Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता

युवाहरुको 'भ्वाइस' पनि अब सहकारी क्षेत्रमा सुनिनुपर्छ  : महासंघ अध्यक्ष ओमदेवी मल्ल

युवाहरुको 'भ्वाइस' पनि अब सहकारी क्षेत्रमा सुनिनुपर्छ  : महासंघ अध्यक्ष ओमदेवी मल्ल

आजको यो चेस प्रतियोतिगामा देखिएको उत्साहजनक युवा सहभागिताले मलाई एकदम खुसी लागेको छ । महासंघले यस्तो किसिमको चेस प्रतियोगिता दोस्रो पटक आयोजना गरेको हो । अघिल्लो पटक पनि महासंघको यही हलमा हामीले चेस प्रतियोगिता गरेका थियौं । त्यसमा पनि सहभागिता उत्साहजनक थियो । यसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रायोजन रहेको छ । साथै प्रभु लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईजीले आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने वचनबद्धता व्यक्त गर्नुभएको छ । यसले पनि महासंघलाई थप उत्साहित तुल्याएको छ ।

खेलले मानिसलाई स्वस्थ्य र खुसी राख्छ । जो व्यक्ति स्वस्थ्य र खुसी हुन्छ, त्यही व्यक्तिले नै जीन्दगीमा प्रगति गर्दछ । यसमा कसैको दुईमत हुँदैन भन्ने लाग्छ । त्यसैकारण आज सहभागी हुने तपाईहरु सबै राम्रो काममा लाग्नुभएको छ । यद्यपि, आज महिला सहभागिता अलि कम भयो कि भन्ने लागेको छ । भोलिका दिनमा यो बढ्ने अपेक्षा गरेको छु । खेल क्षेत्रका लागि सरकारको सहयोग अपुग छ । बजेट अभाव छ खेलकूदको विकास र प्रवर्धनका लागि । हुनत सबै क्षेत्रमा सरकारको सहयोग कम छ । मुलुकको आर्थिक अवस्था पनि त्यत्ति सुखद छैन । भविष्यमा यसमा सुधार आउने विश्वास गर्न सकिन्छ ।

मलाई पनि चेस मनपर्छ । जसले राम्रो चेस खेल्न सक्छ, त्यसले अफिस पनि राम्रोसँग चलाउन सक्छ । राम्रो व्यवस्थापक बन्न सक्छ । व्यावसायिकता विकास गर्न सक्दछ । चेसमा चालिने गोटीले राजनीतिलाई पनि ठूलो सपोर्ट गर्छ । चेसमा जसले राम्रोसँग चाल चल्न सक्छ, त्यसले राजनीतिमा पनि आफूलाई अग्रस्थानमा पुर्याउन सक्छ । वेस्ट चेस प्लेयर वेस्ट लिडरको रुपमा स्थापित हुन्छ भन्ने मलाई लाग्छ । तरपनि, जित्नु मात्रै ठूलो कुरा होइन । जित्नु भनेको त उत्कृष्ट नै भैहाल्यो । नभएपनि सहभागिता जनाउनु र सिक्नुनै मुख्य कुरा हो । म पुनः सबैलाई शुभकामना भन्न चाहन्छु । 

अर्को कुरा, आजको प्रतियोगितालाई प्रभु लाईफ इन्स्योरेन्स अर्थात् बीमाले पनि सहयोग गरेको छ । यसको व्यावासयिक अर्थ मात्र छैन । चेसले सधै खेलाडीलाई सुरक्षितसाथ अघि बढ् भन्छ । बीमाले पनि व्यक्तिलाई सुरक्षित साथ अघि बढ्न प्रेरित गर्दछ । जसरी चेसमा गलत चाल चल्दा समस्या आइपर्न सक्छ भनेर एकदमै ध्यान दिएर सुरक्षित तवरले खेलिन्छ,  त्यसैगरी जीवनमा पनि अनेक समस्या आइपर्छ भनेर हामी बीमा गर्छौं । जसरी चेसले खेलमा कसरी सुरक्षित रुपमा चाल चल्ने, अघि बढ्ने भन्ने कुरा सिकाउँदछ, त्यसैगरी हाम्रो भविष्यलाई आर्थिक सामाजिक रुपमा कसरी सुरक्षित पार्ने भनेर बीमाले सिकाउँछ । त्यसै कारणले मलाई पनि चेस मनपर्छ । आज सहभागी सबैलाई शुभकामना पनि दिन चाहन्छु । 

जहाँसम्म सहकारीको विषय छ, सहकारी अभियानले अहिले युवालाई साथ लिएर अघि बढ भनिरहेको छ । यो नेपालको परिप्रेक्ष्यमा मात्र होइन विश्व सहकारी अभियानको नै आशय यही छ । म अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को पनि ग्लोबल बोर्ड सदस्य भएर काम गरिसकेका व्यक्ति हो । आईसीएले आफ्ना सबै सदस्य राष्ट्रको सहकारी अभियानलाई युवा कमिटी बनाएर अघि बढ भनेको छ । त्यसैकारण आईसीएको सदस्य राष्ट्रिय सहकारी महासंघले पनि प्रारम्भिक संस्थादेखि जिल्ला, प्रदेश र विषयगत केन्द्रीय संघहरुमा पनि युवा उपसमिति बनाउन प्रेरित गरेको छ । महासंघ आफैले पनि युवा उपसमिति गठन गरेको छ । यसको मुख्य उद्देश्य भनेकै युवाहरुको आवाज पनि अब सहकारीमा प्रतिबिम्वित हुनुपर्छ भन्ने हो । युवाहरुको भ्वाइस पनि सहकारी क्षेत्रमा सुनिनुपर्छ भन्ने मान्यता विश्व सहकारी अभियानसँगै नेपाली सहकारी अभियानको पनि हो ।

नेपालको सन्दर्भमा युवाहरुले मात्र सहकारी स्थापना गर्ने हो भने १५ जनाले मात्र भएपनि गठन गर्न सकिन्छ । युवालाई सहकारीमा पनि भविष्य छ है, सहकारीमा प्रवेश गर्नुहोस्, सहकारी अभियानसँग हातेमालो गर्नुहोस् भनेर ऐनमै यस्तो प्रबन्ध गरिएको हो । सहकारीले युवालाई समेटेर अघि बढ्ने योजना बनाएको छ । सहकारी अभियानले युवालाई पहिलो प्राथमिकतामा राखेको छ । 

(संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष–२०२५’ को अवसरमा राष्ट्रिय सहकारी महासंघले आज र भोलिका लागि आयोजना गरेको ‘दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता’ को उद्घाटन कार्यक्रममा आज महासंघ अध्यक्ष मल्लले राख्नुभएको विचारको सम्पादित अंश )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार