Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता

रणनीतिक सोच विकासका लागि चेस प्रतियोगता गर्दै महासंघ, तयारी अन्तिम चरणमा

रणनीतिक सोच विकासका लागि चेस प्रतियोगता गर्दै महासंघ, तयारी अन्तिम चरणमा

‘मानिसको जीवन चेस खेल सरह हो, विजय प्राप्तिका लागि रणनीतिक सोच सहितको चाल चल्नैपर्छ । त्यसैले जीवनलाई चेसम्याच पनि भनिन्छ ।’ चेसका सम्बन्धमा यो प्रचलित भनाइ हो । नेपालीमा बुद्धिचाल भनिने चेसमार्फत जीवनका विभिन्न कठिनाईहरुको सामना कसरी गर्ने, रणनीतिक सोच कसरी विकास गर्ने,  बुद्धिमतापूर्ण निर्णयमा कसरी पुग्ने, धैय र आत्मसंयम कसरी अपनाउने अनि यी सबै विकास गरी सफलताको स्वाद कसरी चाख्ने भन्ने कला विकास हुन्छ । रस बस्दै जाँदा पारंगत भइन्छ । त्यसैले यो तीक्ष्णता अभिवृद्धि गर्ने खेलसँग मुलुकको सहकारी अभियानको पनि स्वाद बस्दैछ ।

सोही कारण मुलुकको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालले बैशाख २५ र २६ गते ललितपुरमा ‘दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्दैछ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

तयारी अन्तिम चरणमा

प्रतियोगिताको तयारी जोडतोडका साथ चलिरहेको नेपाल बुद्धिचाल महासंघका प्रवक्ता एवम् सहकारीकर्मी राजु ताम्राकारले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘आजसम्म १ सय जनाको नाम दर्ता भैसकेको छ । हामीले १ सय ५० जनाको टार्गेट राखेका छौं । समयसीमा भित्र त्यो संख्या पुग्ने विश्वास गरेका छौं । अन्य प्राविधिक र व्यवस्थापकीय कामहरु पनि भैरहको छ ।’

प्रतियोगितामा नेशनल च्याम्पियन रुपेश जैसवाल, महिला च्याम्पियन सिन्दीरा जोशी, नेशनल बी च्याम्पियन विनीता कपालीसँगै ८ टप महिला खेलाडीहरु सहभागी हुने पक्का भैसकको र छिमेकी भारतबाट पनि ५ जना खेलाडीहरु आउने ताम्राकारले उल्लेख गर्नुभयो । उहाँले ७७ वटै जिल्लाको सहभागिता रहने दाबी गर्नुभयो । 

अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा खुल्ला प्रतियोगिता भएका कारण स्वदेशी मात्र नभई विदेशीहरुका लागि सहभागिताको अवसर प्रदान गरिएको उहाँले बताउनुभयो । नेपालका प्रायः सबै राष्ट्रिय खेलाडीहरु र सहकारी, विमा लगायतका क्षेत्रबाट पनि सहभागिता रहने कार्यक्रम अत्यन्तै रोचक हुने विश्वास महासंघले लिएको छ । बिहान १० बजेदेखि शुरु हुने खेल बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको समापनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथि रहनुहुनेछ भने उद्घाटन राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले गर्नुहुने महासंघले जनाएको छ ।

के हो र्यापिड फिडे ?

छैटौँ शताब्दीमा भारतबाट सुरु चेस नेपालमा पनि लोकप्रिय छ । यसलाई हिन्दीमा शतरञ्ज भन्छन् । खेलाडीले बुद्धि लगाएर खेलिने यो खेल संसारभर प्रख्यात छ । चेस प्रतियोगिताका ३ वटा विधामध्ये र्यापिड फिडेलाई क्रिकेटको वन डे जस्तो मानिन्छ ।

अन्य दुई विधाहरुमा ३ मिनेटको ब्लिट्ज र ६० मिनेटको क्लासिकल भन्ने हुन्छ भने र्‍यापिड फिडे १५ मिनेटको हुन्छ । यो समयसिमा भनेको सामान्यता एक चाल चल्नको लागि उपलब्ध हुने समय हो । तीन विधामध्ये क्लासिकललाई पुरानो शैलीको खेल मानिन्छ जुन एउटा खेल साधारणतया १० घन्टामा सकिसक्नुपर्ने हुन्छ । अर्कोतर्फ र्‍यापिडमा भने क्लासिकल भन्दा कम समय उपलब्ध हुन्छ । र्‍यापिड फिडे करिब १ घन्टामा सकिन्छ । मध्यम गतिमा खेलिने र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छ भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ।

९ चरणमा हुने प्रतियोगितामा समान अंक जोड्नेहरुबीच स्पर्धा अघि बढ्ने र अन्त्यमा सबैभन्दा बढी अंक जोड्ने व्यक्ति नै विजयी हुने गर्दछन् । सहभागी सबैजनालाई एकैपटक खेलाइने यो खेल स्विस म्यानेजमेन्ट सफ्टवेयरबाट सञ्चालन गरिने  ताम्राकारले बताउनुभयो ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को लेखा सुपरिवेक्षण समितिका पूर्व संयोजक समेत रहनुभएका ताम्राकार भन्नुहुन्छ, ‘चेस खेललाई दिमागको जिम्न्यास्टिक भनिन्छ । यसलाई आर्ट अफ अन्यालिसिस पनि भनिन्छ । चेस लघु जीवन हो । त्यही लघु जीवन बोधको अवसर पनि हो यो प्रतियोगिता ।’ सहकारीकर्मीहरुमा पनि यो बौद्धिक खेलप्रति रुचि बढ्दै गएको बताउनुभयो ।  

२ वर्ष अघि पहिलो संस्करणको सफलताबाट उत्साहित भएर यो दोस्रो संस्करण आयोजना गरिएको हो । प्रवक्ता ताम्राकारले भन्नुभयो, ‘हामी यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर गर्दै लानेछौं । सहकारी अभियानसँगको साथले पनि हामी खुसी छौं ।’

२०८० सालको जेठ १५ गते सम्पन्न भएको पहिलो संस्करणमा काठमाडौंका युवा खेलाडी सुदीप तामाङ विजयी भएका थिए । उक्त संस्करणमा १११ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स रहेको छ ।

पुरस्कार राशिमा वृद्धि

यस पटक प्रतियोगिताको पुरस्कार राशिमा पनि उल्लेखनीय वृद्धि गरिएको ताम्राकारले जानकारी गराउनुभयो । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको जीवन बीमा पाउनेछन् ।

प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्रमशः तीन महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । पहिलो हुनेले ७ हजार, दोस्रोले ६हजार र तेस्रो हुने महलि ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट अनरेटेड (रेटिङ नभएका खेलाडी), उत्कृष्ट यु–१६ (१६ वर्षमुनी), यु–१८ (१८ वर्षमुनी) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडीलगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

'बुद्धिको खेलमार्फत सहकार्य र नेतृत्वको प्रवर्द्धन' को यो प्रयासमा हातेमालो गर्न महासंघले सबै सहकारीकर्मीहरुलाई आग्रह गरेको छ ।

495056602_1919105992247616_2817632125221857825_n (1).jpg
undefined
493967341_695585003228870_6481762821030816736_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार