Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारी क्षेत्रका महिला कर्मचारीका कुरा

महिलाहरु डराउँछन् तर काम गर्न होइन, बेइमानी गर्न

महिलाहरु डराउँछन् तर काम गर्न होइन, बेइमानी गर्न

(सहकारी अभियन्ताहरु, सञ्चालकहरु तथा उच्च व्यवस्थापनमा रहेकाहरुको विचार, धारणा र अन्तर्वार्ताहरुसँगै धिप्री डट कमले यो क्षेत्रमा विभिन्न भूमिका र जिम्मेवारी बोक्नुभएका कर्मशील महिला कर्मचारीहरुको पनि आवाज समेट्ने जमर्को गरेको छ । सधै फिल्डमा वा कार्यालयको काममा खटिने तथा संस्थागत विकासमा अहोरात्र लाग्ने अन्य थुप्रै महिलाहरुका आवाज, विचार, अभिमत र कथाव्यथाहरुले सहकारी सञ्चारमाध्यमहरुमा समेत स्थान पाउन नसकिरहेको परिप्रेक्ष्यमा हामीले क्रमशः उहाँहरुको विचारलाई स्थान दिने जमर्को गरेका छौं । सोही सन्दर्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनमा करिब ७ वर्षदेखि अधिकृतको रुपमा कार्यरत कल्पना पराजुलीसँगको रोचक कुराकानीबाट यो अभियान प्रारम्भ गरेका छौं ।)

एउटा महिलालाई सहकारीको केन्द्रीय निकायमा जागिर खान कति कठिन छ ?
केन्द्रीय निकायमा जागीर खानु सबैभन्दा कठिन भनेको समय व्यवस्थापन गर्नु हो । अर्को भनेको जागिर खान आवश्यक दक्षता हासिल गरी त्यसलाई कार्यान्वयन गराउने पक्ष चाहि कठिन हुन सक्छ । तर महिला भएकोले नै केन्द्रीय निकायमा जागिर खान चाहि कठिन छैन ।  

अफिसमा सामान्यतया तपाईको दैनिकी कसरी बित्छ ? फिल्ड इन्चार्जको रुपमा तपाईको नियमित काम के के हुन्छन् ?
सामान्यतया भोली के के गर्ने भन्ने योजना अघिल्लो दिन नै बनाइएको हुन्छ । तर कहिलेकाहीं अघिल्लो दिन बनाएको योजनाले पनि खासै काम गर्दैन किनभने त्यो योजना भन्दा बढी आकस्मिक र तुरुन्तै गर्नुपर्ने कामहरु आइपर्छन् । त्यस्तो बेलामा कुन काम बढी महत्वपूर्ण र तुरुन्तै गर्नुपर्ने हुन्छ त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छौं । 

सदस्य सेवा कार्यालय इन्चार्जको रुपमा मेरो दैनिकी कार्यालयको आन्तरिक व्यवस्थापनदेखि लिएर संस्थाका प्रतिनिधिहरुसँगको भेटघाटमा नै बित्छ । हाल हामीले कर्जा असूलीलाई विशेष प्राथमिकता दिएर काम गरिराखेका छौं । कार्यालयको आन्तरिक व्यवस्थापनमा खासै धेरै समय खर्चिन्न किनभने हाम्रो कार्यालयमा भैपरी आउने कार्यहरु व्यवस्थापन गर्न सक्ने सक्षम जनशक्ति छ, त्यसैले मैले त्यस्तो काममा खासै समय खर्चिन पर्दैन ।

अर्को कुरा सबैलाई आफ्ना आफ्ना क्षेत्रका जिम्मेवारी दिइएकोले कुन काम कसले गर्ने भन्नेमा लगभग सबैजना प्रस्ट नै हुनुहुन्छ । सेवा केन्द्र प्रमुखको रुपमा गरिने काम भनेको कार्यालय, एवं सदस्य संस्था र सरोकारवालाहरुसँग आवश्यकता बमोजिम समन्वय गर्ने, जनसम्पर्क व्यवस्थापन गर्ने, आवश्यकता बमोजिम सहजीकरण गर्ने, आफ्नो अन्तर्गतको कार्यालयको सम्पूर्ण जिम्मेवारी लिने नै हुन् । 

काममा केही अफ्ठेरो आइपर्यो भने कसरी समाधान गर्नुहुन्छ ?
अफ्ठेरोको प्रकृति हेरेर हुन्छ । कतिपय अफ्ठेराहरु मैले हेर्नैपर्दैन । मेरा अन्तर्गतका कर्मचारीले सुल्झाउन सक्ने अफ्ठेरो उहाँहरुलाई नै सुल्झाउन लगाउँछु । मेरो तहबाट सुल्झाउन सक्ने आफै सुल्झाउँछु । कुनै कुनै अफ्ठेराहरु सुल्झाउन जनसम्पर्कले पनि काम गर्छ । कुनै कुनै मेरो तह, क्षमता र हकभन्दा माथिका अफ्ठेराहरु सिनियरहरुसँग समन्वय गरेर समाधान गर्छु । 

फिल्ड अफिसमा ‘टीम वर्क’ कस्तो छ ? ‘टिम स्पिरिट’लाई कसरी ‘मेन्टेन’ गर्नुहुन्छ ?
मेरो अफिसमा साच्चै नै एकदम राम्रो टीम वर्क छ । मलाई कुनै कुराको बारेमा जानकारी भएन वा जानिनँ भने मलाई यो कुरा थाहा छैन है भन्न हिचकिचाउँदिन । अर्को कुरा फिल्डमा साच्चै नै टीमवर्कले मात्र काम गर्छ । सामान्यतया इन्चार्जहरुको सरुवा भइराखेको हुन्छ । त्यो समयमा त्यो फिल्ड कार्यालय र क्षेत्रको बारेमा अलि पुरानो कर्मचारीलाई नै जानकारी हुने हुँदा सबैजनालाई एक अर्काको सहयोग र टीमवर्कको आवश्यकता पर्दछ ।

म टीमवर्कमा विश्वास गर्छु र कामको सिलसिलामा म हैन हामी भन्न रुचाउँछु । हाम्रो टीममा आजको दिनमा के कस्ता प्रगतिहरु भए, योजना गरेबमोजिम काम भयो कि भएन भन्ने कुरा शेयर हुन्छ । इन्चार्जलाई केन्द्रीय कार्यालयबाट धेरै जानकारीहरु प्राप्त हुने भएकोले सबैजना कर्मचारीलाई जानकारी हुनपर्छ भनेर सबै कुरा समयमा नै शेयर गर्छु । म काम गर्ने सिलसिलामा राम्रो काम हुँदा प्रशंसित हुनुपर्छ भन्नेमा पनि विश्वास गर्छु ।

टीमवर्कका रहेर काम गर्ने र कार्यालयको कामलाई सहज बनाउने मेरा अन्तर्गतका कर्मचारीहरुलाई म साच्चै नै खुलेर प्रशंसा पनि गर्छु । कुनै तालिममा अथवा कार्यक्रममा गएर जानेका कुराहरु सबैसँग शेयर गर्छु । कहिलेकाही आफ्ना अन्तर्गतका कर्मचारीहरुको जिम्मेवारी लिनुपर्ने हुन्छ, कहिल संरक्षण गर्नुपर्ने हुन्छ अनि कतिपय ठाउँमा उत्प्रेरित गर्नुपर्ने हुन्छ । योजना अनुरुप काम हुँदा टीममा सेलेब्रेट गर्छौं । आवश्यकता अनुसार यो सबै पद्धति अनुसरण गरी म ‘टीम स्पिरिट मेन्टेन’ गर्छु । 

कहिलेकाही फिल्ड अफिसका साथीहरुसँग ठाकठुक भयो भने त्यसलाई कसरी सम्हाल्नुहुन्छ ?
फिल्ड अफिसका साथीहरुसँग खासै ठाकठुक त परेको छैन । ठाकठूक पर्ने मुख्य दुइवटा कारण हुन्छ, यौटा गल्ती गरेर अर्को असमझदारी भएर । सामान्य ठाकठूकले त खासै फरक नपार्ला तर कहिलेकाही सामान्य ठाकठूकले कार्यसम्पादनमा नै बाधा पार्ला जस्तो भयो भने चाहिं समाधानतिर लाग्नुपर्छ । मेरो विचारमा यदि कसैको गल्ती हो भने गल्ती कसको हो पत्ता लगाएर छलफल गरेर गल्ती गर्नेलाई महसूस गराउनुपर्यो र यदि असमझदारी भयो भने त्यो पनि कारण पत्ता लगाएर समाधान गर्न सकिन्छ जस्तो लाग्छ ।  

एउटा राम्रो फिल्ड अफिस कसरी सञ्चालन गर्न सकिन्छ ?
एउटा फिल्ड अफिस (मुख्य कार्यालयको हकमा पनि यही नै हो भन्ने लाग्छ) राम्रोसँग सञ्चालन गर्न लीड गर्न सक्ने क्षमता भएको टीम लिडर र राम्रो टीमवर्क चाहिन्छ ।  टीम लिडर र टीमवर्क विना फिल्ड अफिस राम्रोसँग सञ्चालन गर्न सकिंदैन ।  अर्को कुरा सबै कामको जिम्मेवार व्यक्ति तोकिनुपर्दछ र जिम्मेवार प्राप्त कर्मचारीले आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्नुपर्छ । 

कर्मचारीहरुमा कर्मचारीकै रुपमा आवश्यक पर्ने गुणहरु पनि त चाहि नै हाल्यो । जस्तै आफ्नो काम सम्पादन गर्नको लागि आवश्यक प्रशासनिक एवं प्राविधिक क्षमता, दक्षता, आवश्यकता बमोजिम पारदर्शिता, गोपनियता पनि कायम राख्न सक्नुपर्यो । 

जनसम्पर्क अर्को अपरिहार्य तत्व हो फिल्ड कार्यालय सञ्चालनका लागि । सरोकारवाहरुसँग राम्रो सम्बन्ध राख्न र कायम गर्न सकिएन भने अफिस सञ्चालन दिगो रुपमा गर्न सकिंदैन । सही व्यक्ति सही ठाउँमा भन्छौ नि हामी । फिल्ड कार्यालय राम्रोसँग सञ्चालन गर्नको लागि एकदम आवश्यक छ यो । कार्यालय सञ्चालन गर्ने प्रष्ट निति हुने र माथि उल्लेख गरिएका सबै कुरा हुने हो भने फिल्ड कार्यालय राम्रोसँग सञ्चालन गर्न सकिन्छ । 

जनसम्पर्कको महत्व के छ ? सदस्य संस्थाहरुसँगको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ होला ?
हामीजस्तो केन्द्रीय संघका कर्मचारीको लागि त जनसम्पर्क एकदमै आवश्यक छ नि । हामीले काम गर्ने क्षेत्रमा दिनदिनै फरक किसिमका समस्या र चुनौती आइरहेका हुन्छन् । त्यस्ता समस्या र चुनौतिसँग जुझ्नको लागि त जनसम्पर्क एकदमै आवश्यक छ । सहकारी अभियानमै अहिले देखापरेको समस्या, चुनौतीलाई समाधान गर्नको लागि पनि जनसम्पर्क आवश्यक छ। 

सदस्य संस्थाहरुसँगको सम्बन्ध बलियो बनाउन त हामी नियमित सम्पर्कमा रहनुपर्छ ।  जति उहाँहरुसँग सम्पर्कमा रह्यो उति नै उहाँहरुको आवश्यकता र समस्या थाहा हुन्छ । उहाँहरुलाई परेको दुख सुखमा हामी साथमै छौं है भन्ने महसूस गराउन त उहाँहरुसँग नजिक भएरै बस्नुपर्यो नि । बेलाबेलामा सदस्य संस्थाहरुको समस्या सम्बोधन गर्ने, सहकारीका नयाँ नयाँ आयाम र प्रविधिसँग उहाँहरुलाई जानकार बनाउनका लागि कार्याशाला, गोष्ठीको आयोजना गर्ने, उहाँहरुलाई क्षमतावान, दक्ष बनाउनको लागि तालिममा सहभागी गराउने जस्ता कार्यहरु गरेर सदस्यसँगको सम्बन्ध अझ बलियो बनाउन सकिन्छ । 

सदस्य संघ संस्थाहरुलाई आइपरेको समस्या समाधानमा तपाईको भूमिका के कस्तो हुन्छ ?
हामी मिडिएटर जस्तै हौं । सहजकर्ता हौं । हामीले सिकाउने, बुझाउने, प्रशिक्षण दिने, सुझावहरु राख्ने हो र बाटो देखाउने काम हो । आवश्यक समयमा सहजीकरण गर्ने, समस्याहरुको गाँठो फुकाउन सकेको मद्दत गर्ने । आफूले सकेको गर्ने । समाधानमा सहयोगी बन्ने । नियम कानून र सिद्धान्तसँग मेल खानेगरी बाधा अड्चनहरु फुकाएर संस्थाहरुलाई स्मुथ सञ्चालनमा भूमिका खेल्ने काम हामी कर्मचारीहरुको हो ।

कार्यालयको कामको सिलसिलामा भएघटेका कुनै अविष्मरणीय घटना बताउनुहुन्छ कि ?
कार्यालयको कामको सिलसिलामा त धेरै अविष्मरणीय घटनाहरु छन् । नयाँ नयाँ अनुहारसँग भेट हुँदा अनुभव पनि नयाँ नयाँ नै हुन्छन् । एकपटक कुनै संस्थाको सम्पत्ति लिलामी प्रक्रियामा गयो । लिलामी पनि भयो । केन्द्रीय कार्यालयबाट त्यो लिलामी भएको घरको तत्कालीन घरधनीलाई जानकारी पत्र दिन जानुपर्ने भयो । म एक्लै गएकी थिए । म पुग्नेबित्तिकै घरधनीले नेफ्स्कूनबाट जो आयो त्यसैलाई सूट गर्दिन मन लाको छ मलाई त भन्नुभयो । एक्लै थिए म है । मनमनै कस्तो डर लाग्यो । त्यही पनि राम्रोसँग कुरा गरें । हामीले सहजीकरण गरिराखेका छौं अझै पनि गर्न तयार छौं है भन्नेजस्ता कुरा गरें । अनि म निस्किने बेलामा चाही राम्रोसँग कुरा गरेर निस्किएँ । 

एउटा कामकाजी महिलालाई अघि बढ्न के कस्ता साथ सहयोग चाहिन्छ ?
कामकाजी महिलालाई अघि बढ्न त विशेष गरी घरपरिवारकै साथ सहयोग चाहिन्छ । काम गर्न तिमी घरबाट बाहिर निस्क है भनेर साथ दिने परिवार चाहियो । कहिलेकाहीं काम गर्ने सिलसिलामा बिहान सबेरै घरबाट निस्किनुपर्ने, राती अबेलासम्मा काममै व्यस्त हुनुपर्ने, कहिले केही दिनका लागि नै घर छाडेर बाहिर जानुपर्ने जस्ता परिस्थितिहरु आइपर्ने हुन्छ । त्यस्तो समयमा घर परिवारको साथ भएन भने त केही गर्नै सकिंदैन ।

त्यसैगरी आवश्यकता बमोजिम आफ्नो क्षमता विकास पनि गर्नुपर्यो । घर र अफिसबीच तादात्म्य मिलाउन नसकेर दिक्क लागेको बेला ‘यू क्यान डु इट’ भनेर प्रोत्साहन गर्ने परिवार चाहियो । कहिलेकाहीं पारिवारिक परिस्थितिले अफिस जान नसक्ने हुँदा अवस्था बुझिदिने अफिस मेकानिज्म चाहियो । घर परिवार, कलिग, र सुपरभाइजर सबैको सहयोगले मात्र कामकाजी महिला अघि बढ्न सक्छन् ।

महिला समानताको कुरा गर्दा सधै सकारात्मक विभेद मात्र आवश्यक छ कि सक्षमता विकास पनि त्यतिकै जरुरी ?
सकारात्मक विभेदसँगै सक्षमता विकास पनि जरुरी छ नि । सकारात्मक विभेदले तत्काललाई अवसर त देला तर बारम्बार त अवसर प्राप्त हुँदैन नि । एकचोटि प्राप्त गरेको अवसरलाई साच्चै नै योग्यतामा बदल्नको लागि पनि सक्षमता विकास जरुरी छ । महिला कोटामा पाएको त हो नि भन्नेले महिला कोटा भएपनि साँच्चै नै सक्षम र योग्य रैछ है भनेर साबित गर्नको लागि पनि सक्षमता विकास जरुरी छ । 

महिलालाई अघि बढ्न नदिने पनि महिलानै हो भनिन्छ नि चाहे त्यो घरमा होस् वा कार्यालयमा तपाईलाई के लाग्छ ? तपाइको घरमा र अफिसमा महिलाहरुसँगको सम्बन्ध कस्तो छ ?
अक्सर हामीले यो चाहि सुनिराखेकै हो । पहिला पहिला हाम्रो आमाको समयमा यस्ता कुराहरु पनि हामीले देखेकै हौं, मैले आफ्नै आमाले भोगेको पनि देखेकी छु तर मेरा हकमा कुरा गर्नुपर्दा महिलाले नै अघि बढ्न नदिएको भन्ने चाहिं कहिल्यै भएन । म आज यो स्थानमा हुनुको श्रेय मेरी आमालाई दिन्छु ।

मलाई पढ्न उत्प्रेरित गर्ने, जागीर खान उत्प्रेरित गर्ने त मेरी आमा नै हुनुहुन्थ्यो ।  मैले मेरो आफ्नो परिस्थिति अनुसार आफैंले निर्णय लिने भएकोले आवश्यकता अनुसार कहिले जागीर छाडेर घर परिवार सम्हालेर बस्ने काम पनि गरें । त्यो फेरी मेरो आफ्नै इच्छा थियो । पछि अलि सहज भएपछि फेरि जागीर शुरु गरें । अहिले मेरो घरमा सहयोगी एकजना बहिनी आउँछिन् । म उनलाई आफ्नो घर जिम्मा लगाएर काममा हिड्न सक्छु ।। 

घरमा महिलाहरुसँगको सम्बन्धको कुरा गर्नुपर्दा निक्कै राम्रो छ मेरो । आफ्नो गृहस्थी र जागीरे जीवनमा नै बढी व्यस्त भएकोले होला मलाई आफन्तसँग धेरै कुरा गर्ने फुर्सद हुँदैन र धेरै भेटघाट पनि हुँदैन । कहिलेकाही मात्र भेटघाट हुँदा सबैजना सबैको प्यारो नै भइन्छ खासै अनबन हुने भन्ने पनि हुँदैन । 

हाम्रो अफिसमा खासै धेरै महिला कर्मचारी छैनौं । कहिलेकाही केही विषयमा जान्न बुझ्न मन लागेमा सम्पर्कमै रहन्छौ । काम गर्ने दौरान सबैसँग छुट्टाछुट्टै किसिमको अनुभव पनि हुन्छ । कहिलेकाही अनुभव साटासाट पनि गर्छौं । मेरो बारेमा कुरा गर्न पर्दा पहिले म प्रशासन विभागमा काम गर्दा कति महिला कर्मचारीहरुले ‘हजूर भएर हामीलाई आफ्ना समस्याहरु राख्न कति सजिलो भएको थियो’ भन्नुहुन्थ्यो । अहिले फिल्ड कार्यालयमा इन्चार्जको जिम्मेवारी पाएपछिको मेरो अनुभव पनि सकारात्मक नै छ । महिलाले सञ्चालन गरेको सहकारी, महिला म्यानेजर, अध्यक्ष भएको सहकारीहरुमा जाँदा साच्चैं नै कुरा मिल्छ । गफगाफमा थाहै नपाई धेरै समय व्यतित हुन्छ । त्यसैले मेरो अनुभवमा महिलाले नै अगाडि बढ्न नदिएको भन्ने महसूस चाहिं भएको छैन । 

महिलाहरुलाई सहकारी क्षेत्रमा काम गर्न के कस्ता सीप वा गुण आवश्यक पर्छ ?
सबैभन्दा पहिला वित्तीय र प्राविधिक ज्ञान सीप त सबैमा हुनपर्छ । महिलाको हकमा विशेष गरी समय व्यवस्थापन गर्न सक्ने क्षमता एकदम आवश्यक छ । घर, परिवार, आफन्तदेखि लिएर कार्यालय सम्हाल्नुपर्दा समय व्यवस्थापन गर्न सकिएन भने आफ्नो कार्यसम्पादन क्षमता देखाउन सकिंदैन । सहकारी क्षेत्र त झन् सदस्यसँग नजिक भएर काम गर्ने क्षेत्र हो । कार्यालय खुलेको दिन त दैनिक काम नै हुने भयो यसका अतिरिक्त सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको लागि केही कार्यक्रम कार्यालय सञ्चालन हुने दिन राख्यो भने धेरै सहभागी जुटाउन नसकिने र त्यसबाट धेरै लाभान्वित हुन नपाउने भएकोले सार्वजनिक विदाको दिन पारेर गर्ने चलन छ । यसो हुँदा सहकारी क्षेत्रमा काम गर्ने महिलालाई समय व्यवस्थापन गर्ने क्षमता हुन आवश्यक छ ।

हाम्रो समाज पुरुषप्रधान समाज भएकोले होला अझै पनि महिलाको सक्षमता मा त्यति सजिलै विश्वास गर्दैनन् । प्रत्येक ठाउँमा महिलाले आफ्नो सक्षमता प्रमाणित गर्नुपर्छ । त्यसैले अफ्ठ्यारो परिस्थितिमा दृढतापूर्वक सामना गर्न सक्ने क्षमता पनि हुनपर्यो । कति ठाउँमा धैर्यता राख्नुपर्छ, कतिपय ठाउँमा बोल्ड हुनुपर्छ । कामको प्राथमिकता छुट्याउन सक्ने हुनुपर्छ । अरुको कुरा सुन्ने, विश्लेषण गर्ने र समस्या समाधानको पहल गर्ने क्षमता हुनुपर्छ । इन्चार्ज भैसकेपछि जस्तोसुकै परिस्थितिमा पनि टीमलाई लीड गर्न सक्नुपर्छ ।   

नेफ्स्कूनमा तपाईले अहिलेसम्म कुन कुन विभागमा काम गर्नुभयो ?
मैले लगभग चार वर्ष नेफ्स्कूनको प्रशासनमा बसेर काम गरें र अहिले लगभग २ वर्षजति हुन लाग्यो व्यवसाय विभागमा बसेर काम गर्न थालेको । 

प्रशासन रमाइलो कि व्यवसाय विभाग ?
यसको पनि मिठो अनुभव छ मसँग । पहिले नेफ्स्कूनमा प्रशासन विभागबाट प्रवेश गरेकोले मलाई प्रशासन विभागकै कामहरुको बारेमा बढी जानकारी भयो । धेरैजसो म पहिले प्रशासन विभागमा बसेर काम गरेको भएर प्रशासनमै रमाएँ । अरु विभागमा जानै मन थिएन । तर अहिले व्यवसाय विभागमा आएपछि र व्यवसायको काम जानेपछि यतै रमाइलो लाग्छ । प्रशासनमा एकै किसिमको कामहरु एउटै प्रकृतिको हुने र दोहोरिने हुन्छ ।

कार्यालय भित्रका कर्मचरी एवं सञ्चालक समितिसँग सम्बन्धित काम बढी हुने, कार्यालयको आन्तरिक कामहरु बढी हुने, बाहिरको वातावरण खासै थाहा नहुने हुन्थ्यो तर व्यवसायमा आएपछिको मेरो अनुभव भनेको संस्थाहरु, सदस्यहरु चिन्ने नजिक हुने, नेतृत्व गर्ने क्षमता बढ्ने, एक्सपोजर राम्रो हुने, जनसम्पर्क पनि बढ्ने भएकोले अहिले म व्यवसाय विभागमा नै रमाएको छु । व्यवसाय विभागमा म भित्र भएका क्षमता आफैंले चिन्ने र उजागर गर्ने मौका प्राप्त भएको छ । 

अब कुन विभागमा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
अहिलेलाई मलाई व्यवसाय विभाग नै ठिक छ । 

सहकारी क्षेत्रमा महिलाहरुले करियर बनाउन सक्छन् ? यो क्षेत्रमा राम्रो करियर बनाउन सम्भव छ ?
सकिन्छ नि । वास्तवमा महिलाले चलाएको सहकारीमा खासै समस्या छैन भन्ने पनि सुनेका छौं हामीले । महिलाहरु स्वभावैले नरम र बेइमानी गर्न नखोज्ने भएकोले सहकारी क्षेत्र त झन महिलाकै लागि हो जस्तो लाग्छ । सहकारीको नीति, नियम र सिद्धान्तमा चल्ने चलाउने काम महिलाले साँच्चै नै राम्रोसँग गर्न सक्छन् । सहकारीमा आर्थिक कारोबार हुने र महिलाहरु हरहिसाबमा साच्चै नै स्पष्ट, पारदर्शी हुने साथै सहकारी सदस्यहरुले चलाउने भएकोले उनीहरुसँगको सम्बन्धमा कायम राख्न, लामो समयसम्म सहकारी सञ्चालन गर्न महिलाहरु यो क्षेत्रमा भएको राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।वास्तवमै भन्ने हो भने सहकारी क्षेत्रमा महिलाहरु अझ बढी सफल हुन्छन् भन्ने मलाई विश्वास छ । अहिले आँकडाले त्यस्तो नदेखिएपनि भविष्यमा महिला सहभागिता बढ्दै जाने विश्वास लिएका छौं । फेरि आय आर्जनका दृष्टिले पनि अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा सहकारीमा कम छैन ।  

छोराहरुलाई खाना पकाउने, खुवाउने, स्कूलको लागि तयारी गर्ने, श्रीमानलाई पनि अफिसको लागि खाना बनाउने सासूको पनि ख्याल राख्ने सँगै पाहुनाहरु पनि व्यवस्थापन गर्ने र अफिस पनि समयमै पुग्नुपर्ने हुँदा बिहानीको समयको व्वस्थापन कसरी गर्नुहुन्छ ? कसले सहयोग गर्छ ?
साँच्चै भन्नुपर्दा मेरो घरमा मलाई श्रीमानको निकै सहयोग छ । बिहानको पूजा पाठ गर्ने, खाना बनाउने, छोराहरुलाई स्कूलको लागि तयार गर्ने हामी श्रीमान श्रीमती दुवैजना भएर गर्छौं । मैले जागीर शुरु गरेदेखि सामायन्यता आजसम्म घरमा बिहानको काम गर्नुपरेर अफिस जानलाई अफ्ठ्यारो भएको, ढिलो भएको भन्ने छैन । मेरो घरको कामकाज र समय व्यवस्थापनको श्रेय मेरो श्रीमानलाई नै जान्छ । वास्तवमै मैले एकदम बुझ्ने श्रीमान् पाएकी छु जसले मलाई घर र जागिर व्यवस्थापनमा निकै सहयोग भएको छ । 

कहिलेकाही घरपरिवार र जागिर सम्हाल्न कठिन भयो  भन्ने लाग्छ वा दिक्क लाग्छ कि लाग्दैन ?
म छोराहरुको लागि लगभग ५ वर्ष जागिर छाडेर बसेँ । अहिले पनि कहिलेकाही छोराहरु बिरामी हुँदा र त्यो समयमा पुरै समय उनीहरुलाई दिन नपाउँदा भने दिक्क लाग्छ । आफन्तहरुकोमा भेला वा कार्यक्रम हुँदा मन लागेर पनि सबैकोमा पुग्न सकिंदैन । त्यस्तो बेलामा चाहि आफूले त्यो समय छुटाए कि भन्ने लाग्छ । तर म आफूलाई स्वतन्त्र भएको महसूस गर्छु । घर व्यवहार चलाउन मेरो आफ्नो योगदान पनि भएकाले गर्वानुभूति हुन्छ । केही पाउन केही त गुमाउनै पर्यो नि ।

सहकारी क्षेत्रमा सिक्न बाँकी कुराहरु के छन् ?
धेरै छन् । सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने नै हो । यो भनाइमा साच्चै नै विश्वास राख्छु म । कसैले पनि सबै कुरा बुझेर, जानेर सक्दैन जस्तो लाग्छ ।  सहकारीको क्षेत्रका नयाँ नयाँ विषयहरु, समस्याहरु, प्रविधिहरु, सहकारीका नयाँ आयामहरु त जन्मिंदै गर्छन नि । त्यसैले धेरै कुरा सिक्न बाँकी छ नि । 

नेफ्स्कूनमै काम गर्ने पुरुष साथीहरुभन्दा तपाइजस्तो महिलाहरुलाई घर व्यवस्थापनमा के कस्ता सजिला र अफ्ठ्यारा छन् जस्तो लाग्छ ?
नेफ्स्कूनमा मात्र भन्दा पनि समग्रमै लागू हुन्छ होला, पुरुष कर्मचारीहरुभन्दा महिलाहरुलाई घर व्यवस्थापन गर्न कठिनाइ नै हुन्छ । कामकाजी महिलाको घरको कामकाजमा हातेमालो गरिदिने, सहयोग गरिदिने परिवारको सदस्यहरु हुनुहन्छ भने त खासै गाह्रो नहोला तर कोही कोहीको त परिवारले बुझ्दैनन्, घरको, भान्छाको कामहरु चाहिं महिलाले नै गर्ने हो भन्ने मानसिकता अझै पनि छ । त्यसैले घर परिवार बुझिदिने पर्यो भने सहज पनि छ नबुझेको खण्डमा गाह्रो पनि छ ।

कहीलेकाही जरुरी मिटिङहरु पर्छ, तुरुन्तै अफिस पुग्नुपर्ने, कुनै सदस्यसँग भेट्नुपर्ने, कुनै फिल्ड हेर्न जानुपर्ने जस्ता कामहरु तुरुन्तै गर्नुपर्ने हुन्छ । घरमा खाना बनाउने, घरको लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने, बच्चाहरुलाई स्कूलको लागि तयार गर्ने, बच्चाहरुको स्कूलको होमवर्क गराउने जस्ता काम अझै पनि महिलाहरुले नै गर्नुपर्छ भन्ने मानसिकता भएको परिवारमा त जरुरीको बेला समय व्यवस्थापन गर्न गाह्रो नै हुन्छ । यसैले महिलालाई काम गर्नको लागि सहज र गाह्रो हुने भनेको परिवारको साथ र सहयोगमै निर्भर गर्दछ । 

एउटा महिलाले नेफ्स्कूनको फिल्ड कार्यालय सफल रुपमा चलाउन सक्छिन् ?
मज्जाले सकिन्छन् । व्यवसाय विभागमा रही फिल्ड कार्यालयको इन्चार्जको जिम्मेवारीमा रहँदै गर्दा कतिपय कुराहरु जान्ने मौका पाएँ । मैले अर्थशास्त्रमा स्नातकोत्तर गरेँ । जनप्रशासनमा एम.फिल. गरेँ तर अहिले व्यवसाय विभागमा रहेर काम गर्दैछु । नढाटीकन भन्नुपर्दा व्यवसाय मेरो विषय थिएन । डर डर लाग्थ्यो गर्न सकिन्न कि भनेर । तर भनिन्छ नि पढेर भन्दा परेर जानिन्छ । मेरो हकमा पढेर र परेर जानेको भन्ने लागू हुन्छ ।  

फिल्ड कार्यालयमा काम गर्दै गर्दा आउने चुनौतीहरुलाई सामना गर्नको लागि मैले आफूलाई तयार गरेँ । अर्को कुरा प्रायःजसो महिलाहरुले काम गरेको ठाउँमा भ्रष्टाचार कम हुन्छ भनिन्छ । कसैले महिलाहरु डराउने भएर हो पनि भन्ने गर्छन् । तर यसमा मेरो जवाफ चाहिं हो महिलाहरु डराउँछन् तर काम गर्न हैन बेइमानी गर्न डराउँछन् त्यसैले नै राम्रोसँग काम गर्न सक्छन् भन्ने हुन्छ । फिल्ड कार्यालय सञ्चालन गर्नको लागि आवश्यक सीप, दक्षता, धैर्यता, पारदर्शिता, मिजाशिलोपना, लगनशीलता, विश्वसनीयता पनि महिलामा नै हुन्छ । 

महिलाले नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज भएर काम गर्दा भोग्नुपर्ने समस्या वा चुनौती पुरुषको तुलनामा के बढी छन् ?
समय व्यवस्थापन मूख्य हो । कार्यालय समय १०–५ भनेपनि आवश्यक परेको बेला २४÷७ नै आफ्नो काममा लाग्नुपर्ने हुन्छ । घर र अफिसको दुवैतिरको जिम्मेवारी सम्हालेर बसेका महिलालाई समय व्यवस्थापन गर्न पुरुषभन्दा बढी चुनौतिपूर्ण छ । त्यसैगरी अर्को चाहिं आफू सक्षम भएपनि पहिलोचोटी प्रमाणित गर्नुपर्ने के । अहिले त धेरै क्षेत्रमा महिला हुनुहन्छ तर पनि कहिलेकाही कुनै फिल्ड कार्यालयमा महिला इन्चार्ज भन्ने थाहा नपाएको व्यक्ति आउँदा इन्चार्ज सरलाई भेट्नुपर्ने थियो भन्नुहुन्छ ।  इन्चार्ज भनेपछि सर नै होलान् भन्ने अझै पनि धेरेको सोचाइ छ । कहिलेकाही कार्यालयकै कामको सिलसिलामा कार्यालय समयभन्दा फरक समय र फरक स्थानमा मिटिङमा जानुपर्ने हुन्छ । त्यस्तो बेलामा पुरुष इन्चार्जहरु सजिलै जान सक्ने तर महिला जानको लागि अलि असुरक्षित वा असहज जस्तो चाहिं पक्कै हुन्छ । 

अनि पुरुषको तुलनामा के कस्ता सहजता छन् ?
महिलाहरु स्वभावैले अलि सहनशील र शालिन हुन्छन् । महिलाहरु सदस्य एवं सरोकारवालहरुसँग अलि नम्र भावमा प्रस्तुत हुने गर्छन् । धैर्यता हुन्छ महिलामा । जसले गर्दा कहिलेकाही अलि प्रतिकुल परिस्थितिलाई महिलाले सहज अनुकुल बनाउन सक्छन् । 

नेफ्स्कूनमा जागिर खाएको कतिवर्ष भयो ?
ठ्याक्कै ६ वर्ष पुरा भएर सात वर्ष लाग्यो । 

नेफ्स्कूनले तपाईलाई के दियो ? तपाईले नेफ्स्कूनलाई के दिनुभयो ?
नेफ्स्कूनले मलाई पहिचान दियो । मलाई वित्तिय रुपमा आत्मनिर्भरता दियो । मेरो सन्तानको अगाडी एक सक्षम आमाको रुपमा खडा गराइदियो । मलाई एक किसिमको आत्मसन्तुष्टि दियो । म भित्र भएका क्षमतालाई अझै निखार्ने मौका दियो । राम्रो भहउयकगचभ दियो । ठूलो exposure दियो ।  ठूलो mass मा बोल्न सक्ने बनायो । 

नेफ्स्कूनले मलाई साँच्चै आत्मियता पनि दिएको छ । नेफ्स्कूनले मलाई साच्चैं के दियो त भन्दै गर्दा एउटा एकदम मनमा गढेर बसेको अनुभव सुनाउन मन लाग्यो । २०७८ सालको बैशाख महिनामा कोभिडको दोस्रो लहर नेपालमा भित्रिएसँगै मेरो परिवारका लगभग सबैजनालाई समात्यो । म लगायत मलाई जन्म दिने बुवा, आमा, मेरो दाई, भाउजु त अस्पतालनै भर्ना हुनुपर्ने हुनुपर्ने अवस्था भयो । आमालाई अक्सिजन एकदम कम भएर आइ.सि.यू. मा राख्नुपर्ने अवस्था भयो ।

त्यो बेलामा म एकदम सहाराबिहीन महसूस गरिराखेकी थिएँ । हाम्रो कार्यालयको एउटा मेसेञ्जर ग्रुप थियो । मैले त्यो ग्रुपमा आमालाई आइ.सि.यू आवश्यक परेको कुरा राखेँ । धेरै जनाले एकदम चासो देखाउनुभयो । धेरैले कोशिस पनि गर्नुभयो र नेफ्स्कूनकै एकजना कर्मचारीको माध्यमबाट आमालाई राखेकै अस्पतालमा आइ.सि.यू. पाइयो । त्यसैगरी बुवा, आमा, दाई भाउजूलाई एउटा औषधी चलाउनुपर्ने भयो । एकै परिवारका ४ जनालाई ६ डोजको दरले दिंदा २४ डोज औषधी चाहिने । फेरी त्यो बेला त्यो औषधी पाउन निकै गारो थियो । मैले आफूलाई औषधी चाहिएको कुरा त्यो मेसेञ्जर ग्रुपमा सेयर गरेकी थिएँ । मलाई साथीहरु, सर म्यामहरुले त्यो औषधि उपलब्ध गराउन निकै सहयोग गर्नुभएको थियो । यो कुरा म कहिल्यै बिर्सन सक्दिनँ । मैले नेफ्स्कूनलाई सबैभन्दा महत्वपूर्ण मेरो समय र ज्ञान, सिप, क्षमता दिएकी छु । 

परिवारमा सहकारी वा अफिसको बारेमा कत्तिको कुरा हुन्छ ?
हुन्छ नि । हामी श्रीमान श्रीमती आफ्नो दिनचर्या र अफिसको कुरा गरिरहन्छौं । सहकारी र नेफ्स्कून भन्ने चाहिं छोराहरुलाई पनि कण्ठै छ । 

तपाईको श्रीमानलाई नेफ्स्कूनका कति कर्मचारीको नाम कण्ठै छ होला ?
धेरै । अझ म पहिले प्रशासन विभागमा रहेर काम गर्दा त झन् बढी थाहा हुन्थ्यो । 

बिहानीको समय तपाईको कसरी बित्छ ?
म बिहान खासै छिटो उठ्न सक्दिन । छोराहरुको स्कूलको गाडी ६।४५ बजे नै आउँछ त्यसैले उनीहरुलाई तयार गर्नको लागि पनि ६ बजे त उठ्नै पर्छ । ६ बजे उठेपछि म छोराहरुलाई उठाउने, ड्रेस लगाएर तयार गर्ने गर्छु । श्रीमान्चाहिं छोराहरुलाई ब्रेकफाष्ट तयार गर्न जानुहुन्छ । उनीहरु ६।४५ मा स्कूल गएपछि म पूजापाठमा लाग्छु । पूजापाठ पछि आधा घण्टाजति योगा गर्छु । श्रीमान खाना तयार गर्नेतिर लाग्नुहुन्छ । घरमा एकजना सहयोग गर्ने बहिनी आउँछिन् दिउसो । त्यसैले घरको काम पनि त्यती धेरै गर्नुपर्दैन मलाई । खाना तयार भएपछि खाना खाएर अफिसको लागि तयार हुन्छु ।  

बिदाको दिन वा फुर्सदको दिन कसरी बिताउनुहुन्छ ?
बिदाको दिन बिहान अलि अबेरसम्म सुत्न मन लाग्छ । उठ्न ढीलो हुने बित्तिकै सबै काम अलि ढिला नै हुन्छ । बिहानको खाना खाएपछि कहिलेकाहीं घुम्न पनि निस्किन्छौं । कहिलेकाही भने दिनभरी घरमै आराम गरेर परिवार सँगै बिताइन्छ । 

सहकारी क्षेत्रमा अझ धेरै महिलाहरुको प्रवेश आवश्यक छ कि छैन ? छ भने त्यसका लागि के कस्ता बाधा अड्चन छन् । अर्को भनेको सहकारीको व्यवस्थापन क्षेत्रमा सिनियर पोष्टमा महिलाहरु निक्कै कम छन् किन होला ? क्षमता नभएर कि अवसर नदिएर ? 
आवश्यक छ नि । सहकारी क्षेत्रमा हेर्दा कर्मचारीको रुपमा हामीले हेर्ने हो भने धेरैजसो काउन्टर, बजार प्रतिनिधिका रुपमा महिलाहरुलाई देख्छौं । तर व्यवस्थापकिय तह, सञ्चालकको तहमा भने महिलाहरु साच्चै नै कम नै हुनुहन्छ । हाम्रो समाज पितृसत्तात्मक समाज भएकोले महिलाहरुलाई खुला रुपमा बाहिर काम गर्न निस्किन अझै गाह्रो नै छ ।

विशेष गरी पढाइ सकिने बित्तिकै विवाह हुने, विवाह भएको १।२ वर्षमा बच्चा पाउनुपर्ने अनि बच्चाको स्याहार सूसारमा लगभग २ वर्ष वित्ने, फेरि दुइवटा बच्चा चाहिन्छ भन्ने कुराले त्यसको दोस्रो बच्चाको प्लान हुने फेरि उसको स्याहारमा अर्को २ वर्ष बित्ने गर्दा महिला लगभग ३०।३२ वर्ष सम्म त घर परिवारमै रुमल्लिनुपर्ने बाध्यता हुन्छ । पढाइ सकिने वित्तिकै जुनियर पोष्टमा कुनै संस्थामा काम गर्यो भनेपनि फेरि बच्चा जन्मिएपछि २ वर्षजति ब्रेक लाग्यो । फेरि जागीर खान मन लाग्यो भने जुनियर तहमै छिर्यो किनभने खासै धेरै अनुभव हुँदैन ।

बीचमा ब्रेक हुनेवित्तिकै अब जागीर दिने अफिसले सिनियर पोष्टमा दिन मान्दैन । फेरि १।२ वर्षमा दोस्रो बच्चा जन्मायो । दोस्रो बच्चा हुर्केर फेरि जागिर खान्छु भन्दा कतै आफ्नो उमेर पनि छिप्पिसक्छ । सिनियर पोष्टमा काम गर्न फेरि पनि अनुभवले रोक्यो । अनि जुनियर पोष्ट भएपनि काम गर्छु भन्दा पनि उमेर हद कट्ने जस्ता कारणले गर्दा पनि पुरुष कर्मचारीहरुको तुलनामा महिला कर्मचारीहरु अलि कम नै हुने गर्छन् ।  अर्को कुरा अहिलेको समयमा धेरैजसो परिवारमा बिहेपछि श्रीमान श्रीमती मात्र बस्ने, एकल परिवारमा बस्ने सिस्टम भएकोले बच्चा भएपछि बच्चाको हेरचाह गर्न श्रीमती घरमै बस्नैपर्ने बाध्यताले गर्दा पनि महिलाले आफ्नो उर्जावान समय घरपरिवारभित्रै खर्च गर्नुपर्ने बाध्यता हुन्छ ।

महिलाहरुलाई सहकारी क्षेत्रमा सिनियर पोष्टमा रहने कुरा गर्दै गर्दा अहिले भने केही न केही महिलाहरुको सहभागिता बढ्दै गएको छ । अवसर पाउने हो भने महिलाहरुमा सिनियर पोष्ट सम्हाल्ने क्षमता छ भन्ने उदाहरण त हामीले अहिले देखिरहेकै छौं नि । नेफ्स्कूनकै कुरा गर्ने हो भने पनि नेफ्स्कूनमा प्रथम प्रबन्धक महिला नै हुनुहुन्थ्यो । यो कुरा कतिलाई त थाहा नै छैन । महिलाहरुले सञ्चालन गरेको सहकारीमा खासै समस्या पनि देखिएको छैन ।

केही दिन अघि मात्र म एउटा महिला सहकारीमा पुगेकी थिएँ । त्यहाँको सञ्चालक समितिका म्याडमहरुसँग एउटा भेटघाट राखेकी थिएँ । उहाँहरु विभिन्न क्षेत्रको हुनुहुँदो रहेछ । कोही पूर्व संसद, कोही इन्जिनियर, कोही महिला व्यवसायी, कोही कानून व्यवसायी, कोही महिला अधिकारकर्मी । उहाँहरुको बौद्धिक क्षमता पनि उस्तै । मैले त त्यो संस्थामा पुगेर कति कुरा सिकेर आएँ । कुनै कुराको बारेमा छलफल हुँदा उहाँहरुको आफ्नो आफ्नो दृष्टिकोणबाट त्यस बारे छलफल हुन्छ रे । हामी त कुनै समस्यामा छलफल गर्न बस्यौं भने धेरै तरिकाबाट धेरै सोलुसन निकाल्छौं भन्नुभयो । मलाई साच्चै नै खुशी लाग्यो उहाँहरुसँग भेटेर । महिलाहरु साच्चैं नै क्षमतावान छन्, अवसर प्राप्त गर्ने हो भने सिनियर पोष्टमा बसेर साच्चै नै सहकारी हाँक्न सक्छन् । 

तपाईको छोराहरु ठूलो भएर सहकारी संस्था वा केन्द्रीय निकायमा काम गर्छौ भनेर सोधे भने ?
म त खुशी खुशी ‘हुन्छ’ भन्छु नि । यो क्षेत्रमा त मेरो आफ्नो पनि अनुभव छ । मेरो अनुभवले राम्रोसँग काम गर्न छोराहरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ । उनीहरुलाई आवश्यक परेको बेला गाइड गर्ने क्षमता राख्ने भएकोले मलाई छोराहरु यो क्षेत्रमा आउँन खोजे भने खुशी नै लाग्छ । अझै उनीहरुको समयमा त सहकारी क्षेत्र अहिलेको भन्दा व्यवस्थित पक्कै हुन्छ ।  



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार