Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
ह्वाइट हाउसमा ट्रम्पको 'अर्को एम्बुस'

ट्रम्पद्वारा दक्षिण अफ्रिकामाथि 'गोरा नरसंहार' को आरोप (भिडियोसहित)

ट्रम्पद्वारा दक्षिण अफ्रिकामाथि 'गोरा नरसंहार' को आरोप (भिडियोसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा गोराहरुमाथि नरसंहार भएको आरोप लगाउनुभएको छ ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग बुधबार भएको  प्रत्यक्ष पत्रकार सम्मेलनमा  ट्रम्पले दक्षिण अफ्रिकामा ‘गोरा नरसंहार’ भइरहेको भन्ने व्यापक रूपमा खण्डित दाबीहरू प्रस्तुत गर्नुभयो । 

अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्ध सुधार्ने उद्देश्यले  अमेरिका भ्रमणमा रहेका रामाफोसासामु ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको हत्या र ‘उत्पीडन’ भइरहेको भन्ने दाबीसहित असहज प्रश्न गर्नुभयो । 

ह्वाइट हाउसमा देखाइएको एक भिडियोमा दक्षिण अफ्रिकाका प्रमुख विपक्षी नेता जुलियस मालेमाले ‘बोर (अफ्रिकी मूलका गोरा) लाई गोली हान, किसानलाई गोली हान’ भनेको आवाज सुनिएको थियो । त्यसपछि क्रसहरूको खेत देखाइएको थियो, जसलाई अमेरिकी राष्ट्रपतिले तस्विरमाथि बोल्दै गोरा किसानहरूको चिहान स्थल भएको दाबी गर्नुभयो । उहाँले दक्षिण अफ्रिकामा गोरामाथि आक्रमण भएको भन्ने समाचारहरूको प्रिन्ट-आउटहरू आफ्ना दक्षिण अफ्रिकी समकक्षीलाई दिनुभयो ।

प्रत्युत्तरमा रामाफोसाले ट्रम्पको दाबीहरूको खण्डन गर्दै ‘नरसंहारको अफवाह नफैलाउन’ र ‘नभएको झुटो कुरा नगर्न’ आग्रह गर्नुभयो ।  उहाँले अमेरिकी राष्ट्रपतिलाई दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित भएको र धेरैजसो काला जातिका मानिसहरू पीडित रहेको स्पष्ट पार्नुभयो ।  ‘दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित छन्, जसमा अधिकांश अश्वेत रहेका छन् । त्यहाँ केवल गोरा मानिसहरू मात्र पीडित छैनन्,’ रामाफोसाले भन्नुभयो । रामाफोसाले छोटो भिडिओले दक्षिण अफ्रिकाको समग्र चित्र प्रस्तुत नहुने भन्दै आफ्नो सरकारको नीति जुनसुकै प्रकारको हिंसा अन्त्य गर्ने रहेको उल्लेख गर्नुभयो । 

ट्रम्पले आफ्नो पाहुनामाथि मिडियाकै अगाडि दुर्व्यवहार गरेको यो दोस्रो घटना हो । यसअघि गत फेब्रुअरी २८ मा ओभल अफिसमै मिडियाहरूका अगाडि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि अपमानपूर्ण व्यवहार गर्नुभएको थियो । 

(भिडियो स्रोतः बीबीसी न्यूज)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार