काठमाडौं । कालीमाटी मुख्य कार्यालय रहेको जनधन बचत तथा ऋण सहकारी संस्था लि.ले १८औं वार्षिक साधारणसभा सदस्यहरुको बाक्लो सहभागिताबीच आज सम्पन्न गरेको छ ।
जनधन साकोसका अध्यक्ष कृष्ण चन्द्र बस्नेतको सभापतित्वमा आयोजित सभाका मुख्य व्यक्तित्व चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्यामा गिरि रहनुभएको थियो । गिरि जनधन साकोसको शाखा कार्यालय रहेको चन्द्रागिरि नगरपालिका ५ दाउरा डिपो रहेको क्षेत्रको स्थानीय जनप्रतिनिधि मात्र नभइ संस्थाको लामो समयदेखिको सदस्य पनि हुनुहुन्छ । आज जनधनको साधारणसभामा उपस्थित भई मेयर गिरिले एकातर्फ सदस्यको कर्तव्य दायित्व निर्वाह गर्नुभएको थियो भने अर्कोतर्फ नगरप्रमुखकका रुपमा संस्थालाई प्रदान गर्नुपर्ने अभिभावकत्व उपलब्ध गराउनुभएको थियो ।
यसैगरी, सभामा जनप्रतिधिनिधि तथा शैक्षिक क्षेत्रमा प्रतिष्ठा आर्जन गर्नुभएका व्यक्तित्वहरु, संस्थाका सल्लाहकारहरु, नेफ्स्कून, सहकारी बैंकका स्थानीय प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख गिरिले सहकारीहरुमा पछिल्लो समय समस्या आइरहेपनि जनधन साकोस भने सही दिशामा हिडिरहेको बताउनुभयो । उहाँले आफूले लामो समयदेखि संस्थालाई चिनेको भन्दै सदस्य र समुदायको विश्वास आर्जन गर्न जनधन साकोस सफल भएको धारणा राख्नुभयो । सदस्यहरुको आर्थिक जीवनस्तर परिवर्तनमा सहकारीहरुले विशेष ध्यान दिनुपर्ने भन्दै नगरप्रमुख गिरिले जनधन त्यही दिशामा अघि बढेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले नगरपालिकाले गर्नुपर्ने सहयोग सहजीकरण जनधन साकोसलाई उपलब्ध गराउन सधैं तयार रहेको पनि उद्घोष गर्नुभयो ।
कार्यक्रममा अन्य वक्ताहरुले पनि जनधन साकोसको संस्थागत विकासको हिस्सा बन्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै सदस्यको जीवनस्तर रुपान्तरणमा अझैं धेरै काम गर्न र सहकारीप्रतिको नकारात्मक भाष्य चिर्नमा योगदान गर्न जनधन साकोस परिवारलाई आग्रह गर्नुभयो ।
सभामा संस्थाका अध्यक्ष बस्नेतले शहरमा पनि सहकारीहरु सदस्य केन्द्रित र समुदाय आधारित रहन्छ भन्ने उदाहरण जनधन साकोसले प्रस्तुत गरेको दाबी गर्नुभयो । अध्यक्ष बस्नेतले साइडलाइन वार्ताको क्रममा धिप्री डटकमसँग भन्नुभयो, ‘नियामकीय प्रबन्धहरुको परिपालना गर्दै समयमै वार्षिक साधारणसभा सम्पन्न गरी जनधन साकोसले सदस्य, समुदाय, नियामक तथा सरोकारवालाहरु समक्ष राम्रो उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।’ अध्यक्ष बस्नेतले थप्नुभयो, ‘समग्र मुलुकको आर्थिक अवस्था नै संकुचित भएको र पछिल्लो समय त झन् रसुवाको भोटेकोशी नदीको ताण्डवले सिर्जना गरेको प्रतिकूलताहरु चिर्दै जनधन साकोसले सदस्यहरुप्रतिको उत्तरदायित्व कुशलतापूर्वक निर्वाह गरेको छ, यो नै हाम्रो सफलता हो ।’
सभामा प्रमुख व्यक्तित्व, संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरुले सम्मान तथा पुरस्कारहरु प्रदान गर्नुभएको थियो । विभिन्न विधामा संस्थाका असल सदस्यहरुसँगै उत्कृष्ट कर्मचारीहरुलाई पनि जनधन साकोसले वार्षिक साधारणसभाको अवसरमा सम्मानित गरी उत्प्रेरित गरेको हो ।
आजको वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को लागि लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक तोक्नुका साथै आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट, आर्थिक वर्ष २०८२/८३ का निर्णय तथा कार्यक्रमहरुको ध्वनिमतका साथ अनुमोदन गरेको छ । यसैगरी, संशोधित सहकारी ऐन तथा विभिन्न समयमा जारी नियामकीय व्यवस्थाहरु समेटी संशोधन गरिएको विनियम, नीति तथा कार्यविधिहरु पनि अनुमोदन गरेको छ ।
२२ करोड ६४ लाख बढी कुल सम्पत्ति रहेको जनधन साकोसको आजको सभाले सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरेको अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । २०६५ सालमा स्थापित जनधन साकोसमा हाल ७ सदस्यीय सञ्चालक समिति रहेको छ भने ११ जना कर्मचारीमध्ये १० जना महिला छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com