षमतालाई आधार मानौं
यसैबीच, महासंघले विपत्तिमा सहयोग स्तुत्य प्रयास भएपनि त्यसका लागि भावनासँगै क्षमतालाई पनि आधार बनाउन संघ संस्थाहरुलाई आग्रह गरेको छ । ‘हामीले देखेका छौं, धेरैले कर्मचारीहरुको तलबबाट, सञ्चालकहरुको भत्ताबाट तथा संस्थाले यस्ता विपत्तिका लागि स्थापना गरेको कोषबाट सहयोग गरेका छन्, ’ कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘यो राम्रो अभ्यास हो । अरुको देखासिखी गरेर, भावनामात्र बहकिएर होइन संस्थागत क्षमतालाई आधार मानेर योगदान गर्न म सबैलाई आग्रह गर्दछु ।’ महाविपत्तिको यो समयमा मानवीय पक्षलाई विशेष ध्यान दिन उहाँले अनुरोध पनि गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com