Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
समाचार टिप्पणी

किन छोडिन् एलिशाले विश्व ऋण परिषद् ?

किन छोडिन् एलिशाले विश्व ऋण परिषद् ?

एजेन्सी । बचत तथा ऋण सहकारी अभियानको प्रभावशाली एवम् एक मात्र विश्वस्तरीय छाता संगठन विश्व ऋण परिषद-ओकूकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलिशा म्याककार्टर ला बोर्डले पदबाट राजीनामा दिएकी छिन् । ३ वर्ष ९ महिनामै एलिशाले ओकू छोडिन् । उनले सन् २०२१ को अगष्टदेखि सन् २०२५ को अप्रिलसम्म ओकू तथा उसको च्यारिटेबल आर्म वर्ल्ड वाइड फाउन्डेशन फर क्रेडिट युनियनन्स (डब्लुएफसीयू) को सिईओको रुपमा काम गरिन् । 

ओकूका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. ब्रायन ब्रान्चले सन् २०११ देखि सन् २०२१ सम्म १० वर्ष सिईओ समेत गरी कुल ३१ वर्ष विश्व ऋण परिषद्मा काम गरे । तर, ओकूकी प्रथम महिला सिईओ बन्ने इतिहास कायम गरेकी एलिशाले निक्कै कम समय मात्र काम गरिन् र अप्रत्याशित रुपमा छोडिन् ।  

एलिशाले ओकू छोडेको समाचार अप्रिल २२ मा सार्वजनिक भयो । यो अनपेक्षित तथा अप्रत्याशित खबर थियो । एलिसाको बहिर्गमन किन पनि अप्रत्याशित हो भने पूर्व सिईओ ब्रायनको कार्यकाल सकिनु करिब २ महिना पूर्व नै एलिसाको नियुक्ति भएको थियो । अनि सामान्यतया प्रचलन पनि त्यही नै रहँदै आएको छ ओकूको । तर, एलिशाको हकमा यस्तो केही नभई उनी एकाएक बाहिरिएको खबर सञ्चार भयो ।

ओकू अध्यक्ष माइकल लरेन्सले एलिसालाई धन्यवाद दिदैं कार्यवाहक सिईओको रुपमा पल ट्रेननले जिम्मेवारी सम्हाल्ने उल्लेख गरेका छन् । 

एलिसा बहिर्गमनको समय
ओकूले एलिसाको बहिर्गमनबारे धेरै उल्लेख नगरी परिवर्तित समयमा ओकू र यसको च्यारिटेबल आर्मलाई अगाडि बढाउन पलको नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरेको छ । एलिाशाले ओकू किन छोडिन् भनेर केही भनेको छैन । राजीनामाको कारण खुलाइएको छैन । 

अबको करिब २ महिनापछि जुलाई १४ देखि १६ सम्म स्वीडेनको राजधानी स्टकहोममा विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ आयोजना हुँदैछ । अघिल्लो वर्ष अमेरिकाको बोस्टनमा–२०२४ को सम्मेलन लगत्तै सन् २०२५ को सम्मेलन स्वीडेनमा हुने घोषणा गरिसकिएको भएपनि अहिले तयारी निक्कै अघि बढीसकेको अवस्था छ । सम्मेलनका लागि सहभागीहरुको नाम दर्ता खुलिसकेको छ । मुख्य वक्ताहरुबारे जानकारी सार्वजनिक गरिसकिएको छ । काउन्ट डाउन सुरु भैसकेको छ । यस्तो  समयमा एलिसा बाहिरिएकी छिन् । करिब ३ साता अघिको उनले सामाजिक सञ्जालमा गरेको सबैभन्दा पछिल्लो पोष्टमा पनि स्टकहोम सम्मेलनमा सहभागिताको लागि अपिल गरेका थिइन् ।

यस्तै, आउँदो अक्टोबर १६ मा ओकूकै आयोजनामा ७७ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आईसीयू डे) मनाइँदैछ । यो अर्को महत्वपूर्ण कार्यक्रम हो । त्यस्तै, सबैभन्दा महत्वपूर्ण भनेको, यो वर्ष अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि हो । ओकूले सहकारी अभियानको यही महत्वपूर्ण वर्षलाई जोड दिएर आफ्ना कार्यक्रमहरु तय गरेको अवस्था छ । विश्व सहकारी अभियानको लागि यो महत्वपूर्ण वर्ष र यसमा गर्नुपर्ने कामहरु धेरे भएको अवस्थामा ओकू सिईओ विहिन बनेको छ । 

कारणको कहानी 
पछिल्लो केही समयदेखि ओकू सिईओको रुपमा एलिशा तनावमा थिइन् । उनी नेतृत्वको ओकूले पछिल्लो समय चालेका कदमहरु र प्रतिकदमहरुबाट यो बुझ्न त्यति असहज हुँदैन । सामान्तयताः आफ्ना गतिविधिहरुमात्र सार्वजनिक गर्ने ओकूले समस्या र संकटहरु बढेको समाचार र गतिविधिका श्रृङ्खलालाई 'क्रिश्टल क्लियर' तरिकाले प्रकाशन प्रशारण गर्दै आएको थियो । ओकूलाई नजिकबाट चिन्ने र बिश्व क्रेडिट युनियनबारे चेत राख्नेहरुले यो बुझ्दै आएका थिए । र, त्यसको अन्तिम पटाक्षेपको रुपमा सिईओ एलिशाको बहिर्गमन देखिएको छ । 

सन् २०२५ ओकूका लागि फापेको छैन । गएको जनवरी २० मा अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको औपचारिक सुरुवात भए पछि ओकूका दिनहरु नराम्रा हुन थालेका हुन् ।  सरकार परिवर्तनको प्रभाव वा अझ भनौं प्रतिकूल प्रभावबाट अमेरिकाका अन्य क्षेत्र जस्तै क्रेडिट युनियन क्षेत्र पनि अछुत रहन सकेन । अनि, राष्ट्रपतिमा ट्रम्प भित्रिनु नै ओकूबाट एलिशा बाहिरिनुको मुख्य कारण पनि बन्यो ।  

राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले फेब्रुअरीमा गरेको एक्जिक्युटिभ अर्डरमा अमेरिकी सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय निकाय-युएसएड बन्द गर्ने समावेश थियो । यूएसएडलाई एक आपराधिक संगठन भन्दै यसका गतिविधि बन्द गर्ने घोषणा ओकूका लागि छाँगाबाट खसेजस्तै भयो । किनकि ओकूको मुख्य साझेदार नै युएसएड थियो । आर्थिक रुपमा ओकूका क्रियाकलापहरु सञ्चालनमा उसकै हिस्सा सबैभन्दा ठूलो थियो । ट्रम्पको उक्त घोषणालाई ओकूले ‘सिभियर फाइनान्सियल ब्लो’ भनी टीप्पणी गरेको थियो । ओकूले युएसएडसँग मिलेर पेरु, इक्वेडर, ग्वाटेमाला, भेनेजुएला, बुक्रिनो फासो, केन्या, सेनेगल लगायत ८० वटा मुलुककमा काम गर्दै आएको थियो । पछिल्लो सरकारी नीतिका कारण ओकूले ती परियोजनामा काम गर्ने आधा बढी कर्मचारी कटौती गर्नुपरेको थियो । बीचमा ओकूले वक्तव्य जारी गरी जतिनै आर्थिक संकट आएपनि सबै कर्मचारीहरु एक भएर सहयोग गर्ने तथा कटौती नगर्ने जनाएपनि परिस्थिति त्यस अनुरुप अघि बढेन । 

त्यसपछि, अमेरिकामै बसेर काम गर्ने कर्मचारीहरुलाई पनि ओकूले पार्ट-टाइमरमा परिणत गरेको थियो । ओकूकी सिईओ एलिशाले नवनियुक्त विदेश मन्त्री मार्को रुवियोलाई फेब्रुअरी ३ मा खुला पत्र लेख्दै युएसएड बन्द गरिदा त्यसले ओकूमार्फत विश्व समुदायमा पर्ने असरबारे पुनर्विचारको आग्रह गरेकी थिइन् । तर, त्यसको सुनुवाई भएन । त्यसले उनको तनाव झन् बढायो ।

त्यसपछि ओकूका सम्पूर्ण कर्मचारीले प्रत्येक महिनाको १ दिन तलब नलिने गरी काम गर्ने घोषणा गरे । तर, त्यो थेगिने अवस्थामा थिएन । ओकूको च्यारिटेबल आर्म डब्लुएफसीयूले ‘र्याली द मुभमेन्ट’ अभियाननै सञ्चालन गरी अनुदान तथा सहयोगको औपचारिक अपिल गर्यो । ‘एउटा साथीले अर्को साथीलाई बीच बाटोमै अलपत्र छोड्दैन, क्रेडिट युनियनहरुले पनि आफ्ना साथीलाई त्यसै अलपत्र छोड्दैनन्, ‘समस्या बढ्दै गएपछि उनले एउटा कार्यक्रममा भनिन्, ‘विश्व ऋण परिषद्को रुपमा हाम्रा पनि विश्वभर साथीहरु छन् जसलाई हामी अलपत्र छोड्न चाहदैनौं । त्यसैले वित्तीय साक्षरता, समावेशितासँगै क्रेडिट युनियनहरुमार्फत पिधमा परेका समुदायका व्यक्तिहरुको सामाजिक, आर्थिक उत्थानको अभियानमा सहयोग गर्न म सबैलाई आग्रह गर्छु ।’

तर, सोचेजस्तो सहयोग नआएपछि एलिशा थप तनावमा थिइन् । जसले गर्दा धेरै कर्मचारी कटौती गर्नैपर्यो । यो विषय उनले सीयू टाइम्ससँगको अन्तर्वार्तामा पनि उल्लेख गरेकि छिन् । यी सबै कारणले पनि व्यवस्थापन प्रमुखकको रुपमा जिम्मेवारी लिएकी एलिशामाथि नैतिक दबाब बढेको थियो । 

थिएन एक मात्र कारण
अर्को भनेको, युक्रेनमाथि रुसले अन्याय गरेको भन्दै ओकूले रुस–युक्रेन युद्धबाट समस्यामा परेको युक्रेनी क्रेडिट युनियन तथा तिनका सदस्यहरुको पक्षमा खुलेरै सहयोग तथा बहसपैरवी गरेको थियो ।युएसएडसँगको साझेदारीमा ओकूले त्यहाँ ‘ग्रो’ नामक साझेदारी कार्यक्रम पनि सञ्चालन गरेको थियो । साथै उसले युद्धबाट बिस्थापित युक्रेनी क्रेडिट युनियनहरुको सहयोगको लागि कोष नै खडा गरेर सहयोगको लागि विश्वभरका क्रेडिट युनियनहरुलाई अनुरोध समेत गरेको थियो ।

राष्ट्रपति निर्वाचित भए लगत्तै डोनाल्ड ट्रम्पले रुससँग बढाएको सानिध्यता, युक्रेनप्रति देखाएको व्यवहार र खासगरी युक्रेनी राष्ट्रपति जेलेनेस्कीलाई गरेको सार्वजनिक अपमान जस्ता घटनाक्रम ओकूको लागि अनपेक्षित बन्यो । त्यसमाथि एलिशाले युक्रेन र पोल्याण्डको भ्रमणनै गरेर समर्थन जनाएकी थिइन् । उनले युक्रेनमा क्रेडिट युयिनन कानुनमा संशोधनको लागि ओकूको तर्फबाट बहसपैरवी पनि गरेकी थिइन् । युक्रेनमा सम्बन्धमा ओकू बढीनै भोकल देखिन्थ्यो । र, त्यसको केन्द्रमा एलिशा थिइन ।

फेब्रुअरी ११ मा उनले अमेरिकामा एउटा कार्यक्रममा भनेकी थिइन्, ‘हामी एकदमै संकटपूर्ण अवस्थामा छौं । तर, हामी हार मान्दैनौं । हामी हाम्रा सदस्यहरुको सेवालाई रोक्दैनौं ।’ तर, परिस्थिति अनुकूल बन्ने भन्दा पनि प्रतिकूल बन्दै गएपछि उनले नैतिकताको आधारमा जिम्मेवारी लिदैं छोड्नुपर्ने अवस्था सृजना भयो ।

त्यस्तै, मार्च २८ मा एलिशाले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै सम्पूर्ण वैदेशिक सहायता फ्रिज गर्ने ट्रम्प प्रशासनको नीतिका कारण ओकूका सबै वैदेशिक परियोजनाहरु बन्द गर्नुपरेको बताएकी छिन् ।  यसले ओकूलाई एकदमै ठूलो वित्तीय चोट लागेको उल्लेख गरेकी थिइन् । साथै उनले त्यो लामो पोष्टको अन्त्यमा ओकूलाई सहयोग गर्न सबैसँग आग्रह समेत गरेकी थिइन् । ट्रम्प शासनको पुनरावृत्ति केवल अमेरिका वा ओकूको लागि मात्र नभई विश्वभरका क्रेडिट युनियनहरुको लागि समेत संकटपूर्ण अवस्था भएको ओकूले औपचारिक रुपमा बारम्बार जनाउँदै आएको थियो  ।

त्यसको ताजा प्रमाण भनेको कहिल्यै अनावश्यक राजनीतिक हस्तक्षेप नहुने र सहमतिमै सञ्चालन हुँदै आएको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशन (एनसीयूए) का दुई डेमोक्रेटिक पार्टी आवद्ध दुई सञ्चालकलाई राष्ट्रपति ट्रम्पले बर्खास्त गरे । यसले त्यहाँ अस्थिरता पैदा गरेको समाचार प्रकाशमा आएको छ र बर्खास्त भएका दुबै जनाले पुनःस्थापनाको मागसहित संघीय अदालतमा मुद्दा पनि दायर गरेका छन् ।

फेरि फर्कौं एलिशातर्फ । उनलाई धक्का लागेको अर्को कारण बहस पैरवीले अपेक्षाकृत नतिजा निकाल्न नसक्नु पनि हो । अमेकिासँगै अष्ट्रेलिया र पोल्याण्डमा पनि क्रेडिट युनियन अभियान राज्यले थोपारेको कर नीतिका कारण प्रभावित भएको अवस्था छ । केही वर्षअघि सम्म ट्याक्स फ्रि सुविधा उपलब्ध गराएको पोल्याण्डका क्रेडिट युनियनहरुलाई अहिले बैंक वित्तीय संस्थाहरुसरह कर लगाइएको छ । यस्तै अवस्थामा अष्ट्रेलियामा पनि रहेको छ । उनीहरुले ‘डोन्ट ट्याक्स माई क्रेडिट युनियन’ भनेर अभियाननै चलाएका छन् । मार्च ५ मा अमेरिकाज् क्रेडिट युनियन्स २०२५ गर्भमेन्ट अफेयर्स कन्फरेन्श (जीएसी) मा नै एलिशाले संकटको छनक दिइसकेकि थिइन् । उनले भनेकि थिइन्  ‘इट्स अ टाइम अफ क्राइसिस फर ओकू र ‘अ इयर अफ अनसर्टेनिटी ।’ 

अनुभवका हिसाबले एलिशा अपरिपक्व होइनन् । अन्तर्राष्ट्रिय वित्तीय समावेशीकरण र माइक्रोफाइनेस क्षेत्रमा २० वर्षे कार्यानुभव उनीसँग थियो । अनि, फ्रान्स, बेनिन, अर्मेनिया, टर्की तथा जिम्बाबेमा समेत बसेर काम गरेकी उनले ७० मुलुकको बचत ऋण सहकारी संघ संस्थाहरुको भ्रमण गरेकी थिइन् । जसमध्ये नेपाल पनि थियो । सन् २०२३ मा एशियन क्रेडिट युनियन फोरममा सहभागी हुने सिलसिलामा नेपाल आएकी एलिशाले यहाँको बचत तथा ऋण सहकारी अभियानबारे जानकारी लिदै केही सुझावहरु समेत प्रस्तुत गरेकि थिइन् । तर, ती सबैले उनलाई ओकूको जिम्मेबारीको अवधि केही वर्ष थप्न मद्दत गर्न सकेनन् । र, उनी आफूले खोजेको र चाहेका कामहरु गर्न नसक्ने परिस्थिति सृजना भएपछि सुटुक्क साइड लागिन् । 

रणनीतिक मझदारमा ओकू (स्ट्रटेजिक क्रसरोड)
ओकूले अहिले आफू रणनीतिक मझधारमा रहेको जनाएको छ । बहसपैरवी तथा व्यावसायिक क्रियाकलापसम्बन्धी आफ्ना प्राथमिक काममा आफूलाई पुनः ध्यान फर्काउनुपर्ने अवस्थामा ओकूले नयाँ स्थायी सिईओको खोजी कार्यलाई अघि बढाएको जनाएको छ । पछिल्ला विकसित घटनाक्रमसँग जुध्दै रणनीतिक हिसाबले साहसिक नेतृत्व गर्न सक्ने सिईओको खोजीका लागि ओकू सञ्चालक समिति प्रतिवद्ध रहेको उसले जनाएको छ । ओकूको बलियो बिरासतलाई बचाउँदै यसको विकास र प्रगतिको अर्को चरणतर्फ सफलतापूर्वक डोहोर्याउन सक्ने सिईओ खोज्ने उसले जनाएको छ ।

नयाँ सिईओको अनुपस्थितिमा पल ट्रेइननले ओकू तथा उसको च्यारिटेबल आर्म वल्ड वाइड फाउन्डेशन फर क्रेडिट युनियन्सको कार्यवाहक सिईओको जिम्मेवारी सम्हाल्नेछन् । ओकूको चिफ अपरेटिङ अफिसर ९सहायक कार्यकारी अधिकृत० को रुपमा सात वर्ष काम गरी सन् २०२३ मा अवकाश लिएका ट्रेइननसँग ओकूको ध्येय, लक्ष्य र कार्यपद्धतिबारे गहिरो जानकारी रहेको छ । सोही कारण अहिलेको संक्रमणकालिन अवस्थामा ओकू नेतृत्व गर्न उनी सक्षम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार