Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी र बीमा कम्पनी: कहिले कसले बोल्ने यो विषयमा ?

सहकारी र बीमा कम्पनी: कहिले कसले बोल्ने यो विषयमा ?

सहकारीको आवश्यकता जतिबेला महशुस गरियो, यसको परिकल्पना जतिबेला गरियो वा जहिले सहकारीको सुरुवात भयो त्यतिबेला बीमा पनि सहकारीमा जोड्नुपर्छ भनेर कसैले सोचेको विषय थिएन । सहकारीहरु दोस्रो कम्पनी वा निकायको सहारामा मात्र चल्नसक्छन् भन्ने पनि कसैले सोचेको विषय थिएन । तर, अहिले हरेक सहकारी सँगसँगै बीमा किन जोडिन पुग्यो ? आज बीमा कम्पनी र सहकारी किन एक अर्काको परिपुरक झैं देखाउन थालियो ? 

बीमा त एक नाफामुखी व्यावसायिक क्रियाकलाप हो जुन सबैलाई थाहा छ । बीमा कम्पनी र तिनका कर्मचारीहरुलाई सहकारी संस्था र तिनका सदस्यहरुको भन्दा बढी आफ्नो व्यवसाय, आम्दानी र वृत्ति विकासको चिन्ता छ।  सबैले बुझेको कुरा हो यो  । तैपनि किन सहकारीहरु निसंकोच बीमा कम्पनी र कर्मचारीहरुसँग सहकार्य गरिरहेका छन् ? के बीमाको सहारा विना अब सहकारीहरु अगाडि बढ्नै नसक्ने भएका हुन् त ? आज किन सहकारीका सदस्य बारे स्वयं सहकारी सञ्चालकले भन्दा बढी दोस्रो नाफामुखी कम्पनीहरुले चिन्ता गरिरहेका छन् ?

अचेल सहकारी र उनीहरुका सञ्चालकहरुले किन निर्विकल्प बीमा कम्पनीका पोलिसी अवलम्बन गरिरहेका छन् ? किन पछिल्लो समयमा बीमा कम्पनीहरुले सहकारीहरुलाई आफ्नो क्रिडास्थल बनाइरहेका छन् ? किन बीमा कम्पनी र तिनका कर्मचारीहरुले सहकारीहरुलाई आफ्नो व्यापारको हब देखे ? के यो बहसको विषय बन्नुपर्ने थिएन अहिलेसम्म ? किन यसरी चुपचाप दोस्रो नाफामुखी कम्पनीको सहारा लिनुपर्ने अवस्था आइलाग्यो सहकारीहरुलाई ? कहिले कसले बोल्ने यो विषयमा ?

home-insurance-concept-model-home-with-umbrella-ai-generated_804788-130408.jpg
undefined

पछिल्लो समयमा सहकारीहरु र बीमा कम्पनीहरुबीच यतिधेरै सामिप्यता र निकटता देखिनुमा सहकारीका अभियन्ता र सञ्चालकहरुका महत्वकांक्षा जोडियो कि बीमा कम्पननी वा तिनका कर्मचारीहरुका स्वार्थ ? किन दिनानुदिन बीमा कम्पनीहरुले खुलेआम सहकारीहरुलाई आफैंले नयाँ स्किम बनाइ बिक्री गरिरहेका छन् ? किन सञ्चालक र कर्मचारीलाई आफूतिर आकर्षित गरिरहेका छन् ? अनि किन सहकारी, सञ्चालक वा कर्मचारीले फटाफट स्वीकारीरहेका छन् ? किन सदस्यहरु आफू आवद्द भएकै भरमा र आफूले थोरै थोरै बचत गरेकै भरमा उनीहरुलाई हरेक सेवा सुविधा सहकारीले दिनुपर्छ र आफ्ना अस्वाभाविक माग पूरा गरिदिनुपर्छ भन्ने अपेक्षा गर्न थाले ?

सदस्यका सबै माग र आवश्यकता सहकारीलेनै पुरा गर्नुपर्छ र पुरा गर्न सक्छ भन्ने लाइनमा किन अगाडि बढे सहकारी, तिनका सञ्चालक र कर्मचारीहरु ? कतै सञ्चालक र कर्मचारीले सदस्यका सेवा सुविधाका साथमा आफ्ना लाभ त हेरेका छैनन् ? आफ्नो क्षमता र बलियो आर्थिक आधार बिनानै सदस्यलाई अरुको भन्दा थप सेवा सुविधा दिने होडबाजी र हुटहुटी सञ्चालकलाई किन चल्यो ? आफूले सुरु गरेका सेवा सुविधा र कार्यक्रमनै किन आफैंलाई गलपासो बन्यो र बीमाको साथ छोड्नै नसक्ने भए सहकारीहरु ?

कतै सञ्चालकमा दुरदर्शिताको कमी र दुरगामी असरको अल्पज्ञान त होइन ? यदि दोस्रो कम्पनी घाटामा गयो, उसका नियम परिवर्तन भए, उसले एकतर्फी रूपमा सहकार्य तोडिदियो भने सहकारीले आफ्ना सदस्यलाई बीमाका सहारामा दिन सुरु गरेका सेवा सुविधाको अवस्था के हुन्छ ? अनि सदस्यले सहकारी र सञ्चालकलाई गर्ने गुनासो र आरोप कसले सुन्छ ?  

आफूले एक्लै आफ्नै क्षमतामा सुरु गर्न नसकिने थप सेवा सुविधा र कार्यक्रम सुरु गर्नुनै पर्ने बाध्यता सहकारी, सञ्चालक र कर्मचारीलाई किन पर्यो ? अनि किन आफ्नै महत्वाकांक्षी सोचले आज सहकारीलाई आफैंले सुरु गरेका कार्यक्रम र सेवा सुविधा धान्न गाह्रो भयो र बिमाको सहारा बिना सहकारी अब टिक्न टिकाउन गाह्रो भयो ? सहकारीले अरुको देखासिकीमा वा सदस्यलाई आकर्षित गर्ने अभिप्रायले भविष्यमा बोक्नै थेग्नै धान्नै नसक्ने विभिन्न आर्थिक सुरक्षाका कार्यक्रम र सेवा सुविधामा अग्रसर हुनैपर्ने बाध्यता किन ? सहकारीको मूल मर्म, सिद्धान्त र उद्देश्यमा त त्यो छैन ।

building-successful-cooperatives_810293-87703.jpg

अर्को कुरा, बीमाले सीमित उमेर समूहका व्यक्तिको मात्र सुरक्षण गर्छ तर सहकारीले उमेरका आधारमा आफ्ना सदस्यलाई भेदभव गर्न सक्दैन मिल्दैन । अनि उमेर समूह अनुसार जोखिम र आवश्यकता पनि कमी बढी हुन्छ त्यसकै आधारमा बीमाले पनि प्रिमियम महँगो सस्तो गर्छ । तर सहकारीले सबैको प्रिमियम बुझाउनुपर्छ । यसलाई सहकारीले थप आर्थिक व्ययभार बेहोर्नु पर्ने कुरा मनन् गर्ने कि नगर्ने ?

यदि यसरीनै अगाडि बढिरहने हो भने अबका दिनमा सहकारी अभियन्ता, सञ्चालक कर्मचारीहरुले सहकारीका फाइदा र योगदानका कुरा अरुलाई बताइरहँदा सँगै आफ्ना कार्यक्रम चलाउन र टिकाउन बीमाले गरेको योगदान बारे भन्न किन छुटाउने ? अबका दिनमा सहकारी एक्लै आफ्नै बलबुतामा चल्न र सदस्यलाई सेवा सुविधा दिन, सदस्यको निक्षेपको सुरक्षा गर्न नसक्नेनै भएको हो भने बीमाको सहाराका कारणलेनै यी सेवा सुविधा संभव भएको हो भनेर सदस्यमाझ भन्न किन नसक्ने ?

ती कार्यक्रम र सेवा सुविधामा किन सहकारी आफैंले मात्र जस लिने ? सहकारी र बीमा सँगसँगै छन्स, हकारी र बीमा बीचमा अघोषित सहकार्य छ भन्न किन नसक्ने ? यदि यस्ता चिजहरुमा बीमाको साथ लिइन्छ भने सहकारीका साइनवोर्ड र कार्यक्रममा टाँगिने फ्लेक्स ब्यानरमा बीमा कम्पनीको लोगो पनि सँगै राखी आपसी सहकार्य किन नदेखाउने ? अनि यी दुई एक अर्काका परिपूरक  हुन भनेर निर्धक्क भन्न किन अप्ठेरो मान्ने ?

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार