काठमाडौं । काठमाडौं महानगरपालिका १४ स्थित बल्खु खोलामा 'ट्रयास बुम' जडान गरी फोहोर सफा गर्ने अभियान प्रारम्भ भएको छ । जसअन्तर्गत प्लाष्टिक लगायत ठोस वस्तुहरु बग्न रोक्ने, पुनः प्रयोग, पुनः उपयोग तथा पुनः चक्रणमा पठाउने काम शुरु गरिएको छ । गैर सरकारी संस्था एकीकृत शहरी विकास केन्द्र (CIUD) ले PLEASE परियोजनामार्फत ट्रयास बुम जडान गरी काम अघि बढाएको केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले धिप्री डटकमलाई जानकारी गराउनुभयो । खोला नाला नदीमा प्लाष्टिक लगायत ठोस वस्तुहरु बग्न रोक्ने उपकरण ट्रयास बुम मार्फत सभ्यता संरक्षणको अभियानका रुपमा यसलाई सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
नविनतम प्रविधिहरुको प्रयोग गरी काठमाडौं उपत्यकाका किर्तिपुर नगरपालिकामा प्लाष्टिक व्यवस्थित समुदायहरु स्थापित गर्ने र आसपासका अन्य नगरपालिकाहरुमा बग्ने नदीमा प्लाष्टिक फोहोर मुक्त बनाउने उद्देश्यका साथ यो काम अघि बढाइएको महर्जन बताउनुहुन्छ । सम्पदा, पहिचान र संस्कृतिका साथै वातावरणीय हिसाबले पनि संवेदनशील नदीहरुमा जथाभावी फोहोर नफाली स्वच्छ, सफा र स्निग्ध बनाउने अभियानमा सबैको साथ आवश्यक भएको महर्जनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नदी हाम्रो सभ्यता हो, यसलाई सबै मिली बचाऔं ।’
ट्रयास बुम जडान गरी प्यालिष्टक जन्य कुराहरु टिप्ने, कुहिने फोहोरलाई बगाउने काम गरिन्छ । जाली, पाईप र अंकुश प्रयोग गरी तयार गरिने ट्रयास बुम इन्डोनेसिया, फिलिपिन्स जस्ता मुलुकहरुले नहरहरु सफा गर्न प्रयोगमा ल्याएका छन् । क्लिनइटअपसाइकल्स नामक संस्थाले ट्रयास बुम निर्माणमा केन्द्रलाई सहयोग गर्दै आएको छ । नीट क्लिन ग्रीन नेपाल नामक संस्था स्वयंसेवी रुपमा यो अभियानमा जोडिएको महर्जनले बताउनुभयो ।
केन्द्रले किर्तिपुर नगरपालिकाको १, २, ३ र ४ नं वडाका महिलाहरुलाई (महिला समूहहरुमार्फत) लक्षित गरी भान्साको फोहोर व्यवस्थापनसम्बन्धी तालिमहरु प्रदान गर्दै नदीनाला संरक्षणको प्रयास गर्दै आएको छ । घरको फोहोर कसरी संकलन गर्ने, प्लाष्टिकहरुलाई छुट्टै व्यवस्थापन गर्न झोला समेत उपलब्ध गराउँदै आएको छ । त्यस्तो प्याष्टिकमध्ये बिक्री गर्न मिल्नेलाई बिक्री गर्ने र बिक्री गर्न नमिल्ने प्यालिष्टकलाई नगरपालिकामार्फत अन्य महिलाहरुलाई तालिम उपलब्ध गराउँदै व्यावसायिकता विकास गर्न प्यालिष्टक प्रशोधन केन्द्र स्थापना गरिएको छ । महिलाहरुलाई राष्ट्रिय आविष्कार केन्द्रमा त्यस प्रकारको तालिम उपलब्ध गराइएको महर्जनले उल्लेख गर्नुभयो ।
केन्द्रको यो प्रयासलाई काठमाडौं महानगरपालिकाले पनि प्रशंसा गरेको महर्जनले सुनाउनुभयो । महानगर अन्तर्गतका अन्य खोलाहरुमा पनि यस्तै काम अघि बढाउने सोच समेत अघि बढाइएको उहाँले बताउनुभयो ।
स्थानीय नगरपालिकाहरुसँगको समन्वय, सहयोग र सहकार्यका आधारमा परियोजना आफ्नो उद्देश्यमा सफल हुने विश्वास महर्जनले व्यक्त गर्नुभयो । त्यसका लागि नदी नाला आसपासका स्थानीय बासिन्दाहरु, संघ संस्था तथा औद्योगिक प्रतिष्ठान तथा व्यापारीहरु लगायतमा जनचेतना अभिवृद्धिका साथै नियमनकारी निकायहरुमार्फत नीति विधि निर्माण र कार्यान्वयनको तदारुकता अनि निरन्तरता नै महत्वपूर्ण विषय हुने उहाँले धिप्री डटकमलाई जानकारी गराउनुभयो । त्यसका लागि नगरपालिका र वडा कार्यालयहरुको भूमिका सबैभन्दा अहम् हुने धारणा उहाँको छ ।
२२ वर्षअघि स्थापित केन्द्रले शहरी व्यवस्थापनमा काम गर्दै आएको छ । ‘फोहोर मैला व्यवस्थापन पनि शहरी व्यवस्थापनको अभिन्न विषय भएकाले अहिले हामीले नदीनालालाई प्लाष्टिक र फोहोर मुक्त बनाउने अभियानलाई प्राथमिकताम राखेर काम गर्दै आएका छौं, ’महर्जनले भन्नुभयो, ‘यसमा सबैको हातेमाला आवश्यक छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com