Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौं । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई उत्प्रेरित गर्न वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यसका लागि ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको घोषणा आज औपचारिक कार्यक्रममार्फत गरेको छ भने थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको जनाएको छ । रेक्जोनले संकलित रकमको ब्याज आम्दानीबाट पौष शुक्ल पुर्णिमामा पर्ने आफ्नो स्थापना दिवसबाट पुरस्कार थालनी गरिने जानकारी गराएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले रेक्जोनलाई आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै समन्वय र सहकार्यको समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हाम्रो धर्म, संस्कृति र मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणका लागि आफू र मन्त्रालय लागिपरेको जानकारी गराउनुभयो ।

यस्तै, महर्षि फाउन्डेशनका अध्यक्ष एवम् पूर्व राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले पनि सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई तुलनात्मक रुपमा चुनौतीहरु बढी भएपनि सत्मार्गमा हिड्दा त्यस्ता व्यवधानहरु छिचोल्न सकिने भन्दै अविचलित भएर काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले अध्यात्मलाई जीवन दर्शनका रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले पनि वैदिक सनातन धर्म, संस्कृति, परम्परा र मौलिकतामाथि पछिल्लो समयमा चौतर्फी प्रहार भैरहेको भन्दै यस क्षेत्रमा क्रियाशील पत्रकारहरुले यी विषयमा सत्यतथ्य र खोजमूलक सामाग्रीहरुमार्फत जनचेतना अभिवृद्धिमा थप सक्रियतापूवर्क कलम चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । धर्म, संस्कृति, नैतिक शिक्षा जस्ता विषय हाम्रो शिक्षा पद्धतिमै अटाउन नसकिएकोमा उहाँहरुको चिन्ता र चासो थियो ।

_DSC0096_11zon.jpg
undefined

रेक्जोन अध्यक्ष पूर्ण प्रसाद मिश्रका अनुसार समाजसेवी कोमल लामिछानेले अक्षयकोष स्थापनाका लागि सहयोग रकम उपलब्ध गराउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु लगायतबाट थप सहयोगको प्रतिबद्धता प्राप्त भएको जनाउँदै  संकलित रकमको ब्याज आम्दानीबाट अर्को वर्ष पौष शुक्ल पुर्णिमामा पर्ने रेक्जोन स्थापना दिवसमा पुरस्कार प्रदान गरिने उहाँले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

पुरस्कारको स्थापनाले धर्म, संस्कृति, अध्यात्म, ज्योतिष, आयुर्वे, पुरातत्व लगायत नेपाली मौलिकता प्रवर्धनमा काम गरिरहेका कलमजीवीहरुलाई वस्तुतग, तथ्यपरक, विश्लेषणात्मक र खोजमूलक समाचार तयार पार्न थप हौसला प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष मिश्रले भन्नुभयो, ‘हामीलाई अन्य धेरै व्यक्तिहरुबाट पनि अक्षयकोषमा सहयोगको लागि वचन प्राप्त भएकोले राम्रै रकम संकलन हुनेछ जसले गर्दा पुरस्कारको राशी पनि उल्लेख्य हुने विश्वास लिएका छौं ।’ यसैगरी उहाँले बागमती प्रदेश मन्त्रालयबाटै पनि पत्रकारहरुलाई पुरस्कृत गर्ने परम्पराको थालनी गर्न मन्त्री प्रजापतिको ध्यानाकर्षण गराउनुभयो ।

२०८१ सालमा स्थापना भएको रेक्जोनले नेपाली  मौलिकता प्रवर्धनका क्षेत्रमा कार्यरत पत्रकारहरुको हकहित संरक्षणसँगै उनीहरुको क्षमता विकासमा विभिन्न कार्य गर्दै आएको छ ।

_DSC0103_11zon.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार